तिनीहरूले यहोवाको इच्छा गरे
सबैभन्दा महान् पुरुषले गर्नुभएको विनम्र सेवा
येशूलाई चेलाहरूसँग भेट्ने अन्तिम समय बहुमूल्य हुनेछ भनेर थाह थियो। उहाँको गिरफ्तारी र विश्वासको जाँच हुनै लागेको थियो। साथै, येशूले निकट भविष्यमा महान् आशिष्हरू पाउनुहुनेछ भनेर पनि थाह थियो। चाँडै नै उहाँलाई उच्च पारेर परमेश्वरको दाहिने बाहुलीमा बसालिने थियो र त्यो नाउँ प्रदान गरिने थियो “जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ”।—फिलिप्पी २:९, १०.
तथापि, न उहाँको आउनै लागेको मृत्युले न ता प्रतिज्ञा गरिएको इनामको उत्सुकताले नै आफ्नो चेलाहरूलाई ध्यान दिन येशूलाई अलमलायो। उहाँले “तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो” भनेर यूहन्नाले पछि उल्लेख गरे। (यूहन्ना १३:१) आफ्नो सिद्ध मानव जीवनको अन्तिम निर्णायक घडीमा पनि येशूले आफ्ना चेलाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउनुभयो।
नम्रताको एउटा पाठ
यरूशलेममा प्रेरितहरू येशूसँग चाड मनाउन घरको माथिल्लो तलामा भेला भएका थिए। तिनीहरूमध्ये को ठूलो भन्ने विषयमा चेलाहरूले बहस गर्दै गरेको येशूले यसअघि पनि सुनिसक्नुभएको थियो। (मत्ती १८:१; मर्कुस ९:३३, ३४) यस विषयमा प्रेरितहरू आपसमा झगडा गरेको अनि येशूले सम्झाउनु परेको यो पहिलो चोटी थिएन। (लूका ९:४६) तैपनि, यसपालि भने येशूले अर्कै तरिका अपनाउनुभयो। उहाँले तिनीहरूलाई नम्रताको विषयमा बताउने मात्र होइन प्रर्दशन पनि गरेर देखाउनुभयो।
त्यसपछि, येशू “भोजनबाट उठनुभयो, र खाष्टो एकातिर पन्छ्याएर” राख्नुभयो भनेर यूहन्नाले वर्णन गरेका छन्। अनि “तौलिया लिई आफ्नो कम्मरमा बेहेर्नुभयो। तब उहाँले बाटामा पानी खनाउनुभयो, र चेलाहरूका पाउ धुन, र आफूले बेहेरेको तौलियाले पुछ्नलाग्नुभयो।”—यूहन्ना १३:४, ५.
पुरातन मध्यपूर्वको गर्मी मौसममा धूलै धूलोले भरिएको बाटोमा मानिसहरू प्रायः चप्पल लगाएर हिंड्थे। कुनै साधारण मानिसको घरभित्र पस्दा तिनीहरूलाई घरधनीले अभिवादन गर्थ्यो। त्यो घरधनीले तिनीहरूको खुट्टा धुन भाँडा र पानी राखी दिन्थ्यो। धनी घरानामा चाहिं यो काम नोकरले नै गर्थे।—न्यायकर्त्ता १९:२१; १ शमूएल २५:४०-४२.
माथिल्लो कोठामा येशू र उहाँका प्रेरितहरू कसैका पाहुना त थिएनन्। त्यहाँ न ता अतिथि सत्कार गर्ने व्यक्ति न खुट्टा धोइदिने नोकर नै थियो। तर जब येशूले चेलाहरूको खुट्टा धुन सुरु गर्नुभयो तब तिनीहरू साह्रै अप्ठ्यारोमा परे। यहाँ तिनीहरूमध्ये सबैभन्दा महान् व्यक्तिले यस्तो तुच्छ काम गर्नुभयो!
सुरुमा, पत्रुसले खुट्टा धुन दिन मानेनन् तर येशूले तिनलाई भन्नुभयो, “मैले धोइदिइनँ भनेता तिम्रो मसित केही भाग हुँदैन।” येशूले सबै चेलाहरूका खुट्टा धोइसक्नुभएपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई के गरें? तिमीहरू मलाई, ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म त्यही हुँ। यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एका अर्काको खुट्टा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।”—यूहन्ना १३:६-१५.
येशूले यहाँ खुट्टा धुने प्रथा बसाल्न चाहनुभएको थिएन। बरु, प्रेरितहरूले आफ्ना भाइहरूका खातिर सानोभन्दा सानो काम पनि नम्रता र स्वेच्छासाथ गर्न तयार हुनुपर्छ भन्ने मनोवृत्ति राख्न सिकाउनुहुँदैथ्यो। अब भने तिनीहरूले कुरा प्रष्टसँग बुझे। वर्षौंपछि खतनासम्बन्धी प्रश्न उठ्दा के भयो यसो सोच्नुहोस् त। त्यहाँ “धेरै वाद-विवाद” भएता पनि त्यहाँ उपस्थित भएकाहरूले राम्रो व्यवहार देखाए र एकाअर्काको विचारधाराहरूलाई सबैले ध्यान दिएर सुने। अझ त्यो सभा सञ्चालन गर्ने प्रेरित नभएर चेला याकूब थिए। प्रेरितको पुस्तकमा उल्लेखित यो विवरणलाई विचार गर्दा प्रेरितहरूले नम्रता देखाउँनमा धेरै उन्नति गरेका थिए भनेर देखाउँछ।—प्रेरित १५:६-२९.
हाम्रोलागि पाठ
येशूले चेलाहरूको खुट्टा धुनुभएर नम्रताको एकदमै ठूलो पाठ सिकाउनुभयो। मसीहीहरूले कहिल्यै पनि आफूलाई अरूभन्दा ठूलो र मैले सेवा पाउनुपर्छ भन्ने भावना राख्नु हुँदैन, न ता उनीहरूले इज्जत र सम्मान पाउनुपर्छ भन्ने विचार नै राख्नुहुन्छ। बरु, उनीहरूले त येशूको अनुसरण गर्नुपर्छ जो “सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) हो, येशूका चेलाहरू एकाअर्काको निम्ति विनम्र सेवा गर्न इच्छुक हुनुपर्छ।
त्यसैले त पत्रुसले लेखे: “एउटाले अर्कोप्रति नम्रताको वस्त्र धारण गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५, नयाँ संसोधित संस्करण) “वस्त्र धारण गर” भन्ने अर्थ बुझाउने युनानी शब्दले काम गर्दा बाहिरपट्टि लगाउने खुकुलो कपडा “एप्रोन”-लाई संकेत गर्दछ। के यहाँ पत्रुसले येशूले आफैलाई तौलियामा बेह्रेर चेलाहरूको खुट्टा धुनुभएको विषयलाई चित्रित गरेको हो? यो ठोकेरै भन्न सकिंदैन। तथापि, येशूको नम्रता झल्किने यस कार्यले पत्रुसको हृदयमा अमेट छाप पाऱ्यो र येशूको चेला हुन चाहने जोसुकैको हृदयमा पनि यस्तै छाप हुनुपर्छ।—कलस्सी ३:१२-१४.