हामी कति वर्ष बाँच्न सक्छौं?
आजकल साधारणतया मानिसहरूको आयु पहिलेभन्दा लामो हुँदैछ र यसले गर्दा थुप्रै मानिसहरू यस्तो प्रश्न गर्छन्, ‘हामी कति वर्ष बाँच्नसक्छौं?’
द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार (१९९५) पहिलेका मानिसहरूमध्ये पियर जुबर्ट सबैभन्दा लामो समय बाँचे भनिन्थ्यो। तिनको मृत्यु १८१४ मा ११३ वर्षको उमेरमा भयो। हो, लामो समय बाँच्ने अरू पनि थिए तर तिनीहरू कति वर्ष बाँचे, त्यसबारे भरपर्दो रेकर्ड थिएन। तथापि, सही रेकर्डहरूले पियर जुबर्टभन्दा लामो समय बाँचेका व्यक्तिहरू पनि थिए भनी देखाएको छ।
झाँ ल्वेज काँमानको जन्म दक्षिणपूर्वी फ्रान्सको आर्ल्समा फेब्रुअरी २१, १८७५ मा भएको थियो। तथापि, १२२ भन्दा बढी वर्ष बाँचेपछि अगस्त ४, १९९७ मा तिनको मृत्यु हुँदा निकै प्रचारप्रसार भयो। सन् १९८६ मा जापानको शिकेचियो इजुमिको १२० वर्षको उमेरमा मृत्यु भयो। गिनेस बूक अफ वर्ल्ड रेकर्ड १९९९ तयार पारुञ्जेल ११८ वर्षीया सारा नाउस सबैभन्दा जेष्ठ नागरिकको रूपमा सूचिबद्ध थिइन्। तिनको जन्म पेन्सलभानिया, सं.रा.अ.-मा सेप्टेम्बर २४, १८८० मा भएको थियो। क्यानाडा, क्युबेकका मारी-लुइ फिब्रोनि मेयरको १९९८ मा ११८ वर्षको उमेरमा मृत्यु हुँदा तिनी साराभन्दा २६ दिनले जेठी थिइन्।
साँच्चै नै बूढाबूढीहरूको संख्या निकै बढेको छ। अर्को शताब्दीको सुरुसम्ममा सय वर्ष पार गर्नेहरूको संख्या २२ लाख पुग्ने अनुमान गरिएको छ! त्यस्तैगरि, ८० वर्ष वा त्योभन्दा बढी उमेर पुगेकाहरूको संख्या १९७० मा लगभग दुई करोड ६० लाख थियो भने १९९८ मा छ करोड ६० लाख पुग्यो। विश्वको कुल जनसंख्यामा भएको ६० प्रतिशत वृद्धिको तुलनामा यो १४७ प्रतिशत वृद्धि हो।
अनि मानिसहरूको आयु लामो मात्र भएको होइन। थुप्रैले २० वर्षकाहरूले गर्न नसक्ने कामकुराहरू गरिरहेका छन्। सन् १९९० मा ८२ वर्षीय जोन केलीले ४२.१९५ किलोमिटर म्यारथन दौड पाँच घण्टा पाँच मिनेटमा पूरा गरे। सन् १९९१ मा ८४ वर्षीया जिज्यू हजुरआमा भइसकेकी माभिस लिन्ग्रेनले सोही दूरी सात घण्टा नौ मिनेटमा पूरा गरिन्। अनि हालसालै ९१ वर्षीय वृद्धले न्यु योर्क शहरको म्यारथन पूरा गरे!
यसको अर्थ पुरातन समयका वृद्ध व्यक्तिहरूले केही उल्लेखनीय कार्य गरेनन् भन्ने होइन। बाइबलका कुलपिता अब्राहाम ९९ वर्षको उमेरमा पाहुनालाई भेट्न “कुदेर गए।” पचासी वर्ष पुगिसकेका कालेबले यस्तो घोषणा गरे: “म [४५ वर्षअघि] जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्ति र भित्र बाहिर गर्नलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यतिनै छ।” अनि मोशा १२० वर्षको हुँदा पनि “आँखा कमजोर भएको थिएन, उनको बलपनि क्षीण भएको थिएन” भनी बाइबल बताउँछ।—उत्पत्ति १८:२; यहोशू १४:१०, ११; व्यवस्था ३४:७.
येशू ख्रीष्टले प्रथम मानव आदम तथा जहाज निर्माता नूहबारे बोल्नुहुँदा ऐतिहासिक व्यक्तिको रूपमा कुरा गर्नुभयो। (मत्ती १९:४-६; २४:३७-३९) उत्पत्तिको पुस्तकले आदम ९३० वर्ष र नूह ९५० वर्ष बाँचे भनी बताउँछ। (उत्पत्ति ५:५; ९:२९) के मानिसहरू साँच्चै त्यति धेरै बाँचेका छन्? के हामी त्योभन्दा लामो वा सायद, सधैंभरि बाँच्नसक्छौं? कृपया अर्को लेखमा प्रमाणहरू जाँच गर्नुहोस्।