के अनन्त जीवन साँच्चै सम्भव छ?
“हे गुरु, अनन्त जीवन पाउनालाई मैले के असल काम गर्नुपर्छ?”—मत्ती १९:१६.
१. हामी मानिसको आयुबारे के भन्नसक्छौं?
बाइबलमा अहासूरस भनेर चिनिने फारसी राजा जारसेज प्रथमले सा.यु.पू. ४८० मा युद्धमा जानुअघि आफ्नो सैन्यदललाई नियालिरहेका थिए। (एस्तर १:१, २) युनानी इतिहासकार हेरोडोटसअनुसार आफ्ना सिपाहीहरूलाई नियाल्दा राजाले आँसु थाम्न सकेनन्। किन? किनभने जारसेजले यसो भने, “मानिसको छोटो जीवन सम्झँदा मलाई दुःख लाग्छ। यिनीहरूमध्ये कोही पनि आजभन्दा सय वर्षपछिसम्म जीवित रहनेछैन।” जीवन निराशै लाग्ने गरी अत्यन्त छोटो छ अनि कोही पनि बूढाबूढी, बिरामी भएर मर्न चाहँदैनन् भनेर तपाईंले पनि महसुस गर्नुभएको होला। जवानीको जस्तो स्वास्थ्य र आनन्द पाउनसके कत्ति असल हुन्थ्यो!—अय्यूब १४:१, २.
२. थुप्रैले कस्तो आशा राख्छन् अनि किन?
२ उल्लेखनीय कुरा के हो भने, सेप्टेम्बर २८, १९९७ अंकको द न्यु योर्क टाइम्स-मा “तिनीहरू बाँच्न चाहन्छन्” भन्ने लेख छापियो। यसमा एक जना अनुसन्धानकर्ताको यस्तो भनाइ उद्धरण गरिएको थियो: “सधैंभरि बाँच्ने सम्भावना भएको पहिलो पुस्ता हामी नै होला।” अनन्त जीवन सम्भव छ भनेर तपाईं पनि विश्वास गर्नुहुन्छ होला। हामी यस पृथ्वीमा सधैंभरि बाँच्नेछौं भनेर बाइबलले प्रतिज्ञा गरेको हुँदा तपाईंले यस्तो विश्वास गर्नुभएको हुनसक्छ। (भजन ३७:२९; प्रकाश २१:३, ४) तथापि, कसै कसैले बाइबलमा पाइने कारणहरू बाहेक अन्य कारणले गर्दा पनि अनन्त जीवन सम्भव छ भनी विश्वास गर्छन्। तीमध्ये केही कारणहरू छलफल गर्नाले अनन्त जीवन सम्भव छ भनेर बुझ्ने मदत पाउनेछौं।
सधैंभरि बाँच्न बनाइएको
३, ४. (क) किन कसै कसैले हामी सधैंभरि बाँच्नुपर्ने हो भन्ने विश्वास गर्छन्? (ख) दाऊदले आफ्नो संरचनाबारे के भने?
३ धेरैले मानिसहरू सधैंभरि बाँच्नुपर्ने भनेर विश्वास गर्नुको एउटा कारण, हाम्रो अद्भुत संरचना हो। उदाहरणका लागि, आमाको गर्भमा हामी जुन तरिकामा बनिन्छौं, त्यो साँच्चै चमत्कारी छ। बुढ्यौलीसम्बन्धी अध्ययन गर्ने एक प्रमुख विशेषज्ञले लेखे: “प्रकृतिले गर्भधारणदेखि जन्म र पछि यौन परिपक्वतादेखि युवावस्थासम्म चमत्कारहरू गरेपछि बुढ्यौली रोक्ने सरल प्रक्रिया अपनाएन। तसर्थ, ती चमत्कारहरू सधैंभरि भइरहँदैनन्।” हो, हाम्रो चमत्कारी संरचनालाई विचार गर्दा यो प्रश्न खडा हुन्छ, हामी किन मर्छौं?
४ अहिले वैज्ञानिकहरूले गर्भाशयभित्र हेर्न सक्छन्। बाइबल लेखक दाऊदले त्यसरी हेर्न नसके तापनि हजारौं वर्षअघि ती चमत्कारहरूबारे मनन गरे। दाऊदले आफ्नो संरचनाबारे आश्चर्यचकित भएर ‘मेरी आमाको गर्भमै रचिएँ’ भनेर लेखे। तिनले त्यतिखेर ‘तिनका भित्री अंग-प्रत्यंग बनिए’ भने। (नयाँ संशोधित संस्करण) तिनले “म गुप्तमा बनिएको थिएँ” भन्दा तिनका “हड्डीहरू” कसरी रचिए भनेर पनि बताए। त्यसपछि, दाऊदले “म अपूर्ण रूपमै” थिएँ भने अनि आफ्नी आमाको गर्भको भ्रूणसित त्यसको सम्बन्धबारे यसो भने: “सबै अंग . . . पुस्तकमा . . . लेखिएका थिए।”—भजन १३९:१३-१६.
५. गर्भमा हाम्रो संरचना हुँदा कस्ता चमत्कारहरू हुन्छन्?
५ स्पष्टतः आमाको गर्भमा कसरी दाऊदको संरचना भयो, त्यसबारे शाब्दिक अर्थमा कुनै लिखित रूपरेखा थिएन। तर दाऊदले आफ्ना “अंग-प्रत्यंग,” “हड्डीहरू” अनि शरीरका अन्य अंगहरूको संरचनाबारे मनन गर्दा ती सबै अंगहरू पहिल्यै ‘लेखिएर’ सुनियोजित ढंगमा बनिएको जस्तो देखे। तिनलाई आफ्नी आमाको गर्भको निषेचित कोषमा कसरी शिशुको संरचना हुनुपर्छ भन्ने विस्तृत निर्देशनहरू भएका थुप्रै पुस्तकहरू थिए अनि ती जटिल निर्देशनहरू हरेक नयाँ कोषलाई पास गरिन्थ्यो जस्तो लाग्यो। तसर्थ, साइन्स वर्ल्ड पत्रिकाले ‘आमाको गर्भको भ्रूणको हरेक कोषमा त्यसलाई चाहिने सम्पूर्ण रूपरेखाहरू हुन्छन्’ भनी बताउँछ।
६. दाऊदले लेखेझैं हामी “भयानक र आश्चर्य रीतिले” बनिएका छौं भन्ने के प्रमाण छ?
६ के तपाईंले हाम्रो शरीरको आश्चर्यजनक कार्यबारे कहिल्यै सोच्नुभएको छ? जीवविज्ञानी जारेड डाइमण्ड यसो भन्छ: “हाम्रो आन्द्रा भित्रका कोषहरू हरेक दुई चार दिनमा, मूत्राशय भित्रका कोषहरू हरेक दुई महिनामा र रातो रक्तकोषिकाहरू हरेक चार चार महिनामा फेरिन्छन्।” तिनी यस्तो निष्कर्षमा पुगे: “प्रकृतिले हामीलाई दिनहुँ टुक्राएर फेरि जोड्छ।” यसको अर्थ के हो? यसको अर्थ, हाम्रो उमेर ८, ८० वा ८०० नै किन नहोस्, हाम्रो शरीर जवानै रहन्छ। एक वैज्ञानिकले एकपटक यस्तो अनुमान लगाए: “वर्षमा सालाखाला हामीसित भएका ९८ प्रतिशत परमाणुको ठाउँ हामीले लिने हावा, भोजन तथा झोल पदार्थका अन्य परमाणुहरूले लिइरहेका हुन्छन्।” साँच्चै, दाऊदले प्रशंसा गरेझैं हामी ‘भयानक र आश्चर्य रीतिले बनिएका छौं।’—भजन १३९:१४.
७. हाम्रो शारीरिक बनावटको आधारमा कोही कोही कस्तो निष्कर्षमा पुगेका छन्?
७ हाम्रो शरीरको संरचनालाई ध्यानमा राख्दै बुढ्यौलीसम्बन्धी अध्ययन गर्ने एक विशेषज्ञले यसो भने: “बूढाबूढी हुनुको खास कारण हामीले बुझेका छैनौं।” हामी सधैंभरि बाँच्नुपर्ने हो जस्तो देखिन्छ। सायद त्यसैले होला मानिसहरू विभिन्न प्रविधिद्वारा यो लक्ष्य हासिल गर्न खोजिरहेका छन्। केही समयअघि, डा. एल्भिन सिल्भरस्टाइनले मृत्युमाथि विजय (अंग्रजी) नामक आफ्नो पुस्तकमा निर्धक्क भएर यस्तो लेखे: “हामी जीवनको मूलभूत सार खोतल्नेछौं। मानिसहरू कसरी बूढो हुन्छन् . . . त्यो बुझ्नेछौं।” परिणाम के हुनेछ? तिनले यस्तो पूर्वानुमान गरे: “त्यसउप्रान्त ‘बूढाबूढीहरू’ हुनेछैनन् किनभने मृत्युमाथि विजय हासिल गर्न मदत गर्ने ज्ञानले सधैंभरि जवान रहिरहन पनि सम्भव बनाउनेछ।” के मानिसजातिको संरचनाबारे गरिएको आधुनिक वैज्ञानिक खोजले अनन्त जीवन सम्भव छ भनेर देखाउँछ? अवश्य, अनन्त जीवन सम्भव छ भनेर विश्वास गर्ने अर्को ठोस कारण छ।
सधैंभरि बाँच्ने इच्छा
८, ९. मानिसहरूले इतिहासभरि कस्तो जन्मजात इच्छा राखेका छन्?
८ के सधैंभरि बाँच्ने मानिसजातिको स्वाभाविक इच्छा हो भनेर तपाईंले कहिल्यै विचार गर्नुभएको छ? जर्मन पत्रिकामा एक चिकित्सकले यसप्रकार लेखे: “अनन्त जीवनको सपना सायद मानवजाति जत्तिकै पुरानो हो।” केही पुरातन युरोपेलीहरूको विश्वासबारे वर्णन गर्दै द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “योग्य मानिसहरू सुनको छाना लाएको चहकिलो कक्षमा सधैंभरि बाँच्नेछन्।” अनि मानिसहरूले अनन्त जीवनको चाहना पूरा गर्न के के मात्र गरेका छैनन्!
९ दि इन्साइक्लोपीडिया अमेरिकाना-ले टिप्पणी गरेअनुसार २,००० वर्षअघि चीनका “सम्राट तथा [साधारण] जनताहरूले टाओ पूजाहारीहरूको कुरा सुनेर शारीरिक कठिनाइको परवाह नगरी जीवनको रहस्यमय बुटी” अर्थात् यौवनको कथित मुहान खोज्न थाले। साँच्चै, विभिन्न प्रकारका मिश्रण वा खास प्रकारको पानी पिउनाले जवान रहिरहन सकिन्छ भनी विश्वास गर्ने थुप्रै मानिसहरू इतिहासभरि देखिन्छन्।
१०. मानिसहरूले जीवन लामो बनाउन वर्तमान समयमा कस्तो प्रयास गरेका छन्?
१० अनन्त जीवन हासिल गर्ने मानिसको जन्मजात चाहना पूरा गर्न वर्तमान समयमा गरिएका प्रयासहरू पनि कम उल्लेखनीय छैनन्। एउटा प्रमुख उदाहरण, रोग लागेर मरेको मानिसलाई चिसो बरफमा जमाएर राख्ने चलन हो। भविष्यमा रोगको उपचार पत्ता लागेपछि पुनर्जीवित पार्ने आशा गरेर यसो गरिन्छ। अंग्रेजीमा क्रायोनिक्स भनिने यो चलनलाई समर्थन गर्ने एक व्यक्तिले यसो लेखे: “हामीले आशा गरेझैं वृद्धावस्थालगायत सबै रोगहरू निवारण गर्न सकियो भने अहिले ‘मर्नेहरू’ सबैले भविष्यमा चिरकालीन जीवन पाउनेछन्।”
११. मानिसहरू किन सधैंभरि बाँच्न चाहन्छन्?
११ तपाईं सोध्नु होला, किन हाम्रो सोचाइमा अनन्त जीवनको चाहना गढेको छ? किनकि “[परमेश्वरले] मानिसको हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” (उपदेशक ३:११, नयाँ संशोधित संस्करण) यो गम्भीर कुरा हो! सोच्नुहोस्: सधैंभरि बाँच्ने इच्छा पूरा होस् भन्ने सृष्टिकर्ताको उद्देश्यै नभएको भए हामीसित अनन्त जीवनको जन्मजात चाहना किन हुन्थ्यो होला र? अनि हाम्रो मनमा अनन्त जीवनको चाहना राख्नुभएर त्यो कहिल्यै पूरा नगरेर हामीलाई निराश बनाउनु के उहाँको मायालु कार्य भयो र?—भजन १४५:१६.
हामीले कसमाथि भरोसा गर्ने?
१२. कसै कसैले कस्तो विश्वास राख्छन् तर के त्यो तपाईंलाई सही हो जस्तो लाग्छ?
१२ अनन्त जीवन पाउन हामीले कहाँ वा कसमाथि भरोसा राख्ने? यस २० औं वा २१ औं शताब्दीको प्रविधिमा? द न्यु योर्क टाइम्स-को “तिनीहरू बाँच्न चाहन्छन्” भन्ने लेखले “देव: प्रविधि” अनि “प्रविधिको सम्भाव्य जोश[बारे]” बताएको थियो। एक अनुसन्धानकर्ता “बुढ्यौलीलाई रोक्ने, सायद पुनः जवान बनाउनसक्ने आनुवंशिक प्रविधि समयमा उपलब्ध हुनेछ भनी . . . ढुक्क थिए।” तथापि, बुढ्यौली रोक्ने वा मृत्युमाथि विजय हासिल गर्ने मानिसका प्रयासहरू सबै निरर्थक भएका छन्।
१३. हाम्रो मष्तिष्कको बनावटले हामी सधैंभरि बाँच्नुपर्ने हो भनेर कसरी देखाउँछ?
१३ त्यसोभए, के अनन्त जीवन पाउने कुनै मार्गै छैन त? अहँ, त्यसो होइन! मार्ग अवश्य छ! हाम्रो मष्तिष्कको सिक्ने अद्भुत, असीमित क्षमताले यसबारे हामीलाई विश्वस्त गराउनुपर्ने हो। अणु जीवविज्ञानी जेम्स वट्सनले हाम्रो मष्तिष्कलाई “ब्रह्माण्डमा अहिलेसम्म पत्ता लागेको सबैभन्दा जटिल वस्तु” भने। अनि स्नायुविद् रिचर्ड रेस्टाकले यसो भने: “ब्रह्माण्डमा जे जति कुरा छन्, तीमध्ये एउटैले पनि हाम्रो मष्तिष्कसित मुकाबिला गर्न सक्दैन।” यदि हामी सधैंभरि जीवनको आनन्द उठाउन बनिएका होइनौं भने, असीमित जानकारी जम्मा अनि उपयोग गर्ने क्षमता भएको मष्तिष्क अनि सधैंभरि बाँच्नसक्ने शरीर हामीलाई किन चाहियो?
१४. (क) बाइबल लेखकहरू मानिसको जीवनबारे कस्तो निष्कर्षमा पुगे? (ख) किन हामीले आफ्नो भरोसा मानिसमाथि नभई परमेश्वरमाथि राख्नुपर्छ?
१४ त्यसोभए हाम्रो एक मात्र व्यवहारिक, खास निष्कर्ष के होला? हामीलाई सधैंभरि बाँच्न सर्वशक्तिशाली, बुद्धिमान् व्यक्तिले रचना गरेर सृजेको हुनुपर्छ भन्ने होइन र? (अय्यूब १०:८; भजन ३६:९; १००:३; मलाकी २:१०; प्रेरित १७:२४, २५) तसर्थ, हामीले बुद्धिमानीसाथ बाइबल भजनरचयिताको यो प्रेरित आज्ञा पालन गर्नुपर्दैन र: “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन।” हामीले किन मानिसमाथि भरोसा गर्नुहुँदैन? किनकि भजनरचयिता यसो लेख्छन्: “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्।” साँच्चै, सधैंभरि बाँच्ने सम्भावना हुँदाहुँदै पनि मानिसहरू मृत्युको अगाडि निस्सहाय छन्। निष्कर्षमा भजनरचयिता यसो भन्छन्: “[त्यो मानिस खुसी हुन्छ], जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ।”—भजन १४६:३-५.
के यो साँच्चै परमेश्वरको उद्देश्य हो?
१५. परमेश्वरको उद्देश्य हामी सधैंभरि बाँच्नु हो भनेर कुन कुराले देखाउँछ?
१५ तर तपाईं सोध्नुहोला, के साँच्चै हामीले अनन्त जीवन पाओस् भन्ने परमेश्वरको उद्देश्य हो? अवश्य हो! यसबारे उहाँको वचनले निकै चोटि प्रतिज्ञा गरेको छ। बाइबल हामीलाई आश्वासन दिन्छ, “परमेश्वरको अनुग्रहको वरदान . . . अनन्त जीवन हो।” परमेश्वरको सेवक यूहन्नाले यसो लेखे: “[परमेश्वरले] हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, अर्थात् अनन्त जीवन।” एक जवान मानिसले येशूलाई यसरी सोध्नु कुनै अनौठो कुरा होइन: “हे गुरु, अनन्त जीवन पाउनालाई मैले के असल काम गर्नुपर्छ?” (रोमी ६:२३; १ यूहन्ना २:२५; मत्ती १९:१६) भनौं भने, प्रेरित पावलले “अनन्त जीवनको आशामा, जोकि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अघि सनातनदेखि प्रतिज्ञा गर्नुभएको छ” भनेर लेखे।—तीतस १:२.
१६. परमेश्वरले कुन अर्थमा “अघि सनातनदेखि” अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ?
१६ परमेश्वरले “अघि सनातनदेखि” अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ भन्नुको अर्थ के हो? परमेश्वरले प्रथम दम्पती आदम र हव्वा सृष्टि गर्नुअघि नै मानिसहरू सधैंभरि बाँचून् भन्ने उद्देश्य राख्नुभएको थियो भनी पावलले बताइरहेका थिए भनी कसै कसैले भन्ठान्छन्। तथापि, पावलले मानिसजाति सृष्टि भएपछि अनि परमेश्वरले आफ्नो उद्देश्य बताउनुभएपछिको कुरा उल्लेख गरेको भए तापनि परमेश्वरको उद्देश्यमा मानिसजातिका लागि अनन्त जीवन समावेश थियो भन्ने कुरा स्पष्ट छ।
१७. आदम र हव्वा अदनको बगैंचाबाट किन निकालिए अनि प्रवेशद्वारमा करूबहरू किन राखिए?
१७ बाइबल भन्छ, अदनको बगैंचामा “परमप्रभु परमेश्वरले . . . जीवनको रूख . . . लगाउनुभयो।” आदमलाई बगैंचाबाट निकाल्नुको कारण “त्यसले जीवनको रूखको फल पनि टिपेर खाला र सधैंभरि जीवित रहला” भन्ने थियो। यहोवाले आदम र हव्वालाई अदनको बगैंचाबाट निकाल्नुभएपछि “जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।”—उत्पत्ति २:९; ३:२२-२४.
१८. (क) आदम र हव्वाले जीवनको रूखको फल खाएको भए के हुनेथियो? (ख) त्यो रूखको फल खानुले के संकेत गर्नेथियो?
१८ आदम र हव्वालाई त्यो जीवनको रूखको फल खान दिइएको भए के हुनेथियो? तिनीहरूले प्रमोदवनमा सधैंभरि बाँच्ने सुअवसर पाउनेथिए! यस सन्दर्भमा एक बाइबल टिप्पणीकारले यसो भने: “जीवनको रूखमा त्यस्तो कुनै सद्गुण थियो होला जसले मानिसहरूलाई ढल्कँदो उमेर वा मृत्युबाट बचाउनसक्थ्यो।” तिनले अझ यतिसम्म भने कि बुढ्यौलीका “प्रतिकूल असरहरू रोक्नसक्ने बुटी प्रमोदवनमा” थियो। तथापि, बाइबलले जीवनको रूखमा त्यस्ता जीवनदायी गुणहरू थिए भनेर बताउँदैन। बरु, त्यो रूख त त्यसको फल खाने व्यक्तिलाई परमेश्वरले दिनुहुने अनन्त जीवनको ग्यारेन्टीको प्रतीक मात्र थियो।—प्रकाश २:७.
परमेश्वरको उद्देश्य परिवर्तन भएन
१९. आदम किन मरे अनि हामी तिनका सन्तान पनि किन मर्छौं?
१९ आदमले पाप गरेपछि आफू र आफ्नो भावी सन्तानले पाउनसक्ने अनन्त जीवनको अधिकार गुमायो। (उत्पत्ति २:१७) तिनी अनाज्ञाकारीताको कारण पापी भएपछि त्रुटिपूर्ण, असिद्ध भए। भनौं भने, त्यो बेलादेखि आदमको शरीर मृत्युतिर ढल्कन थाल्यो। किनकि बाइबल यसो भन्छ: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) साथै, आदमका असिद्ध सन्तानहरू पनि अनन्त जीवन होइन तर मृत्युतिर ढल्कन थाले। बाइबल यसो भन्छ: “जसरी एउटै मानिस [आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।”—रोमी ५:१२.
२०. मानिसहरू यस पृथ्वीमा सधैंभरि बाँच्नुपर्ने हो भनेर कुन कुराले औंल्याउँछ?
२० तर आदमले पाप नगरेको भए के हुनेथियो? तिनी परमेश्वरप्रति अनाज्ञाकारी नभएको भए अनि तिनलाई जीवनको रूखको फल खान दिइएको भए? परमेश्वरले दिनुहुने अनन्त जीवनको वरदान उसले कहाँ पाउनेथियो? स्वर्गमा? होइन! परमेश्वरले आदमलाई स्वर्गमा लैजाने कुरै गर्नुभएको थिएन। उसलाई यसै पृथ्वीमा काम गर्न अह्राइएको थियो। बाइबल भन्छ, “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो।” बाइबल अझै यसो पनि भन्छ: “परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यो गोड-गाड र हेरचाह गर्न राख्नुभयो।” (उत्पत्ति २:९, १५) हव्वालाई आदमको सहयोगीको रूपमा बनाउनुभएपछि तिनीहरूलाई यस पृथ्वीमा थप काम अह्राइयो। परमेश्वरले तिनीहरूलाई भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”—उत्पत्ति १:२८.
२१. प्रथम मानवजोडीले कस्ता अद्भुत आशाहरू पाएका थिए?
२१ यो निर्देशनले आदम र हव्वाका लागि कस्ता अद्भुत पार्थिव आशाहरू सम्भव तुल्यायो, सोच्नुहोस् त! तिनीहरूले पार्थिव प्रमोदवनमा सिद्ध छोराछोरी जन्माएर तिनीहरूको लालनपालन गर्नसक्थे। तिनीहरूका प्यारा छोराछोरीहरू हुर्केपछि फल्दैफुल्दै जानेथिए अनि प्रमोदवनको हेरचाह गर्ने आनन्दमय कार्यमा सघाउनेथिए। मानिसजातिले सबै जनावरहरू आफ्नो अधीनमा राखेर एकदमै सन्तुष्ट जीवन बिताउनसक्थे। प्रमोदवनलाई फैलाउँदै लगेर सारा पृथ्वी नै प्रमोदवन हुँदा कत्ति आनन्द हुनेथियो, कल्पना गर्नुहोस्! बूढाबूढी हुने अनि मर्ने पीरै नलिई त्यस्तो सुन्दर पार्थिव घरमा के तपाईं जीवन बिताउन चाहनुहुन्न र? तपाईंको मनमा के छ, त्यसैले भनोस्।
२२. परमेश्वरले पृथ्वीप्रतिको आफ्नो उद्देश्य परिवर्तन गर्नुभएन भनेर हामी किन निश्चित हुनसक्छौं?
२२ उसोभए, आदम र हव्वा अनाज्ञाकारी भएर अदनको बगैंचाबाट निकालिंदा के परमेश्वरले मानिसहरू सधैंभरि यस पृथ्वीमा बाँचून् भन्ने आफ्नो उद्देश्य परिवर्तन गर्नुभयो? अहँ गर्नुभएन! त्यसो गर्नु आफ्नो मूल उद्देश्य पूरा गर्न नसकेर हार स्वीकार्नु बराबर हुनेथियो। परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनी हामी ढुक्क हुनसक्छौं। किनकि उहाँले यस्तो घोषणा गर्नुभएको छ: “मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.
२३. (क) परमेश्वरको उद्देश्य धर्मात्माहरू पृथ्वीमा सधैंभरि बाँचून् भन्ने हो भनेर केले पुष्टि गर्छ? (ख) यसपछिको लेखमा के छलफल गरिनेछ?
२३ परमेश्वरले पृथ्वीप्रतिको उद्देश्य हेरफेर गर्नुभएको छैन भनेर बाइबलमा स्पष्टसँग बताइएको छ। परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” येशू ख्रीष्टले पनि डाँडाको उपदेशमा नम्रहरूले पृथ्वी अधिकार गर्नेछन् भन्नुभयो। (भजन ३७:२९; मत्ती ५:५) यद्यपि, हामी कसरी अनन्त जीवन प्राप्त गर्नसक्छौं अनि त्यो जीवनको आनन्द उठाउन हामीले के गर्नैपर्छ? यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ अनन्त जीवन सम्भव छ भनेर किन थुप्रैले विश्वास गर्छन्?
◻ हामी सधैंभरि बाँच्न बनाइएका हौं भनेर कुन कुराले विश्वस्त गराउनुपर्ने हो?
◻ मानिसजाति र पृथ्वीबारे परमेश्वरको सुरुको उद्देश्य के हो?
◻ परमेश्वरले आफ्नो सुरुको उद्देश्य पूरा गर्नुहुनेछ भनेर हामी किन निश्चित हुनसक्छौं?