जवानहरू हो—संसारको आत्माको विरोध गर्नुहोस्
“हामीले संसारको आत्मा होइन, तर परमेश्वरबाटका आत्मा पाएका छौं।”—१ कोरिन्थी २:१२.
१, २. (क) संसारका युवाजनहरू र यहोवाका साक्षीहरूको मण्डलीका युवायुवतीहरूबीच कस्तो भिन्नता देख्न सकिन्छ? (ख) अधिकांश जवान साक्षीहरूको कस्तो न्यानो प्रशंसा गर्न सकिन्छ?
“हाम्रो युवा पिंढी हतोत्साहित, अपहेलित अनि विद्रोही छन्।” अष्ट्रेलियाको द सन-हेराल्ड अखबारमा त्यसो लेखिएको थियो। उक्त अखबारमा अझ यसो भनिएको थियो: “अदालतको रिपोर्टअनुसार, गम्भीर आक्रमणको मुद्दा लागेका नाबालिगहरूको संख्या [गत वर्षको भन्दा] २२ प्रतिशत बढेको छ . . . सन् १९६० दशकको बीचतिरभन्दा तीन गुणा बढी केटाकेटीहरूले आत्महत्या गरिरहेका छन् . . . अनि पुस्ताहरूबीचको अन्तर अकासिएको छ जसले गर्दा युवायुवतीहरू दिन दिनै लागू पदार्थ, मद्यपान र आफूलाई हानि गर्ने काममा फसिरहेका छन्।” तथापि, यस्तो अवस्था एउटा देशमा मात्र सीमित छैन। संसारभरिका आमाबाबु, शिक्षकशिक्षिका तथा मनोचिकित्सकहरू स-साना केटाकेटीहरूको अवस्थाप्रति साह्रै चिन्तित छन्।
२ आजका अधिकांश युवाजनहरू अनि यहोवाका साक्षीहरूको मण्डलीहरूका असल युवायुवतीहरूबीच आकाश जमिनको भिन्नता छ! त्यसको मतलब तिनीहरू सिद्ध छन् भन्ने होइन। तिनीहरूले पनि “जवानीका अभिलाषाहरू” विरुद्ध संघर्ष गर्नुपर्छ। (२ तिमोथी २:२२) तर समूहगत रूपमा यी युवायुवतीहरूले सही कुराको पक्षमा खडा भएर सांसारिक दबाबहरू तिरस्कार गर्ने साहसिक कदम चालेका छन्। “शैतानका युक्तिहरूका विरुद्ध” युद्धमा विजयी हुने तपाईं सबै युवायुवतीहरूको हामी सम्पूर्ण हृदयले सराहना गर्छौं! (एफिसी ६:११) प्रेरित यूहन्नाजस्तै हामी पनि यसो भन्न उत्प्रेरित हुन्छौं: “हे युवक [अनि युवतीहरू] हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।”—१ यूहन्ना २:१४.
३. “आत्मा” शब्दको अर्थ के हुनसक्छ?
३ यद्यपि, दुष्ट विरुद्धको युद्धमाथि विजयी भइरहन तपाईंले बाइबलमा भनिएको “संसारको आत्मा[को]” विरोध गरिरहनुपर्छ। (१ कोरिन्थी २:१२) एउटा युनानी भाषाबारे लेखिएको एउटा पुस्तकअनुसार, “आत्माले” “मानिसमाथि प्रभुत्व जमाउने मनोभाव वा स्वभाव” भन्ने बुझाउनसक्छ। उदाहरणका लागि, कसैलाई चिढिएको देख्नुभयो भने, यो मान्छेको त कस्तो नराम्रो “स्वभाव” रहेछ भनी तपाईं भन्नुहोला। तपाईंको “स्वभाव” अर्थात् मनोभाव वा मानसिक झुकाउले तपाईंको छनौटमा असर गर्छ; तपाईंको काम र बोलीमा प्रभाव पार्छ। चाखलाग्दो कुरा, मानिसले व्यक्तिगत रूपमा साथै सामूहिक रूपमा यस्तो “स्वभाव” प्रदर्शित गर्नसक्छन्। प्रेरित पावलले मसीहीहरूको एउटा समूहलाई यसरी लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूका आत्मासँग रहोस्।” (फिलेमोन २५) त्यसोभए, संसारले कस्तो आत्मा प्रदर्शित गर्छ त? ‘सारा संसार दुष्ट’ शैतान अर्थात् दियाबलको “अधीनमा” परेकाले संसारको आत्मा लाभदायक हुनसक्दैन, हुनसक्छ र?—१ यूहन्ना ५:१९.
संसारको आत्मा चिन्ने
४, ५. (क) मसीही हुनुअघि एफिससका मसीहीहरूलाई कस्तो आत्माले प्रभावित गरेको थियो? (ख) “आकाशको शक्तिको मालिक” को हो र “आकाश” के हो?
४ पावलले यसरी लेखे: “जब तिमीहरू आफ्ना अपराध र पापमा मरेका थियौ, तब उहाँले तिमीहरूलाई सजीव पार्नुभयो। जसमा यस संसारको रीतिअनुसार, आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथियौ। जुनमध्ये हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौं, र अरू बाँकीजस्तै हामी पनि स्वभावैले क्रोधका सन्तान भएका थियौं।”—एफिसी २:१-३.
५ मसीही तौरतरिकाहरू सिक्नुअघि एफिससका मसीहीहरू अनजानमै “आकाशको शक्तिको मालिक” शैतान अर्थात् दियाबलको पछि लागिरहेका थिए। “आकाश” भनेको शैतान र त्यसका प्रेतहरू बास गर्ने कुनै वास्तविक स्थान होइन। पावलले उक्त शब्दहरू लेखेका समयमा शैतान अर्थात् दियाबल र त्यसका प्रेतहरू स्वर्ग जानसक्थे। (अय्यूब १:६ तुलना गर्नुहोस्; प्रकाश १२:७-१२) यो “आकाश” शब्दले शैतानको अधीनमा रहेको संसारमाथि प्रभुत्व जमाउने आत्मा वा मानसिक झुकाउलाई बुझाउँछ। (प्रकाश १६:१७-२१ तुलना गर्नुहोस्।) आकाश चारैतिर छ र यस्तो आत्मा पनि जताततै व्याप्त छन्।
६. “आकाशको शक्ति” के हो अनि यो थुप्रै युवायुवतीहरूमाथि कसरी कार्यान्वयन भएको छ?
६ “आकाशको शक्ति” के हो? सायद ‘आकाशले’ मानिसहरूमाथि पारेको गहिरो प्रभावलाई यसले संकेत गर्छ। यो आत्माले “अनाज्ञाकारिताका सन्तानमा काम” गर्छ भनी पावलले बताए। अतः संसारको आत्माले अनाज्ञाकारिता र विद्रोहको आत्मा उत्पन्न गर्छ। यस्तो आत्मा कार्यान्वयन गर्ने एउटा तरिका हो, साथीहरूको दबाब। एउटी साक्षी केटी यसो भन्छिन्, “स्कूलमा अलिअलि विद्रोह गर्न सबैले सबैलाई सधैं उक्साइरहेका हुन्छन्। कुनै कुनै प्रकारको विद्रोही काम गऱ्यो भने साथीहरूले अझ बढी आदर गर्छन्।”
संसारको आत्मा प्रकट हुने तरिकाहरू
७-९. (क) आजका युवाजनहरूमा संसारको आत्मा प्रकट हुने केही तरिकाहरू बताउनुहोस्। (ख) के तपाईंले स्थानीय इलाकामा यस्ता कुराहरू भइरहेको देख्नुभएको छ?
७ आजका युवाजनहरूले कुन कुन तरिकामा संसारको आत्मा प्रकट गर्छन्? अनाज्ञाकारीता तथा विद्रोह। एउटा पत्रिकाको रिपोर्टअनुसार, कलेजका नयाँ र पुराना विद्यार्थी दुवैले हाई-स्कूलको परीक्षामा चोरेको कुरा बताए। नचाहिंदो, व्यंग्यात्मक अनि फोहर बोली पनि व्याप्त छ। हो, एक चोटि अय्यूब र प्रेरित पावलले आफ्नो धार्मिक क्रोध व्यक्त गर्न भनेका कुरा कसै कसैलाई व्यंग्यात्मक लाग्नसक्छ। (अय्यूब १२:२; २ कोरिन्थी १२:१३) तथापि, थुप्रै युवाजनहरूले फलाक्ने अचाक्ली व्यंग्यात्मक कुराहरू अक्सर गालीगलौजजस्तै हुन्छन्।
८ संसारको आत्मा प्रकट गर्ने अर्को तरिका, अत्यधिक मनोरञ्जन पनि हो। जवानहरूको नाइटक्लब, रेभa अनि अन्य प्रकारका असभ्य कामकुराहरू युवाजनहरूबीच अति लोकप्रिय छन्। त्यसै गरी, उत्ताउलो पहिरन र कोरीबाटीको पनि लहड नै चलेको छ। ह्वार्लाङ्गे हिप-हप स्टाइलदेखि लिएर अंग छेड्नेजस्ता अभद्र फेसन गरेर आजका थुप्रै युवाजनहरूले संसारको विद्रोही आत्मा प्रदर्शित गरिरहेका छन्। (रोमी ६:१६ तुलना गर्नुहोस्।) भौतिक कुराहरूलाई प्राथमिकता दिनु पनि संसारको आत्मा प्रकट गर्ने अर्को तरिका हो। एउटा शैक्षिक पत्रिकाअनुसार, “व्यापारीहरूले विज्ञापन अनि किसिम किसिमका सरसामानहरूद्वारा केटाकेटीहरूलाई सधैं आकर्षित गर्ने गरेका छन्।” संयुक्त राज्यका युवाजनहरूले हाई-स्कूल पढिसक्दा टिभीमा ३,६०,००० विज्ञापनहरू हेरिसकेका हुन्छन्। तपाईंका साथीभाइहरूले पनि ती सरसामानहरू किन्न कर लगाउनसक्छन्। चौध वर्षीया केटी यसो भन्छिन्: “ ‘तिम्रो स्वेटर, कोट वा जिन्स कुन कम्पनीको हो हँ?’ भनेर सबैले सोधिरहन्छन्।”
९ बाइबलकालीन समयदेखि नै शैतानले हानिकारक संगीतलाई अशुद्ध आचरणलाई बढावा दिने साधनको रूपमा प्रयोग गर्दै आएको छ। (तुलना गर्नुहोस् प्रस्थान ३२:१७-१९; भजनसंग्रह ६९:१२; यशैया २३:१६) तसर्थ, यौन उत्तेजना जगाउने संगीत अनि अपवित्रता र अश्लीलतालाई बढावा दिने संगीतका शब्द र तालहरू चाहे सुस्पष्ट होस् या नहोस् त्यो लोकप्रिय हुनु कुनै छक्कलाग्दो कुरा होइन। यस संसारको अशुद्ध आत्मा प्रकट हुने अर्को तरिका हो, यौन अनैतिकता। (१ कोरिन्थी ६:९-११) द न्यु योर्क टाइम्स यस्तो रिपोर्ट दिन्छ: “थुप्रै किशोरकिशोरीहरू यौन सम्बन्ध सबैले गर्ने सामान्य कुरा ठान्छन्। . . . हाई-स्कूलका दुई तिहाइ विद्यार्थीहरूले यौन सम्बन्ध राखिसकेका हुन्छन्।” द वल स्ट्रिट पत्रिका-ले ८ वर्षदेखि १२ वर्षबीचका केटाकेटीहरू “यौन कार्यमा बढी सक्रिय” हुँदैछन् भन्ने प्रमाण उल्लेख गरेको छ। भर्खरै अवकाशप्राप्त गरेका स्कूल सल्लाहकार यसो भन्छिन्: “हामीले छ कक्षाका कोही कोही केटीहरू गर्भवती भएको देख्न थालेका छौं।”b
संसारको आत्मालाई तिरस्कार गर्ने
१०. मसीही परिवारका केही युवाजनहरू कसरी संसारको आत्माले ग्रस्त भएका छन्?
१० दुःखको कुरा, केही जवान मसीहीहरू संसारको आत्माले ग्रस्त भएका छन्। एउटी जापानी किशोरी यसो भन्छिन्: “म आफ्नो आमाबाबु र सँगी मसीहीहरूको सामने असाध्यै भद्र भई टोपल्थें। तर मैले दोहोरो जीवन बिताइरहेकी थिएँ।” केन्याकी एउटी केटी यसो भन्छिन्: “पार्टीहरूमा गएर, रक संगीत सुनेर अनि गलत साथीहरूसंग संगत गरेर केही समयसम्म दोहोरो जीवन बिताएँ। दोहोरो जीवन बिताउनु ठीक होइन भनेर मलाई थाह थियो। तर समयमा ठीक भइहाल्छ नि भन्ठानेर बेवास्ता गरें। तर कहाँ ठीक हुन्थ्यो र। अवस्था झन् झन् बिग्रिंदै गयो।” जर्मनीकी किशोरी यसो भन्छिन्: “मैले गलत साथीहरूसित घुलमिल गर्न थाल्दा सबै समस्याहरू सुरु हुन थाल्यो। मैले चूरोट खान थालें। म आफ्नो आमाबाबुको चित्त दुखाउन तर उल्टा आफैले दुःख भोग्नुपऱ्यो।”
११. दस जना जासुसहरूले नराम्रो रिपोर्ट ल्याउँदा समूहको लहैलहैमा नलाग्न कालेब कसरी सक्षम भए?
११ तैपनि, संसारको आत्माको विरोध तथा तिरस्कार गर्न सकिन्छ। प्राचीन समयको कालेबको उदाहरण विचार गर्नुहोस्। दस जना डरछेरुवा जासुसहरूले प्रतिज्ञा गरिएको देशबारे नराम्रो रिपोर्ट ल्याए। तर कालेब र यहोशू डराएर समुदायको पछि लागेनन्। तिनीहरूले साहसी भई यस्तो घोषणा गरे: “हामी भेद लिन गएका देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बहने देश हामीलाई दिनुहुनेछ।” (गन्ती १४:७, ८) कुन कुराले गर्दा कालेबले दबाबहरू सामना गर्न सके? यहोवाले कालेबबारे यसो भन्नुभयो: “कालेबमा अर्कै आत्मा छ।”—गन्ती १४:२४.
“अर्कै आत्मा” देखाउँदै
१२. बोलीवचनमना “अर्कै आत्मा” प्रदर्शित गर्नु किन महत्त्वपूर्ण छ?
१२ आज “अर्कै आत्मा” अर्थात् संसारको भन्दा भिन्नै मनोभाव प्रदर्शित गर्न साहस चाहिन्छ। यसो गर्ने एउटा तरिका हो, व्यंग्यात्मक तथा अनादरपूर्ण बोली प्रयोग नगरेर। चाखलाग्दो कुरा के छ भने, “व्यंग” भन्ने अंग्रेजी शब्द युनानी क्रियाबाट लिइएको हो जसको शाब्दिक अर्थ “कुकुरले जस्तो मासु लुछाचुँड गर्नु” हो। (गलाती ५:१५ तुलना गर्नुहोस्।) कुकुरले आफ्ना दाँतहरूले हड्डीबाट मासु लुछेझैं व्यंग्यात्मक “ठट्टाले” अरूको इज्जतमा धक्का पुऱ्याउनसक्छ। तर कलस्सी ३:८ ले तपाईंलाई “रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा” त्याग्न आग्रह गर्छ। अनि हितोपदेश १०:१९ यसो भन्छ: “मानिसहरू जति धेरै बोल्छन् उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।” कसैले तपाईंको अपमान गऱ्यो भने, त्यस व्यक्तिसँग शान्तपूर्वक कुरा गरेर ‘अर्कोतिरको गाला फर्काउन’ सक्ने आत्म-संयम होस्।—मत्ती ५:३९; हितोपदेश १५:१.
१३. युवाजनहरूले भौतिक कुराहरूप्रति कसरी सन्तुलित दृष्टिकोण राख्नसक्छन्?
१३ “अर्कै आत्मा” देखाउने अर्को तरिका हो, भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु। निस्सन्देह, राम्रा कुराहरू प्राप्त गर्न चाहनु स्वाभाविक हो। प्राप्त प्रमाणअनुसार येशूको पनि एउटा दामी अलखा थियो। (यूहन्ना १९:२३, २४) तर भौतिक कुराहरू प्राप्त गर्ने धुनमा चुर्लुम्म डुबेर आफ्नो आमाबाबुले किन्ने औकातले नभ्याउने कुराहरू माग्न वा आफ्ना साथीहरूको नकल गर्न थाल्नुभयो भने चाहिं तपाईंलाई आफूले सोचेभन्दा बढी संसारको आत्माले प्रभाव पारिसकेको छ। बाइबल भन्छ: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” हो, संसारको भौतिक कुराहरूले तपाईंमा प्रभुत्व जमाउन नदिनुहोस्! आफूसँग जे छ, त्यसैमा सन्तुष्ट हुन सिक्नुहोस्।—१ यूहन्ना २:१६, १ तिमोथी ६:८-१०.
१४. (क) परमेश्वरका जनहरूले यशैयाको समयमा मनोरञ्जनप्रति कसरी सन्तुलित दृष्टिकोण देखाएनन्? (ख) नाइटक्लब र अनियन्त्रित भोजहरूमा केही जवान मसीहीहरूले कस्ता खतराहरू भोगेका छन्?
१४ मनोरञ्जनलाई सन्तुलित राख्नु पनि महत्त्वपूर्ण छ। अगमवक्ता यशैयाले यस्तो घोषणा गरे: “धिक्कार तिनीहरूलाई जो मद्य पिउन बिहानै उठ्छन्, जो मद्यले चूर हुन राती अबेरसम्म बस्छन्! तिनीहरूको भोजहरूमा वीणा, सारंगी, ढोलक, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरू परमप्रभुको कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँको हातको काममा ध्यानै दिंदैनन्।” (यशैया ५:११, १२) दुःखको कुरा, केही जवान मसीहीहरूले यस्तै अनियन्त्रित भोजमा भाग लिने गरेका छन्। युवा नाइटक्लबहरूमा के के हुन्छ भनेर जवान मसीहीहरूको एक समूहलाई प्रश्न गर्दा एउटी बहिनीले यसो भनिन्: “सधैंजसो झगडा हुन्छ। म पनि कतिवटा झगडाको हूलमूलमा परेकी छु।” अर्को एक जवान भाइले अझ यसो भने: “के हुन्छ र, रक्सी पिउने, चुरोट तान्ने।” एक जवान भाइले यसो भने: “मानिसहरू रक्सीले मात्तिन्छन्। जथाभावी व्यवहार गर्छन्! लागू पदार्थहरू सेवन गर्छन्। अनेक किसिमका खराब कुराहरू गर्छन्। त्यहाँ गएर मलाई केही प्रभाव पार्दैन भन्नु त मूर्खता हो।” तसर्थ, बाइबलले भोजको मोजमजा वा “अनियन्त्रित भोजलाई” ‘शरीरका कामहरूमध्ये’ एक हो भनेर सूचित गर्नु उपयुक्त छ।—गलाती ५:१९-२१; बाइंग्टन; रोमी १३:१३.
१५. बाइबलले मनोरञ्जनबारे कस्तो सन्तुलित दृष्टिकोण प्रस्तुत गर्छ?
१५ हानिकारक मनोरञ्जनमा सामेल नहुँदा तपाईंको जीवन नरमाइलो हुने होइन। हामी ‘आनन्दित परमेश्वरको’ उपासना गर्छौं र तपाईंले आफ्नो युवावस्थामा आनन्द उठाएको उहाँ चाहनुहुन्छ। (१ तिमोथी १:११; उपदेशक ११:९) तर बाइबल यस्तो चेताउनी दिन्छ: “सुख-विलास [“मनोरञ्जन,” लम्सा] प्रेम गर्नेले भोजनको लागि भीख माग्नुपर्छ।” (हितोपदेश २१:१७) हो, तपाईंले मनोरञ्जनलाई जीवनको सर्वमहत्त्वपूर्ण कुरा बनाउनुभयो भने तपाईं आध्यात्मिकतामा खोक्रो हुनुहुनेछ। त्यसकारण, मनोरञ्जन छनौट गर्दा बाइबलका सिद्धान्तहरू पछ्याउनुहोस्। तपाईं त्यस्ता थुप्रै तरिकाहरूमा आनन्द उठाउन सक्नुहुन्छ जसले तपाईंको अवनति होइन तर उन्नति गर्नेछ।c—उपदेशक ११:१०.
१६. जवान मसीहीहरूले तिनीहरू अरूभन्दा भिन्नै छन् भनेर कसरी देखाउनसक्छन्?
१६ संसारको फेसनलाई तिरस्कार गरेर भद्र पहिरन र कोरीबाटी गर्नाले पनि तपाईं अरूभन्दा भिन्न हुनुहुनेछ। (रोमी १२:२; १ तिमोथी २:९) संगीत छनौट गर्दा होसियार भएर पनि अरूभन्दा भिन्न देखिन सक्नुहुन्छ। (फिलिप्पी ४:८, ९) एउटी जवान मसीही स्वीकार्छिन्: “मसँग भएका क्यासेटहरू राखिरहनु ठीक छैन भनेर मलाई थाह छ तर त्यसका संगीत साह्रै सुमधुर छन्!” त्यसै गरी, अर्को किशोर यसो भन्छन्: “मेरोलागि संगीत त पासो नै हो किनकि म संगीत साह्रै मन पराउँछु। कुनै कुनै संगीत उचित छैनन् भनेर आफूले थाह पाउँदा वा मुमाबुबाले भन्नुहुँदा, त्यो कुरा खुसीसाथ स्वीकार्न मलाई निकै गाह्रो पर्छ किनकि त्यो संगीत मलाई असाध्यै मन परिसकेको हुन्छ।” युवाजनहरू हो, ‘शैतानको युक्तिहरूका विषयमा अजान नहुनुहोस्’! (२ कोरिन्थी २:११) त्यसले जवान मसीहीहरूलाई यहोवाबाट तर्काउन संगीत प्रयोग गरिरहेको छ! ऱ्याप, हेभी मेटल अनि रक संगीतहरूबारे वाच टावरका साहित्यहरूमा लेखहरू प्रकाशित भएका छन्।d तथापि, वाच टावर सोसाइटीका साहित्यहरूले समयको दौडान आउने हरेक नयाँ स्टाइल वा संगीतबारे बताउनसक्दैन। त्यसकारण, संगीत छनौट गर्दा तपाईंले “विवेक” र “समझ-शक्ति” प्रयोग गर्नुहोस्।—हितोपदेश २:११.
१७. (क) पोरनिया भनेको के हो अनि यसमा कस्ता कार्यहरू समावेश छन्? (ख) नैतिकताबारे परमेश्वरको इच्छा के हो?
१७ अन्तमा, तपाईंले आफूलाई नैतिक तवरमा स्वच्छ राख्नुपर्छ। बाइबल यस्तो आग्रह गर्छ: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१८) व्यभिचार भनेर अनुवाद गरिएको मूल युनानी शब्द पोरनिया-ले जननेन्द्रियहरू प्रयोग गरेर वैवाहिक सम्बन्ध बाहिर राखिने हरप्रकारको अनुचित यौनसम्बन्धलाई बुझाउँछ। यसमा मुख मैथुन अनि यौन अंगहरू सुमसुम्याउनु समावेश छ। यसो गर्नु करनी होइन भन्ठानेर थुप्रै जवान मसीहीहरूले यस्ता कार्यहरू गर्ने गरेका छन्। तथापि, परमेश्वरको वचनले स्पष्टसँग यसो भन्छ: “परमेश्वरको इच्छा, अर्थात् तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान।”—१ थिस्सलोनिकी ४:३, ४.
१८. (क) युवाजनहरूले आफूलाई संसारको आत्माद्वारा दूषित हुनबाट कसरी बचाउनसक्छन्? (ख) यसपछिको लेखमा के छलफल गरिनेछ?
१८ हो, यहोवाको मदत पाएर तपाईं संसारको आत्माद्वारा दूषित हुनबाट बच्न सक्नुहुन्छ। (१ पत्रुस ५:१०) यद्यपि, शैतानले अक्सर चालै नपाउने पासोहरू प्रयोग गर्छ अनि खतरा थाह पाउन कहिलेकाहीं समझशक्तिको खाँचो पर्छ। यसपछिको लेख युवाजनहरूलाई तिनीहरूको ज्ञानेन्द्रिय शक्ति अभ्यास गर्न मदत दिने हेतुले तयार गरिएको छ।
[फुटनोटहरू]
a रेभ भनेको साधारणतया रातभर चल्ने डान्स पार्टी हो। थप जानकारीका लागि जनवरी ८, १९९८ को ब्यूँझनुहोस्!-को “युवा जनहरू सोध्छन् . . . के रेभ लाभदायक मनोरञ्जन हो?” भन्ने लेख हेर्नुहोस्।
b लगभग ११ वर्षका केटीहरू।
c सुझाउको निम्ति युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकको पृष्ठ २९६-३०३ हेर्नुहोस्।
d अप्रिल १५, १९९३ को प्रहरीधरहरा हेर्नुहोस्।
पुनरावलोकनका लागि प्रश्नहरू
◻ “संसारको आत्मा” के हो अनि यसले मानिसहरूमाथि कसरी प्रभुत्व जमाएको छ?
◻ आजका युवाजनहरूले कुन कुन तरिकामा संसारको आत्मा प्रदर्शित गर्छन्?
◻ जवान मसीहीहरूले आफ्नो बोली र मनोरञ्जनमा कसरी “अर्कै आत्मा” देखाउनसक्छन्?
◻ जवान मसीहीहरूले नैतिकता र संगीतको सन्दर्भमा कसरी “अर्कै आत्मा” देखाउनसक्छन्?
[पृष्ठ ९-मा भएको चित्र]
थुप्रै युवाजनहरूले तिनीहरू संसारको आत्माको “शक्तिको” अधीनमा छन् भनेर आफ्नो आचरणद्वारा देखाउँछन्
[पृष्ठ १०-मा भएको चित्र]
ध्यान पुऱ्याएर संगीतको छनौट गर्नुहोस्
[पृष्ठ ११-मा भएको चित्र]
संसारको आत्माको विरोध गर्न साहस चाहिन्छ