ईश्वरीय अड्कोहरू र परमेश्वरको उद्देश्य
कसैलाई जवाफ दिन मुस्किल पऱ्यो भने खूब मजा आउँछ तर जवाफ दिनसक्यो भने चाहिं मजा आउँदैन। त्यो के हो? अड्को।
सबै कुरा स्पष्ट जान्न खोज्ने आजको समाजमा मानिसहरूले अड्कोलाई केटाकेटीहरूको खेल भन्ठान्छन्। तर प्राचीन समयमा अड्कोद्वारा “बुद्धिको जाँच हुन्थ्यो” भनी द इन्टरप्रेटर्स डिक्शनरी अफ द बाइबल बताउँछ।—हितोपदेश १:५, ६ तुलना गर्नुहोस्।
यहोवाले कहिलेकाहीं आफ्नो इच्छा तथा उद्देश्य सोझै बताउनुको सट्टा जानाजानी बुझ्न गाह्रो हुने भविष्यवाणी, दृष्टान्त, रहस्यमय “भेदका कुराहरू” वा अड्को भन्नुहुन्छ। (भजनसंग्रह ७८:२, नयाँ संशोधित संस्करण; गन्ती १२:८) वास्तवमा, बाइबलमा अड्को अर्थ बुझाउने हिब्रू शब्द १७ चोटि मात्र प्रयोग गरिएको भए तापनि धर्मशास्त्रमा थुप्रै अड्को र उखानहरू छन्।
बाइबलीय अड्कोहरू थुप्रै छन्
प्राप्त प्रतिवेदनअनुसार, राजा सुलेमानले गाह्रोभन्दा गाह्रो प्रश्न वा अड्कोहरूको जवाफ दिनसक्थे। (१ राजा १०:१) तिनीसँग ईश्वरप्रदत्त बुद्धि भएकोले तिनले त्यसो गर्नसके। प्राचीन इतिहासकारहरूअनुसार, एक चोटि सोरका राजा हीरामसँग अड्को खोल्ने बाजी खेल्दा सुलेमान हारे। तिनीहरूको भनाइ साँचो हो भने, सुलेमान धर्मत्यागी भएर यहोवाले तिनीबाट आफ्नो आत्मा हटाउनुभएपछि उक्त घटना भएको हुनसक्छ। न्यायकर्ता शिमशोन पनि अड्को प्रयोग गर्न रुचाउँथे। एक चोटि, पवित्र आत्माद्वारा शक्ति पाएर तिनले परमेश्वरका शत्रुहरूको मनमा त्रास उत्पन्न गर्न अड्को थापे।—न्यायकर्त्ता १४:१२-१९.
तथापि, बाइबलका थुप्रै अड्कोहरू यहोवाका उद्देश्यहरूसित प्रत्यक्षतः सम्बन्धित छन्। उदाहरणका लागि, उत्पत्ति ३:१५ लाई विचार गर्नुहोस्। यही भविष्यवाणी नै बाइबलको विषयको आधार हो अनि यो एउटा रहस्य अर्थात् “पवित्र गोप्य” हो। (रोमी १६:२५, २६, NW) प्रेरित पावलले अलौकिक दर्शन र प्रकाशहरू पाए। त्यसबाहेक, तिनले बुझेका परमेश्वरको उद्देश्यका केही पक्षहरू “धमिलो” वा शाब्दिक अर्थमा भन्ने हो भने “अस्पष्ट” थिए। (१ कोरिन्थी १३:१२; २ कोरिन्थी १२:१-४) एक्कासि अनि कुनै अर्थै नखोली प्रकाश १३:१८ मा उल्लेख गरिएको जनावरको रहस्यमय संख्या अर्थात् “छ सय छयसट्ठी[सित]” सम्बन्धित अनन्त परिकल्पनाबारे के भन्न सकिन्छ नि? यी ईश्वरीय अड्कोहरूका अर्थ कसले बताउनसक्छ अनि यसको उद्देश्य के हो?
पवित्र गोप्यको अर्थ खोल्ने
हाम्रा पाँच इन्द्रियहरूमध्ये धेरैजसोलाई दृश्य सबैभन्दा बहुमूल्य लाग्छ। तर प्रकाश छैन भने मानिसहरूले केही पनि देख्नसक्दैनन्। हामी अन्धोसरह हुन्छौं। मानव मस्तिष्क पनि त्यस्तै हो। मस्तिष्कले अरूको विशेष गुण नकल गर्न, तर्क गर्न र अलमल्लमा पार्ने कुराहरू समाधान गर्नसक्छ। यद्यपि, पवित्र गोप्य बुझ्न त्यति भएर मात्र पुग्दैन। बाइबलका अड्कोहरूको अर्थ कसै कसैले बताउलान् तर बाइबलको ग्रन्थकार यहोवा अर्थात् ज्योतिका परमेश्वरले मात्र त्यसको खास अर्थ बताउन सक्नुहुन्छ।—१ यूहन्ना १:५.
दुःखको कुरा, अचाक्ली घमण्डी र स्वच्छन्द भएर मानिसहरूले ती अड्कोहरूको जवाफका लागि प्रायजसो यहोवालाई पर्खंदैनन्। रहस्यमय कुराहरूप्रति जिज्ञासु भएर कसै कसैले चाहिं परमेश्वरको वचनमा नभई अन्य स्रोतमा जवाफ खोज्छन्। ती जवाफ बौद्धिक कुराहरूमा आधारित हुन्छन् तर त्यो साँचो हुन्छ नै भन्ने चाहिं छैन। उदाहरणका लागि, यहूदी रहस्यवादीहरूले काबालाको सहारा लिएर हिब्रू अंक तथा अक्षरहरूको जादुगरी अर्थ अड्कल काटे। अर्कोतिर, दोस्रो शताब्दीका नस्टीकहरूले हिब्रू र युनानी धर्मशास्त्र चलाएर ती अंक तथा अक्षरहरूको गोप्य अर्थ पत्ता लगाउने प्रयास गरे।
तथापि, त्यसले गर्दा तिनीहरू गैरमसीही संस्कार वा अन्धविश्वासहरूमा फसे अनि सत्यबाट तर्के। नस्टीकहरूले यस्तो तर्क गरे, ‘सारा संसार दुष्टले भरिएकोले सृष्टिकर्ता यहवे पनि असल परमेश्वर होइन।’ के यो कुनै राम्रो निष्कर्ष हो? मानव तर्क कति खोक्रो छ! नस्टीक पन्थले प्रतिपादन गरेका धर्मत्यागी विचारहरूको विरोध गर्दै प्रेरित पावलले आफ्नो पत्रमा यस्तो कडा चेताउनी दिनु छक्कलाग्दो कुरा होइन: “लेखिएका कुराभन्दा बढ़ता गर्नुहुन्न”!—१ कोरिन्थी ४:६.
“भेदका कुराहरू” प्रकट गर्ने
यद्यपि, ज्योतिका परमेश्वरले किन “भेदका कुराहरू” भन्नुपऱ्यो नि? अड्कोले मानिसको कल्पना र तर्क शक्तिलाई चुनौती दिन्छ। तसर्थ, भोजन स्वादिष्ट बनाउन मरमसाला हालेजस्तै धर्मशास्त्रभरि छरिएका अड्कोहरू कहिलेकाहीं स्रोताहरूको चासो जगाउन वा स्पष्टसित सन्देश सुनाउन प्रयोग गरिन्थ्यो। अनि भन्ने बित्तिकै त्यसको अर्थ पनि खुलाइन्थ्यो।—इजकिएल १७:१-१८; मत्ती १८:२३-३५.
यहोवाले उदारचित्तसाथ बुद्धि दिनुहुन्छ तर जसलाई पायो त्यसलाई दिनुहुन्न। (याकूब १:५-८) हितोपदेशको पुस्तकबारे विचार गर्नुहोस्। यो पुस्तकमा भएको रहस्यमय उक्तिहरूको ईश्वरप्रेरित संग्रहलाई कसै कसैले अड्को भन्ठान्नसक्छन्। त्यसलाई बुझ्न समय चाहिन्छ र मनन गर्नुपर्छ। तर त्यस्तो प्रयास गर्न चाहने मानिसहरू कति जना छन् र? त्यसमा भएको बुद्धि खोतल्न इच्छुकहरूले मात्र पाउनेछन्।—हितोपदेश २:१-५.
येशूले पनि त्यसै गरी आफ्ना स्रोताहरूको हृदयको अवस्था बुझ्न दृष्टान्तहरू प्रयोग गर्नुभयो। मानिसहरूको भीड उहाँको वरिपरि भेला हुन्थ्यो। तिनीहरूलाई उहाँका कथाहरू सुन्न रमाइलो लाग्थ्यो। तिनीहरू उहाँका चमत्कारहरू हेर्न मन पराउँथे। यद्यपि, तीमध्ये कतिचाहिं आफ्नो जीवनशैली परिवर्तन गर्न र उहाँको पछि लाग्न इच्छुक थिए? तिनीहरूभन्दा येशूका चेलाहरू एकदमै भिन्न थिए किनकि तिनीहरूले सधैं येशूका शिक्षाहरू बुझ्ने कोसिस गरे अनि स्वेच्छासाथ उहाँका चेला बने!—मत्ती १३:१०-२३, ३४, ३५; १६:२४; यूहन्ना १६:२५, २९.
ज्योतितर्फ हेर्दै
एउटा पुस्तकअनुसार, “बौद्धिक जागरण छ भने मात्र अड्कोहरूमा चासो हुन्छ।” आज हामीले परमेश्वरका जनहरूका लागि आध्यात्मिक ‘ज्योति छरिएको’ समयमा बाँच्ने राम्रो सुअवसर पाएका छौं। (भजनसंग्रह ९७:११; दानियल १२:४, ९) के यहोवाले आफ्नो समय तालिकाअनुसार उद्देश्यहरू प्रकट नगरुञ्जेल हामी धीरजी भई उहाँलाई पर्खनसक्छौं? अझ महत्त्वपूर्ण कुरा, के परमेश्वरले प्रकट गर्नुभएका उहाँको इच्छाअनुसार आफ्नो जीवनशैली परिवर्तन गर्न तुरुन्त कदम चाल्छौं? (भजनसंग्रह १:१-३; याकूब १:२२-२५) त्यसो गऱ्यौं भने, यहोवाले हाम्रो प्रयासमा आशिष् दिनुहुनेछ। फलतः चश्मा लगाएपछि धमिलो कुरा स्पष्ट देखेजस्तै पवित्र आत्माले हाम्रो आध्यात्मिक दृष्टि तीखो बनाउँछ अनि हामी आफ्नो मनको आँखाले ईश्वरीय उद्देश्यको चित्र स्पष्टसँग देख्नेछौं।—१ कोरिन्थी २:७, ९, १०.
साँच्चै, धर्मशास्त्रीय अड्कोहरूले यहोवालाई “रहस्य खोल्नुहुने” भनेर महिमित गर्छ। (दानियल २:२८, २९) यसबाहेक, उहाँ मानिसहरूको “हृदय जाँच्नुहुन्छ।” (१ इतिहास २८:९) ईश्वरीय सत्यको ज्योति झन् झन् चम्किंदै जाँदैछ भनेर थाह पाउनु कुनै छक्कलाग्दो कुरा होइन। (हितोपदेश ४:१८; रोमी १६:२५, २६) आखिर व्यर्थ साबित हुने रहस्यवाद वा मानव बुद्धिद्वारा परमेश्वरका गहिरा कुराहरूको ज्ञान नखोजौं। आउनुहोस्, बरु यहोवाले आफ्ना “भेदका कुराहरू[मा]” सत्यको ज्योति फैलाउनुहुनेछ अनि उहाँले तोक्नुभएको समयमा आफ्ना अद्भुत उद्देश्यहरू विश्वासी सेवकहरूलाई प्रकट गर्नुहुनेछ भन्ने दृढ विश्वाससाथ उहाँलाई पर्खौं।—आमोस ३:७; मत्ती २४:२५-२७.
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
Biblia Hebraica Stuttgartensia, Deutsche Bibelgesellschaft Stuttgart