प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१५ पृ. २५-२८
  • वफादार र स्थिर त्यतिबेला र अहिले

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार र स्थिर त्यतिबेला र अहिले
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • बाइबल सत्यको पहिलो बीउ
  • परीक्षाको बेला विश्‍वास
  • वफादार र स्थिर
  • युवा पुस्ता देखापर्छन्‌
  • त्यसपछि के भयो?
  • यहोवाले तिनीहरूको साथ छोड्‌नुभएन
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१५ पृ. २५-२८

वफादार र स्थिर त्यतिबेला र अहिले

पोल्याण्डको दक्षिणी भागमा स्लोभाकिया र चेक गणतन्त्रसँगैको सिमाना नजिकै भिस्वा नाउँ गरेको एउटा सानो सहर छ। तपाईंले भिस्वाको नाउँ कहिल्यै नसुन्‍नुभएको भए तापनि यसको इतिहास साँचो मसीहीहरूलाई सम्भवतः रोमाञ्चकारी लाग्नेछ। यस ठाउँको इतिहास यहोवाको उपासनाको लागि निष्ठा र जोसले भरिएको छ। कसरी?

भिस्वा अत्यन्तै रमणीय पहाडी क्षेत्रमा अवस्थित छ र त्यहाँबाट पहाडको रोमाञ्चकारी दृश्‍य देखिन्छ। एकदमै चाँडो बग्ने खोल्साखोल्सी भिस्तुला नदीमा गएर मिल्छ जुन घना जङ्‌गलले ढाकेको पहाड र बेंसीमा नागबेली पर्दै बग्छ। त्यहाँका मित्रैला मानिसहरूका साथै अद्वितीय मौसमको कारण भिस्वा एउटा लोकप्रिय चिकित्सा केन्द्र, गर्मीको छुट्टी मनाउने र जाडो छल्ने ठाउँ बनेको छ।

भिस्वा नाउँमा त्यहाँ पहिलो चोटि सन्‌ १५९० दशकको सुरुतिर बसोबास गर्न थालिएको जस्तो देखिन्छ। त्यहाँ काठ चिर्ने मिल स्थापना गरियो र जङ्‌गल तथा झाडी नभएको खुला ठाउँहरूमा चाँडै मानिसहरू बसोबास गर्न थाले अनि तिनीहरू गाईवस्तु पाल्थे र खेतीपाती गर्थे। तर यी सीधासादा मानिसहरू धार्मिक उथलपुथलको मारमा परे। मार्टिन लुथरले सुरु गरेको धार्मिक सुधारले यो प्रान्त अत्यन्तै प्रभावित भयो किनभने अनुसन्धानकर्ता आन्जे ओट्‌चेकका अनुसार लुथरेन धर्म “सन्‌ १५४५ मा राष्ट्रिय धर्म” थियो। तीस वर्षसम्मको युद्ध र त्यसपछिको काउन्टर रिफर्मेसनले गर्दा परिस्थितिमा नाटकीय परिवर्तन आयो। “सन्‌ १६५४ मा प्रोटेस्टेन्टहरूबाट सबै चर्चहरू खोसियो, तिनीहरूका सेवाहरूमा प्रतिबन्ध लगाइयो र बाइबल र अन्य धार्मिक पुस्तकहरू जफत गरियो” भनी ओट्‌चेक भन्छन्‌। तैपनि अधिकांशले लुथरेन धर्म त्यागेनन्‌।

बाइबल सत्यको पहिलो बीउ

खुसीको कुरा के थियो भने, अझै महत्त्वपूर्ण धार्मिक सुधार हुन लागेको थियो। सन्‌ १९२८ मा त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने दुई जना जोसिला यहोवाका साक्षीले पहिलो चोटि बाइबल सत्यको बीउ रोपे। त्यसपछिको साल यान गोमोला एउटा फोनोग्राफ लिएर भिस्वा आइपुगे जसमा तिनले पहिल्यै रेकर्ड गरिएको धर्मशास्त्रमा आधारित भाषण बजाए। त्यसपछि नजिकैको एउटा उपत्यकामा तिनी सरे जहाँ तिनले ध्यान दिएर सुन्‍ने एक जना मानिस भेट्टाए। तिनको नाउँ आन्द्रेज राश्‍का थियो जो उच्च भू-भागमा बस्ने होचो कदका तर हट्टाकट्टा जीउडालका थिए। राश्‍काले फोनोग्राफमा बजाइएको भाषणमा उल्लिखित कुराहरू सही हुन्‌ कि होइनन्‌ पक्का गर्न तुरुन्तै आफ्नो बाइबल झिकेर जाँचे। त्यसपछि तिनले यस्तो उद्‌गार गरे: “मेरो भाइ, मैले बल्ल सत्य भेट्टाएँ! प्रथम विश्‍वयुद्धमा सुरुङमा जीवन बिताउँदादेखि नै मैले यी प्रश्‍नहरूको जवाफको खोजिरहेको थिएँ!”

अति उत्साहित हुँदै राश्‍काले गोमोलालाई आफ्ना साथीहरू यर्जा र आन्द्रेज पिल्छलाई भेटाउन लगे र तिनीहरूले राज्यसन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाए। फ्रान्समा बाइबल सत्य सिकेका आन्द्रेज तिर्नाले यी मानिसहरूलाई परमेश्‍वरको सन्देशबारे अझ गहिरिएर ज्ञान प्राप्त गर्न मदत गरे। चाँडै तिनीहरूले बप्तिस्मा लिए। भिस्वामा भएका बाइबल स्टुडेन्ट्‌सको सानो समूहलाई सघाउन नजिकैको सहरका भाइहरू सन्‌ १९३० दशकको दौडान आउँथे। त्यसपछि उल्लेखनीय नतिजाहरू पाइयो।

नयाँ जिज्ञासु व्यक्‍तिहरूको संख्यामा धेरै वृद्धि भयो। लुथरेन धर्म मान्‍ने स्थानीय परिवारहरूको घरमा बाइबल पढ्‌ने बानी थियो। त्यसकारण नरक र त्रिएक जस्ता विषयमा धर्मशास्त्रीय तर्कबारे तिनीहरू एक चोटि विश्‍वस्त भएपछि थुप्रैले सही र गलतबीच भिन्‍नता छुट्याउन सक्थे। थुप्रै परिवारहरूले झूटा धार्मिक शिक्षाहरूबाट स्वतन्त्र हुने छनौट गरे। यसरी भिस्वामा मण्डलीको वृद्धि भयो र सन्‌ १९३९ सम्म त्यहाँ १४० जना जति भइसकेका थिए। तर छक्कलाग्दो कुरा के थियो भने त्यस मण्डलीका प्रायजसो वयस्कहरूले बप्तिस्मा लिएका थिएनन्‌। ती सुरु-सुरुका साक्षीहरूमध्ये एक जना हेलेना यसो भन्छिन्‌, “तर यसको मतलब यी बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यहोवाको पक्षमा अडान लिएका थिएनन्‌ भन्‍ने चाहिं होइन।” तिनी अझ यसो भन्छिन्‌: “तिनीहरूले चाँडै सामना गर्नु परेको विश्‍वासको परीक्षामा तिनीहरूले आफ्नो निष्ठाको प्रमाण दिए।”

केटाकेटीहरू नि? आफ्ना आमाबाबुले सत्य भेट्टाएको कुरा तिनीहरूले बुझे। फ्रान्सिजेक ब्रान्स यसो भन्छन्‌: “मेरो बुबा जब आफूले सत्य भेट्टाएको कुरामा पक्का हुनुभयो तब उहाँले म र मेरो दाइको हृदयसम्म पुग्ने गरी सिकाउन थाल्नुभयो। हामी आठ र दस वर्षका थियौं। बुबाले हामीलाई यस्ता सजिला प्रश्‍नहरू सोध्नुहुन्थ्यो: ‘परमेश्‍वर को हुनुहुन्छ र उहाँको नाउँ के हो? तिमीहरूलाई येशू ख्रीष्टबारे के थाह छ?’ हामीले यी प्रश्‍नहरूको जवाफ लेख्नुपर्थ्यो र बाइबल पदहरूले आफ्नो जवाफ प्रमाणित गरेको हुनुपर्थ्यो।” अर्का एक जना साक्षी भन्छन्‌: “मेरा आमाबाबुले स्वेच्छाले राज्यसन्देश स्वीकारेर सन्‌ १९४० मा लुथरेन चर्च छोड्‌नुभएपछि मैले स्कूलमा विरोध सहनुपऱ्‍यो र पिटाइ खानुपऱ्‍यो। मेरो मनमा बाइबल सिद्धान्तहरू राखिदिनुभएकोमा म मेरा आमाबाबुप्रति कृतज्ञ छु। ती कठिन घडीहरू सहनको लागि त्यसले मलाई निकै मदत गऱ्‍यो।”

परीक्षाको बेला विश्‍वास

दोस्रो विश्‍वयुद्ध सुरु भएर नाजीहरूले त्यो इलाकामा कब्जा जमाएपछि तिनीहरू यहोवाका साक्षीहरूलाई निर्मूल पार्न कटिबद्ध थिए। सुरुमा वयस्कहरू त्यसमा पनि विशेष गरी बुबाहरूलाई केही खास सुविधाहरू पाउनको लागि तिनीहरू जर्मन नागरिक हुन्‌ भन्‍ने कागजातमा हस्ताक्षर गर्न प्रोत्साहन दिइयो। साक्षीहरूले नाजीहरूप्रति आफ्ना समर्थन जनाउन इन्कार गरे। सेनामा भर्ती गर्ने उमेर पुगेका थुप्रै भाइ तथा जिज्ञासु व्यक्‍तिहरू एउटा द्विविधामा परे: सेनामा भर्ती हुने वा कडा तटस्थता कायम राखेर कठोर सजाय भोग्ने। “सैन्य सेवा इन्कार गर्नुको अर्थ यातना शिविर र त्यो पनि अक्सर अस्वीचमा पठाइनु थियो” भनी सन्‌ १९४३ मा गेस्टापोको पक्राउमा परेका आन्द्रेज जाल्बोट भन्छन्‌। “मैले बप्तिस्मा लिइसकेको थिइनँ तर मलाई येशूले मत्ती १०:२८, २९ मा दिनुभएको आश्‍वासन थाह थियो। यहोवामा विश्‍वासको कारण म मरें भने पनि उहाँले मलाई फेरि जीवन दिनुहुनेछ भनी मलाई थाह थियो।”

सन्‌ १९४२ को सुरुतिर नाजीहरूले भिस्वाबाट १७ जना भाइहरूलाई पक्रे। तीन महिनाभित्रै तिनीहरूमध्ये १५ जना अस्वीचमा मरे। यसले भिस्वामा रहेका बाँकी साक्षीहरूमाथि कस्तो असर पाऱ्‍यो? आफ्नो विश्‍वास त्याग्न लगाउनुको सट्टा यसले तिनीहरूलाई कुनै सम्झौता नगरी यहोवाकै आज्ञा पालन गरिरहन प्रोत्साहित गऱ्‍यो! त्यसपछिको छ महिनामा भिस्वामा प्रकाशकहरूको संख्या दोब्बर भयो। अझ थुप्रै पक्रिए। जम्माजम्मी ८३ जना भाइहरू, जिज्ञासु व्यक्‍तिहरू र केटाकेटीहरू हिटलरको अत्याचारबाट प्रभावित भए। तिनीहरूमध्ये ५३ जनालाई यातना शिविरमा (मुख्यतया अस्वीच) वा पोल्याण्ड, जर्मनी र बोहिमियामा रहेको कोइला र सिङ्‌गमरमरको खानीको श्रम शिविरमा पठाइयो।

वफादार र स्थिर

अस्वीचमा नाजीहरूले तुरुन्तै स्वतन्त्रता दिने आशा देखाएर साक्षीहरूलाई लोभ्याउने प्रयास गरे। एउटा एस एस गार्डले एक जना भाइलाई भने: “तिमीले बाइबल स्टुडेन्ट्‌स हुन छोडेको भन्‍ने कागत मात्र गरेको खण्डमा तिमी स्वतन्त्र हुनेछौ र घर जान सक्नेछौ।” यस्तो प्रस्ताव थुप्रै चोटि राखियो तैपनि त्यस भाइले यहोवाप्रतिको निष्ठामा कहिल्यै सम्झौता गरेनन्‌। फलस्वरूप, तिनले जर्मनीको अस्वीच र मिट्टेलबाउडोरा दुवै ठाउँमा पिटाइ, गिल्ला सहनुका साथै तिनलाई कठोरतासाथ काममा घोटाइयो। त्यस देशको स्वतन्त्रत हुनुभन्दा केही समयअघि तिनलाई राखिएको शिविरमा बम वर्षा हुँदा ती भाइ झन्डै मृत्युको मुखमा परेका थिए।

हालसालै मरेका पाभेल जाल्बोटले एक चोटिको घटना यसरी सम्झेका थिए: “केरकार गर्दा जर्मन सेनामा भर्ती हुन र हिटलरको जय होस्‌ भन्‍न इन्कार गर्नुको कारण के हो भनेर गेस्टापोले मलाई बारम्बार सोध्थ्यो।” आफ्नो मसीही तटस्थताको लागि बाइबलीय आधारबारे सुनाएपछि तिनलाई हतियार बनाउने कारखानामा काम गर्ने सजाय सुनाइयो। “स्पष्टतः मेरो अन्तस्करणले मलाई यस्तो प्रकारको काम गर्न अनुमति दिंदैनथ्यो त्यसैले तिनीहरूले मलाई खानीमा काम गर्न पठाए।” तैपनि तिनी विश्‍वासी रहिरहे।

पक्राउमा नपरेकाहरू जस्तै स्त्री तथा केटाकेटीहरूले अस्वीचमा भएकाहरूलाई खानाका पोकाहरू पठाउँथे। “गर्मीमा हामी जङ्‌गलबाट क्य्रानबेरी अर्थात्‌ एक किसिमको बयर टिप्थ्यौं अनि त्यो गहुँसँग साट्‌थ्यौं” भनी त्यतिबेलाका ठिटा एक जना भाइ बताउँछन्‌। “बहिनीहरूले पाउरोटी बनाउँथे र घिउमा चोप्थे। त्यसपछि हामी ससाना पोका बनाएर पक्राउमा परेका सँगी विश्‍वासीहरूलाई पठाउँथ्यौं।”

भिस्वाबाट जम्माजम्मी ५३ जना वयस्क साक्षीहरूलाई यातना शिविरमा पठाइयो र कठिन श्रम गर्न लगाइयो। त्यसमध्ये अठतीस जना मरे।

युवा पुस्ता देखापर्छन्‌

नाजीको शोषणकारी गतिविधिबाट यहोवाका साक्षीका छोराछोरीहरू पनि प्रभावित भएका थिए। कसैकसैलाई तिनीहरूका आमाहरूसँगै बोहिमियामा रहेको अस्थायी शिविरमा पठाइयो। अरू कतिपयलाई भने तिनीहरूका आमाहरूबाट छुट्ट्याएर लोड्‌जमा रहेको बच्चाहरूको लागि कुख्यात शिविरमा पठाइयो।

“जर्मनहरूले लोड्‌जमा लगेको पहिलो समूहमा हामी दस जना थियौं र हाम्रो उमेर पाँचदेखि नौ वर्षबीच थियो। हामीले प्रार्थना गरेर र बाइबल विषयहरूबारे कुरा गरेर एकअर्कालाई प्रोत्साहित गऱ्‍यौं। सहन सजिलो थिएन” भनी तीमध्ये तीन जनाले सम्झन्छन्‌। सन्‌ १९४५ मा ती बच्चाहरू सबै घर फर्के। तिनीहरू जीवितै थिए तर हाडछाला मात्र र मानसिक रूपमा पनि आघात पुगेजस्ता देखिन्थे। तैपनि तिनीहरूको निष्ठालाई कुनै पनि कुराले तोड्‌न सकेन।

त्यसपछि के भयो?

दोस्रो विश्‍वयुद्धको अन्ततिर भिस्वामा रहेका साक्षीहरू विश्‍वासमा अझै बलिया थिए अनि जोस र कटिबद्धताका साथ प्रचार गतिविधिमा पुनः लाग्न तिनीहरू तयार थिए। भाइहरूको एउटा समूह भिस्वाभन्दा ४० किलोमिटर टाढासम्म पनि मानिसहरूलाई प्रचार गर्दै र बाइबल साहित्यहरू बाँड्‌दै गयो। “चाँडै त्यो सहरमा तीनवटा सक्रिय मण्डली स्थापना भयो” भनी यान जोक बताउँछन्‌। तथापि, धार्मिक स्वतन्त्रता धेरै समयसम्म रहिरहेन।

नाजीहरूको ठाउँमा स्थापना भएको कम्युनिष्ट सरकारले पोल्याण्डमा सन्‌ १९५० मा यहोवाका साक्षीहरूको गतिविधिमा प्रतिबन्ध लगायो। त्यसैले स्थानीय भाइहरूले सेवकाईमा फेरि नयाँ-नयाँ तरिकाहरू अपनाउनुपऱ्‍यो। कहिलेकाहीं तिनीहरू गाईवस्तु वा अन्‍न किन्‍ने निहुँमा घर-घरमा गएर मानिसहरूलाई भेट्‌थे। मसीही सभाहरू अक्सर सानो समूहमा राती सञ्चालन गरिन्थ्यो। यद्यपि, सुरक्षा निकायहरूले यहोवाका थुप्रै उपासकहरूलाई विदेशी गुप्तचरको लागि काम गरेको आरोपमा पक्रे तर यो आरोप बिलकुलै निराधार थियो। केही अधिकारीहरूले व्यङ्‌ग्य गर्दै पाभेल पिल्छलाई यस्तो धम्की दिए: “हिटलरले तिम्रो निष्ठालाई तोड्‌न सकेन तर हामी तोड्‌नेछौं।” तर ती भाइले पाँच वर्षको जेल सजाय भोग्दै यहोवाप्रति आफ्नो वफादारिता कायम राखे। केही जवान साक्षीहरूले समाजवादी राजनैतिक कागजातमा हस्ताक्षर गर्न इन्कार गर्दा तिनीहरू स्कूलबाट निकालिए वा जागिरबाट बर्खास्त गरिए।

यहोवाले तिनीहरूको साथ छोड्‌नुभएन

सन्‌ १९८९ मा राजनैतिक अवस्थामा परिवर्तन आयो र पोल्याण्डमा यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दिइयो। भिस्वामा रहेका यहोवाका स्थिर उपासकहरूले आफ्नो गतिविधिलाई अझ तीव्र बनाए र यो कुरा अग्रगामी वा पूर्ण-समय सेवकहरूको संख्याबाट स्पष्ट हुन्छ। यस इलाकाका झन्डै १०० जना भाइबहिनीहरू अग्रगामी सेवामा लागेका छन्‌। त्यसकारण यो सहरलाई अग्रगामी कारखाना भन्‍ने नाउँ दिनु कुनै छक्कलाग्दो कुरा होइन।

विगतमा परमेश्‍वरले आफ्ना सेवकहरूलाई दिनुभएको समर्थनबारे बाइबल यसो भन्छ: “परमप्रभु हाम्रातर्फ नहुनुभएता, जब मानिसहरू हाम्रा विरुद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।” (भजन १२४:२, ३) हाम्रो समयमा भावशून्यता र अधिकांश मानिसहरूमा अनैतिक झुकाव व्याप्त भए तापनि भिस्वामा यहोवाका उपासकहरू आफ्नो निष्ठा कायम राख्न यथाशक्य प्रयास गर्छन्‌ र तिनीहरूले प्रचुर मात्रामा इनाम पनि पाएका छन्‌। त्यस इलाकाका थुप्रै पुस्ताले प्रेरित पावलले भनेका यस कुराको सत्यताबारे पुष्टि दिन सक्छन्‌: “यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”—रोमी ८:३१.

[पृष्ठ २६-मा भएको चित्र]

एमिलिया जोकलाई उनकै बच्चाहरू हेलेना, एमिलिया र यानसँगै बोहिमियामा रहेको अस्थायी शिविरमा पठाइयो

[पृष्ठ २६-मा भएको चित्र]

सेनामा भर्ती हुन इन्कार गर्दा पाभेल जाल्बोटलाई खानीमा काम गर्न पठाइयो

[पृष्ठ २७-मा भएको चित्र]

अस्वीचमा भाइहरूलाई पठाइँदा र त्यहीं तिनीहरूको मृत्यु हुँदा पनि भिस्वामा वृद्धि हुन बन्द भएन

[पृष्ठ २८-मा भएको चित्र]

पाभेल पिल्छ र यान पोलोकलाई लोड्‌जमा रहेको केटाकेटीको लागि छुट्याइएको शिविरमा लगियो

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Berries and flowers: © R.M. Kosinscy / www.kosinscy.pl

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने