प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१५ पृ. ३-४
  • सम्झनुपर्ने एउटा जन्म

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्झनुपर्ने एउटा जन्म
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्पेनी क्रिसमस
  • “वर्षकै सबैभन्दा आनन्ददायी र व्यस्त समय”
  • के येशूलाई बेतलेहेममा तीन जना राजाहरूले भेट्‌न आए?
    ब्यूँझनुहोस्‌!—२०००
  • क्रिसमसका प्रचलनहरू—के यी मसीही प्रचलनहरू हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशू ख्रीष्टको सम्झना कसरी गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • तीन ज्योतिषीहरू तथ्य वा कल्पित्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१५ पृ. ३-४

सम्झनुपर्ने एउटा जन्म

‘आज तिमीहरूका निम्ति एउटा मुक्‍तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।’—लूका २:११.

करिब दुई हजार वर्ष पहिले बेतलेहेम सहरमा एउटी स्त्रीले एउटा छोरा जन्माइन्‌। थोरै स्थानीय बासिन्दाहरूले मात्र यस जन्मको महत्त्व बुझे। तर चौरमा आफ्ना बगालसित रात बिताइरहेका केही गोठालाहरूले स्वर्गदूतहरूको एक दल देखे र ती स्वर्गदूतहरूले यस्तो गीत गाइरहेको तिनीहरूले सुने: “परमधाममा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूलाई शान्ति।”—लूका २:८-१४.

स्वर्गदूतहरूले भनेकै ठाउँमा गोठालाहरूले मरियम र तिनका पति यूसुफलाई तबेलामा भेट्टाए। मरियमले बच्चाको नाउँ येशू राखिन्‌ अनि तिनले बच्चालाई तबेलामा भएको डुँडमा सुताएकी थिइन्‌। (लूका १:३१; २:१२) आज दुई हजार वर्षपछि विश्‍वका करिब एक तिहाइ मानिसहरूले येशू ख्रीष्टलाई पछ्याएको दाबी गर्छन्‌। अनि येशू जन्मेको बेला घटेका घटनाहरू सम्बन्धी जति कथाहरू रचिएका छन्‌, सायद मानव इतिहासमै अन्य विषयमा त्यति धेरै कथाहरू रचिएका छैनन्‌ होला।

क्याथोलिक परम्पराको बलियो प्रभाव रहेको र परम्परागत चाडपर्वहरू धूमधामका साथ मनाउन खप्पिस स्पेनले बेतलेहेमको उक्‍त अद्वितीय रातको सम्झना गर्न धेरै तरिकाहरू विकास गरेको छ।

स्पेनी क्रिसमस

नेटिभिटी अर्थात्‌ येशूको जन्मसम्बन्धी दृश्‍य १३ औं शताब्दीदेखि नै स्पेनी उत्सवको सबैभन्दा परिचित भागको रूपमा रहँदै आएको छ। धेरैजसो परिवारहरूले येशूलाई सुताइएको डुँडको सानो प्रतिरूप बनाउने गर्छन्‌। माटोका मूर्तिहरूले गोठालाहरू र मेजाइ अर्थात्‌ ज्योतिषीहरूका (अथवा “तीन राजाहरू”) साथै यूसुफ, मरियम र येशूलाई चित्रण गर्छन्‌। क्रिसमस अवधिभर अक्सर मानिसहरूकै आकारको येशूको जन्मसम्बन्धी ठूल्ठूला दृश्‍यहरू सभा-गृहमा राखिन्छ। यो चलन असिसीको फ्रान्सिस्‌ले येशूको जन्मसम्बन्धी सुसमाचारको विवरणमा मानिसहरूको ध्यान खिच्न चलाएको हुन सक्छ। पछि फ्रान्सिस्कन पादरीहरूले स्पेनलगायत अन्य धेरै देशहरूमा यसलाई लोकप्रिय बनाए।

अन्य देशहरूमा सान्ता क्लजले जस्तै स्पेनी क्रिसमस उत्सवहरूमा ज्योतिषीहरूले मुख्य भूमिका निभाउँछन्‌। लोकप्रिय विश्‍वासअनुसार भर्खरै जन्मेका येशूलाई उपहारहरू दिएजस्तै जनवरी ६ डिआ डि रेइस (राजाहरूको दिन) मा ज्योतिषीहरू अर्थात्‌ मेजाइले बच्चाहरूलाई उपहारहरू दिनुपर्ने हुन्छ। यद्यपि, थोरैलाई मात्र जानकारी होला, सुसमाचारको पुस्तकले कति जना ज्योतिषी येशूकहाँ भेट्‌न गए भनी बताउँदैन। तिनीहरू राजाहरूभन्दा ज्योतिषीहरू भनी अझ राम्ररी चिनिन्थे।a साथै, ज्योतिषीहरूले येशूलाई भेटिसकेपछि येशूको हत्या गर्ने प्रयासमा हेरोदले “दुइ वर्ष र त्यसदेखि मनिका सबै” बालकहरूको हत्या गरे। यसको अर्थ येशू जन्मनुभएको केही समयपछि मात्र तिनीहरू भेट्‌न गएका थिए।—मत्ती २:११, १६.

बाह्रौं शताब्दीदेखि नै स्पेनका केही सहरहरूले बेतलेहेममा गोठालाहरू लगायत पछि ज्योतिषीहरू पनि भेट्‌न गएका कुराहरू समावेश गरिएको येशूको जन्मसम्बन्धी नाटकहरू देखाउने गरेका छन्‌। आज स्पेनी सहरहरूले हरेक जनवरी ५ मा काबालगाटा अथवा परेडहरू आयोजना गर्ने गर्छन्‌ जसमा “तीन राजाहरू” सजिसजाउ गाडीमा चढेर रमितेहरूलाई मिठाईहरू बाँड्‌दै मूल सडकबाट निस्कन्छन्‌। चाडबाडको उत्सवलाई अझ धूमधाम बनाउन परम्परागत रूपमा क्रिसमसको सजावट गरिनुका साथै भियान्सिकोस (क्यारोल अर्थात्‌ क्रिसमसको समयमा गाइने एकप्रकारको धार्मिक गीत) बजाइन्छ।

क्रिसमसको पूर्वसन्ध्यामा (डिसेम्बर २४) धेरै स्पेनी परिवारहरू विशेष रात्रिभोज खान रुचाउँछन्‌। ती परम्परागत भोजनमा टुरोन (ओखर र महद्वारा बनाइएको मिठाई), मार्जिपन, सुकाइएका फलफूलहरू, भेडाको सेकुवा र समुद्री खानाहरू जस्ता खानेकुराहरू समावेश हुन्छन्‌। यस अवसरमा टाढा-टाढा बस्ने परिवारका सदस्यहरू समेत एकै ठाउँमा भेला हुन विशेष प्रयत्न गर्छन्‌। यस्तै परम्परागत खाना खाने बेला जनवरी ६ मा सम्पूर्ण परिवारले रोस्कन डे रायस अर्थात्‌ औंठी-आकारको केक खान्छन्‌ र केकभित्र “राजाहरू”-को सोरप्रेसा (सानो आकृति) लुकाइएको हुन्छ। रोमीहरूको समयमा यस्तै किसिमको एउटा प्रचलन थियो जसअनुसार केकभित्रको भाग खाने एक जना दासलाई एक दिनको लागि “राजा” बन्‍ने मौका दिइन्थ्यो।

“वर्षकै सबैभन्दा आनन्ददायी र व्यस्त समय”

जस्तोसुकै स्थानीय प्रचलनहरू विकास भएको भए तापनि आज क्रिसमस विश्‍वकै मुख्य उत्सवको अवसर भएको छ। वर्ल्ड बुक इन्साइक्लोपीडिया-ले क्रिसमसलाई “विश्‍वभर रहेका लाखौं मसीही र केही गैर-मसीहीहरूको लागि वर्षकै सबैभन्दा आनन्द र व्यस्त समय” भनी बताउँछ। के यो सब ठीक हो?

स्पष्टतः ख्रीष्टको जन्म एउटा ऐतिहासिक घटना थियो। स्वर्गदूतहरूले येशूको जन्मलाई “उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूलाई शान्ति[को]” पूर्वसूचक भनी गरेको घोषणाले यसको महत्त्व स्पष्ट पार्छ।

यद्यपि, स्पेनी पत्रकार क्वान आर्याज यसरी औंल्याउँछन्‌, “मसीहीधर्मको प्रारम्भिक दिनहरूमा येशूको जन्मलाई एउटा पर्वको रूपमा मनाइँदैनथ्यो।” यदि यसो हो भने, क्रिसमस उत्सव कसरी सुरु हुन गयो? येशूको जन्म तथा जीवनलाई सम्झने सर्वोत्तम तरिका के हो? यसपछिको लेखमा तपाईंले यी प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ।

[फुटनोट]

a ला साग्राडा इसक्रिटुरा—टेक्टो कोमेन्टारियो पोर प्रोफेसोरेस डे ला कम्पन्यानेआ डि केसस्‌जस (येशू संगति प्रतिष्ठानका प्राध्यापकहरूद्वारा लिखित पवित्र धर्मशास्त्र तथा त्यसको व्याख्या) को भनाइअनुसार “फारसी, मादी र कल्दीहरूमध्येका ज्योतिषीहरूद्वारा बनेको पादरी मण्डलले बोक्सीविद्या, ज्योतिषविद्या र चिकित्साशास्त्रलाई प्रवर्धन गऱ्‍यो।।” यद्यपि, मध्ययुगसम्ममा बालक येशूलाई हेर्न गएका ती ज्योतिषीहरूलाई सन्त घोषित गरिसकेको थियो र तिनीहरूलाई मेल्क्योर, ग्यासपर र बाल्टाजार नाम दिइयो। तिनीहरूका कथित अस्थिहरू जर्मनीको कोलोनस्थित एउटा गिर्जाघरमा राखिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने