प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 २/१ पृ. २२-२६
  • यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको भय मान्‍ने कूशीलाई उहाँले इनाम दिनुभयो
  • “गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ”
  • “कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी”
  • कदर गरिरहनुहोस्‌
  • आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं धन्यवाद दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 २/१ पृ. २२-२६

यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ

“तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

१. यहोवाले मोआबी रूथको कसरी कदर गर्नुभयो?

निष्कपट भई यहोवाको इच्छा पूरा गर्न प्रयास गर्नेहरूलाई उहाँ निकै कदर गर्नुहुन्छ र तिनीहरूलाई प्रशस्त इनाम दिनुहुन्छ। (हिब्रू ११:६) विश्‍वासी पुरुष बोअजलाई परमेश्‍वरको व्यक्‍तित्वको यो मनमोहक पक्ष राम्ररी थाह थियो किनभने मोआबी रूथले विधवा सासुको मायालु हेरचाह गरेकीले उनलाई बोअजले यसो भने: ‘परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌। उनै परमप्रभुले तिमीले पाउनुपर्ने सबै कुरा देऊन्‌।’ (रूथ २:१२) के परमेश्‍वरले रूथलाई आशिष्‌ दिनुभयो? पक्कै दिनुभयो! त्यसैले त तिनीबारे बाइबलमा उल्लेख गरिएको छ! यसबाहेक, बोअजसित उनको विवाह भयो र उनी राजा दाऊद र येशू ख्रीष्टकी पुर्खा भइन्‌। (रूथ ४:१३, १७; मत्ती १:५, ६, १६) यहोवा आफ्ना सेवकहरूको कदर गर्नुहुन्छ भन्‍ने थुप्रै विवरण बाइबलमा लेखिएको छ। रूथसम्बन्धी यो विवरण तिनै उदाहरणहरूमध्ये एक हो।

२, ३. (क) यहोवाले गर्ने कदर किन उल्लेखनीय छ? (ख) यहोवाले साँच्चै कदर गर्नुहुन्छ भनेर हामी कसरी भन्‍न सक्छौं? उदाहरणसहित बताउनुहोस्‌।

२ यहोवा हाम्रो कदर गर्न कहिल्यै बिर्सनुहुन्‍न। उहाँ आफैले पनि अरूको कदर नगर्नुलाई अधार्मिक कार्य ठान्‍नुहुन्छ। हिब्रू ६:१० यसो भन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” यस पदमा भनिएको कुरा उल्लेखनीय छ किनकि हामी पापी अनि महिमारहित भए तापनि यहोवाप्रति भक्‍त छौं भने उहाँ हाम्रो कदर गर्नुहुन्छ।—रोमी ३:२३.

३ असिद्ध भएकोले हामीलाई हामीले गर्ने ईश्‍वरीय भक्‍ति बेकारको छ र हामी परमेश्‍वरको आशिष्‌ पाउन योग्य छैनौं जस्तो लाग्न सक्छ। तर यहोवाले हाम्रो मनोवृत्ति अनि अवस्था राम्ररी बुझ्नुहुन्छ र हामीले सारा प्राणले गरेको सेवालाई उहाँ साँच्चै कदर गर्नुहुन्छ। (मत्ती २२:३७) यो उदाहरण विचार गर्नुहोस्‌: एउटी आमा आफ्नो टेबुलमा एउटा उपहार देख्छिन्‌। त्यो उपहार सस्तो किसिमको माला भएकोले तिनलाई त्यो बेकारको लाग्छ र त्यसलाई टेबुलबाट पन्छाउँछिन्‌। तर सँगैको कार्ड हेर्दा त्यो उपहार त तिनकी सानी छोरीले पो दिएकी रहिछे। आफूले जम्मा गरेको सबै पैसा खर्च गरेर छोरीले त्यो उपहार किनेकी थिई। अब भने आमालाई त्यो उपहार निकै अनमोल लाग्छ। सायद, तिनको आँखा रसाउँछ र छोरीलाई अँगालेर मुरीमुरी धन्यवाद दिन्छिन्‌।

४, ५. कदर गर्ने सम्बन्धमा येशूले कसरी यहोवाको नक्कल गर्नुभयो?

४ हाम्रो मनसाय अनि सीमितता यहोवालाई राम्ररी थाह छ। त्यसैले धेरै होस्‌ वा थोरै, हामीले उहाँलाई सर्वोत्तम सेवा चढायौं भने यहोवा त्यसको कदर गर्नुहुन्छ। यहोवाको दुरुस्त नक्कल गर्दै येशूले पनि अरूको कदर गर्नुभएको थियो। जस्तै: विधवाको दुई पैसाबारे बाइबलमा दिइएको विवरण सम्झनुहोस्‌। “[येशूले] नजर उठाएर हेर्दा धनीहरूलाई आफ्ना आफ्ना भेटी ढुकुटीमा चढाएको देख्नुभयो। औ उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढाएकी देख्नुभयो। तब उहाँले भन्‍नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ्‌ता चढाएकी छ। किनकि यी सबैले तिनका प्रशस्तताबाट भेटी चढाएका छन्‌, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढाएकी छ।’ ”—लूका २१:१-४.

५ हो, तिनी गरीब अनि विधवा थिइन्‌ भनेर येशूलाई राम्ररी थाह थियो। त्यसैकारण तिनले चढाएको भेटीको सही महत्त्व येशूले बुझ्नुभयो र त्यसको निकै कदर गर्नुभयो। यहोवाले पनि त्यसरी नै कदर गर्नुहुन्छ। (यूहन्‍ना १४:९) अवस्था जस्तोसुकै होस्‌, हाम्रो कदर गर्ने परमेश्‍वर यहोवा र उहाँको पुत्र येशूको अनुमोदन तपाईं पाउन सक्नुहुन्छ। यो थाह पाउँदा तपाईं प्रोत्साहित हुनुभएन र?

यहोवाको भय मान्‍ने कूशीलाई उहाँले इनाम दिनुभयो

६, ७. यहोवाले किन र कसरी एबेदमेलेकको कदर गर्नुभयो?

६ यहोवाको इच्छा गर्न चाहनेहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ भनेर बाइबलमा बारम्बार बताइएको छ। परमेश्‍वरको भय मान्‍ने कूशी एबेदमेलेकसित उहाँले गर्नुभएको व्यवहार विचार गर्नुहोस्‌। यहूदाका अविश्‍वासी राजा सिदकियाहको दरवारमा सेवा गर्ने एबेदमेलेक यर्मियाकै समयका मानिस थिए। यहूदाका राजकुमारहरूले अगमवक्‍ता यर्मियालाई राजद्रोहको आरोप लगाएर भोकै मरोस्‌ भनी इनारमा फालिदिएको कुरा तिनले थाह पाए। (यर्मिया ३८:१-७) यर्मियाले प्रचार गरेको सन्देशको कारण तिनलाई अत्यन्तै घृणा गरिएको थियो। यो कुरा थाह हुँदाहुँदै पनि आफ्नो ज्यान खतरामा पारेर एबेदमेलेकले राजालाई बिन्ती गरे। साहसी हुँदै एबेदमेलेकले यसो भने: “हे मेरा प्रभु, हे मेरा राजा, यी मानिसहरूले यर्मिया अगमवक्‍तालाई इनारमा हालेर दुष्ट काम गरे। तिनी ता त्यहाँ भोकै मर्नेछन्‌।” राजाको आदेश पाएपछि एबेदमेलेकले ३० जना मानिसहरू साथमा लगेर परमेश्‍वरका अगमवक्‍तालाई इनारबाट निकाले।—यर्मिया ३८:८-१३.

७ एबेदमेलेकलाई डर लागेको भए तापनि तिनको विश्‍वासले तिनलाई साहसी बनाएको कुरा यहोवालाई थाह थियो। त्यसैकारण यहोवाले तिनको कदर गर्नुभयो र यर्मियामार्फत एबेदमेलेकलाई यसो भन्‍नुभयो: “हेर, भलाइको निम्ति होइन, तर विपत्तिको निम्ति, यस शहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्नेछु। . . . तर म तँलाई त्यस दिन बचाउनेछु, औ जुन मानिसहरूदेखि तँ डराउँछस्‌ यिनीहरूको हातमा तँ सुम्पिइनेछैनस्‌। किनभने म निश्‍चय तँलाई बचाउनेछु। . . . तैंले तेरो प्राण युद्धको लूटको धनसरह हासिल गर्नेछस्‌, किनभने तैंले ममाथि भरोसा गरेको छस्‌।” (यर्मिया ३९:१६-१८) हो, यहोवाले एबेदमेलेक र यर्मियालाई यहूदाका दुष्ट राजकुमारहरूको हातबाट अनि पछि यरूशलेमलाई ध्वंस पार्ने बेबिलोनीहरूबाट जोगाउनुभयो। त्यसैले भजन ९७:१० मा यसो भनिएको छ: “[यहोवाले] आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ।”

“गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ”

८, ९. येशूले देखाउनुभएअनुसार यहोवा कस्ता प्रार्थनाहरूको कदर गर्नुहुन्छ?

८ प्रार्थनाबारे बाइबलमा जे भनिएको छ त्यसबाट यहोवाले हाम्रो ईश्‍वरीय भक्‍तिको कदर अनि मोल गर्नुहुन्छ भन्‍ने अर्को प्रमाण पाउँछौं। एक जना बुद्धिमान्‌ मानिसले यसो भने, “असल मानिसको प्रार्थनादेखि [परमेश्‍वर] प्रसन्‍न हुनुहुन्छ।” (हितोपदेश १५:८) येशूको जमानाका थुप्रै धार्मिक नेताहरू सबैले देख्ने गरी प्रार्थना गर्थे तर तिनीहरूको यस्तो भक्‍ति साँचो थिएन। तिनीहरू मानिसहरूलाई प्रभाव पार्न मात्र त्यसरी प्रार्थना गर्थे। त्यसैकारण येशूले भन्‍नुभयो: “तिनीहरूले आफ्नो इनाम पाइसकेका हुन्छन्‌।” त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सिकाउनुभयो: “तर तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:५, ६.

९ येशूले, सबैले देख्ने गरी प्रार्थना गर्नै हुँदैन भन्‍न खोज्नुभएको पक्कै होइन। उहाँ आफैले पनि केही खास अवसरहरूमा सबैसामु प्रार्थना गर्नुभएको थियो। (लूका ९:१६) अरूलाई प्रभाव पार्ने विचार नगरीकन निष्कपट भई प्रार्थना गरेका छौं भने, यहोवा त्यस्तो प्रार्थनाको गहिरो कदर गर्नुहुन्छ। वास्तवमा, हामीले एकान्तमा गर्ने प्रार्थनाहरू ‘हामी परमेश्‍वरलाई धेरै माया गर्छौं र उहाँमाथि भरोसा गर्छौं’ भन्‍ने संकेत हो। त्यसैकारण प्रार्थना गर्न येशूले पनि अक्सर एकान्त ठाउँ खोज्नु अनौठो होइन। एकपटक “उज्यालो हुनभन्दा धेरै अघि बिहानै उठेर” उहाँले प्रार्थना गर्नुभएको थियो। अर्को पटकचाहिं “उहाँ डाँडामा अलग्गै प्रार्थना गर्नालाई उक्लनुभयो।” अनि १२ प्रेरितहरू छान्‍नुअघि पनि येशूले पूरै रात प्रार्थना गरेर बिताउनुभयो।—मर्कूस १:३५; मत्ती १४:२३; लूका ६:१२, १३.

१०. हाम्रा प्रार्थनाहरू निष्कपट अनि भावपूर्ण छन्‌ भने हामी के कुरामा ढुक्क हुन सक्छौं?

१० आफ्नो पुत्रले हृदय खोलीकन गरेको प्रार्थनालाई यहोवाले कत्ति ध्यान दिएर सुन्‍नु भएको हुनुपर्छ, सोच्नुहोस्‌ त! हो, कहिलेकाहीं येशूले “बेसरी कराई, आँसु बगाएर” प्रार्थना गर्नुभयो र “उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइ भयो।” (हिब्रू ५:७; लूका २२:४१-४४) हाम्रा प्रार्थनाहरू पनि यस्तै निष्कपट अनि भावपूर्ण छन्‌ भने स्वर्गमा हुनुहुने हाम्रो पिताले ती प्रार्थनाहरू ध्यानसित सुन्‍नुहुन्छ र ती प्रार्थनाहरूको कदर गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। हो, यहोवा “उहाँलाई साँचोसित पुकार्ने सबैका नजीक” हुनुहुन्छ।—भजन १४५:१८.

११. हामी गुप्तमा जे गर्छौं, त्यसबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ?

११ यहोवालाई गुप्तमा प्रार्थना गर्दा त उहाँले त्यसको कदर गर्नुहुन्छ भने, गुप्तमा उहाँको आज्ञा पालन गर्दा उहाँले त्यसको झन्‌ कति धेरै कदर गर्नुहुन्छ! हो, हामी गुप्तमा जे गर्छौं, त्यो उहाँलाई थाह हुन्छ। (१ पत्रुस ३:१२) वास्तवमा एक्लै छँदा पनि हामी विश्‍वासी अनि आज्ञाकारी हुनु भनेको हामी “सारा हृदय[ले]” अर्थात्‌ चोखो मनले र जे असल छ त्यही गर्न दृढ भएर यहोवाको सेवा गर्छौं भन्‍ने राम्रो संकेत हो। (१ इतिहास २८:९) यस्तो आचरणले यहोवाको हृदय कत्ति आनन्दित हुन्छ!—हितोपदेश २७:११; १ यूहन्‍ना ३:२२.

१२, १३. हामी कसरी आफ्नो मन अनि हृदय सुरक्षित राख्न सक्छौं र विश्‍वासी चेला नथनेलजस्तै हुन सक्छौं?

१२ अश्‍लील अनि हिंसाले भरिएका कुराहरू हेर्नु गुप्तमा पाप गर्नु हो। त्यसैकारण, मन अनि हृदय भ्रष्ट पार्ने यस्तो गोप्य पाप गरिएला कि भनेर वफादार मसीहीहरू हरबखत सजग रहन्छन्‌। कुनै-कुनै पाप मानिसबाट लुकाउन सकिएला तर “उहाँको नजरको सामुन्‍ने सबै कुरा स्पष्ट र खुला छन्‌, उहाँलाई नै हामीले लेखा दिनुपर्छ” भनेर हामीले राम्ररी बुझेका छौं। (हिब्रू ४:१३, NRV; लूका ८:१७) यहोवालाई मन नपर्ने कुराहरू गर्दै नगर्ने प्रयास गरेर हामी आफ्नो अन्तस्करण सफा राख्छौं र यहोवाको अनुमोदन पाएका छौं भनेर खुसी हुन्छौं। हो, ‘सोझो मनले हिंड्‌ने, र धर्म-कर्म गर्ने, र हृदयले सत्य बोल्ने’ व्यक्‍तिलाई यहोवा साँच्चै कदर गर्नुहुन्छ।—भजन १५:१, २.

१३ त्यसोभए, खराबीमा चुर्लुम्मै डुबेको यस संसारमा हामी आफ्नो मन अनि हृदय कसरी सुरक्षित राख्न सक्छौं? (हितोपदेश ४:२३; एफिसी २:२) सम्पूर्ण आध्यात्मिक प्रबन्धको फाइदा उठाउनुको अलावा अनुचित इच्छाले जरो गाडेर पाप गर्ने हदसम्म पुग्नुअघि नै जे खराब छ त्यसलाई इन्कार गरिहाल्न र जे असल छ त्यही गर्न हामीले जोडतोड प्रयास गर्नै पर्छ। (याकूब १:१४, १५) येशूले नथनेललाई “हेर, साँच्चै एउटा इस्राएली, जसमा छल छैन” भन्‍नुभयो। (यूहन्‍ना १:४७) विचार गर्नुहोस्‌, यही कुरा येशूले तपाईंलाई पनि भन्‍नुभयो भने तपाईं कत्ति खुसी हुनुहुनेछ! बारथोलोमाइ पनि भनिने नथनेलले पछि येशूका १२ प्रेरितहरूमध्ये एक जना हुने सुअवसर पाए।—मर्कूस ३:१६-१९.

“कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी”

१४. मरियमले जे गरिन्‌ त्यसप्रति येशूको विचार अरूको भन्दा कसरी फरक थियो?

१४ येशू “अदृश्‍य परमेश्‍वर” यहोवाको “प्रतिरूप” हुनुहुन्छ। त्यसैकारण, सफा मनले परमेश्‍वरको सेवा गर्नेहरूको कदर गर्ने सम्बन्धमा उहाँले सधैं आफ्नो पिताको दुरुस्त नक्कल गर्नुहुन्छ। (कलस्सी १:१५) उदाहरणको लागि, आफ्नो जीवन बलिदान दिनुभन्दा पाँच दिनअघि येशू र उहाँका केही चेला बेथानीस्थित सिमोनको घरमा पाहुना बनेर जानुभएको थियो। साँझपख लाजरसकी दिदी अनि मार्थाकी बहिनी मरियमले “एक मानु (लगभग वर्षदिनको ज्याला पर्ने) साह्रै कीमती जटामसीको सुगन्धित मलहम” येशूको शिर र पाउमा खन्याइन्‌। (यूहन्‍ना १२:३) कसै-कसैले भने: “केको निम्ति यत्रो बर्बादी?” तर येशूको विचार अरूको भन्दा फरक थियो। मरियमले जे गरिन्‌, त्यसलाई उहाँले ठूलो उदारता ठान्‍नुभयो र आफ्नो मृत्यु नजिकै भएकोले अनि मृत्युपछि गाडिनुपर्ने भएकोले उहाँले त्यसलाई निकै महत्त्व पनि दिनुभयो। येशूले मरियमलाई गाली गर्नुको साटो सम्मान गर्नुभयो र भन्‍नुभयो: “सारा जगत्‌मा जहाँ यो सुसमाचार प्रचार गरिएला यो नारीले जे गरिन्‌ त्यसको चर्चा पनि तिनको सम्झनाको लागि गरिनेछ।”—मत्ती २६:६-१३.

१५, १६. येशूले बिताउनुभएको मानव जीवन र त्यतिखेर उहाँले गर्नुभएको परमेश्‍वरको सेवाले गर्दा हामीलाई के फाइदा भएको छ?

१५ येशू हाम्रो कदर गर्नुहुन्छ। त्यसैले उहाँलाई नेताको रूपमा पाउनु कत्रो सौभाग्य! वास्तवमा, यहोवाले सुम्पनुभएको जिम्मा पूरा गर्न अर्थात्‌ पहिले अभिषिक्‍त जनको लागि अनि त्यसपछि संसारको लागि प्रधानपूजाहारी र राजाको रूपमा सेवा गर्न येशूलाई उहाँको मानव जीवनले अझै सक्षम बनायो।—कलस्सी १:१३; हिब्रू ७:२६; प्रकाश ११:१५.

१६ पृथ्वीमा आउनुभन्दा अघि नै येशूले मानिसजातिमाथि गहिरो चासो राख्नुभएको थियो। साथै, उहाँलाई मानिसजाति असाध्यै मन पर्थ्यो। (हितोपदेश ८:३१) हामीले परमेश्‍वरको सेवा गर्दा सहनुपर्ने परीक्षाहरू के-के हुन्‌, मानव जीवन बिताउँदा येशूले राम्ररी बुझ्नुभयो। प्रेरित पावलले लेखे: येशू “कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी हुनालाई, सबै कुरामा आफ्ना भाइहरूजस्तै उहाँलाई बनिनुपऱ्‍यो। किनकि आफै परीक्षित भई शासना भोग्नुभएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्नसक्नुहुन्छ।” येशू “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने” हुनुहुन्‍न। किनकि उहाँ पनि “सबै कुरामा हामीजस्तै परीक्षित,” भए तापनि “पापरहित हुनुहुन्छ।”—हिब्रू २:१७, १८; ४:१५, १६.

१७, १८. (क) एसिया माइनरका सात मण्डलीलाई लेखेको पत्रमा येशूले गर्नुभएको गहिरो कदर कसरी छर्लङ्‌गै देख्न सकिन्छ? (ख) केको लागि अभिषिक्‍त मसीहीहरू तयार पारिंदै थिए?

१७ चेलाहरूले कस्ता-कस्ता परीक्षाहरू भोग्नुपर्छ, त्यो येशूले आफ्नो पुनरुत्थान भएपछि अझ राम्ररी बुझ्नुभयो। येशूले एसिया माइनरका सातवटा मण्डलीको लागि प्रेरित यूहन्‍नालाई लेख्न लगाउनुभएको पत्र विचार गर्नुहोस्‌। स्मर्नाको मण्डलीलाई येशूले भन्‍नुभयो: “तिम्रो कष्ट, र तिम्रो दरिद्रता . . . मलाई थाह छ।” येशूले तिनीहरूलाई ‘मैले तिमीहरूको समस्या राम्ररी बुझेको छु; के भइरहेछ, मलाई थाह छ’ भनेसरह थियो। येशू आफैले मृत्युको पीडा भोग्नुभएकोले दयालु हुँदै तर अख्तियारसहित उहाँले अझै यस्तो आश्‍वासन दिनुभयो: “तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।”—प्रकाश २:८-१०.

१८ चेलाहरूले सामना गर्नुपर्ने परीक्षाहरू येशूलाई राम्ररी थाह थियो अनि मृत्युसम्मै निष्ठा कायम गरेको कारण उहाँले तिनीहरूको गहिरो कदर गर्नुभयो भन्‍ने कुरा यी सातवटा मण्डलीलाई लेखेको पत्रमा छर्लङ्‌गै देख्न सकिन्छ। (प्रकाश २:१–३:२२) येशूले सम्बोधन गर्नुभएका ती चेलाहरू स्वर्गमा उहाँसँगै राज्य गर्ने आशा भएका अभिषिक्‍त मसीहीहरू थिए भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। दुःखकष्टमा परेका मानिसहरूले ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानबाट फाइदा उठाउने हो भने यी अभिषिक्‍त मसीहीहरूले दयालु भई मदत गर्नुपर्थ्यो। यही गहन जिम्मा पूरा गर्न सकोस्‌ भनेर येशूलाई जस्तै यिनीहरूलाई पनि तयार पारिंदै थियो।—प्रकाश ५:९, १०; २२:१-५.

१९, २०. ‘ठूलो भीडमा’ सामेल भइरहेकाहरूले यहोवा र उहाँको पुत्रप्रति कृतज्ञ भएको प्रमाण कसरी देखाइरहेका छन्‌?

१९ अभिषिक्‍त जनहरूलाई गरेजस्तै माया येशू आफ्ना वफादार ‘अरू भेडालाई’ पनि गर्नुहुन्छ। (यूहन्‍ना १०:१६) आउँदै गरेको ‘महा सङ्‌कष्टमा’ बाँच्ने यी ‘अरू भेडाका’ लाखौं व्यक्‍तिहरू नै “हरेक जातिबाटको . . . एक ठूलो भीड” हो। (प्रकाश ७:९, १४) येशूले दिनुभएको छुटकाराको बलिदान अनि अनन्त जीवनको आशाको कदर गर्दै यिनीहरू येशूको पक्षमा खडा हुन जम्मा भइरहेका छन्‌। यिनीहरू आफ्नो कृतज्ञता कसरी जाहेर गर्छन्‌? ‘दिन-रात परमेश्‍वरको सेवा’ गरेर।—प्रकाश ७:१५-१७.

२० सन्‌ २००६ सेवा वर्षमा विश्‍वभरि जे-जति गरियो, त्यस रिपोर्टअनुसार यी विश्‍वासी सेवकहरूले साँच्चै ‘दिनरात यहोवाको सेवा गरिरहेका छन्‌’ भन्‍ने स्पष्ट प्रमाण पाउँछौं। वास्तवमा, गत वर्ष मात्र तिनीहरूले बाँकी रहेका थोरै अभिषिक्‍त मसीहीहरूसित मिलेर जम्मा १,३३,३९,६६,१९९ घण्टा प्रचारकार्यमा बिताए। यो १,५०,००० वर्षभन्दा बढी समय हो!

कदर गरिरहनुहोस्‌

२१, २२. (क) कदर गर्ने सम्बन्धमा आज मसीहीहरू किन होसियार हुनै पर्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२१ यहोवा र उहाँको पुत्रले असिद्ध मानिसहरूलाई कदर गर्नुभएको देख्दा हामी खुसीले गदगद्‌ हुन्छौं। तर दुःखको कुरा, प्रायजसो मानिस परमेश्‍वरबारे त्यति चासो राख्दैनन्‌। बरु, तिनीहरू आफ्नै कुरामा मस्त छन्‌। यी “आखिरी दिनमा” बाँचिरहेका मानिसहरूबारे व्याख्या गर्दै पावलले “मानिसहरू स्वार्थी, धनका लोभी . . . बैगुणी . . . हुनेछन्‌” भने। (२ तिमोथी ३:१-५) यस्ता मानिसहरू र साँचो मसीहीहरूबीचको भिन्‍नता कत्ति स्पष्ट छ! साँचो मसीहीहरू त हृदय खोलेर परमेश्‍वरलाई प्रार्थना गर्छन्‌, राजीखुसी उहाँको आज्ञा पालन गर्छन्‌ र परमेश्‍वरले तिनीहरूको लागि गरिदिनुभएका कुराहरूको कदरस्वरूप सारा प्राणले उहाँको सेवा गर्छन्‌।—भजन ६२:८; मर्कूस १२:३०; १ यूहन्‍ना ५:३.

२२ यहोवाले माया गर्दै हाम्रो निम्ति गरिदिनुभएका आध्यात्मिक प्रबन्धहरूमध्ये केही के-के हुन्‌, यसपछिको लेखमा हामी फेरि विचार गर्नेछौं। यी आध्यात्मिक प्रबन्धहरू अर्थात्‌ “उत्तम वरदान” के-के हुन्‌ स्मरण गर्दा उहाँप्रतिको हाम्रो कृतज्ञता अझै गहिरिंदै जाओस्‌!—याकूब १:१७. (w07 2/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर उहाँ आफैले कसरी देखाउनुभएको छ?

• हामीले गुप्तमा पनि यहोवाको हृदयलाई कसरी आनन्दित तुल्याउन सक्छौं?

• येशूले कुन-कुन तरिकामा अरूको कदर गर्नुभयो?

• दयालु र अरूको कदर गर्ने शासक हुन येशूलाई उहाँको मानव जीवनले कसरी मदत गऱ्‍यो?

[पृष्ठ २२-मा भएको चित्र]

छोराछोरीको सानो प्रयासलाई आमाबाबुले अनमोल ठानेझैं हामीले तनमनले गरेको प्रयासको यहोवा कदर गर्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने