के येशू सर्वशक्तिमान् परमेश्वर हो?
साधारणतया पाइने जवाफ:
▪ “हो, येशू सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ!”
▪ “येशू परमेश्वरको मानव रूप हुनुहुन्छ!”
येशूले के भन्नुभयो?
▪ “तिमीहरूले मलाई प्रेम गरेका भए तिमीहरू रमाउनेथियौ, किनभने म पिताकहाँ जान्छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ।” (यूहन्ना १४:२८) येशूले मानिलिनुभयो कि पिता र उहाँ बराबर हुनुहुन्न।
▪ “म मेरा पिता र तिमीहरूका पिता, औ मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जान्छु।” (यूहन्ना २०:१७) येशूले उहाँ आफै परमेश्वर हो भन्ने संकेत गर्नुभएन बरु परमेश्वर एक छुट्टै व्यक्ति हुनुहुन्छ भन्नुभयो।
▪ “मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।” (यूहन्ना १२:४९) येशूको शिक्षा उहाँको होइन, पिताको हो।
येशूले आफूलाई परमेश्वरका पुत्र भन्नुभयो, सर्वशक्तिमान् परमेश्वर होइन। यदि येशू परमेश्वर हुनुहुँदो हो त, पृथ्वीमा छँदा उहाँले कसलाई प्रार्थना गर्नुभयो? (मत्ती १४:२३; २६:२६-२९) निश्चय नै येशूले अरू कसैसित बोलेको जस्तो ढोङ गरिरहनुभएको थिएन!
येशूका दुई चेलाले उहाँको राज्यमा विशेष ओहदा माग्दा उहाँले यस्तो जवाफ दिनुभयो: “मेरो दाहिने र देब्रेपट्टि बस्नदिने मेरो हकमा छैन, तर जस-जसको निम्ति हो, त्यो मेरो पिताबाट तयार भइसकेको छ।” (मत्ती २०:२३) तिनीहरूको बिन्ती पूरा गरिदिने अधिकार उहाँसित छैन भन्नुहुँदा के येशूले झूट बोलिरहनुभएको थियो? थिएन। बरु, उहाँले नम्र हुँदै त्यस्तो निर्णय गर्ने अधिकार परमेश्वरसित मात्र छ भनेर स्वीकार्नुभयो। येशूले यसो समेत भन्नुभयो, एउटा यस्तो कुरा छ जुन न त उहाँलाई न स्वर्गदूतहरूलाई नै तर स्वर्गमा बस्नुहुने पितालाई मात्र थाह छ।—मर्कूस १३:३२.
के येशू मानव रूपमा पृथ्वीमा छँदा मात्र परमेश्वरभन्दा निम्न हुनुहुन्थ्यो? होइन। मृत्यु र पुनरुत्थान भइसकेपछि पनि बाइबलले उहाँ परमेश्वरकै अधीनमा रहेको कुरा बताउँछ। प्रेरित पावल हामीलाई याद दिलाउँछन् कि “ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) भविष्यमा “जब सबै कुरा उहाँको अधीनमा भएका हुन्छन्, तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ” भनी बाइबल बताउँछ।—१ कोरिन्थी १५:२८.
कुरा स्पष्ट छ, येशू सर्वशक्तिमान् परमेश्वर हुनुहुन्न। त्यसैकारण उहाँले आफ्ना पितालाई “मेरा परमेश्वर” भन्नुभयो।—प्रकाश ३:२, १२; २ कोरिन्थी १:३, ४.a (w 09 2/1)
[फुटनोट]
a यससम्बन्धी थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २०१-२०४ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
एउटा यस्तो कुरा छ जुन न त उहाँलाई न स्वर्गदूतहरूलाई नै तर स्वर्गमा बस्नुहुने पितालाई मात्र थाह छ