प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१५ pp. ३-७
  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बुबा को हो भनी प्रकट गर्न येशू सबैभन्दा सक्षम
  • बुबा को हो भनेर येशूले कसरी प्रकट गर्नुभयो?
  • बुबा को हो भनेर प्रकट गर्न येशू चाहनुहुन्थ्यो
  • अरूलाई यहोवाबारे बुझ्न मदत गरेर येशूको अनुकरण गर्नुहोस्‌
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “ख्रीष्टको मनलाई” जान्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१५ pp. ३-७

‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’

“बुबा को हो, छोराले र छोराले प्रकट गर्न चाहेको व्यक्‍तिले बाहेक अरू कसैले जान्दैन।”—लूका १०:२२.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

येशूले बुबालाई किन विशेष तरिकामा प्रकट गर्न सक्नुहुन्थ्यो?

बुबा को हो भनेर येशूले अरूलाई कसरी प्रकट गर्नुभयो?

बुबा को हो भनी प्रकट गर्ने सन्दर्भमा तपाईं कुन-कुन तरिकामा येशूको अनुकरण गर्न सक्नुहुन्छ?

१, २. कुन प्रश्‍नले थुप्रैलाई रनभुल्लमा पारेको छ र किन?

‘परमेश्‍वर को हुनुहुन्छ?’ यो प्रश्‍नले थुप्रैलाई रनभुल्लमा पारेको छ। उदाहरणका लागि ख्रीष्टियन हुँ भनी दाबी गर्ने थुप्रैले परमेश्‍वर त्रिएक हुनुहुन्छ भनेर विश्‍वास गरे तापनि धेरैलाई यो शिक्षा बुझ्नै नसकिने जस्तो लाग्छ। एक जना लेखक तथा पादरीले यसरी स्वीकारे: “त्रिएकको शिक्षालाई मानिसको सीमित दिमागले बुझ्नै सक्दैन। यसमा मानिसहरूले पूर्णतया बुझ्न नसक्ने कुरा मुछिएको छ।” अर्कोतर्फ क्रमविकासको सिद्धान्तमा विश्‍वास गर्ने कतिपयचाहिं परमेश्‍वर हुनुहुन्‍न भन्‍ने सोचाइ राख्छन्‌। तिनीहरू सृष्टिका सबै कुरा आफ से आफ आएका हुन्‌ भन्छन्‌। परमेश्‍वरको अस्तित्वलाई चार्ल्स डार्विनले पनि नकारेका थिएनन्‌। तिनले परमेश्‍वरबारे पूर्ण रूपमा बुझ्ने क्षमता मानिसमा छैन भनी बताएका थिए।

२ मानिसहरूको विश्‍वास जेसुकै भए तापनि थुप्रैको मनमा परमेश्‍वरबारे प्रश्‍न उठ्‌ने गरेको छ। तर चित्तबुझ्दो जवाफ नपाएपछि थुप्रैले परमेश्‍वरबारे खोज-अनुसन्धान गर्नै छोडेका छन्‌। सैतानले ‘विश्‍वास नगर्ने मानिसहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।’ (२ कोरि. ४:४) त्यसैले थुप्रै मानिसलाई हाम्रा बुबा अर्थात्‌ सारा ब्रह्‍माण्डका सृष्टिकर्ताबारे सत्य कुरा थाह नहुनु र उनीहरू अलमलमा पर्नु छक्क लाग्दो कुरा होइन।—यशै. ४५:१८.

३. (क) सृष्टिकर्ता को हो भनेर हामीलाई कसले प्रकट गर्नुभएको छ? (ख) अब हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौं?

३ तैपनि मानिसहरूले परमेश्‍वरबारे सत्य कुरा सिक्नु महत्त्वपूर्ण छ। किन? किनभने “यहोवाको नाम” पुकार्नेहरूले मात्र उद्धार पाउनेछन्‌। (रोमी १०:१३) परमेश्‍वरको नाम पुकार्नुमा उहाँ को हुनुहुन्छ र उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनी थाह पाउनु समावेश छ। यो महत्त्वपूर्ण सत्यबारे येशूले आफ्ना चेलाहरूलाई बताउनुभयो। उहाँले बुबा को हो भनेर चेलाहरूलाई प्रकट गर्नुभयो। (लूका १०:२२ पढ्‌नुहोस्‌) येशूले बुबालाई किन अरूले भन्दा राम्रोसँग प्रकट गर्न सक्नुभयो? येशूले बुबा को हो भनेर कसरी प्रकट गर्नुभयो? अनि बुबा को हो भनेर अरूलाई प्रकट गर्ने सन्दर्भमा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? आउनुहोस्‌ यी प्रश्‍नबारे विचार गरौं।

बुबा को हो भनी प्रकट गर्न येशू सबैभन्दा सक्षम

४, ५. येशूले बुबालाई किन विशेष तरिकामा प्रकट गर्न सक्नुहुन्थ्यो?

४ बुबा को हो भनी प्रकट गर्ने सन्दर्भमा येशू सबैभन्दा सक्षम हुनुहुन्थ्यो। किन? किनभने अरू कुनै पनि कुरा सृष्टि गरिनुअघि नै येशूलाई स्वर्गमा एक जना शक्‍तिशाली स्वर्गदूतको रूपमा सृष्टि गरिएको थियो। उहाँ “परमेश्‍वरको एक मात्र छोरा” हुनुहुन्थ्यो। (यूह. १:१४; ३:१८) अरू कुनै पनि थोक सृष्टि गरिनुअघि नै येशूले यहोवाबाट मायालु हेरचाह पाउनुभयो अनि यहोवा र उहाँका गुणहरूबारे सिक्नुभयो। यी बुबा-छोराले पक्कै पनि प्रशस्त कुराकानी गरेको हुनुपर्छ अनि युगौंयुगको दौडान आपसमा प्रगाढ सम्बन्ध विकास गरेको हुनुपर्छ। (यूह. ५:२०; १४:३१) छोराले बुबाबारे कत्ति धेरै कुरा सिक्नुभयो होला, सोच्नुहोस्‌ त!—कलस्सी १:१५-१७ पढ्‌नुहोस्‌।

५ बुबाले यी छोरालाई “परमेश्‍वरको वचन” हुन अर्थात्‌ प्रवक्‍ता हुन रोज्नुभयो। (प्रका. १९:१३) त्यसकारण बुबा को हो भनी प्रकट गर्ने सन्दर्भमा येशू विशेष स्थानमा हुनुहुन्थ्यो। सुसमाचार पुस्तकका लेखक यूहन्‍नाले पनि “वचन” अर्थात्‌ येशूलाई “आफ्नो बुबाको काखमा बस्नुहुने” भन्‍नु एकदमै उपयुक्‍त छ। (यूह. १:१, १८) यी शब्दहरू लेख्दा यूहन्‍नालाई भोजन गर्ने समयमा त्यतिबेला अपनाइने एउटा चलन याद आएको हुनुपर्छ। पाहुनाहरूले आपसमा सजिलैसित कुराकानी गर्न सकून्‌ भनेर उनीहरूलाई नजिकै राख्ने गरिन्थ्यो। तसर्थ आफ्नो “बुबाको काखमा” बसेकोले येशूले उहाँसित घनिष्ठ भई कुराकानी गरेको हुनुपर्छ।

६, ७. बुबा र छोराबीचको सम्बन्ध कसरी झन्‌-झन्‌ प्रगाढ हुँदै गयो?

६ बुबा र छोराबीचको सम्बन्ध झन्‌-झन्‌ प्रगाढ हुँदै गयो। यी छोरा परमेश्‍वरको “प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै” बस्नुभयो। (हितोपदेश ८:२२, २३, ३०, ३१ पढ्‌नुहोस्‌) त्यसैले दुई जनाले सँगै काम गर्दा अनि छोराले बुबाका गुणहरू अनुकरण गर्न सिक्दा उहाँहरूबीचको सम्बन्ध झन्‌-झनै प्रगाढ भएको हुनुपर्छ भन्‍नु तार्किक छ। अरू बौद्धिक प्राणीहरू सृष्टि गरिसकेपछि यहोवाले ती प्रत्येकसित कसरी व्यवहार गर्नुभयो भनेर छोराले देख्नुभयो। यसले गर्दा परमेश्‍वरप्रति उहाँको कृतज्ञता झनै बढ्यो।

७ पछि सैतानले यहोवाको सार्वभौमिकताको औचित्यमाथि प्रश्‍न खडा गऱ्‍यो। यतिबेला पनि, कठिन परिस्थिति आइपर्दा यहोवाले प्रेम, न्याय, बुद्धि अनि शक्‍ति कसरी देखाउनुहुन्छ भनेर बुझ्ने मौका छोराले पाउनुभयो। यसले येशूलाई पछि पृथ्वीमा सेवा गर्दा आइपर्ने कठिनाइहरूको सामना गर्न तयार बनायो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—यूह. ५:१९.

८. सुसमाचार पुस्तकका विवरणहरूले हामीलाई बुबाका गुणहरूबारे अझ राम्ररी बुझ्न कसरी मदत गर्छ?

८ यहोवासित एकदमै घनिष्ठ सम्बन्ध भएको कारण छोराले बुबाबारे अरूले भन्दा विस्तृत रूपमा वर्णन गर्न सक्नुभयो। त्यसैले बुबालाई चिन्‍नको लागि उहाँको एक मात्र छोरा येशूको शिक्षा र उहाँको कामलाई विचार गर्नुभन्दा राम्रो तरिका अरू के नै होला र? उदाहरणका लागि, शब्दकोशको परिभाषा मात्र पढेर “प्रेम” के हो भनी बुझ्न हामीलाई कत्ति हम्मेहम्मे पर्थ्यो होला, सोच्नुहोस्‌ त! तर येशूको सेवा अनि उहाँले अरूसित गर्नुभएको मायालु व्यवहारबारे सुसमाचार पुस्तकका लेखकहरूले लेखेको जीवन्त विवरण मनन गर्दा “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने वाक्यांशलाई हामी अझै राम्रोसँग बुझ्न सक्छौं। (१ यूह. ४:८, १६) येशूले यस पृथ्वीमा छँदा आफ्ना चेलाहरूलाई प्रकट गर्नुभएको परमेश्‍वरका अरू गुणबारे पनि त्यसै भन्‍न सकिन्छ।

बुबा को हो भनेर येशूले कसरी प्रकट गर्नुभयो?

९. (क) बुबा को हो भनेर येशूले कुन दुई तरिकामा प्रकट गर्नुभयो? (ख) बुबा को हो भनेर येशूले आफ्नो शिक्षाद्वारा कसरी प्रकट गर्नुभयो, उदाहरण दिनुहोस्‌।

९ बुबा को हो भनेर येशूले आफ्ना चेलाहरूलाई र भावी अनुयायीहरूलाई कसरी प्रकट गर्नुभयो? उहाँले दुई तरिकामा यसो गर्नुभयो: आफ्नो शिक्षाद्वारा अनि आफ्नो व्यवहारद्वारा। आउनुहोस्‌ पहिला उहाँको शिक्षाबारे विचार गरौं। येशूले आफ्ना अनुयायीहरूलाई दिएको शिक्षाबाट हामी उहाँको बुबाको विचार, भावना अनि तौरतरिका बुझ्न सक्छौं। उदाहरणका लागि, येशूले आफ्नो बुबालाई बगालबाट बाटो बिराएको एउटा भेडा खोज्न जाने मायालु गोठालोसित तुलना गर्नुभयो। हराएको भेडा भेट्टाउँदा “बाटो नबिराएका उनान्सयका लागि भन्दा त्यो एउटाका लागि ऊ धेरै” रमाउँछ भनेर येशूले बताउनुभयो। येशूले यो दृष्टान्त किन चलाउनुभयो? उहाँले भन्‍नुभयो: “त्यसैगरि, स्वर्गमा बस्नुहुने मेरो बुबा यी सानाहरूमध्ये कसैले पनि बाटो बिराएको चाहनुहुन्‍न।” (मत्ती १८:१२-१४) यो दृष्टान्तबाट तपाईं यहोवाबारे के सिक्न सक्नुहुन्छ? कहिलेकाहीं तपाईंलाई ‘म त केही कामको छैन’ अथवा ‘कसैलाई मेरो वास्ता छैन’ जस्तो लाग्ला। तर नबिर्सनुहोस्‌, स्वर्गमा बस्नुहुने बुबा तपाईंको चासो र ख्याल राख्नुहुन्छ। उहाँको नजरमा तपाईं पनि “यी सानाहरूमध्ये” एक हुनुहुन्छ।

१०. बुबा को हो भनेर येशूले आफ्नो व्यवहारद्वारा कसरी प्रकट गर्नुभयो?

१० बुबा को हो भनेर येशूले आफ्ना चेलाहरूलाई प्रकट गर्नुभएको दोस्रो तरिका उहाँको व्यवहारद्वारा हो। त्यसकारण प्रेषित फिलिपले “हामीलाई बुबा देखाइदिनुहोस्‌” भनी येशूलाई भन्दा उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (यूह. १४:८, ९) येशूले आफ्नो बुबाका गुणहरू कसरी प्रकट गर्नुभयो, केही उदाहरण विचार गर्नुहोस्‌। एक जना कुष्ठरोगीले आफूलाई निको पारिदिन येशूसित बिन्ती गर्दा उहाँले “पूरै शरीरभरि कुष्ठरोग लागेको” ती व्यक्‍तिलाई छुनुभयो र यसो भन्‍नुभयो: “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” येशूले त्यसो भनेपछि उक्‍त कुष्ठरोगी निको भए। यहोवाबाट शक्‍ति पाएर नै येशूले निको पार्नुभएको हो भन्‍ने कुरा ती कुष्ठरोगीले पक्कै बुझेको हुनुपर्छ। (लूका ५:१२, १३) साथै, लाजरसको मृत्यु हुँदा ‘येशूले अत्यन्तै विचलित भएर सुस्केरा हाल्नुभयो’ र उहाँ “रुनुभयो।” यतिखेर पनि उहाँका चेलाहरूले बुबाको करुणा महसुस गर्न सके। आफूले लाजरसलाई पुनर्जीवित गर्न लागेको कुरा येशूलाई थाह थियो, तैपनि उहाँले लाजरसको परिवार तथा साथीहरूको पीडा महसुस गर्नुभयो। (यूह. ११:३२-३५, ४०-४३) यहोवाको कृपा बुझ्न मदत गर्न बाइबलमा दिइएका येशूका उदाहरणमध्ये तपाईंलाई पनि कुनै-कुनै उदाहरण एकदमै मनपर्छ होला।

११. (क) मन्दिर सफा गर्दा येशूले बुबाबारे के प्रकट गर्नुभयो? (ख) येशूले मन्दिर सफा गर्नुभएको विवरण हाम्रो लागि किन सान्त्वनादायी छ?

११ येशूले मन्दिर सफा गर्नुभएको विवरण पढ्‌दा तपाईं कस्तो निष्कर्षमा पुग्न सक्नुहुन्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: येशूले डोरीको कोर्रा बनाउनुभयो अनि भेडा र गाईवस्तु बेच्नेहरूलाई लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो। (यूह. २:१३-१७) येशूको यस्तो सशक्‍त कदमको कारण चेलाहरूले राजा दाऊदको यो भविष्यसूचक वचन सम्झे: “तपाईंको घरको जोशले मलाई खाएको छ।” (भज. ६९:९) यस्तो दृढ कदम चालेर येशूले साँचो उपासना जोगाउन आफूमा तीव्र इच्छा भएको कुरा देखाउनुभयो। यो विवरण पढ्‌दा के तपाईंले येशूमा देखिएको यहोवाको व्यक्‍तित्व याद गर्नुभयो? यस विवरणले यहोवासित पृथ्वीबाट दुष्टता हटाउने असीमित शक्‍ति मात्र छैन तर उहाँमा त्यसो गर्ने तीव्र इच्छा पनि छ भनी हामीलाई सम्झना गराउँछ। गलत कार्यप्रति येशूले देखाउनुभएको यस्तो कडा प्रतिक्रियाले अहिले व्यापक रूपमा फैलिरहेको दुष्टता देख्दा यहोवालाई कस्तो लागिरहेको होला, त्यो प्रकट गर्छ। अहिले अन्याय सामना गर्नुपर्दा यो कुरा हाम्रो लागि कत्ति सान्त्वनादायी छ!

१२, १३. येशूले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहारबाट तपाईं यहोवाबारे के सिक्न सक्नुहुन्छ?

१२ अब हामी अर्को उदाहरण विचार गरौं। त्यो हो, येशूले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहार। उहाँका चेलाहरूले आफूहरूमध्ये को ठूलो भनी बहस गर्न छोडेनन्‌। (मर्कू. ९:३३-३५; १०:४३; लूका ९:४६) बुबासित लामो समय बिताइसकेकोले यस्तो घमन्डी झुकाव उहाँलाई कस्तो लाग्छ भनी येशूलाई थाह थियो। (२ शमू. २२:२८; भज. १३८:६) साथै सैतानले पनि यस्तै झुकाव झल्काएको येशूले देखिसक्नुभएको थियो। त्यो स्वार्थी सैतानको ध्याउन्‍न प्रतिष्ठा र ओहदामा मात्र केन्द्रित थियो। आफूले प्रशिक्षण दिएका चेलाहरूले समेत बारम्बार यस्तो घमन्डी मनोभाव देखाउँदा येशूलाई कत्ति दुःख लागेको हुनुपर्छ! उहाँले प्रेषितको रूपमा छानेकाहरूमा समेत यस्तो मनोवृत्ति थियो! येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम घडीसम्मै तिनीहरूले घमन्डी मनोभाव देखाए। (लूका २२:२४-२७) तैपनि येशूले तिनीहरूलाई दयालु भई सुधारिरहनुभयो। चेलाहरूले कुनै न कुनै दिन आफ्नो जस्तै नम्र मनोवृत्ति अनुकरण गर्न सिक्नेछन्‌ भन्‍ने आशा उहाँले कहिल्यै गुमाउनुभएन।—फिलि. २:५-८.

१३ येशूले आफ्ना चेलाहरूको गलत विचारधारालाई धीरजी हुँदै सुधारेको तरिकाबाट यहोवाको व्यक्‍तित्वबारे केही कुरा थाह पाउनुभयो कि? आफ्ना जनहरूले बारम्बार गल्ती गर्दा पनि यहोवाले तिनीहरूलाई त्याग्नुहुन्‍न भन्‍ने कुरा के तपाईंले येशूको बोली अनि व्यवहारबाट देख्नुभयो? यहोवाको यस्तो व्यक्‍तित्वबारे थाह पाइसकेपछि कुनै गल्ती गर्दा के हामी प्रार्थना गरेर उहाँसित क्षमा माग्न उत्प्रेरित हुँदैनौं र?

बुबा को हो भनेर प्रकट गर्न येशू चाहनुहुन्थ्यो

१४. बुबा को हो भनी प्रकट गर्न चाहेको कुरा येशूले कसरी देखाउनुभयो?

१४ जनतालाई आवश्‍यक पर्ने जानकारी नदिएर अनि तिनीहरूलाई अनजान अवस्थामा राखेर थुप्रै निरङ्‌कुश शासकहरूले आफ्नो जनतामाथि हैकम जमाउन खोज्छन्‌। तर येशू भने बुबाबारे आफूलाई थाह भएको र मानिसहरूलाई आवश्‍यक पर्ने सबै जानकारी बाँड्‌न चाहनुहुन्थ्यो। (मत्ती ११:२७ पढ्‌नुहोस्‌) साथै चेलाहरूले “सत्य परमेश्‍वरको ज्ञान हासिल” गरून्‌ भनेर येशूले तिनीहरूलाई “बौद्धिक क्षमता” पनि दिनुभयो। (१ यूह. ५:२०) यसको अर्थ के हो? बुबाबारे आफूले सिकाएको कुरा चेलाहरूले बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूलाई मदत गर्नुभयो। आफ्नो बुबा बुझ्नै नसकिने त्रिएकको एउटा भाग हुनुहुन्छ भन्‍ने कुरा सिकाएर येशूले आफ्ना चेलाहरूलाई अन्धकारमा राख्नुभएन।

१५. येशूले बुबाबारे कुनै-कुनै जानकारी चेलाहरूलाई किन बताउनुभएन?

१५ के येशूले बुबाबारे आफूलाई थाह भएको सबै कुरा प्रकट गर्नुभयो? अहँ गर्नुभएन। आफूलाई थाह भएको थुप्रै कुरा गोप्य राखेर उहाँले बुद्धि झल्काउनुभयो। (यूहन्‍ना १६:१२ पढ्‌नुहोस्‌) किन? किनभने त्यतिबेला उहाँका चेलाहरू त्यस्तो कुरा ‘बुझ्न सक्ने’ अवस्थामा थिएनन्‌। तर येशूले बताएझैं “मदतगार” अर्थात्‌ पवित्र शक्‍ति आएपछि ती चेलाहरूलाई अझ धेरै कुरा प्रकट गरिनेथियो र त्यस शक्‍तिले तिनीहरूलाई “सत्य राम्ररी बुझ्न” मदत गर्नेथियो। (यूह. १६:७, १३) आफ्ना छोराछोरी बुझ्ने उमेरको नभएसम्म बुद्धिमान्‌ आमाबाबुले केही जानकारी उनीहरूलाई नबताई गोप्य राख्छन्‌। त्यसैगरि चेलाहरू परिपक्व भएर बुबाबारे थप जानकारी बुझ्न सक्ने नभएसम्म येशूले पनि तिनीहरूलाई त्यसबारे बताउनुभएन। येशूले दयालु भई तिनीहरूको सीमिततालाई ध्यान दिनुभयो।

अरूलाई यहोवाबारे बुझ्न मदत गरेर येशूको अनुकरण गर्नुहोस्‌

१६, १७. तपाईं यहोवाबारे अरूलाई बताउन सक्ने अवस्थामा किन हुनुहुन्छ?

१६ कुनै व्यक्‍तिलाई राम्ररी चिन्दा अनि तिनको राम्रो व्यक्‍तित्व थाह पाउँदा के तपाईं उक्‍त व्यक्‍तिबारे अरूलाई बताउन उत्प्रेरित हुनुहुन्‍न र? पृथ्वीमा छँदा येशूले आफ्नो बुबाबारे अरूलाई बताउनुभयो। (यूह. १७:२५, २६) यहोवाबारे अरूलाई बताउने सन्दर्भमा के हामी उहाँको अनुकरण गर्न सक्छौं?

१७ हामीले बुझिसक्यौं, बुबाबारे येशूसित जत्ति ज्ञान थियो अरूसित त्यत्ति थिएन। तर उहाँ आफूलाई थाह भएको जानकारीमध्ये केही जानकारी अरूलाई बताउन इच्छुक हुनुभयो। परमेश्‍वरको व्यक्‍तित्वसित सम्बन्धित गहिरा-गहिरा कुरा बुझ्न उहाँले आफ्ना अनुयायीहरूलाई बौद्धिक क्षमतासमेत दिनुभयो। अहिले थुप्रै मानिसले यहोवा परमेश्‍वरबारे राम्ररी बुझेका छैनन्‌ तर येशूको मदतद्वारा के हामीले उहाँबारे राम्ररी बुझ्न पाएका छैनौं र? येशूले आफ्नो शिक्षा अनि व्यवहारद्वारा बुबा को हो भनेर हामीलाई प्रकट गर्न चाहेकोमा हामी कत्ति खुसी छौं! वास्तवमा बुबालाई चिन्‍न पाएकोमा हामी घमन्ड गर्न सक्छौं। (यर्मि. ९:२४; १ कोरि. १:३१) हामीले यहोवासित नजिक हुने प्रयास गरेको कारण उहाँ पनि हाम्रो नजिक आउनुभएको छ। (याकू. ४:८) त्यसकारण हामी उहाँबारे आफूलाई थाह भएको कुरा अरूलाई बताउन सक्ने अवस्थामा छौं। हामी उहाँबारे अरूलाई कसरी बताउन सक्छौं?

१८, १९. बुबा को हो भनी तपाईं कुन-कुन तरिकामा अरूलाई प्रकट गर्न सक्नुहुन्छ? व्याख्या गर्नुहोस्‌।

१८ आफ्नो बोली अनि व्यवहारबाट बुबा को हो भनी प्रकट गरेर हामीले येशूको अनुकरण गर्नुपर्छ। प्रचारकार्यमा हामीले भेट्‌ने थुप्रै मानिसलाई सत्य परमेश्‍वर को हुनुहुन्छ भनी थाह छैन भन्‍ने कुरा नबिर्सनुहोस्‌। झूटा शिक्षाले गर्दा परमेश्‍वरबारे तिनीहरूको धारणा ओझेलमा परेको छ। परमेश्‍वरको नाम, मानिसजातिको लागि उहाँको उद्देश्‍य अनि उहाँको व्यक्‍तित्वबारे बाइबलबाट सिकेको कुरा हामी तिनीहरूलाई बताउन सक्छौं। साथै परमेश्‍वरको व्यक्‍तित्वबारे बाइबलमा प्रकट गरिएको जानकारीलाई नयाँ तरिकामा बुझेमा त्यसबारे सँगी विश्‍वासीहरूसित छलफल गर्न सक्छौं। यसो गर्दा तिनीहरूले पनि लाभ उठाउन सक्नेछन्‌।

१९ बुबा को हो भनी आफ्नो व्यवहारबाट प्रकट गरेर येशूको अनुकरण गर्ने सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? हामीले येशूको जस्तै प्रेम झल्किने काम गरेको देख्दा मानिसहरू यहोवा अनि येशूसित नजिक हुनेछन्‌। (एफि. ५:१, २) प्रेषित पावलले हामीलाई ‘तिनले ख्रीष्टको देखासिकी गरेजस्तै तिनको देखासिकी गर्न’ प्रोत्साहन दिए। (१ कोरि. ११:१) आफ्नो व्यवहारबाट अरूलाई यहोवाबारे बुझ्न मदत गर्ने कत्रो सुअवसर हामीसित छ, विचार गर्नुहोस्‌ त! बुबा को हो भनी अरूलाई प्रकट गरेर हामी सबैले येशूको अनुकरण गरिरहौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने