थुप्रै मानिसलाई कुन कुराको डर छ?
“हामी विनाशतर्फ लम्कँदैछौं भनेर सोच्न कुनै धर्ममा विश्वास गरेको हुनुपर्छ भन्ने छैन।”—स्टिफन ओलिरी, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका सह-प्राध्यापक। a
यो भनाइसित के तपाईं सहमत हुनुहुन्छ? मानिसहरूले भविष्यको डर राख्नुका केही कारण यी आवरण लेखहरूमा छलफल गरिनेछन्। तर पृथ्वीबाट जीवजीवात नामेट हुनेछैन भनेर तपाईं किन विश्वस्त हुन सक्नुहुन्छ, त्यसबारे पनि यी लेखहरूले बताउनेछन्। अब पढ्नुहुने कुराले तपाईंलाई निराश बनाउन सक्छ तैपनि आशावादी हुने ठोस कारण छ।
आणविक युद्धको खतरा यथावत छ। सन् २००७ मा बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्-ले यस्तो चेतावनी दियो: “हिरोसिमा र नागासाकीमा पहिलो अणु बम खसालिंदा मात्र संसारले आणविक खतरा सामना गर्नुपरेको होइन।” किन त्यसो भनिएको? उक्त बुलेटिन-को रिपोर्टअनुसार सन् २००७ मा करिब २७,००० आणविक हतियार अझै बाँकी थिए र त्यसमध्ये २,००० त “केही मिनेटमै प्रक्षेपण गर्नका लागि तयार थिए।” यदि ती हतियारहरूमध्ये थोरै मात्र विस्फोट भयो भने पनि त्यसको असर भयावह हुनेछ!
के त्यस समय यता आणविक युद्धको खतरा घटेको छ? सन् २००९ मा प्रकाशित एस आइ पि आर आइ-को b वार्षिक पुस्तक-ले बताएअनुसार आणविक रूपमा शक्तिशाली पाँच प्रमुख राष्ट्र चीन, फ्रान्स, रूस, बेलाइत र अमेरिकाले नयाँ आणविक हतियार प्रणालीलाई तम्तयार राखेका छन् वा त्यसो गर्ने विचार व्यक्त गरेका छन्। c तर सोही पुस्तकले दाबी गरेअनुसार आणविक हतियार भएका राष्ट्रहरू तिनीहरू मात्र होइनन्। अनुसन्धानकर्ताहरूको अनुमानअनुसार भारत, पाकिस्तान र इजरायल हरेकसित ६० देखि ८० वटा आणविक बम छन्। तिनीहरूले बताएअनुसार अहिले संसारमा जम्मा ८,३९२ आणविक हतियार प्रक्षेपण गर्नका लागि तयार छन्।
मौसम परिवर्तनले विपत्ति ल्याउन सक्छ। माथि उल्लेख गरिएको बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्-अनुसार “मौसम परिवर्तनले निम्त्याउने खतरा झन्डै-झन्डै आणविक हतियारले निम्त्याउने खतरा जतिकै छ।” युनिभर्सिटी अफ क्यामब्रिजका अवकाशप्राप्त प्राध्यापक स्टिफन हकिङ् अनि सोही युनिभर्सिटीअन्तर्गत ट्रिनिटी कलेजका शिक्षक सर मार्टिन रिजजस्ता ख्यातिप्राप्त वैज्ञानिकहरू यस्तै कडा चेतावनी दिन्छन्। तिनीहरूको विचारमा प्रविधिको दुरुपयोग र मानव गतिविधिले गर्दा कुनै जीवजीवात बाँच्नै नसकिने गरी पृथ्वीको वातावरण बिग्रन सक्छ र मानव सभ्यता नामेटसमेत हुन सक्छ।
विध्वंसको पूर्वानुमानले लाखौं चिन्तित छन्। एउटा लोकप्रिय इन्टरनेट प्रोग्राममा गएर अङ्ग्रेजीमा “संसारको अन्त” (“end of the world”) र “२०१२” टाइप गर्नुहोस्। संसारको अन्त २०१२ मा हुनेछ भन्ने सयौं पूर्वानुमान तपाईंले फेला पार्नुहुनेछ। किन यत्ति धेरै? “लङ काउन्ट” भनेर चिनिने पुरातन माया पात्रो सन् २०१२ मा पुगेर टुङ्गिने हिसाब गरिएको छ। यो कुराले गर्दा कतै मानव सभ्यता नै नामेट हुने त होइन भनेर थुप्रै मानिस डराइरहेका छन्।
धर्ममा आस्था राख्ने थुप्रै मानिस, बाइबलले पृथ्वी नै सर्वनाश हुने कुरा सिकाउँछ भनेर विश्वास गर्छन्। तिनीहरूको विश्वासअनुसार सबै विश्वासी मानिस स्वर्ग लगिनेछन् र बाँकी मानिसहरू गन्जागोल पृथ्वीमा दुःख भोग्न छोडिनेछन् अथवा नरकमा फ्याँकिनेछन्।
तर के वास्तवमा बाइबलले पृथ्वी पूर्णतया भताभुङ्ग वा विध्वंस हुनेछ भनेर बताउँछ र? प्रेरित यूहन्नाले यस्तो चेतावनी दिए: “जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर।” (१ यूहन्ना ४:१) अरूको कुरा पत्याइहाल्नुभन्दा संसारको अन्तबारे बाइबलले के बताउँछ, तपाईं आफैले जाँच्नु भए कसो होला? बाइबलले वास्तवमा के सिकाउँछ भनेर थाह पाउँदा तपाईं छक्क पर्नुहोला। ( w10 -E 08/01)
[फुटनोट]
a एउटा वेबसाइटमा (MSNBC) अक्टोबर १९, २००५ मा प्रकाशित “विपत्तिहरूले गर्दा सर्वनाशको भविष्यवाणी गरिंदैछ” भन्ने लेखबाट लिइएको भनाइ।
b एस आइ पि आर आइ-को पूरा रूप स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट हो।
c सन् २००९ मा प्रकाशित एस आइ पि आर आइ-को वार्षिक पुस्तक-मा दिइएको रिपोर्टका लेखकहरू: शानन एन. काइल, जो एस आइ पि आर आइ आणविक हतियार नियन्त्रण तथा रोकथाम कार्यक्रम परियोजनाका वरिष्ठ अनुसन्धानकर्ता तथा प्रमुख हुन्; भिटाली फेडचेन्को, जो एस आइ पि आर आइ आणविक हतियार नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसन्धानकर्ता हुन्; हान्स क्रिसेन्सन, जो अमेरिकी वैज्ञानिक संघका आणविक सूचना परियोजनाका निर्देशक हुन्।
[पृष्ठ ४-मा भएको चित्रको स्रोत]
Mushroom cloud: U.S. National Archives photo; hurricane photos: WHO/League of Red Cross and U.S. National Archives photo