प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१५ पृ. १०-१४
  • के तपाईं यहोवाको मायालु डोऱ्‍याइ पछ्याउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं यहोवाको मायालु डोऱ्‍याइ पछ्याउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “भीडसँग” नलाग्नुहोस्‌
  • “आफ्ना मन र आँखाका लालसामा” नलाग्नुहोस्‌
  • व्यर्थका कुराको पछि नलाग्नुहोस्‌
  • एउटा अत्यन्त ठूलो भीड
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ‘हेर! ठूलो भीड’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाको सिंहासनअगाडि एक ठूलो भीड
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • सही निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१५ पृ. १०-१४

के तपाईं यहोवाको मायालु डोऱ्‍याइ पछ्याउनुहुन्छ?

“हरेक झूटो मार्गलाई म घृणा गर्दछु।”—भज. ११९:१२८.

१, २. (क) कतै जाने बाटोबारे साथीलाई सोध्दा तिनले कस्ता कुराबारे सजग गराए भने तपाईं खुसी हुनुहुन्छ र किन? (ख) यहोवा हामीलाई कस्ता खतराहरूबारे सजग गराउनुहुन्छ र किन?

कल्पना गर्नुहोस्‌: तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ। तर त्यहाँसम्म पुग्ने बाटो पक्का नभएकोले तपाईंलाई मदत चाहिएको छ। तपाईं त्यस बाटोबारे थाह भएको एक जना साथीसित मदत माग्नुहुन्छ। अनि तिनले तपाईंलाई त्यस बाटोबारे सबै कुरा बताउनुका साथै बाटोमा आइपर्ने खतराबारे सल्लाह पनि दिन्छन्‌। जस्तै: तिनी तपाईंलाई बाटोमा भएको एउटा सङ्‌केतदेखि नझुक्किन सजग गराउँछन्‌। किनभने त्यो सङ्‌केत पछ्याएको कारण थुप्रै मानिसले बाटो बिराएका छन्‌। साथीले यस्तो सल्लाह दिंदा के तपाईं खुसी हुनुहुन्‍न? अनि तिनको कुरा सुन्‍नुहुन्‍न र? एक अर्थमा यहोवा पनि त्यही साथीजस्तै हुनुहुन्छ। उहाँले हामीलाई हाम्रो गन्तव्य अर्थात्‌ अनन्त जीवनसम्म कसरी पुग्न सकिन्छ भनेर सुस्पष्ट निर्देशन दिनुहुन्छ। साथै गलत बाटोमा अलमलिन सक्ने खतराहरूबारे पनि सजग गराउनुहुन्छ।—व्यव. ५:३२; यशै. ३०:२१.

२ यो र यसपछिको लेखमा हाम्रो साथी यहोवा परमेश्‍वरले हामीलाई सजग गराउनुहुने केही खतराबारे छलफल गर्नेछौं। प्रेमले गर्दा यहोवाले हामीलाई सजग गराउनुहुन्छ भनेर नबिर्सौं। हामी आफ्नो गन्तव्यमा पुगेको उहाँ चाहनुहुन्छ। मानिसहरू खराब कुराहरूको प्रभावमा परेर बाटो बिराएको देख्दा उहाँ असाध्यै दुःखी हुनुहुन्छ। (इज. ३३:११) यस लेखमा हामी तीन वटा खतराबारे छलफल गर्नेछौं। पहिलो खतरा अरूबाट आउँछ। दोस्रो खतरा आफैबाट आउँछ। अनि तेस्रो खतराचाहिं झूटा अर्थात्‌ व्यर्थका कुराहरूबाट आउँछ। यी खतराहरू के हुन्‌ अनि त्यसको प्रतिरोध गर्न यहोवा परमेश्‍वरले हामीलाई कसरी सिकाउनुहुन्छ, त्यो हामीले थाह पाउनुपर्छ। एक जना बाइबल लेखकलाई यी खतराहरूबारे थाह थियो र तिनले यसो भने: “हरेक झूटो मार्गलाई म घृणा गर्दछु।” (भज. ११९:१२८) के तपाईं पनि त्यसै गर्नुहुन्छ? हरेक “झूटो मार्ग”-बाट जोगिन हामी कसरी कटिबद्ध हुन सक्छौं, आउनुहोस्‌ विचार गरौं।

“भीडसँग” नलाग्नुहोस्‌

३. (क) आफूलाई बाटो पक्का नहुँदा अरू मानिसको पछि लाग्नु किन खतरनाक हुन सक्छ? (ख) प्रस्थान २३:२ मा हामी कुन महत्त्वपूर्ण सिद्धान्त पाउँछौं?

३ लामो यात्रा गर्दा कुन बाटो जाने भनेर पक्का भएन भने तपाईं के गर्नुहुन्छ? थुप्रै मानिस कुनै एउटा बाटो गइरहेका छन्‌ भने तपाईंलाई पनि त्यही बाटो जाऊँ-जाऊँ जस्तो लाग्न सक्छ। यसो गर्नु खतरनाक हुन सक्छ। ती मानिसहरू तपाईंको गन्तव्यतिर गइरहेका नहुन सक्छन्‌ वा तिनीहरूले पनि बाटो बिराएका हुन सक्छन्‌। यस सन्दर्भमा पुरातन समयका इस्राएलीहरूलाई दिइएको एउटा नियममा मुछिएको सिद्धान्तलाई विचार गर्नुहोस्‌। मुद्दामामिलामा न्यायाधीश वा साक्षी बस्ने व्यक्‍तिहरूलाई ‘भीडसँग लाग्नुको’ खतराबारे चेतावनी दिइएको थियो। ( प्रस्थान २३:२ पढ्‌नुहोस्‌) त्रुटिपूर्ण मानिसहरू सजिलै भीडको पछि लाग्छन्‌। तर भीडसँग नलाग्नू भनी दिइएको चेतावनी के मुद्दामामिलाहरूमा मात्र लागू हुन्छ र? कदापि हुँदैन।

४, ५. यहोशू र कालेबले भीडसँग लाग्ने कस्तो दबाब सामना गरे तर तिनीहरूले कसरी त्यसको प्रतिरोध गर्न सके?

४ साँच्चै भन्‍ने हो भने, ‘भीडसँग लाग्ने’ दबाबले हामीलाई कुनै पनि बेला असर गर्न सक्छ। यस्तो दबाब अकस्मात्‌ आउन सक्छ अनि यसको प्रतिरोध गर्न असाध्यै गाह्रो हुन सक्छ। उदाहरणको लागि, यहोशू र कालेबले एक पटक आफ्ना साथीहरूबाट सामना गरेको दबाबबारे सोच्नुहोस्‌। प्रतिज्ञा गरिएको देशमा जासुसी गर्न गएका १२ जनामध्ये तिनीहरू पनि थिए। त्यहाँबाट फर्केकामध्ये दस जनाले असाध्यै नकारात्मक र निराशाजनक कुरा सुनाए। त्यस मुलुकका मानिसहरू नपीलका सन्तान रहेछन्‌ भन्‍न समेत तिनीहरू पछि परेनन्‌। (उत्प. ६:४) यो त हुनै नसक्ने कुरा थियो किनभने ती सारा नपीलहरू जलप्रलयमा सर्वनाश भइसकेका थिए। तर कसैको विश्‍वास कमजोर भएको छ भने उसले एकदमै निराधार कुरा पनि पत्याउन थाल्छ। ती दस जना जासुसले ल्याएको नकारात्मक रिपोर्टले गर्दा मानिसहरूमाझ तुरुन्तै डर र त्रास फैलियो। यहोवाले निर्देशन दिनुभएअनुसार प्रतिज्ञा गरिएको देशमा जानु ठूलो भूल हुनेछ भनेर तिनीहरूले सोच्न थाले। यस्तो नाजुक परिस्थितिमा यहोशू र कालेबले के गरे?—गन्ती १३:२५-३३.

५ तिनीहरू भीडसँग लागेनन्‌। भीड साँचो कुरा सुन्‍न तयार नभए तापनि अनि यहोशू र कालेबलाई ढुङ्‌गाले हानेर मार्न सक्ने खतरा भए तापनि तिनीहरूले सत्य सुनाए र त्यसमै अडिग रहे। तिनीहरू कसरी यत्ति धेरै साहसी हुन सके? यहोवामाथि विश्‍वास गरेकोले। यहोवामाथि बलियो विश्‍वास भएको व्यक्‍तिले मानिसहरूको निराधार कुरा र परमेश्‍वरको सही प्रतिज्ञाहरूबीचको भिन्‍नता स्पष्टसित बुझ्छ। पछि यहोशू र कालेबले यहोवामाथि आफूले गरेको विश्‍वासबारे बताए अनि त्यतिखेर तिनीहरूले यहोवा आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुन्छ भनेर मानिसहरूलाई सुनाए। ( यहोशू १४:६, ८; २३:२, १४ पढ्‌नुहोस्‌) यहोशू र कालेबले यहोवालाई प्रेम गर्थे र उहाँमाथि भरोसा राख्थे। त्यसकारण तिनीहरू भीडसँग लागेर उहाँलाई चित्त दुखाउन चाहँदैनथिए। दृढ रहेर तिनीहरूले आज हाम्रो लागि उत्कृष्ट उदाहरण बसाले।—गन्ती १४:१-१०.

६. भीडको पछि लाग्ने दबाब कसरी आइपर्न सक्छ?

६ के तपाईंलाई कहिलेकाहीं भीडसँगसँगै लागूँजस्तो हुन्छ? आज अधिकांश मानिसहरू यहोवाबाट अलग्गिएका छन्‌ र उहाँको नैतिक स्तरको खिसी गर्छन्‌। भीडले मनोरञ्जनप्रति राख्ने दृष्टिकोण अक्सर सही हुँदैन। तिनीहरू टेलिभिजन कार्यक्रम, चलचित्र तथा भिडियो गेममा व्याप्त अनैतिकता, हिंसा र प्रेतवादले केही हानि गर्दैन भन्छन्‌। (२ तिमो. ३:१-५) आफू र आफ्नो परिवारको लागि कस्तो मनोरञ्जन छान्‍ने भनेर तपाईं कसरी निर्णय गर्नुहुन्छ? के तपाईं अरू मानिसले जे भन्छन्‌ र गर्छन्‌, त्यसैको आधारमा निर्णय गर्नुहुन्छ? त्यसो हो भने तपाईं भीडसँगसँगै लागिरहनुभएको छ।

७, ८. (क) “सोच्ने-बुझ्ने क्षमता”-लाई हामी कसरी तालिम दिन सक्छौं? तीनथुप्रो कडा नियमअनुसार चल्नुभन्दा यस्तो तालिम किन उपयोगी हुन्छ? (ख) ख्रीष्टियन जवानहरूको उदाहरणले किन तपाईंको मन छुन्छ?

७ निर्णय गर्न मदत पुगोस्‌ भनेर यहोवाले हामीलाई एउटा मूल्यवान्‌ उपहार दिनुभएको छ। त्यो हो, “सोच्ने-बुझ्ने क्षमता।” तर यो क्षमतालाई तालिम दिने हो भने यसलाई ‘चलाउनुपर्छ’ अर्थात्‌ प्रयोग गर्नुपर्छ। (हिब्रू ५:१४) भीडसँग लाग्दा हाम्रो सोच्ने-बुझ्ने क्षमताले तालिम पाउँदैन। अनि अर्कोतर्फ अन्तस्करण चलाएर निर्णय गर्नुपर्ने ठाउँमा तीनथुप्रो कडा नियमअनुसार चल्दा पनि हाम्रो सोच्ने-बुझ्ने क्षमताले तालिम पाउँदैन। त्यसैकारण त यहोवाका जनलाई तिनीहरूले हेर्न नहुने चलचित्र, पढ्‌न नहुने किताब र जान नहुने इन्टरनेट साइटको लामो सूची दिइएको छैन। हुन पनि यो संसार यत्ति छिटो-छिटो परिवर्तन हुँदैछ कि आजको भोलि नै यस्तो सूची काम नलाग्ने हुन्छ। (१ कोरि. ७:३१) अरूले हाम्रो लागि निर्णय गरिदिएको आस नगर्नुको सबैभन्दा महत्त्वपूर्ण कारण हो, हामी यहोवाले दिनुभएको निर्णय गर्ने क्षमता प्रयोग गर्न चाहन्छौं। बाइबलको कुरालाई होसियारीसाथ विचार गरेको, उहाँको डोऱ्‍याइको लागि प्रार्थना गरेको अनि उहाँलाई खुसी पार्ने निर्णयहरू गरेको यहोवा चाहनुहुन्छ।—एफि. ५:१०.

८ हो, बाइबलअनुसार निर्णय गर्दा सबै मानिसले मन पराउँछन्‌ भन्‍ने छैन। उदाहरणका लागि स्कूलमा ख्रीष्टियन जवानहरूले आफ्ना साथीहरूले जे हेर्छन्‌ त्यही हेर्ने वा जे गर्छन्‌ त्यही गर्ने कडा दबाबको सामना गर्नुपर्ने हुन सक्छ। (१ पत्रु. ४:४) त्यसकारण यहोशू र कालेबको विश्‍वासको अनुकरण गर्दै भीडसँगसँगै नलाग्ने ख्रीष्टियन जवान तथा वृद्धहरू देख्न पाउनु कत्ति खुसीको कुरा हो।

“आफ्ना मन र आँखाका लालसामा” नलाग्नुहोस्‌

९. (क) यात्रा गर्दा आफूलाई कुनै बाटो मनपऱ्‍यो भन्दैमा त्यही बाटो रोज्नु किन खतरनाक हुन सक्छ? (ख) गन्ती १५:३७-३९ मा दिइएको नियमले इस्राएलीहरूका लागि के महत्त्व राख्थ्यो?

९ अब हामीले छलफल गर्ने दोस्रो खतरा हो: आफैबाट आउने खतरा। यसलाई हामी यसरी बुझौं: तपाईं कतै जाँदै हुनुहुन्छ र त्यहाँ जानको लागि तपाईंको हातमा नक्सा पनि छ। तर नक्सा नहेरी जता-जता राम्रो दृश्‍य देखिन्छ त्यता-त्यता लाग्नुभयो भने के हुन्छ? आफूले चाहेको ठाउँमा तपाईं कहिल्यै पुग्नुहुन्‍न। यस सन्दर्भमा यहोवाले पुरातन समयका इस्राएलीहरूलाई दिनुभएको अर्को एउटा नियम विचार गरौं। यहोवाले तिनीहरूलाई आफ्नो लुगाको किनारमा निलो संजाप लगाएको झुम्का हाल्ने नियम दिनुभएको थियो। ( गन्ती १५:३७-३९, NRV पढ्‌नुहोस्‌) आज थुप्रैले यहोवाले यो नियम दिनुको कारण बुझेका छैनन्‌। के तपाईंले यो नियमको महत्त्व बुझ्नु भएको छ? यस्तो नियमले यहोवाका जनहरूलाई वरिपरिका राष्ट्रहरूभन्दा भिन्‍न देखाउँथ्यो। अनि यदि तिनीहरूले साँच्चै नै यहोवा परमेश्‍वरलाई खुसी पार्ने हो भने अरू राष्ट्रभन्दा भिन्‍न हुनै पर्थ्यो। (लेवी १८:२४, २५) तर यहोवाले यो नियम दिनुको अर्को कारण पनि थियो। अब हामी यो कारणबारे छलफल गरौं। अनि यो दोस्रो खतराले कसरी हामीलाई अनन्त जीवनको गन्तव्यदेखि टाढा पुऱ्‍याउन सक्छ, त्यसबारे पनि थप जानकारी लिऔं।

१०. मानवजातिलाई राम्ररी चिनेको कुरा यहोवाले कसरी देखाउनुभयो?

१० आफ्ना जनलाई उक्‍त नियम दिंदा यहोवाले यो नियम दिनुको कारणबारे यसरी बताउनुभयो: “आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ।” यहोवाले मानवजातिलाई राम्ररी चिन्‍नुहुने भएकोले नै यसो भन्‍नुभएको थियो। हाम्रो आँखाले जे देख्छ, हाम्रो मनले त्यसैको लालसा गर्छ भनेर उहाँलाई राम्ररी थाह छ। त्यसैले त उहाँको वचन बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?” (यर्मि. १७:९) हो, यही कारण यहोवाले इस्राएलीहरूलाई मन र आँखाको पछि नलाग्न भन्‍नुभएको थियो। यहोवाको उपासना नगर्ने राष्ट्रहरू देखेर इस्राएलीहरूलाई पनि उनीहरूजस्तै हुन मन लाग्न सक्छ भनेर उहाँलाई थाह थियो। सायद तिनीहरूको मनमा उनीहरूजस्तै हुने चाहना जाग्न सक्थ्यो र पछि उनीहरूले जस्तै सोच्ने र काम गर्ने पनि हुन सक्थ्यो।—हितो. १३:२०.

११. “मन र आँखाको” पछि लाग्दा कस्तो खतरनाक अवस्था आइपर्न सक्छ?

११ हाम्रो आँखाले जे देख्छ, छली हृदयले त्यसैको लालसा गर्ने सम्भावना अहिले झन्‌ बढी भएको छ। अहिले हामी बाँचिरहेको संसारले हामीलाई सजिलै अनुचित चाहनाको पछि लगाउन सक्छ। त्यसोभए हामी गन्ती १५:३९ मा मुछिएको सिद्धान्त कसरी पालन गर्न सक्छौं? एक छिन सोच्नुहोस्‌: तपाईंको स्कूल, काम गर्ने ठाउँ अथवा वरपरका मानिसहरूले एकदमै छाडा पहिरन लगाउँछन्‌। के त्यसले तपाईंलाई असर गर्न सक्छ? त्यतिबेला के तपाईं आफ्नो “मन र आँखाको” पछि लाग्ने दबाब महसुस गर्नुहुन्छ? त्यस्तै प्रकारको पहिरन लगाएर के तपाईं ख्रीष्टियन स्तरविपरीत जाने दबाब महसुस गर्नुहुन्छ?—रोमी १२:१, २.

१२, १३. (क) खराब कुरा हेर्न मन लाग्यो भने हामीले के गर्नुपर्छ? (ख) अरूको लागि परीक्षाको स्रोत नबन्‍न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

१२ हामीले आफ्नो चाहनालाई वशमा राख्नु नितान्त आवश्‍यक छ। खराब कुरा हेर्नदेखि हामीले आफ्नो आँखा फर्काउनुपर्छ। यसो गर्न हामीलाई अय्यूबको उदाहरणले मदत गर्न सक्छ। तिनले आफ्नै आँखासित यस्तो वाचा बाँधे: ‘म आफ्नी पत्नीबाहेक अरू कसैलाई पनि कुदृष्टिले हेर्ने छैन।’ (अय्यू. ३१:१) त्यसैगरि राजा दाऊदले पनि यस्तो संकल्प गरे: “मेरो आँखाको सामने कुनै नीच कुरा म राख्नेछैनँ।” (भज. १०१:३) हाम्रो सफा अन्तस्करणलाई बिटुलो पार्ने वा यहोवासितको हाम्रो सम्बन्धलाई खतरामा पार्ने कुनै पनि चीज हाम्रो लागि “नीच कुरा” हुन्‌। हामीले हेर्ने जुनसुकै कुरा किन नहोस्‌, यदि त्यसले हाम्रो मनमा खराब इच्छा जगाउँछ र गलत काम गर्न लालायित बनाउँछ भने त्यो नीच कुरा हो।

१३ यदि हामी अरूमा गलत इच्छा जगाउने कामकुराहरू गर्छौं भने एक अर्थमा हामी पनि तिनीहरूका लागि “नीच कुरा” हुन सक्छौं। लुगाफाटा लगाउने विषयमा यो कुरा लागू हुन्छ। त्यसकारण हामी बाइबलमा लेखिएको कुरा पालन गर्छौं। बाइबल हामीलाई ‘शालीन’ भएर “भद्र पोसाक” लगाउन आग्रह गर्छ। (१ तिमो. २:९) शालीन भएर लुगाफाटा लगाउँछौं भने हामी आफूलाई मनपर्ने कुराहरूबारे मात्र सोचिरहेका हुँदैनौं। अरूलाई कस्तो लाग्छ त्यो पनि हामीले विचार पुऱ्‍याइरहेका हुन्छौं। हामी आफ्नो खुसीलाई होइन तर अरूको खुसीलाई ध्यान दिनेछौं। (रोमी १५:१, २) हाम्रो ख्रीष्टियन मण्डलीमा लुगाफाटा लगाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसालेका हजारौं जवान भाइबहिनी छन्‌। तिनीहरू आफ्नो मन र आँखाको पछि नलाग्नु कत्ति खुसीको कुरा हो नि, होइन र? तिनीहरू हरेक कुरामा यहोवालाई खुसी पार्ने छनौट गर्छन्‌।

व्यर्थका कुराको पछि नलाग्नुहोस्‌

१४. व्यर्थका कुराहरूको पछि लाग्ने सन्दर्भमा शमूएलले कस्तो चेतावनी दिए?

१४ कल्पना गर्नुहोस्‌, तपाईं विशाल मरुभूमिको बाटो हुँदै यात्रा गरिरहनुभएको छ। अचानक तपाईंले पानीको तलाउजस्तो केही देख्नुहुन्छ। तर खासमा त्यहाँ केही पनि छैन! आफू हिंडिरहेको बाटो छोडेर त्यतातिर लाग्नुभयो भने के हुन्छ? सायद तपाईं मरुभूमिमै हराउनुहुन्छ अथवा मर्नुहुन्छ। हो, व्यर्थका कुराको पछि लाग्नु एकदमै खतरनाक छ भनेर यहोवालाई थाह छ। एउटा उदाहरण विचार गर्नुहोस्‌: इस्राएल वरपरका राष्ट्रहरूमा मानव राजाले शासन गर्थे। त्यसैले इस्राएलीहरूले पनि मानव राजाको चाह गरे। त्यस्तो चाहना एउटा गम्भीर पाप थियो किनभने यसो गरेर तिनीहरूले यहोवा परमेश्‍वरलाई आफ्नो राजाको रूपमा इन्कार गरिरहेका थिए। हुनत पछि यहोवाले तिनीहरूलाई मानव राजा बनाउने अनुमति दिनुभयो तर अगमवक्‍ता शमूएलमार्फत उहाँले एउटा चेतावनी पनि दिनुभयो। ती अगमवक्‍ताले तिनीहरूलाई “झूटा देवताहरूको” अर्थात्‌ व्यर्थका कुराहरूको पछि लाग्नु खतरनाक हुन सक्छ भनी चेतावनी दिए। त्यस्ता व्यर्थका कुराहरूले वास्तवमा तिनीहरूलाई केही पनि मदत गर्न सक्दैनथ्यो।—१ शमूएल १२:२१ पढ्‌नुहोस्‌।

१५. इस्राएलीहरू कसरी व्यर्थका कुराको पछि लागे?

१५ इस्राएलीहरूलाई यहोवाभन्दा मानव राजाहरू पो भरोसायोग्य लागेको थियो कि? त्यसो हो भने तिनीहरूले व्यर्थका कुरालाई पछ्याइरहेका हुन्थे। अनि तिनीहरू सैतानका अरू विभिन्‍न भ्रमात्मक कुराहरूको पछि लाग्ने खतरा पनि थियो। मानव राजाहरूले तिनीहरूलाई मूर्तिपूजा गर्न लगाउन सक्थे। काठ वा ढुङ्‌गाबाट बनेको मूर्तिहरू देख्न र छुन सकिने भएकोले त्यसलाई विश्‍वास गर्न सकिन्छ भनेर मूर्तिपूजा गर्नेहरू सोच्छन्‌। सब थोक बनाउनुहुने परमेश्‍वर यहोवा भने अदृश्‍य भएकोले तिनीहरू उहाँमा विश्‍वास गर्दैनन्‌। तर वास्तवमा प्रेषित पावलले भनेझैं ती मूर्तिहरू ‘केही पनि होइनन्‌।’ (१ कोरि. ८:४) ती मूर्तिहरूले देख्न सक्दैनन्‌, सुन्‍न सक्दैनन्‌, बोल्न सक्दैनन्‌ वा अरू कुनै पनि काम गर्न सक्दैनन्‌। मूर्तिलाई देख्न र छुन सकिन्छ भन्दैमा त्यसको उपासना गर्नु मूर्खता हो। मूर्तिले कसैलाई पनि मदत गर्न सक्दैन। त्यो व्यर्थको कुरा हो अनि जसले त्यसमा विश्‍वास गर्छ ऊ पनि ‘त्यस्तै हुन्छ।’—भज. ११५:४-८.

१६. (क) आज पनि सैतानले कसरी मानिसहरूलाई व्यर्थका कुराहरूको पछि लाग्न लोभ्याउँछ? (ख) यहोवाको तुलनामा भौतिक कुराहरू व्यर्थका हुन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१६ सैतान धेरै चलाख छ र आज पनि त्यसले मानिसहरूलाई व्यर्थका कुराहरूको पछि लाग्न लोभ्याउँछ। जस्तै: पैसा, राम्रो जागिर अनि ऐसआरामका अरू सामानहरू छन्‌ भने मानिसहरू खुसी हुन सक्छन्‌ र सुरक्षित रहन सक्छन्‌ भनेर त्यसले धेरैलाई विश्‍वास दिलाएको छ। यी कुराहरूले भएभरको समस्या हटाउन मदत गर्न सक्छ भनी तिनीहरू ठान्छन्‌। तर बिरामी पर्दा, आर्थिक मन्दी छाउँदा वा प्राकृतिक प्रकोपमा पर्दा यस्ता कुराहरूले मदत गर्न सक्छ र? मानिसहरूलाई जीवनको कुनै उद्देश्‍य छैन भन्‍ने महसुस हुँदा यस्ता कुराहरूले मदत गर्न सक्छ र? अथवा जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ के यस्ता कुराहरूले दिन सक्छ र? मृत्युको मुखमा पर्दा के यस्ता कुराहरूले मानिसलाई मदत गर्न सक्छ र? भौतिक कुराहरूमा भरोसा गऱ्‍यौं भने त्यसैले हामीलाई निराश बनाउनेछ। भौतिक कुराहरूले हामीलाई आनन्दित बनाउन सक्दैन न त बिमारी वा मृत्युबाट नै जोगाउन सक्छ। ती केवल व्यर्थका कुराहरू हुन्‌। (हितो. २३:४, ५) तर यहोवा परमेश्‍वर व्यर्थको परमेश्‍वर हुनुहुन्‍न। उहाँ सत्य परमेश्‍वर हुनुहुन्छ। त्यसैले यहोवासित बलियो मित्रता गाँस्यौं भने मात्र हामी आनन्दित र सुरक्षित रहन सक्नेछौं। यहोवाले मात्र हाम्रा समस्याहरू हटाउन मदत गर्न सक्नुहुन्छ। उहाँलाई साथी बनाउन पाउनु कत्ति खुसीको कुरा हो! त्यसैले व्यर्थका कुराहरूको पछि लागेर उहाँलाई कहिल्यै नत्यागौं।

१७. यस लेखमा दिइएको चेतावनीप्रति तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुनेछ?

१७ जीवनको यात्रामा यहोवालाई आफ्नो साथी र बाटो देखाउने व्यक्‍तिको रूपमा पाउनु के खुसीको कुरा होइन र? उहाँको चेतावनी सुन्यौं भने हामी अनन्त जीवनको गन्तव्यसम्म पुग्न सक्छौं। यस लेखमा हामीले तीन वटा खतराबारे यहोवाले दिनुभएको चेतावनी थाह पायौं। ती खतराहरू हुन्‌: भीड, आफ्नै मन र व्यर्थका कुराहरू। यिनको पछि लागेर थुप्रै मानिसले बाटो बिराउँछन्‌। अर्को लेखमा हामी यहोवाले दिनुभएको थप तीन वटा चेतावनीबारे सिक्नेछौं। ती चेतावनीहरूले हामीलाई “हरेक झूटो मार्ग”-लाई घृणा गर्न र त्यसमा नहिंड्‌न मदत गर्नेछ।—भज. ११९:१२८.

तपाईंको विचार कस्तो छ?

यी बाइबल पदहरूमा मुछिएको सिद्धान्त तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

• प्रस्थान २३:२

• गन्ती १५:३७-३९, NRV

• १ शमूएल १२:२१

• भजन ११९:१२८

[पृष्ठ ११-मा भएको चित्र]

के तपाईं भीडको पछि लाग्ने दबाब महसुस गर्नुहुन्छ?

[पृष्ठ १३-मा भएको चित्र]

आफ्नो चाहनाको पछि लाग्नु किन खतरनाक हुन्छ?

[पृष्ठ १४-मा भएको चित्र]

के तपाईं व्यर्थका कुराहरूको पछि लागिरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने