हाम्रो अभिलेखालयबाट
सुरु-सुरुका परिभ्रमण निरीक्षकहरूलाई फर्केर हेर्दा
“म घर-घरमा गएर प्रचार गर्न सक्दिनँ!” चिन्दै नचिनेका मानिसहरूकहाँ गएर प्रचार गर्ने सन्दर्भमा थुप्रै नयाँ बाइबल विद्यार्थीले यस्तै महसुस गरेका छन्। तर उक्त भनाइ एक जना अनुभवी जनवक्ता तथा बाइबल शिक्षकको हो जो सुरु-सुरुका परिभ्रमण निरीक्षक थिए।
सियोनको प्रहरीधरहरा (अङ्ग्रेजी) पढ्ने थुप्रै मानिस चर्च छोडेर आएका थिए र तिनीहरू आफूजस्तै बाइबल सत्यप्रति भोका मानिसहरूसित सङ्गत गर्न चाहन्थे। आफ्नो जस्तै विश्वास भएका मानिसहरूलाई खोज्न र बाइबल अध्ययनको लागि नियमित रूपमा भेला हुन उक्त पत्रिकाले पाठकहरूलाई सुझाव दियो। सन् १८९४ तिरदेखि वाच टावर सोसाइटीले आफूलाई भेट्न आउन आग्रह गर्ने मानिसहरूकहाँ परिभ्रमण प्रतिनिधिहरूलाई पठाउन थाल्यो। यी अनुभवी र परिश्रमी पुरुषहरू केको आधारमा छानिन्थे? उनीहरूको नम्रता, बाइबल ज्ञान, राम्रोसित बोल्न र सिकाउन सक्ने क्षमता अनि फिरौतीप्रति विश्वास देखाएको आधारमा। यस्तो भ्रमण जम्मा एक वा दुई दिनको लागि मात्र हुने भएकोले उनीहरू असाध्यै व्यस्त हुन्थे। थुप्रै बाइबल विद्यार्थीको क्षेत्र सेवाको पहिलो अनुभव परिभ्रमण निरीक्षकले दिने जनभाषणको निम्तो पर्ची वितरण गर्नु थियो। एउटा स्कूलमा साँझ भाषण दिएपछि ह्युगो रिमर, जो पछि गएर परिचालक निकायका सदस्य भए, तिनले मध्यरात कटिसक्दासम्म बाइबलका विभिन्न विषयबारे सोधिएका प्रश्नहरूको जवाफ दिए। यसरी व्यस्त हुँदा तिनी लखतरान भए, तैपनि तिनले उक्त सभा “असाध्यै रमाइलो” भयो भनी बताए।
ती परिभ्रमण निरीक्षकहरूको भ्रमणको “मुख्य उद्देश्य” आफ्नो जस्तै विश्वास भएका व्यक्तिहरूको घरमा सञ्चालन गरिने सभाहरूद्वारा “विश्वासको घरानालाई” बलियो पार्नु हो भनेर प्रहरीधरहरा पत्रिकाले बतायो। वरिपरिका बाइबल विद्यार्थीहरू भाषण सुन्न र प्रश्न-उत्तर कार्यक्रममा भाग लिन आउँथे। त्यसपछि भने अतिथिसत्कार गरिन्थ्यो। मोड अबोट नाम गरेकी केटी बिहानको भाषण सुन्न आइन्। भाषणपछि सबै जना बाहिर राखिएको लामो टेबुलको चारैतिर जम्मा भए। अबोट भन्छिन्, “कस्तो स्वादिलो खाना! सुङ्गुरको मासु, कुखुराको तारेको मासु, विभिन्न थरिका रोटी अनि केक! सबैले टन्न खाए। त्यसपछि दिउँसो दुई बजेतिर हामी अर्को भाषण सुन्न फेरि भेला भयौं।” तर तिनी यसो भन्छिन्, “त्यसबेलासम्म त सबै जना झुल्न थालिसकेका हुन्थे।” लामो समयदेखि परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेका बेन्जामिन बार्टोनले एकपटक यसो भने, ‘मलाई दिइएको सबै खानेकुरा खाएको भए त म उहिल्यै खुस्किसकेको हुन्थें होला।’ पछि मुख्यालयबाट प्राप्त एउटा चिठीमा त्यसरी मेजमान गर्ने बहिनीहरूलाई यस्तो सुझाव दिइयो: ती परिभ्रमण निरीक्षकहरूको लागि भव्य खाना तयार पार्नु पर्दैन, बरु उनीहरूको लागि “साधारण खानेकुरा” र “राम्रोसित सुत्न सक्ने” ठाउँको प्रबन्ध मिलाए पुग्छ।
ती परिभ्रमण निरीक्षकहरू सिकाउनमा सिपालु थिए। तिनीहरू चित्र, नमुना वा जे भेटिन्छ, त्यही प्रयोग गरेर आफ्नो प्रस्तुतिलाई जीवन्त बनाउँथे। आर. एच. बार्बरको भाषण “सधैं मसलादार हुन्थ्यो।” मायालु स्वभावका डब्ल्यू. जे. थोर्न “पुरातन समयका कुलपिताले जस्तै” बोल्थे। एक दिन गाडी चढिरहेको बेला सिल्ड टुटजान नाम गरेका भाइ “रोक्नुस्!” भन्दै एक्कासी कराए। तिनी गाडीबाट फुत्त हामफाले, बाटो छेउमा भएका फूल टिपे र आफूसँगै यात्रा गरिरहेका भाइहरूलाई यहोवाको सृष्टिबारे बताउन थाले।
ती परिभ्रमण निरीक्षकहरूको काम चुनौतीपूर्ण थियो, विशेषगरि अधबैंसे पुरुषहरूका लागि। तर कसै-कसैलाई भने आफ्नो काममा भएको छाँटकाँट स्वीकार्न साह्रै गाह्रो भयो। अबउसो तिनीहरूले घर-घर गएर प्रचार गर्ने काममा नेतृत्व लिनुपर्ने थियो। मार्च १५, १९२४ को प्रहरीधरहरा-ले बताएअनुसार साँचो ख्रीष्टियनहरूको “सबैभन्दा महत्त्वपूर्ण काम राज्यको साक्षी दिनु हो। परिभ्रमण निरीक्षकहरू यसैका लागि पठाइएका हुन्।”
केही परिभ्रमण निरीक्षकले यस छाँटकाँटप्रति अप्रसन्नता व्यक्त गरे। त्यसकारण तिनीहरूले परिभ्रमण कार्य छोडे। अझ कतिपय असन्तुष्ट व्यक्तिहरूले त आफ्नै गुटसमेत गठन गरे। रबी डी. एडकिन्सले बताएअनुसार एक जना परिभ्रमण निरीक्षक, जो असाध्यै प्रभावकारी वक्ता थिए, तिनले यस्तो बिलौना गरे: “मलाई मञ्चबाट भाषण दिन मात्र आउँछ। म घर-घरमा गएर प्रचार गर्न सक्दिनँ!” भाइ एडकिन्सले यसो भने: “उनलाई पछि मैले सन् १९२४ मा ओहायोको कोलम्बसमा आयोजित अधिवेशनमा देखें। त्यहाँ उपस्थित हजारौं भाइबहिनी एकदमै आनन्दित देखिन्थे। तर उनी भने एउटा सानो रूखको छहारीमुनि एक्लै उभिरहेका थिए। उनी असाध्यै दयनीय देखिन्थे। त्यसपछि मैले उनलाई कहिल्यै देखिनँ। त्यसको केही समयपछि नै उनले यहोवाको सङ्गठन छोडे।” अर्कोतर्फ, “एकदमै आनन्दित देखिएका थुप्रै भाइबहिनीचाहिं गाडीमा किताबहरू राख्न हतार गरिरहेका थिए।” तिनीहरू घर-घर गएर प्रचार गर्न उत्सुक थिए।—प्रेषि. २०:२०, २१.
तर यसरी घर-घर गएर प्रचार गर्न उनीहरूलाई धक लागिरहेको थियो। उनीहरूलाई तालिम दिन गएका परिभ्रमण निरीक्षकहरूलाई पनि यस्तै लागिरहेको थियो। तैपनि तिनीहरू जोसिलो भएर लागे। घर-घर गएर प्रचार गर्ने सन्दर्भमा जर्मन भाषा बोल्ने परिभ्रमण निरीक्षक म्याक्सवेल जी. फ्रेन्डले (फ्रेशल) यस्तो लेखे, “परिभ्रमण निरीक्षकहरूको यस कामले तिनीहरूको यात्रालाई अझ रमाइलो बनाउँछ।” अर्का परिभ्रमण निरीक्षक जोन ए. बोनेटअनुसार परमेश्वरको राज्यबारे प्रचार गर्न जोड दिइँदा थुप्रै भाइबहिनीले खुसीसाथ स्वीकारे। तिनले बताएअनुसार अधिकांश भाइबहिनी “प्रभुको काममा अग्रपङ्क्तिमा रहेर सेवा गर्न हौसिएका थिए।”
परिभ्रमण निरीक्षकको रूपमा काम गर्नेहरूले भाइबहिनीहरूमा राम्रो प्रभाव पारेको वर्षौं भइसक्यो। यहोवाको साक्षी भएको धेरै भइसकेको नोरमन लारसनले यसो भने, “परिभ्रमण निरीक्षक र उहाँहरूले गर्ने काम बहुमूल्य छ भन्ने कुरामा कुनै शङ्का छैन। यो कुरा मैले सानै छँदादेखि बुझेको थिएँ। मलाई सही मार्गमा डोऱ्याउन उहाँहरूले ठूलो योगदान पुऱ्याउनुभयो।” आजसम्म पनि यी आत्मत्यागी र वफादार परिभ्रमण निरीक्षकहरूले सँगी भाइबहिनीहरूलाई यसो भन्न मदत गरिरहेका छन्: “हामी घर-घर गएर प्रचार गर्न अवश्य सक्छौं!”
[पृष्ठ ३२-मा भएको चित्र]
परिभ्रमण निरीक्षक आउँदा खुब रमाइलो हुन्थ्यो!
[पृष्ठ ३१-मा भएको चित्र]
सन् १९०५ मा बेन्जामिन बार्टोन परिभ्रमण कार्यको सिलसिलामा लगभग १७० ठाउँमा गए
[पृष्ठ ३२-मा भएको चित्र]
वाल्टर जे. थोर्न परिभ्रमण निरीक्षक थिए, मायालु बुबाको जस्तो र ख्रीष्टको जस्तो मनोभाव भएकोले तिनलाई माया गरेर बुबा भनिन्थ्यो
[पृष्ठ ३२-मा भएको चित्र]
जे. ए. ब्राउन-लाई सन् १९०२ तिर जमैकाका १४ वटा स-साना समूहलाई बलियो पार्न र प्रोत्साहन दिन परिभ्रमण निरीक्षकको रूपमा त्यहाँ पठाइयो
[पृष्ठ ३२-मा भएको चित्र]
परिभ्रमण निरीक्षकहरूको कामले भाइबहिनीहरूको विश्वास बढायो, ख्रीष्टियन एकतालाई बलियो पाऱ्यो र भाइबहिनीहरूलाई सङ्गठनसित नजिक हुन मदत गऱ्यो