प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१५ पृ. २७-३१
  • के तपाईं यहोवाको मायालु हेरचाहको मोल गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं यहोवाको मायालु हेरचाहको मोल गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई चेतावनी दिनुहुन्छ
  • हाम्रो मायालु बुबा हामीलाई सच्याउनुहुन्छ
  • बाइबल सिद्धान्तअनुसार चलेर हामी लाभ उठाउँछौं
  • परीक्षाहरू सहन मदत गर्ने साथी
  • यहोवाबाट पाइने इनाम
  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवा हामीलाई माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवा सबैलाई जाँच्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१५ पृ. २७-३१
हिब्रू स्त्रीले छोरा जन्माएपछि हिब्रू सुँडेनी शिप्रा र पूआ बच्चाको सुरक्षा गर्दै

के तपाईं यहोवाको मायालु हेरचाहको मोल गर्नुहुन्छ?

“परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।”—हितो. १५:३.

सम्झनुपर्ने मुख्य बुँदाहरू

  • यहोवा हामीमाथि किन नजर राख्नुहुन्छ?

  • के-कस्ता तरिकामा यहोवा तपाईंलाई चेतावनी दिनुहुन्छ, सच्याउनुहुन्छ र डोऱ्‍याउनुहुन्छ?

  • यहोवा कहिलेकाहीं हामीमाथि किन परीक्षाहरू आइपर्न दिनुहुन्छ?

१, २. यहोवाको नजर र ठाउँ-ठाउँमा जडान गरिने क्यामराबीच कस्तो भिन्‍नता छ?

थुप्रै मुलुकका पसलहरूमा ग्राहकहरूलाई हेर्न र सुटुक्क सामान चोर्नेहरूको दृश्‍य रेकर्ड गर्न क्यामरा जडान गरिएको हुन्छ। यस्तो क्यामराले चोरलाई सजाय दिन मदत गर्छ। यसले चोरहरूलाई खराब कामको नतिजाबाट उम्कन झन्‌झनै गाह्रो बनाएको छ।

२ यहोवाको नजर “सर्वत्र रहन्छ” भनी बाइबल बताउँछ। (हितो. १५:३) यसको मतलब हामीबाट गल्ती हुन्छ कि भनेर उहाँ हर समय हामीलाई हेरेर बस्नुहुन्छ भनिएको हो? कहिले गल्ती गर्ला र सजाय दिऊँला भनेर उहाँ पर्खेर बस्नुहुन्छ भनिएको हो? अहँ, होइन। (यर्मि. १६:१७; हिब्रू ४:१३) यहोवा हामीलाई माया गर्नुहुन्छ अनि हामी सुरक्षित र आनन्दित भएको चाहनुहुन्छ। त्यसैले उहाँको नजर हामीमाथि रहन्छ।—१ पत्रु. ३:१२.

३. कुन पाँच तरिकामा यहोवा हाम्रो हेरचाह गर्नुहुन्छ?

३ यहोवाको मायालु हेरचाहको अझ धेरै मोल गर्न हामीलाई केले मदत गर्नेछ? यहोवाले हाम्रो हेरचाह गर्ने पाँचवटा तरिका विचार गरौं। (१) हामीले कुनै गल्ती गर्नुअघि नै चेतावनी दिनुहुन्छ। (२) हामीले गलत कदम चाल्दा सच्याउनुहुन्छ। (३) बाइबल सिद्धान्तद्वारा डोऱ्‍याउनुहुन्छ। (४) हामीमाथि विभिन्‍न परीक्षा आइपर्दा मदत गर्नुहुन्छ। (५) असल काम गरेकोमा इनाम दिनुहुन्छ।

यहोवा हामीलाई चेतावनी दिनुहुन्छ

४. कयिनले पाप गर्नुअघि नै यहोवाले तिनलाई किन चेतावनी दिनुभयो?

४ हामीले कुनै गल्ती गर्नुअघि नै यहोवा हामीलाई कसरी चेतावनी दिनुहुन्छ, पहिला त्यसबारे विचार गरौं। (१ इति. २८:९) यहोवाले भेटी नस्वीकार्दा कयिन “ज्यादै रिसाए।” (उत्पत्ति ४:३-७ पढ्‌नुहोस्‌) यहोवाले तिनलाई ‘असल काम गर्न’ आग्रह गर्नुभयो। असल काम नगरेमा “पाप ढोकैमा ढुकिबस्छ” भनेर चेतावनी पनि दिनुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो: “तैंले त्यसलाई अधीन गर्नै पर्छ।” कयिन “ग्रहणयोग्य” भएको यहोवा चाहनुहुन्थ्यो। उहाँको कुरा सुनेको भए कयिन यहोवासित नजिक भइरहन सक्थे।

५. यहोवा हामीलाई कसरी चेतावनी दिनुहुन्छ?

५ हामीबारे चाहिं के भन्‍न सकिन्छ? यहोवा हाम्रो हृदय हेर्न सक्नुहुन्छ। उहाँलाई हाम्रो सोचाइ र चाहना थाह छ। उहाँबाट कुनै कुरा लुकाउन सकिंदैन। उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीले असल काम गरेको चाहनुहुन्छ। तर हामीलाई जबरजस्ती भने गर्नुहुन्‍न। हामीमा कुनै खराबी देख्दा चेतावनी दिनुहुन्छ। कसरी? दिनहुँ बाइबल पढ्‌दा हामीमा भएको खराब झुकाव हटाउन मदत गर्ने कुराहरू पनि भेट्‌छौं। हाम्रा प्रकाशनहरूले हामीले सामना गरिरहेको समस्यासित डट्‌ने तरिकाहरू सिकाउँछ। अनि सभाहरूबाट चाहिएकै सल्लाह पाउँछौं।

६, ७. (क) यहोवा हामी प्रत्येकको हेरचाह गर्नुहुन्छ भनेर केले देखाउँछ? (ख) यहोवाको हेरचाहबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

६ यी सबै चेतावनी यहोवा हामी प्रत्येकको मायालु हेरचाह गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो। बाइबल, हाम्रा प्रकाशनहरू र सभाहरूबाट लाखौं मानिसले लाभ उठाउँछन्‌। तर सही काम गर्न सकोस्‌ भनेर तपाईंले पनि बाइबलका चेतावनीहरूमा ध्यान दिएको यहोवा चाहनुहुन्छ। यसले यहोवा तपाईंको मायालु हेरचाह गर्नुहुन्छ भनेर देखाउँछ।

एक जना व्यक्‍ति आफूलाई प्रलोभनमा पार्न सक्ने कुरा तिरस्कार गर्दै

बाइबलबाट प्रशिक्षण पाएको अन्तस्करणले हामीलाई खतराहरूदेखि जोगिन मदत गर्छ (अनुच्छेद ६, ७ हेर्नुहोस्‌)

७ परमेश्‍वरको चेतावनीबाट लाभ उठाउन सबैभन्दा पहिला त उहाँ साँच्चै हाम्रो चासो राख्नुहुन्छ भनेर स्वीकार्नै पर्छ। त्यसपछि बाइबलका कुराअनुसार चल्नुपर्छ। परमेश्‍वरलाई मन नपर्ने जुनसुकै सोचविचार हटाउनै पर्छ। (यशैया ५५:६, ७ पढ्‌नुहोस्‌) चेतावनी सुन्यौं भने थुप्रै दुःखबाट जोगिन सक्नेछौं। तर सुनेनौं भने नि? के यहोवाले अझै पनि हाम्रो हेरचाह गर्नुहुन्छ?

हाम्रो मायालु बुबा हामीलाई सच्याउनुहुन्छ

८, ९. कसैले बाइबलबाट सल्लाह दिंदा यहोवा हाम्रो हेरचाह गर्नुहुन्छ भनेर कसरी देखिन्छ? उदाहरण दिनुहोस्‌।

८ यहोवाले हामीलाई सच्याउनुहुँदा उहाँ हाम्रो हेरचाह गर्नुहुन्छ भनेर अझ राम्ररी बुझ्न सक्छौं। (हिब्रू १२:५, ६ पढ्‌नुहोस्‌) कसैले सल्लाह वा अनुशासन दिएको हामीलाई पक्कै पनि मन पर्दैन। (हिब्रू १२:११) तर कसैले बाइबलबाटै सल्लाह दिंदा त्यसको कारण बुझ्नु एकदमै महत्त्वपूर्ण छ। हाम्रो भावनामा चोट पुऱ्‍याउन चाहेकोले होइन, यहोवासितको हाम्रो सम्बन्ध खतरामा परेको देखेकोले तिनी हामीलाई सल्लाह दिन्छन्‌। हामी फेरि यहोवाकहाँ कसरी फर्कन सक्छौं भनेर बाइबलबाटै बुझाउन तिनी आफ्नो समय र प्रयास खर्च गर्न इच्छुक हुन्छन्‌। सल्लाहको स्रोत यहोवा हुनुभएकोले हामी त्यो सल्लाह सुन्छौं।

९ एउटा उदाहरण विचार गरौं। बाइबल सत्य सिक्नुअघि एक जना भाइको छाडा कुराहरू हेर्ने बानी थियो। सत्य सिकेपछि तिनले यो बानी त्यागेका थिए। पछि तिनले नयाँ मोबाइल किने र इन्टरनेटमा छाडा कुराहरू हेर्न थाले। (याकू. १:१४, १५) आगो निभे पनि कोइला ननिभेजस्तै छाडा कुराहरू हेर्ने इच्छा तिनमा अझै बाँकी थियो। एक दिन टेलिफोन साक्षी दिने क्रममा केही ठेगाना हेर्न तिनले आफ्नो मोबाइल एक जना एल्डरलाई दिए। तर ती भाइको मोबाइलमा अनुचित साइट देखा पऱ्‍यो। त्यो घटना ती भाइको लागि आशिष्‌ साबित भयो। एल्डरले तुरुन्तै तिनलाई सल्लाह दिए। ती भाइले सल्लाह सुने र खराब बानी हटाए। यहोवा हाम्रो गोप्य पापसमेत देख्नुहुन्छ र उहाँसितको सम्बन्ध बिग्रनुअघि नै हामीलाई सच्याउनुहुन्छ। हाम्रो हेरचाह गर्नुभएकोमा यहोवाप्रति हामी कृतज्ञ छौं।

बाइबल सिद्धान्तअनुसार चलेर हामी लाभ उठाउँछौं

१०, ११. (क) हामी कसरी यहोवाका सल्लाहहरू ‘सम्झिन’ सक्छौं? (ख) यहोवाको डोऱ्‍याइ पछ्याएको एउटा परिवारको अनुभव बताउनुहोस्‌।

१० भजनरचयिताले यसरी गाए: “तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ।” (भज. ७३:२४) यहोवाको वचनमा खोज-अनुसन्धान गरेर हामी उहाँका सल्लाहहरू ‘सम्झिन’ सक्छौं। यसो गऱ्‍यौं भने यहोवाको सोचाइ थाह पाउन सक्छौं, उहाँको डोऱ्‍याइ पछ्याउन सक्छौं र उहाँसित राम्रो सम्बन्ध गाँसिरहन सक्छौं। यहोवाको सल्लाहले हामीलाई आफ्नो र परिवारको खाँचो टार्न पनि मदत गर्छ।—हितो. ३:६.

११ यहोवाले आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउनुभएको छ भन्‍ने कुरा फिलिपिन्सको एउटा भाइको उदाहरणबाट बुझ्न सक्छौं। तिनी भाडामा लिइएको जग्गामा श्रीमती र ठूलो परिवारसँगै खेतीपाती गरेर बस्थे। तिनी र तिनकी श्रीमती नियमित अग्रगामी थिए। एक दिन जग्गाधनीले तिनीहरूलाई त्यो जग्गा छोड्‌नुपर्ने सूचना पठाए। कारण के थियो? तिनीहरूलाई बेइमानी गरेको आरोप लगाइएको थियो। अब कहाँ बस्ने होला भनेर ती भाइलाई चिन्ता लाग्यो। तर तिनी यहोवामा भर परे र यसो भने: “यहोवाले पक्कै केही गर्नुहुनेछ। जस्तोसुकै अवस्थामा पनि उहाँले सधैं हाम्रो खाँचो पूरा गर्नुहुन्छ।” तिनीहरूमाथि आरोप लागेको भए तापनि तिनीहरूले बाइबल सिद्धान्तअनुसार चलेर जग्गाधनीलाई आदर गरिरहे र शान्त मनोभाव देखाइरहे। त्यो परिवार देखेर जग्गाधनी प्रभावित भए। केही दिनपछि जग्गाधनीले उक्‍त जग्गा छोड्‌नु नपर्ने कुरा तिनीहरूलाई बताए। उनले आफ्नो मन बदले र तिनीहरूलाई अझ धेरै जग्गा कमाउन दिए। (१ पत्रुस २:१२ पढ्‌नुहोस्‌) हो, बाइबल सिद्धान्तअनुसार चल्यौं भने गाह्रो अवस्थामा पनि यहोवाले हामीलाई डोऱ्‍याउनुहुनेछ।

परीक्षाहरू सहन मदत गर्ने साथी

१२, १३. यहोवाले हेरचाह गर्नुहुन्छ भनेर विश्‍वास गर्न कस्तो अवस्थामा गाह्रो हुन सक्छ?

१२ कहिलेकाहीं विभिन्‍न परीक्षा भोग्नुपर्ने हुन्छ। दीर्घकालीन रोग लाग्न सक्छ, लामो समयसम्म सतावट वा परिवारको विरोध सहनुपर्ने हुन सक्छ। अनि स्वभाव फरक-फरक भएकोले कहिलेकाहीं मण्डलीका सदस्यहरूबीच गम्भीर मतभेद हुन सक्छ।

१३ जस्तै, कुनै भाइले भनेको कुराले तपाईंको चित्त दुख्न सक्छ। तपाईंलाई यस्तो लाग्न सक्छ: ‘यहोवाको सङ्‌गठनमा पनि यस्तो!’ तर तपाईंको चित्त दुखाउने भाइलाई मण्डलीमा अझ धेरै सुअवसर दिइएला अनि मण्डलीका अरूले तिनलाई एकदमै राम्रो भाइ ठान्लान्‌। तपाईं यसो भन्‍नुहोला: ‘यस्तो पनि हुन्छ? यहोवाले के हेरेर बस्नुभएको होला? कहिलेसम्म यस्तो भइरहने होला?’—भज. १३:१, २; हब. १:२, ३.

१४. हामीलाई कडा सल्लाह दिनदेखि यहोवा भाइहरूलाई किन रोक्नुहुन्‍न?

१४ यहोवाले कुनै परिस्थितिलाई हामीले भन्दा राम्ररी बुझ्न सक्नुहुन्छ। उहाँले कदम नचाल्नुमा जायज कारण हुन सक्छन्‌। जस्तै, कसैले सल्लाह दिंदा आफूलाई त्यो सल्लाह आवश्‍यक छैन जस्तो लाग्न सक्छ र तपाईंको चित्त दुख्न सक्छ। तर परमेश्‍वरले त्यस परिस्थितिलाई अर्कै तरिकाले हेर्नुभएको हुन सक्छ। तपाईंलाई त्यो सल्लाह साँच्चै चाहिएको हुन सक्छ। भाइ कार्ल क्लाइनले आफ्नो जीवनीमा भाइ रदरफोर्डले एक पटक आफूलाई एकदमै कडा सल्लाह दिएको कुरा बताउनुभएको थियो। पछि भाइ रदरफोर्डले उहाँलाई न्यानो अभिवादन गर्दा भाइ क्लाइनले त्यत्ति राम्ररी अभिवादन फर्काउनुभएन। आफूले दिएको सल्लाहले भाइ क्लाइनको अझै चित्त दुखिरहेको कुरा भाइ रदरफोर्डले थाह पाउनुभयो। त्यसैले उहाँले भाइ क्लाइनलाई सैतानको पन्जामा नपर्न चेतावनी दिनुभयो। त्यो सल्लाहले भाइ क्लाइनलाई साँच्चै मदत गऱ्‍यो। पछि भाइ क्लाइन परिचालक निकायको सदस्य हुनुभयो। भाइहरूसित सल्लाह दिने अधिकार छ अनि सल्लाह दिएकोमा उनीहरूलाई घृणा गर्छौं भने सैतानको पन्जामा पर्छौं भनेर उहाँले बताउनुभयो।a

१५. परीक्षाहरू सामना गर्दा हामीले कुन कुरा बिर्सनुहुँदैन?

१५ हामी परीक्षाहरू अन्त भएको चाहन्छौं। तर हामीले धैर्य गर्न सिक्नुपर्छ। मानिलिनुहोस्‌, तपाईं व्यस्त सडकमा मोटरसाइकल चलाउँदै हुनुहुन्छ र ट्राफिक जाममा पर्नुहुन्छ। जाम कहिले खुल्छ भनेर तपाईंलाई थाह छैन। दिक्क मान्दै अर्को बाटो खोज्नतिर लाग्नुभयो भने तपाईंले बाटो बिराउन सक्नुहुन्छ र पुग्नुपर्ने ठाउँमा समयमै पुग्न सक्नुहुन्‍न। जाम नखुलेसम्म धैर्य गरेर पर्खेको भए समयमै पुग्नुहुन्थ्यो होला। परीक्षाहरू सहने विषयमा पनि कुरा यस्तै हो। धैर्य गर्दै बाइबल सिद्धान्तअनुसार चल्यौं भने यहोवाले सहने मदत दिनुहुन्छ।

१६. यहोवाले हामीमाथि परीक्षाहरू आइपर्न दिनुको अर्को कारण के हो?

१६ परीक्षाहरूबाट हामीले तालिम पाएको यहोवा चाहनुहुन्छ। त्यसैले उहाँ हामीमाथि परीक्षाहरू आइपर्न दिनुहुन्छ। (१ पत्रुस ५:६-१० पढ्‌नुहोस्‌) उहाँ हामीमाथि परीक्षा ल्याउनुहुन्‍न। (याकू. १:१३) प्रायजसो दुःखकष्ट हाम्रो “शत्रु दियाबल”-ले गर्दा भएको हो। तर यी दुःखकष्टद्वारा परमेश्‍वर हामीलाई आध्यात्मिक रूपमा बलियो पार्नुहुन्छ। उहाँ हाम्रो दुःखकष्ट देख्नुहुन्छ। उहाँ हाम्रो “ख्याल राख्नुहुन्छ,” त्यसैले हाम्रो दुःखकष्ट “केही समय”-को लागि मात्र रहन दिनुहुन्छ। यहोवा तपाईंको हेरचाह गर्नुहुन्छ र अन्तसम्मै सहने बल दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—२ कोरि. ४:७-९.

यहोवाबाट पाइने इनाम

१७. यहोवा किन सबै मानिसको हृदय जाँच्नुहुन्छ?

१७ यहोवा किन सबै मानिसको हृदय जाँच्नुहुन्छ? उहाँलाई कसले साँच्चै प्रेम गर्छ भनेर थाह पाउन। दर्शी हनानीले राजा आसालाई यसो भने: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इति. १६:९) राजा आसाले पूरा हृदयले यहोवाको सेवा गरेनन्‌। तर तपाईंले जे सही छ, त्यही गरिरहनुभयो भने उहाँले तपाईंलाई “सहायता र सान्त्वना” दिनुहुनेछ।

१८. हाम्रो असल कामको कसैलाई वास्तै छैन जस्तो लागेमा के सम्झनुपर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१८ यहोवा हामीले ‘भलाइको खोजी गरेको,’ ‘भलाइलाई प्रेम गरेको’ र ‘जे असल छ, त्यो गरेको’ अर्थात्‌ भलाइ गरेको चाहनुहुन्छ। त्यसो गऱ्‍यौं भने हामीमाथि उहाँले “अनुग्रह गर्नुहुनेछ।” (आमो. ५:१४, १५; १ पत्रु. ३:११, १२) यहोवाको नजर असल मानिसतर्फ रहन्छ र उहाँ तिनीहरूलाई इनाम दिनुहुन्छ। (भज. ३४:१५) हिब्रू सुँडेनी शिप्रा र पूआलाई विचार गर्नुहोस्‌। फिरऊनले तिनीहरूलाई हिब्रू परिवारमा छोरा जन्मेमा मार्ने आदेश दिए। तर ती स्त्रीहरूले फिरऊनको होइन, परमेश्‍वरको डर माने र नयाँ जन्मेका छोराहरूलाई जिउँदै राखे। यहोवाले शिप्रा र पूआको असल काम देख्नुभयो र तिनीहरूलाई पनि सन्तान दिनुभयो। (प्रस्थ. १:१५-१७, २०, २१) कहिलेकाहीं हामीलाई हाम्रो असल कामको कसैलाई वास्तै छैन जस्तो लाग्न सक्छ। तर हामीले गरेको हरेक असल काम यहोवा देख्नुहुन्छ अनि हामीलाई इनाम पनि दिनुहुन्छ।—मत्ती ६:४, ६; १ तिमो. ५:२५; हिब्रू ६:१०.

१९. एउटी बहिनीले कस्तो अनुभव गरिन्‌?

१९ प्रचारकार्यमा हामीले गर्ने प्रयासलाई यहोवा वास्ता गर्नुहुन्‍न जस्तो कहिलेकाहीं हामीलाई लाग्न सक्छ। तर त्यसो होइन। अष्ट्रियामा बस्ने हंगेरियन बहिनीले हंगेरियन भाषा बोल्ने एउटी स्त्रीको ठेगाना पाइन्‌। ती बहिनी तुरुन्तै त्यो ठाउँमा गइन्‌ तर घरमा कोही थिएन। साढे एक वर्षसम्म तिनी बारम्बार त्यस स्त्रीको घरमा गइन्‌ र साहित्यहरू, पत्रहरू र आफ्नो फोन नम्बर छोडिन्‌। कहिलेकाहीं घरभित्र कोही छजस्तो लाग्थ्यो तर कसैले ढोका खोल्दैनथ्यो। तर एक दिन एउटी मित्रैलो स्त्रीले ढोका खोलिन्‌ र भनिन्‌: “भित्रै आउनुस्‌ न। तपाईंले ल्याइदिनुभएको किताबहरू पढें र म तपाईंलाई नै पर्खंदै थिएँ।” उक्‍त स्त्रीले केमोथेरापी उपचार गरिरहेकोले मानिसहरूसित कुराकानी गर्न नचाहेकी रहिछन्‌। पछि उनले बाइबल अध्ययन गर्न थालिन्‌। हो, हाम्री बहिनीले लगनशील भई प्रयास गरेकोले परमेश्‍वरले तिनलाई इनाम दिनुभयो।

२०. यहोवाको मायालु हेरचाह तपाईंलाई कस्तो लाग्छ?

२० हामीले गर्ने हरेक कुरा यहोवा देख्नुहुन्छ र त्यसको प्रतिफल पनि दिनुहुन्छ। यहोवाले हामीलाई सधैं हेरिरहनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा गल्ती रेकर्ड गर्ने क्यामरामुनि भएको जस्तो महसुस नगर्नुहोस्‌। बरु मायालु हेरचाह गर्ने परमेश्‍वरसित झन्‌झनै नजिक भएको महसुस गर्नुहोस्‌।

a भाइ क्लाइनको जीवनी अक्टोबर १, १९८४ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) छापिएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने