प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ६/१५ pp. ८-१२
  • उहाँले मानिसहरूलाई माया गर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उहाँले मानिसहरूलाई माया गर्नुभयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “उहाँसित मानिसहरूलाई निको पार्ने ... शक्‍ति थियो”
  • “उठ, तिम्रो खाट बोकेर जाऊ”
  • “मेरो लुगा कसले छोयो?”
  • “येशू रुनुभयो”
  • येशूका चमत्कारहरूले तपाईंलाई कस्तो लाभ पुऱ्‍याउँछ?
  • “ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ६/१५ pp. ८-१२
येशू बेथस्दाको कुण्डमा बिरामीलाई भेट्‌नुहुन्छ

उहाँले मानिसहरूलाई माया गर्नुभयो

“म मानव-जातिमा प्रसन्‍न रहन्थें।”—हितो. ८:३१, NRV.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • येशू मानिसहरूलाई धेरै माया गर्नुहुन्छ भनेर केले देखाउँछ?

  • पृथ्वीमा छँदा येशूले गर्नुभएका चमत्कारहरूले नयाँ संसारमा के हुनेछ भनेर देखाउँछ?

  • येशूले कुन चमत्कार गर्नुभएको हेर्न तपाईं उत्सुक हुनुहुन्छ?

१, २. येशू मानिसजातिलाई माया गर्नुहुन्छ भन्‍ने कुराको एउटा प्रमाण के हो?

यहोवा परमेश्‍वरको अपार बुद्धि उहाँको जेठो छोरामा झल्किन्छ। येशूले सबैभन्दा उत्कृष्ट तरिकामा यहोवाको बुद्धि देखाउनुभयो। उहाँले मुख्य “कारिगर”-को रूपमा बुबालाई सबै थोक सृष्टि गर्न मदत गर्नुभयो। बुबाले “आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा” र “पृथ्वीका जगहरू बसाल्नुहुँदा” येशू कत्ति आनन्दित हुनुभयो होला, हामी कल्पना मात्र गर्न सक्छौं। तर यहोवा परमेश्‍वरले बनाएका निर्जीव वस्तुहरूमा भन्दा येशू “मानव-जातिमा प्रसन्‍न” हुनुहुन्थ्यो। (हितो. ८:२२-३१, NRV) हो, पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि नै येशू मानिसजातिलाई असाध्यै माया गर्नुहुन्थ्यो।

२ पछि उहाँले राजीखुसी “आफूलाई रित्याउनुभयो” र मानिसको स्वरूपमा पृथ्वीमा आउनुभयो। यसरी उहाँले आफ्नो बुबालाई माया गरेको र उहाँप्रति वफादार रहेको अनि “मानिसजाति”-लाई गहिरो माया गरेको देखाउनुभयो। उहाँ “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” पृथ्वीमा आउनुभएको थियो। (फिलि. २:५-८; मत्ती २०:२८) साँच्चै, येशू मानिसजातिलाई कत्ति माया गर्नुहुन्छ! येशू पृथ्वीमा छँदा यहोवा परमेश्‍वरले उहाँलाई चमत्कारहरू गर्ने शक्‍ति दिनुभयो। ती चमत्कारहरूले पनि येशू मानिसलाई कत्ति माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ। साथै भविष्यमा उहाँले पृथ्वीभरि अझै ठूलठूला चमत्कारहरू गर्नुहुनेछ भनेर पनि देखाउँछ।

३. अब हामी कुन कुराबारे विचार गर्नेछौं?

३ येशू पृथ्वीमा आउनुभएकोले नै मानिसहरूले “परमेश्‍वरको राज्यको सुसमाचार” सुन्‍ने मौका पाए। (लूका ४:४३) यस राज्यले परमेश्‍वरको नाम पवित्र पार्नेछ र सदाका लागि रोगबिमारका साथै सबै समस्याको अन्त गरिदिनेछ भनेर येशूलाई थाह थियो। उहाँले प्रचार गर्ने क्रममा थुप्रै चमत्कार गर्नुभयो। यी विवरणहरूलाई राम्ररी केलाउँदा उहाँ साँच्चै मानिसहरूको ख्याल राख्नुहुन्थ्यो भन्‍ने कुरा प्रमाणित हुन्छ। तर यी विवरणहरू हाम्रो लागि किन महत्त्वपूर्ण छन्‌? किनभने यसबाट सिक्ने पाठले भविष्य उज्ज्वल छ भन्‍ने कुरामा हामीलाई निर्धक्क बनाउँछ। आउनुहोस्‌, येशूले गर्नुभएका चार वटा चमत्कारबारे विचार गरौं।

“उहाँसित मानिसहरूलाई निको पार्ने ... शक्‍ति थियो”

४. येशू र एक जना कुष्ठरोगीको भेटबारे बताउनुहोस्‌।

४ येशूले प्रचार गर्न थाल्नुभएको केही समय बितिसकेको थियो। एकदिन उहाँ गालीलको इलाकामा प्रचार गर्दै हुनुहुन्थ्यो। त्यस इलाकाको एउटा सहरमा उहाँले दयालाग्दो दृश्‍य देख्नुभयो। (मर्कू. १:३९, ४०) उहाँले एक जना कुष्ठरोगीलाई देख्नुभयो। डाक्टर लूकाले त्यस व्यक्‍तिको “पूरै शरीरभरि कुष्ठरोग” लागेको थियो भनेर लेखेका छन्‌। यसबाट त्यस व्यक्‍तिको अवस्था साँच्चै नाजुक थियो भनेर थाह पाउन सक्छौं। (लूका ५:१२) “जब [कुष्ठरोगीले] येशूलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत्‌ गऱ्‍यो र यसो भन्दै बिन्ती गऱ्‍यो, ‘प्रभु, यदि तपाईंसित इच्छा मात्र छ भने पनि मलाई शुद्ध पार्न सक्नुहुन्छ।’” येशूसित उसलाई निको पार्ने शक्‍ति छ भन्‍ने कुरामा त्यस व्यक्‍तिलाई कुनै शङ्‌का थिएन। तर उहाँसित त्यसो गर्ने इच्छा छ कि छैन भनेर ऊ बुझ्न चाहन्थ्यो। त्यो व्यक्‍तिको यस्तो बिन्ती सुनेर येशूले के गर्नुभयो? रोगले गर्दा कुरूप भएको त्यस व्यक्‍तिलाई देखेर येशूले के सोच्नुभयो होला? यस्तो रोग लागेका मानिसहरूलाई फरिसीहरू छिःछिः दूरदूर गर्थे। के उहाँले पनि त्यस्तै व्यवहार गर्नुभयो? तपाईं येशूको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो?

५. कुष्ठरोगीलाई निको पार्दा येशूले किन “मसित इच्छा छ” भन्‍नुभयो?

५ मोशाको व्यवस्थाअनुसार कुष्ठरोगीले “अशुद्ध, अशुद्ध” भनेर कराउनुपर्थ्यो। त्यो व्यक्‍तिले सायद यसो गरेन। तर येशूले यसबारे चर्चा गर्नुभएन। बरु उहाँले त्यस कुष्ठरोगी र उसको आवश्‍यकतालाई ध्यान दिनुभयो। (लेवी १३:४३-४६) येशू त्यतिखेर के सोच्दै हुनुहुन्थ्यो भनेर त हामीलाई थाह छैन। तर उहाँ कस्तो महसुस गर्दै हुनुहुन्थ्यो, त्योचाहिं हामीलाई थाह छ। दयाले भरिएर उहाँले चमत्कार गर्नुभयो। आफ्नो हात पसारेर त्यो कुष्ठरोगीलाई छुनुभयो अनि दृढ तर मायालु हुँदै यसो भन्‍नुभयो, “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” त्यसपछि “तुरुन्तै उसको कुष्ठरोग हरायो।” (लूका ५:१३) साँच्चै, येशूले चमत्कार गर्न सकोस्‌ र मानिसजातिलाई माया गरेको देखाउन सकोस्‌ भनेर यहोवा परमेश्‍वरले उहाँलाई शक्‍ति दिनुभएको थियो।—लूका ५:१७.

६. येशूका चमत्कारहरूमा कुन कुरा रोचक छ? यसले हामीलाई के सिकाउँछ?

६ परमेश्‍वरको शक्‍तिले गर्दा नै येशूले थुप्रै ठूलठूला चमत्कारहरू गर्न सक्नुभयो। येशूले कुष्ठरोग मात्र नभई हर प्रकारका अशक्‍तता र रोगबिमार निको पार्नुभयो। बाइबलमा यस्तो लेखिएको छ, “गुँगोले बोल्न थालेको, लङ्‌गडो हिंड्‌न थालेको अनि अन्धोले दृष्टि पाएको देखेर भीड छक्क पऱ्‍यो र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।” (मत्ती १५:३१) यस्ता दयालु कामहरू गर्न येशूलाई कुनै अङ्‌ग दान गर्ने व्यक्‍तिको आवश्‍यकता परेन। उहाँले समस्या भएको अङ्‌गलाई नै निको पारिदिनुभयो। साथै उहाँले मानिसहरूलाई तुरुन्तै निको पार्नुभयो। कहिलेकाहीं त टाढैबाट पनि यसो गर्नुभयो। (यूह. ४:४६-५४) यस्ता अचम्मलाग्दो विवरणहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं? अहिले येशू स्वर्गमा शासन गर्दै हुनुहुन्छ र उहाँसित सदाका लागि रोगबिमारहरू निको पार्ने शक्‍ति मात्र नभई इच्छा पनि छ। येशूले मानिसहरूसित गर्नुभएको व्यवहारबारे सिक्दा नयाँ संसारमा बाइबलको यो भविष्यवाणी पूरा हुनेछ भनेर हामी ढुक्क हुन्छौं, “कमजोर र दरिद्रलाई उसले टिठाउनेछ।” (भज. ७२:१३) हो, त्यतिखेर येशूले सबै बिरामीलाई निको पार्ने आफ्नो इच्छा पूरा गर्नुहुनेछ।

“उठ, तिम्रो खाट बोकेर जाऊ”

७, ८. गालीलमा कुष्ठरोगीलाई निको पारेपछि येशू कहाँ-कहाँ जानुभयो र के-के गर्नुभयो?

७ गालीलमा कुष्ठरोगीलाई निको पारेको केही महिनापछि येशू राज्यको सुसमाचार प्रचार गर्न यहूदियातिर लाग्नुभयो। त्यहाँ पनि येशूको सन्देश र व्यवहारले हजारौं मानिसको मन छोएको हुनुपर्छ। उहाँ गरिबहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन, बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न र भाँचिएका हृदय भएकाहरूलाई निको पार्न साँच्चै इच्छुक हुनुहुन्थ्यो।—यशै. ६१:१, २; लूका ४:१८-२१.

८ त्यसपछि नीसान महिनामा यहोवा परमेश्‍वरको आज्ञा मान्दै येशू निस्तार-चाड मनाउन यरूशलेमतिर जानुभयो। यो पवित्र चाड मनाउन आएका मानिसहरूले गर्दा यरूशलेम सहरमा निकै चहलपहल थियो। यरूशलेममा भएको मन्दिरको उत्तरपट्टि बेथस्दा नामको एउटा कुण्ड थियो। त्यहाँ येशूले एक जना बिरामीलाई भेट्‌नुभयो।

९, १०. (क) मानिसहरू किन बेथस्दाको कुण्डमा जम्मा हुन्थे? (ख) त्यहाँ येशूले के गर्नुभयो? यसले हामीलाई कस्तो पाठ सिकाउँछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

९ बेथस्दामा थुप्रै बिरामी र अशक्‍त मानिसहरूको भीड जम्मा हुने गर्थ्यो। किन? त्यस कुण्डको पानी छचल्किंदा कुनै बिरामी पानीभित्र पस्यो भने ऊ निको हुन्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। त्यतिखेर उसले कस्तो महसुस गर्थ्यो होला, कल्पना गर्नुहोस्‌। मानिसहरूको भीडमा कोही आतुर, कोही चिन्तित त कोही निराश थिए। तर कुनै शारीरिक समस्या नभएको त्रुटिरहित व्यक्‍ति येशू किन त्यस ठाउँमा जानुभयो? दयाले भरिएर उहाँ त्यहाँ जानुभएको थियो अनि उहाँले त्यहाँ एक जना बिरामीलाई भेट्‌नुभयो। त्यो व्यक्‍ति येशू जन्मनुभन्दा धेरै अघिदेखि बिरामी परेको थियो।—यूहन्‍ना ५:५-९ पढ्‌नुहोस्‌।

१० येशूले त्यो व्यक्‍तिलाई निको हुन चाहन्छ कि भनेर सोध्नुभयो। उसले मुख अँध्यारो पार्दै जवाफ दिएको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? त्यो व्यक्‍तिले तुरुन्तै जवाफ दियो। ऊ निको हुन चाहन्थ्यो। तर उसलाई त्यस कुण्डमा हालिदिने कोही नभएकोले उसले आफू निको हुने कुनै आशा देखेको थिएन। त्यसपछि येशूले त्यस व्यक्‍तिलाई असम्भवजस्तो देखिने कुरा गर्न आज्ञा दिनुभयो, “उठ, तिम्रो खाट बोकेर जाऊ।” उहाँको आज्ञा मान्दै त्यो व्यक्‍ति आफ्नो खाट उठाएर हिंड्‌न थाल्यो। नयाँ संसारमा येशूले के-कस्ता कामहरू गर्नुहुनेछ भनेर देखाउने कस्तो मन छुने विवरण! यस चमत्कारमा हामी येशूको दया देख्न सक्छौं। उहाँले खाँचोमा परेका मानिसहरूलाई खोज्नुभयो। आज हामी पनि प्रचारमा येशूको अनुकरण गर्न सक्छौं। उहाँजस्तै हामी पनि संसारमा भइरहेका दुःखलाग्दो कुराहरू देखेर निराश भएका मानिसहरूलाई खोजिरहौं।

“मेरो लुगा कसले छोयो?”

११. मर्कूस ५:२५-३४ को विवरणमा रोगबिमारले सताइरहेका मानिसहरूलाई येशू दया गर्नुहुन्छ भनेर कसरी देखिन्छ?

११ मर्कूस ५:२५-३४ पढ्‌नुहोस्‌। रोगको कारण त्यस स्त्रीले बाह्र वर्षसम्म लाजै लाजमा जीवन बिताइरहेकी थिई। उसले चढाउने उपासना अनि उसको जीवनका हरेक पक्षमा त्यस रोगले असर गरिरहेको थियो। “उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च” गरिसकेकी थिई। तैपनि उसको अवस्था झनै नाजुक हुँदै गइरहेको थियो। तर एक दिन उसले आफ्नो रोग निको पार्न एउटा बेग्लै योजना बनाई। उसले येशू नाम गरेका व्यक्‍तिको नजिक जाने निर्णय गरी। ऊ भीडलाई छिचोल्दै येशूकहाँ पुगी र उहाँको लुगा छोई। (लेवी १५:१९, २५) आफ्नो शक्‍ति बाहिर निस्केको चाल पाएर येशूले आफूलाई कसले छोयो भनी सोध्नुभयो। “त्यो स्त्री डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर एक-एक गरी सबै सत्य कुरा बताई।” आफ्नो बुबा यहोवाले नै त्यस स्त्रीलाई निको पार्नुभएको हो भनेर थाह पाएर येशूले दयालु हुँदै यसो भन्‍नुभयो, “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।”

रोगले गर्दा बाह्र वर्षसम्म पीडा भोगिरहेकी स्त्रीसित येशू दयालु भई कुरा गर्नुहुन्छ

येशूका चमत्कारहरूले उहाँ हाम्रो र हाम्रा समस्याहरूको साँच्चै ख्याल राख्नुहुन्छ भनेर देखाउँछ (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

१२. (क) अहिलेसम्मको छलफलबाट तपाईंले येशू कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर सिक्नुभयो? (ख) हामी कसरी येशूको देखासिकी गर्न सक्छौं?

१२ येशू कत्ति दयालु हुनुहुन्छ! अझ विशेषगरि रोगबिमारले गर्दा दुःख पाइरहेका मानिसहरूसित उहाँ दयालु व्यवहार गर्नुहुन्छ। तर हामीले आफूलाई निकम्मा ठानोस्‌ र कसैले हामीलाई माया गर्दैन भनी महसुस गरोस्‌ भन्‍ने सैतान चाहन्छ। येशूका चमत्कारहरूले उहाँ हाम्रो र हाम्रा समस्याहरूको साँच्चै ख्याल राख्नुहुन्छ भनेर प्रमाणित गर्छ। उहाँ मानिसहरूको भावना बुझ्ने राजा र प्रधान पुजारी हुनुहुन्छ। (हिब्रू ४:१५) हामीलाई कहिल्यै दीर्घकालीन रोग लागेको छैन भने त्यस्तो रोग लागेका मानिसहरूको भावना बुझ्न गाह्रो हुन सक्छ। तर आफू कहिल्यै बिरामी नपरेको भए तापनि येशूले रोगले पीडितहरूको मर्म बुझ्नुभयो भनेर नबिर्सौं। हामी पनि येशूको देखासिकी गर्न सक्दो गरौं।—१ पत्रु. ३:८.

“येशू रुनुभयो”

१३. लाजरस पुनर्जीवित भएको घटनाबाट हामी येशूको व्यक्‍तित्वबारे के सिक्न सक्छौं?

१३ मानिसहरूको पीडा देखेर येशू असाध्यै दुःखी हुनुभयो। आफ्नो साथी लाजरसको मृत्युले गर्दा अरू दुःखी भएको देखेपछि उहाँ आफै पनि “अत्यन्तै विचलित भएर ... सुस्केरा हाल्नुभयो।” आफूले लाजरसलाई केही समयपछि पुनर्जीवित गर्नेछु भनेर थाह हुँदाहुँदै पनि येशू विचलित हुनुभयो। (यूहन्‍ना ११:३३-३६ पढ्‌नुहोस्‌) उहाँ आफ्नो भावना प्रकट गर्न लजाउनुभएन। उहाँ लाजरस र तिनको परिवारलाई निकै माया गर्नुहुन्थ्यो भनेर त्यहाँ आएका मानिसहरूले देखे। परमेश्‍वरले दिनुभएको शक्‍ति चलाउँदै आफ्नो साथीलाई पुनर्जीवित गरेर येशूले दयाको उत्कृष्ट उदाहरण देखाउनुभयो।—यूह. ११:४३, ४४.

१४, १५. (क) यहोवा परमेश्‍वर मानिसले भोगिरहेको दुःखकष्ट अन्त गर्न चाहनुहुन्छ भनेर कुन कुराले देखाउँछ? (ख)  ‘चिहान’ भनेर अनुवाद गरिएको शब्द किन रोचक छ?

१४ येशू “परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ” भनेर बाइबलमा बताइएको छ। (हिब्रू १:३) त्यसैले येशूका चमत्कारहरूले उहाँ र उहाँको बुबा यहोवा रोगबिमार र मृत्युले ल्याउने पीडाको अन्त गर्न चाहनुहुन्छ भनेर देखाउँछ। बाइबलमा पुनर्जीवनका केही विवरण मात्रै पाउँछौं। चाँडै यहोवा र येशूले अनगिन्ती मानिसहरूलाई पुनर्जीवित गर्नुहुनेछ। येशूले यसो भन्‍नुभएको थियो, “बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबै ... बाहिर निस्किआउनेछन्‌।”—यूह. ५:२८, २९.

१५ ‘चिहान’ भनेर अनुवाद गरिएको शब्दले ग्रीक भाषामा ‘स्मरण गर्नु’ भन्‍ने अर्थ दिन्छ। त्यसैले मानिसहरूलाई पुनर्जीवित गर्दा यहोवा परमेश्‍वरले आफ्नो स्मरणशक्‍ति चलाउनुहुनेछ। विशाल ब्रह्‍माण्ड सृष्टि गर्ने सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मरिसकेका हाम्रा प्रत्येक प्रियजनको गुण, स्वभावलगायत सबै कुरा सम्झन सक्नुहुन्छ। (यशै. ४०:२६) परमेश्‍वर मरेका व्यक्‍तिहरूलाई सम्झन सक्षम मात्र हुनुहुन्‍न, उहाँ र उहाँको छोरा तिनीहरूलाई पुनर्जीवित गर्न इच्छुक पनि हुनुहुन्छ। बाइबलमा रेकर्ड गरिएको लाजरसको पुनर्जीवनको विवरणका साथै अन्य विवरणले नयाँ संसारमा विश्‍वव्यापी रूपमा मानिसहरूलाई पुनर्जीवित गरिने समयलाई सङ्‌केत गर्छ।

येशूका चमत्कारहरूले तपाईंलाई कस्तो लाभ पुऱ्‍याउँछ?

१६. वफादार ख्रीष्टियनहरूले कस्तो सुअवसर पाउनेछन्‌?

१६ हामी वफादार रहिरह्‍यौं भने सबैभन्दा ठूलो चमत्कार देख्ने मौका पाउनेछौं। त्यो हो, महासङ्‌कष्ट जिउँदै पार गर्ने। आरमागेडोनको युद्धपछि अझ धेरै चमत्कारहरू हुनेछन्‌ अनि मानिसहरू स्वस्थ हुनेछन्‌। (यशै. ३३:२४; ३५:५, ६; प्रका. २१:४) त्यो दिन मानिसहरूले आ-आफ्ना चस्मा, लौरो, बैसाखी, व्हीलचेयर र यस्तै अन्य कुराहरू फ्याँकेको कल्पना गर्नुहोस्‌। आरमागेडोनको युद्धबाट बाँचेर आएकाहरू फेरि कहिल्यै बिरामी हुनेछैनन्‌। यहोवा परमेश्‍वरले तिनीहरूलाई स्वस्थ जीवन दिनुहुनेछ। किनभने तिनीहरूले एउटा महत्त्वपूर्ण काम गर्नुपर्नेछ। त्यो हो, परमेश्‍वरको उपहार यस पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्ने। तिनीहरूले यो काम खुसी र उमङ्‌गका साथ गर्नेछन्‌।—भज. ११५:१६.

१७, १८. (क) येशूले चमत्कार गर्नुको मुख्य कारण के थियो? (ख) तपाईं किन नयाँ संसारको लागि योग्य हुन भरमग्दुर प्रयास गर्न चाहनुहुन्छ?

१७ येशूले विगतमा रोगबिमार निको पार्नुभएको कुराबाट अहिले “ठूलो भीड”-ले निकै प्रोत्साहन पाएको छ। (प्रका. ७:९) सबै प्रकारका स्वास्थ्य समस्याबाट मुक्‍त हुने उनीहरूको आशा बलियो भएको छ। साथै ती चमत्कारहरूले परमेश्‍वरको जेठो छोरा येशू मानिसहरूलाई असाध्यै माया गर्नुहुन्छ भनेर देखाउँछ। (यूह. १०:११; १५:१२, १३) येशूले देखाउनुभएको दयाले परमेश्‍वर आफ्ना हरेक सेवकमा चासो राख्नुहुन्छ भन्‍ने कुरा पनि सिकाउँछ।—यूह. ५:१९.

१८ मानिसहरू दुःख र मृत्युको पीडाले छटपटाइरहेका छन्‌। (रोमी ८:२२) हामीलाई नयाँ संसार अत्यन्तै आवश्‍यक छ। त्यतिबेला परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुसारै सबैलाई स्वस्थ पार्नुहुनेछ। मलाकी ४:२ मा भनिएझैं रोगबिमारबाट मुक्‍त भएकाहरू “गोठबाट निस्केका बाछोजस्तै उफ्रनेछन्‌।” तिनीहरू त्रुटिपूर्ण अवस्थाबाट मुक्‍त हुँदा कत्ति हर्षित हुनेछन्‌! परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूमा पूर्ण भरोसा गऱ्‍यौं र उहाँप्रति मनैदेखि आभारी भयौं भने नयाँ संसारको लागि योग्य हुन भरमग्दुर प्रयास गर्न उत्प्रेरित हुनेछौं। पृथ्वीमा हुँदा येशूले गर्नुभएका चमत्कारहरू उहाँको शासनमा मानिसजातिले सदाका लागि दुःखकष्टबाट छुटकारा पाउनेछ भन्‍ने कुराको पूर्वझलक थियो। यो कुराले हाम्रो मन छुँदैन र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने