प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १०/१५ pp. ४-८
  • तपाईंको जीवनमा यहोवाको हात छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको जीवनमा यहोवाको हात छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले परमेश्‍वरको हात देखेनन्‌
  • तिनीहरूले यहोवाको हात देखे
  • हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने प्रमाण
  • तपाईंको जीवनमा यहोवाको हात
  • तिनले अन्याय सहे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तिनले हेरे र पर्खे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १०/१५ pp. ४-८
एक महिलाले प्रार्थना गरिरहेको बेला दुई जना साक्षी तिनकै घरको ढोका ढकढकाउँदै

तपाईंको जीवनमा यहोवाको हात छ

‘परमप्रभुले आफ्नो हात आफ्ना दासहरूतिर पसारेको तिमीहरूले थाह पाउनेछौ।’—यशै. ६६:१४.

गीत: ६५, २६

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • आफ्नो जीवनमा यहोवाको हात छ भनेर कसैले बुझ्नु र कसैले नबुझ्नुको कारण के हो?

  • परमेश्‍वरका सेवकहरूको जीवनमा उहाँको हात छ भन्‍न सकिने के-कस्ता प्रमाणहरू छन्‌?

  • हाम्रो जीवनमा यहोवाको हात छ भनेर अझ राम्ररी बुझ्न के गर्न सक्छौं?

१, २. अचेल मानिसहरू कस्तो सोचाइ राख्छन्‌?

परमेश्‍वर र मानिसबीच कुनै सम्बन्ध छैन भन्‍ने सोचाइ थुप्रै मानिसको छ। उनीहरूको विचारमा हामीले भोगिरहेको दुःखको परमेश्‍वरलाई कुनै मतलब छैन। सन्‌ २०१३, नोभेम्बरमा फिलिपिन्सको मध्य भागमा हाइयान नामक शक्‍तिशाली आँधीले ठूलो क्षति पुऱ्‍याएको थियो। त्यतिखेर एक जना स्थानीय मेयरले यसो भने: “ईश्‍वर अन्त कतै जानुभएको हुनुपर्छ!”

२ हामीले जस्तोसुकै खराब काम गरे पनि परमेश्‍वरले देख्नुहुन्‍न भन्‍ने सोचाइ राख्ने मानिसहरू पनि छन्‌। (यशै. २६:१०, ११; ३ यूह. ११) प्रेषित पावलको समयमा केही मानिसहरू ‘हरप्रकारका कुकर्म, दुष्टता, लालच र खराबीमा’ डुबेका थिए। तिनीहरू “परमेश्‍वरको सही ज्ञान लिन आवश्‍यक” ठान्दैनथे। अहिलेका मानिसहरू पनि त्यस्तै छन्‌।—रोमी १:२८, २९.

३. (क) हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? (ख) बाइबलमा चलाइएको यहोवाको “हात” भन्‍ने अभिव्यक्‍तिले केलाई बुझाउँछ?

३ अहिले जस्तो सोचाइ मानिसहरूले राखिरहेका छन्‌, त्यस्तो सोचाइ हामी राख्दैनौं। किनकि हामीले गर्ने सबै कुरा परमेश्‍वरले देख्नुहुन्छ भनेर हामीलाई थाह छ। तर उहाँ हाम्रो ख्याल राख्नुहुन्छ र हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ भन्‍ने कुरामा के हामी ढुक्क छौं? कसै-कसैले “परमेश्‍वरलाई देख्नेछन्‌” भनी येशूले बताउनुभएको थियो। (मत्ती ५:८) के हामीले परमेश्‍वरलाई देखेका छौं? हामी कसरी परमेश्‍वरलाई देख्न सक्छौं? यो कुरा बुझ्न परमेश्‍वरको हातको काम देखेका व्यक्‍तिहरूबारे छलफल गरौं। परमेश्‍वरको हातको काम नस्वीकारेका व्यक्‍तिहरूबारे पनि हामी बुझ्नेछौं। साथै हाम्रो जीवनमा यहोवाको हात छ भनेर हामी कसरी विश्‍वासको आँखाले देख्न सक्छौं, त्यो पनि बुझ्नेछौं। तर छलफल सुरु गर्नुअघि एउटा कुरा बुझिराख्नु बेस हुन्छ। त्यो हो, बाइबलमा चलाइएको यहोवाको “हात” भन्‍ने अभिव्यक्‍तिले आफ्ना सेवकहरूलाई मदत गर्न र शत्रुहरूदेखि जोगाउन उहाँले चलाउनुभएको शक्‍तिलाई बुझाउँछ।—व्यवस्था २६:८ पढ्‌नुहोस्‌।

तिनीहरूले परमेश्‍वरको हात देखेनन्‌

४. शत्रुहरूले इस्राएलीहरूमाथि यहोवाको हात छ भनेर नस्वीकारेको कसरी देखियो?

४ इस्राएलीहरूले हासिल गरेका सफलतामा यहोवाको हात छ भनेर त्यतिबेलाका मानिसहरूले सुनेका र देखेका थिए। हुन पनि यहोवाले आफ्ना सेवकहरूलाई अचम्मलाग्दो तरिकाले मिश्रीहरूको दमनबाट छुटाउनुभयो। त्यसपछि इस्राएलीहरूले एक पछि अर्को गर्दै विभिन्‍न जातिमाथि विजय हासिल गरे। (यहो. ९:३, ९, १०) तर इस्राएलीहरूले हासिल गरेका सफलतामा यहोवाको हात छ भनेर देख्दा देख्दै पनि यर्दन पारिका प्रायजसो राजाहरू “एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए।” (यहो. ९:१, २) युद्धको बेलामा पनि यहोवाले इस्राएलीहरूलाई साथ दिइरहनुभएको कुरा ती राजाहरूले देखे। जस्तै: इस्राएलीहरूले आफ्ना शत्रुहरूसित “प्रतिशोध नलिएसम्म घाम र जून थामिए।” (यहो. १०:१३) तैपनि शत्रुहरूको मन शिथिल भएन, उल्टै “तिनीहरू सबै इस्राएलको विरुद्धमा लड्‌न आए।” (यहो. ११:२०) इस्राएलीहरूमाथि यहोवाको हात छ भनेर देख्दा देख्दै पनि तिनीहरूले त्यो कुरा स्वीकारेनन्‌ र युद्धमा हारे।

५. दुष्ट राजा आहाबले कुन कुरा स्वीकारेनन्‌?

५ दुष्ट राजा आहाबले पनि तिनको जीवनकालमा भएका विभिन्‍न घटनाको पछाडि यहोवाको हात छ भनेर देखेका थिए। एलियाले तिनलाई यसो भने: “मेरो वचनविना आगामी वर्षहरूमा शीत र पानी केही पर्दैन।” (१ राजा १७:१) अर्को एक पटकको कुरा हो। एलियाले आफ्नो भेटी ग्रहण गर्न यहोवालाई बिन्ती गर्दा स्वर्गबाट झरेको आगोले तिनको भेटी स्वाहा पारेको आहाबले देखे। त्यसपछि, यहोवाले खडेरी अन्त गर्नुहुनेछ भन्‍ने कुराको सङ्‌केत दिंदै एलियाले यसो भने: “म ठूलो झरी आइरहेको आवाज सुन्दैछु।” (१ राजा १८:२२-४५) यी सबै घटनामा यहोवाको हात छ भन्‍ने कुरा आहाबले स्वीकारेनन्‌। यी सबै उदाहरणबाट हामी के सिक्न सक्छौं? कुनै घटनामा यहोवाको हात छ भनेर देखेपछि त्यसलाई स्वीकार्नुपर्छ।

तिनीहरूले यहोवाको हात देखे

६, ७. यहोशूको समयमा कसै-कसैले कुन कुरा स्वीकारे?

६ माथि उल्लेख गरिएको जस्तै परिस्थितिमा कसै-कसैले भने परमेश्‍वरको हात देखे। जस्तै: यहोशूको समयमा प्रायः सबैजसो देश इस्राएलीहरूसित लडाइँ गर्न तम्सिए तर गिबोनीहरूले भने इस्राएलीहरूसित मित्रता गाँस्न खोजे। किन? तिनीहरूले यसो भने: “हामी तपाईंका दासहरू धेरै टाढा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले . . . गर्नुभएको कामको वृत्तान्त सुनेका छौं।” (यहो. ९:३, ९, १०) इस्राएलीहरूसित साँचो परमेश्‍वरको साथ छ भन्‍ने कुरा ती गिबोनीहरूले स्वीकारे।

७ राहाबले पनि आफूले देखे-सुनेका केही घटनाहरूको पछाडि यहोवाको हात छ भनेर स्वीकारिन्‌। यहोवाले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट कसरी छुटाउनुभयो भनेर राहाबलाई थाह थियो। आफूकहाँ बास माग्न आएका दुई जना इस्राएली जासुसलाई उनले यसो भनिन्‌: “मलाई थाह छ यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ।” आफ्नो ज्यान जोखिममा पर्न सक्छ भनेर थाह हुँदा हुँदै पनि उनले ती इस्राएली जासुसहरूलाई मदत गरिन्‌। उनले आफू र आफ्नो परिवारलाई यहोवाले जोगाउनुहुनेछ भन्‍ने कुरामा भरोसा प्रकट गरिन्‌।—यहो. २:९-१३; ४:२३, २४.

८. केही इस्राएलीले यहोवाको हात कसरी देखे?

८ एलियाको समयमा स्वर्गबाट झरेको आगोले एलियाको भेटी स्वाहा पार्दा त्यसमा यहोवाकै हात छ भनेर केही इस्राएलीले तुरुन्तै स्वीकारे। ती इस्राएलीहरूले चर्को स्वरमा यसो भने: “परमप्रभु नै परमेश्‍वर हुनुहुँदो रहेछ।” (१ राजा १८:३९) हो, यो घटनामा यहोवाको हात छ भन्‍ने कुरामा तिनीहरूले कुनै शङ्‌का गरेनन्‌।

९. हामी कसरी यहोवाको हात देख्न सक्छौं?

९ कुनै घटनाको पछाडि यहोवाको हात छ भनेर स्वीकार्दा वा नस्वीकार्दा के हुन्छ, यी उदाहरणहरूबाट बुझ्यौं। यहोवालाई राम्ररी चिनेका छौं अनि “मनको आँखा”-ले यहोवाका गुण र कामहरू देखिरहेका छौं भने हामीले पनि यहोवाको हात देख्न सक्नेछौं। (एफि. १:१८) यहोवाले आफ्नो हात बढाएर साथ दिंदै हुनुहुन्छ भन्‍ने कुरा स्वीकारेका विगतका र अहिलेका मानिसहरूको हामीले अनुसरण गर्नुपर्छ। तर अहिले हाम्रो जीवनमा यहोवाको प्रत्यक्ष हात छ भन्‍ने कुराको के कुनै प्रमाण छ?

हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने प्रमाण

१०. यहोवाले मानिसहरूलाई मदत गरिरहनुभएको छ भनेर बुझाउने एउटा अनुभव बताउनुहोस्‌। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१० पुरातन समयमा जस्तै यहोवाले अहिले पनि आफ्ना सेवकहरूलाई मदत गर्दै हुनुहुन्छ। मानिसहरूले प्रार्थना गरेर परमेश्‍वरसित मदत मागिरहेको बेलामा साक्षीहरू उनीहरूको दैलोमा टुप्लुक्क पुगेको थुप्रै घटना हामी समय-समयमा सुन्‍ने गर्छौं। (भज. ५३:२) त्यस्तै एउटा अनुभव विचार गरौं। यो अनुभव फिलिपिन्सको एउटा सानो टापुमा बस्ने महिलाको हो। प्रचार गर्दै जाँदा अलान भन्‍ने भाइ ती महिलाको घरमा पनि पुगे। ती भाइलाई भेट्‌ने बित्तिकै ती महिला धुरुधुरु रुन थालिन्‌। ती भाइ यसो भन्छन्‌: “यहोवाका साक्षीहरूलाई भेट्टाउन सकूँ भनेर उहाँले त्यही बिहान प्रार्थना गर्नुभएको रहेछ। किशोरी छँदा उहाँले साक्षीहरूसित बाइबल अध्ययन गर्नुभएको रहेछ। तर विवाह गरेर नयाँ ठाउँमा सरेपछि साक्षीहरूसितको सम्पर्क टुटेछ। परमेश्‍वरले यत्ति चाँडो प्रार्थनाको जवाफ दिनुभएको देखेर उहाँले आफ्नो आँसु थाम्नै सक्नुभएन।” वर्षदिन पनि नबित्दै ती महिलाले यहोवालाई जीवन समर्पण गरिन्‌।

११, १२. (क) यहोवाले आफ्ना सेवकहरूलाई अरू के-कस्ता तरिकामा मदत गर्दै हुनुहुन्छ? (ख) यहोवाको मदत पाएकी एक बहिनीको अनुभव बताउनुहोस्‌।

११ परमेश्‍वरका सेवकहरूले अर्को क्षेत्रमा पनि यहोवाको हात देखेका छन्‌। धूम्रपान, लागू पदार्थको दुर्व्यसन वा अश्‍लील सामग्रीहरू हेर्ने कुलतको दलदलमा फसेका थुप्रै मानिसले यहोवाको मदत पाएको अनुभव गरेका छन्‌। आफूले लाख प्रयत्न गर्दा पनि त्यस्ता कुलतबाट फुत्कन नसकेको कुरा तिनीहरूमध्ये कसै-कसैले बताएका छन्‌। तर पछि यहोवालाई पुकार्दा उहाँले दिनुभएको “असाधारण शक्‍ति”-ले गर्दा तिनीहरूले त्यस्तो नराम्रो बानी हटाउन सके।—२ कोरि. ४:७; भज. ३७:२३, २४.

१२ परमेश्‍वरले आफ्ना सेवकहरूलाई विभिन्‍न चुनौतीको सामना गर्न पनि मदत गर्नुभएको छ। एमी नाम गरेकी साक्षीको अनुभवबाट यो कुरा प्रस्ट हुन्छ। उनले प्रशान्त महासागरको एउटा सानो टापुमा गएर राज्यभवन र मिसनरीहरू बस्ने घर निर्माण गर्ने असाइनमेन्ट पाएकी थिइन्‌। उनी यसो भन्छिन्‌: “हामी एउटा सानो होटेलमा बस्थ्यौं। पानीले गर्दा बाटो पूरै डुबेकोले हरेक दिन काम गर्ने ठाउँसम्म जान गाह्रो हुन्थ्यो।” उनलाई स्थानीय रहनसहनमा घुलमिल हुन पनि सजिलो भएन। बिजुली र पानीको समस्या त छँदै थियो। उनी अझै यसो भन्छिन्‌: “एक पटकको कुरा हो, सँगै काम गर्ने एउटी बहिनीसित म झोक्किएर बोलें। घर पुगेपछि त एकदम खल्लो लाग्यो। त्यही रात बत्ती पनि थिएन। अँध्यारो कोठामा बसेर मैले यहोवालाई प्रार्थना गरें।” बत्ती आएपछि ती बहिनीले गिलियड स्कुलको दीक्षान्त समारोह सम्बन्धी एउटा लेख पढिछिन्‌। त्यस लेखमा नयाँ रहनसहन, नयाँ ठाउँका मानिसहरूसित घुलमिल हुनुपर्ने र घरको यादले सताउने जस्ता चुनौतीहरूबारे लेखिएको रहेछ। उनी भन्छिन्‌: “त्यस रात यहोवा नै मसित कुरा गरिरहनुभएको जस्तो लाग्यो। मैले आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्ने बल पाएँ।”—भज. ४४:२५, २६; यशै. ४१:१०, १३.

१३. यहोवाले आफ्ना साक्षीहरूलाई साथ दिइरहनुभएको छ भन्‍ने कुराको अर्को कुन प्रमाण छ?

१३ यहोवाका साक्षीहरू ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्न’ सफल भएका छन्‌ र यसमा पनि यहोवाकै हात छ। (फिलि. १:७) केही सरकारी अख्तियारवालाहरूले यहोवाका सेवकहरूको काम रोक्ने कोसिस गरे। तर तिनीहरू सफल भएनन्‌। हामी किन त्यसो भन्‍न सक्छौं? यहोवाका साक्षीहरूले सन्‌ २००० देखि यता २६८ भन्दा धेरै मुद्दा जितेका छन्‌। तीमध्ये २४ वटा मुद्दा मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा लडिएको थियो। हो, यहोवाको हातलाई कुनै पनि सरकार अनि अदालतले रोक्न सक्दैन।—यशै. ५४:१७; यशैया ५९:१ पढ्‌नुहोस्‌।

१४. हामीमाथि यहोवाको हात छ भन्‍ने कुरा प्रचारकार्य र हामीबीच भएको एकताले कसरी प्रस्ट पार्छ?

१४ विश्‍वभर सुसमाचार प्रचार हुनुमा पनि यहोवाकै हात छ। (मत्ती २४:१४; प्रेषि. १:८) जुनसुकै देश वा जातिको भए पनि हामीबीच जुन एकता अनि मेलमिलाप छ, त्यस्तो एकता अनि मेलमिलाप अन्त कतै पाइँदैन। यसको पछाडि पनि यहोवाकै हात छ। त्यसैले त यहोवाको सेवा नगर्ने मानिसहरू समेत यसो भन्‍ने गर्छन्‌: “परमेश्‍वर साँच्चै तपाईंहरू माझ हुनुहुँदो रहेछ।” (१ कोरि. १४:२५) यी सबै कुरा विचार गर्दा यहोवाले आफ्ना सेवकहरूलाई साथ दिइरहनुभएको छ भन्‍ने कुरा स्पष्ट हुन्छ। (यशैया ६६:१४ पढ्‌नुहोस्‌) तर के तपाईंको जीवनमा पनि यहोवाको हात छ?

तपाईंको जीवनमा यहोवाको हात

१५. हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने कुरा स्वीकार्न कहिलेकाहीं किन गाह्रो हुन सक्छ?

१५ हामीले भोग्नुपरेको समस्याहरूले गर्दा हाम्रो जीवनमा पनि यहोवाको हात छ भन्‍ने कुरा नदेखिरहेका हुन सक्छौं। बितेका समयमा यहोवाले हामीलाई के-कस्ता तरिकामा मदत गर्नुभएको थियो भनेर बिर्सेका हुन सक्छौं। दुष्ट रानी ईजेबेलले मार्ने धम्की दिंदा भविष्यवक्‍ता एलियाले पनि यहोवाले गर्नुभएको मदत बिर्सेका थिए। मनको वेदनाले गर्दा तिनले “आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे” भनी बाइबल बताउँछ। (१ राजा १९:१-४) त्यस्तो बेला तिनले के गर्नुपर्थ्यो? यहोवासित मदत माग्नुपर्थ्यो।—१ राजा १९:१४-१८.

१६. अय्यूबले जस्तै यहोवालाई देख्न हामीले के गर्नुपर्छ?

१६ आफ्नै समस्यामा घोरिएर बस्दा अय्यूबले आफूसित यहोवाको साथ छ भनेर महसुस गर्न सकेनन्‌। (अय्यू. ४२:३-६) तर पछि तिनले यहोवाको दृष्टिकोण बुझ्ने प्रयास गरे। समस्या भोग्नुपर्दा हामीले पनि यहोवाको दृष्टिकोण बुझ्ने प्रयास गर्नुपर्छ। कसरी? आफूले भोगिरहेको समस्याबारे बाइबलले के भन्छ, त्यसबारे मनन गरेर। यसो गऱ्‍यौं भने यहोवा हामीलाई वास्तविक लाग्नेछ र हामी पनि यसो भन्‍न सक्नेछौं: “सुनेको कुराले मात्रै मैले तपाईंलाई चिन्दथिएँ। तर अब त म तपाईंलाई आफ्नै आँखाले देख्तछु।”

सडकमा महिलालाई प्रचार गर्दै दुई साक्षी

हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने कुरा अरूलाई बुझाउन उहाँले तपाईंलाई चलाउँदै हुनुहुन्छ (अनुच्छेद १७, १८ हेर्नुहोस्‌)

प्रतिबन्ध लगाइएको ठाउँमा भुइँ तलामुनिको कोठामा सभा गर्दै यहोवाका साक्षीहरू

१७, १८. (क) यहोवाले हामीलाई डोऱ्‍याउनुभएको छ भनेर कसरी थाह पाउन सक्छौं? (ख) यहोवा हामीलाई मदत गर्दै हुनुहुन्छ भनेर बुझाउने एउटा अनुभव बताउनुहोस्‌।

१७ हाम्रो जीवनमा यहोवाको हात छ भनेर हामी कसरी भन्‍न सक्छौं? केही उदाहरण विचार गरौं। पहिलो: तपाईंले आसै नगरेको बेला अथवा बिलकुलै फरक परिस्थितिमा पहिलो पटक यहोवा र बाइबलबारे सुन्‍ने मौका पाउनुभएको हुन सक्छ। दोस्रो: सभामा भाषण सुनेपछि “मैले चाहिएकै मदत पाएँ” भनेर महसुस गर्नुभएको हुन सक्छ। तेस्रो: तपाईंले प्रार्थनाको जवाफ पाएको अनुभव गर्नुभएको हुन सक्छ। उदाहरणको लागि, तपाईंले कुनै नयाँ ठाउँमा गएर अझ सक्रिय भई यहोवाको सेवा गर्ने विचार गर्नुभएको थियो होला, तर इच्छा हुँदाहुँदै पनि कुनै कुराले बाधा पुऱ्‍याइरहेको थियो होला। तर प्रार्थना गरेपछि त्यो बाधा हटेको अनुभव गर्नुभएको हुन सक्छ। चौथो: तपाईंको जागिर वा कामले आध्यात्मिक गतिविधिमा बाधा पुऱ्‍याएकोले त्यस्तो जागिर वा काम छोड्‌ने निर्णय गर्नुभएको हुन सक्छ। बेरोजगारीको चिन्ताले सताइरहेको बेला ‘म तिमीलाई कहिल्यै त्याग्ने छैन’ भनी यहोवाले गर्नुभएको प्रतिज्ञा आफूमा पूरा भएको अनुभव गर्नुभएको हुन सक्छ। (हिब्रू १३:५) हो, यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका छौं भने हाम्रो जीवनमा उहाँको हात छ भनेर मनको आँखाले छर्लङ्‌गै देखिरहेको हुन्छ।

१८ केन्यामा बस्ने सारा यसो भन्छिन्‌: “मेरो एक जना बाइबल विद्यार्थी हुनुहुन्थ्यो। उहाँलाई बाइबलको कुरामा खासै चासो छैन जस्तो लागिरहेको थियो। त्यसैले यस विषयमा यहोवालाई प्रार्थना गरें। बाइबल अध्ययन गर्न नजाउँ कि भनेर यहोवालाई बताएँ। मैले ‘आमिन’ भन्‍नै बित्तिकै फोनको घण्टी बज्यो। फोन गर्ने त त्यही विद्यार्थी पो हुनुहुँदो रहेछ। उहाँले ‘म सभामा आउन चाहन्छु’ भन्‍नुभयो। मलाई त सपनै जस्तो लाग्यो।” यहोवाले दिनुभएको मदतबारे मनन गऱ्‍यौं भने उहाँले हाम्रो जीवनमा सक्रिय भूमिका खेलिरहनुभएको छर्लङ्‌गै देख्नेछौं। एसियामा बस्ने रोना नाम गरेकी साक्षी यसो भन्छिन्‌: “यहोवाले तपाईंलाई साँच्चै डोऱ्‍याइ रहनुभएको छ भनेर थाह पाउन त्यो कुरा आफैले अनुभव गर्नुपर्छ। तपाईंको जीवनमा यहोवाको हात छ भन्‍ने कुरा बुझेपछि तपाईं छक्कै पर्नुहुनेछ।”

१९. यहोवालाई देख्न हामीले अझै के गर्नुपर्छ?

१९ येशूले यसो भन्‍नुभएको थियो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसको मन चोखो छ, किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।” (मत्ती ५:८) हामी कसरी आफ्नो “मन चोखो” राख्न सक्छौं? हाम्रो मनभित्र कुनै खराब कुराले बास पाएको हुनु हुँदैन अनि हाम्रो बानीबेहोरा पनि असल हुनुपर्छ। (२ कोरिन्थी ४:२ पढ्‌नुहोस्‌) यहोवासित गाँसेको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लग्यौं अनि सधैं सही काम गऱ्‍यौं भने येशूले भन्‍नुभएझैं हामीले पनि यहोवालाई देख्नेछौं। हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने कुरा अझ राम्ररी बुझ्न विश्‍वासले कसरी मदत गर्छ, त्यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने