प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर pp. २८-३२
  • आमाबाबु हो, आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबाबु हो, आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफ्ना छोराछोरीलाई राम्ररी चिन्‍नुहोस्‌
  • मनैदेखि सिकाउनुहोस्‌
  • राम्रा उदाहरणहरू चलाउनुहोस्‌
  • बाइबलका सिद्धान्तअनुसार चल्नुको महत्त्व बुझाउनुहोस्‌
  • विश्‍वासमा बलियो हुनुहोस्‌, हरेस नखानुहोस्‌ अनि प्रार्थना गर्न नछोड्‌नुहोस्‌
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर pp. २८-३२
ब्यूँझनुहोस्‌! पत्रिकामा “सृष्टि या संयोग” भन्‍ने शृङ्‌खलामा छापिएको लेख पढेपछि बुबा-छोरा मिलेर चङ्‌गा बनाइरहेका

आमाबाबु हो, आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌!

“जवान ठिटा र कुमारीहरू . . . तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌।”—भज. १४८:१२, १३.

गीत: ८८, ११५

हामीले के सिक्यौं?

  • आफ्ना छोराछोरीको विषयमा राम्ररी बुझ्नु किन अत्यन्तै महत्त्वपूर्ण छ?

  • छोराछोरीलाई सिकाउँदा दृष्टान्तहरू कसरी प्रभावकारी ढङ्‌गमा प्रयोग गर्न सक्नुहुन्छ?

  • छोराछोरीलाई सिकाउँदा आफ्नो विश्‍वास बलियो बनाइराख्नु, धैर्य गर्नु र प्रार्थना गर्नु किन आवश्‍यक छ?

१, २. (क) आमाबाबुले कस्ता चुनौतीहरू सामना गरिरहेका छन्‌? तिनीहरूले यो चुनौती कसरी सामना गर्न सक्छन्‌? (ख) यस लेखमा हामी कुन चारवटा कुरा छलफल गर्नेछौं?

“हामी यहोवालाई विश्‍वास गर्छौं। तर त्यसो भन्दैमा हाम्रा छोराछोरीले पनि विश्‍वास गरिहाल्छन्‌ भन्‍ने छैन।” यो भनाइ फ्रान्सका एक दम्पतीको हो। तिनीहरूले यसो भने: “विश्‍वास भनेको जन्मजात आउने कुरा होइन। हाम्रा छोराछोरीको विश्‍वास अलि-अलि गरेर बढ्‌दै जान्छ।” अस्ट्रेलियाका एक जना साक्षी बुबाले यसो भने: “आफ्ना छोराछोरीको मनमा विश्‍वास बढाउँदै लैजानु भनेको आमाबाबुले सामना गर्ने सबैभन्दा ठूलो चुनौती नै होला। तपाईंले आफूसित भएका सबै प्रकाशनहरूको मदत लिनुपर्छ। आफ्नो छोरा वा छोरीले सोधेका प्रश्‍नको चित्तबुझ्दो जवाफ दिइसकें जस्तो लाग्छ होला। तर तपाईंको छोराछोरीले पछि त्यही प्रश्‍न सोध्न सक्छन्‌। तपाईंका जिज्ञासु छोराछोरीलाई आज दिएको जवाफ चित्त बुझ्छ होला, तर भोलिपल्ट उसलाई त्यो जवाफ चित्त नबुझ्न सक्छ। त्यसैले कुनै-कुनै विषयबारे तपाईंले पटक-पटक जवाफ दिइरहनुपर्ने हुन सक्छ।”

२ तपाईं आमा या बुबा हुनुहुन्छ भने के तपाईंलाई आफ्ना छोराछोरीको विश्‍वास बलियो हुने गरी उनीहरूलाई सिकाउन अनि त्यसैअनुरूप गर्न लगाउन आफू सक्दिनँ जस्तो कहिलेकाहीं लागेको छ कि? साँच्चै भन्‍ने हो भने, हामी कोही पनि आफ्नै बुद्धिमा भर परेर त्यसो गर्न सक्दैनौं! (यर्मि. १०:२३) तर परमेश्‍वरको निर्देशन पालन गऱ्‍यौं भने त्यसो गर्न सक्नेछौं। आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन मदत गर्न सक्ने यी चारवटा कुरा विचार गर्नुहोस्‌: (१) आफ्ना छोराछोरीलाई राम्ररी चिन्‍नुहोस्‌। (२) मनैदेखि तिनीहरूलाई सिकाउनुहोस्‌। (३) राम्रा उदाहरणहरू चलाउनुहोस्‌। (४) हरेस नखानुहोस्‌ अनि प्रार्थना गर्न नछोड्‌नुहोस्‌।

आफ्ना छोराछोरीलाई राम्ररी चिन्‍नुहोस्‌

३. सिकाउने सन्दर्भमा आमाबाबुले येशूको कसरी अनुकरण गर्न सक्छन्‌?

३ आफ्ना चेलाहरूले के विश्‍वास गर्छन्‌ भनी सोध्न येशू हिचकिचाउनुभएन। (मत्ती १६:१३-१५) उहाँले जस्तै गर्नुहोस्‌। कुराकानी वा केही काम गरिरहेको बेलामा छोराछोरीलाई आफ्नो विचार व्यक्‍त गर्न प्रोत्साहन दिनुहोस्‌। यसरी कुराकानी गर्दा उसको मनमा खेलिरहेको कुनै प्रश्‍न वा उसलाई त्यत्ति विश्‍वास नलागेको विषयबारे सोध्न सक्नुहुन्छ। अस्ट्रेलियाका १५ वर्षीय साक्षीले लेखे: “मेरो बुबा अक्सर मेरो विश्‍वासबारे कुरा गर्नुहुन्छ र तर्क गरेर मलाई बुझाउनुहुन्छ। उहाँ मलाई ‘यस विषयमा बाइबल के भन्छ?’ ‘के तिमीलाई यो कुरामा विश्‍वास लाग्छ?’ ‘तिमीलाई किन विश्‍वास लाग्छ?’ भनेर सोध्नुहुन्छ। अनि मलाई मनैदेखि त्यसको जवाफ दिन लगाउनुहुन्छ। मैले उहाँको वा ममीको कुरा दोहोऱ्‍याएर जवाफ दिएको उहाँ चाहनुहुन्‍न। हुर्कंदै जाँदा मैले आफैले सोचेर जवाफ दिनुपर्थ्यो।”

४. छोराछोरीले प्रश्‍न सोध्दा किन त्यसलाई हल्कासित लिनु हुँदैन? उदाहरणसहित बताउनुहोस्‌।

४ बाइबलको कुनै शिक्षामा तपाईंको छोरा वा छोरीलाई त्यति विश्‍वास लाग्दैन भने तुरुन्तै नरिसाउनुहोस्‌। अनि उसले तपाईंको विश्‍वासमा नै शङ्‌का गरेको ठानेर वादविवाद नगर्नुहोस्‌। धैर्य गर्दै उसलाई त्यस विषयमा राम्ररी बुझाउने कोसिस गर्नुहोस्‌। एक जना बुबाले भने: “आफ्ना छोराछोरीले सोध्ने प्रश्‍नलाई गम्भीरतापूर्वक लिनुहोस्‌। त्यसलाई एकदमै साधारण कुराजस्तो गरी हल्कासित नलिनुहोस्‌। अनि त्यो प्रश्‍नले तपाईंलाई अप्ठ्यारोमा पाऱ्‍यो भन्दैमा त्यस विषयलाई नपन्छाउनुहोस्‌।” साँच्चै भन्‍ने हो भने तपाईंका छोराछोरीले यस्ता प्रश्‍न सोध्नु भनेको उसलाई यस विषयमा चासो छ र ऊ साँच्चै बुझ्न चाहन्छ भन्‍ने सङ्‌केत हो। येशूले १२ वर्षको सानो उमेरमा नै गहन प्रश्‍नहरू सोध्नुभएको थियो। (लूका २:४६ पढ्‌नुहोस्‌) डेनमार्कको १५ वर्षीय केटो भन्छन्‌, “हामीले मानेको धर्म साँचो हो कि होइन भनेर प्रश्‍न गर्दा मेरा आमाबाबु आत्तिनु भएन, बरु शान्त रहनुभयो। हुन त उहाँहरूलाई मेरो विषयमा चिन्ता लागेको थियो होला। तर उहाँहरूले बाइबल चलाएर मेरो सबै प्रश्‍नको जवाफ दिनुभयो।”

५. आमाबाबुले आफ्ना छोराछोरीको विश्‍वास कसरी बलियो बनाउन सक्छन्‌?

५ आफ्ना छोराछोरीलाई राम्ररी चिन्‍ने कोसिस गर्नुहोस्‌। उनीहरूको सोचाइ, भावना र चिन्ताका विषयबारे राम्ररी बुझ्नुहोस्‌। तिनीहरू तपाईंसँगै सभामा अनि प्रचारमा जान्छन्‌ भन्दैमा तिनीहरूको विश्‍वास बलियो छ भनी नठान्‍नुहोस्‌। हरेक दिन तिनीहरूसँगै समय बिताउँदा आध्यात्मिक विषयमा पनि कुराकानी गर्नुहोस्‌। आफ्ना छोराछोरीसँगै प्रार्थना गर्नुहोस्‌ अनि तिनीहरूको निम्ति पनि प्रार्थना गर्नुहोस्‌। के-कस्ता चुनौतीहरूले गर्दा तिनीहरूको विश्‍वासको जाँच हुन सक्छ, त्यसबारे सजग हुनुहोस्‌। अनि यस्ता चुनौतीहरूसित लड्‌न तिनीहरूलाई मदत गर्नुहोस्‌।

मनैदेखि सिकाउनुहोस्‌

६. आमाबाबुले बाइबलको सही ज्ञान आफ्नो मनमा ठप्प बसालेका छन्‌ भने छोराछोरीलाई सिकाउन यसले कसरी मदत गर्छ?

६ येशूले मानिसहरूको मनछुने गरी सिकाउनुहुन्थ्यो। किनभने उहाँ यहोवालाई, उहाँको वचनलाई अनि मानिसहरूलाई माया गर्नुहुन्थ्यो। (लूका २४:३२; यूह. ७:४६) आमाबाबुले पनि यहोवा र उहाँको वचनलाई माया गर्छन्‌ भने आफ्ना छोराछोरीको मनछुने गरी सिकाउन सक्छन्‌। (व्यवस्था ६:५-८; लूका ६:४५ पढ्‌नुहोस्‌) त्यसैले आमाबाबु हो, बाइबल अनि हाम्रा प्रकाशनहरूको राम्रो अध्ययन गर्नुहोस्‌। यहोवाले सृष्टि गर्नुभएका कुरामा चासो लिनुहोस्‌ अनि सृष्टिसम्बन्धी विभिन्‍न विषय छलफल गरिएका हाम्रा लेखहरू ध्यान दिएर पढ्‌नुहोस्‌। (मत्ती ६:२६, २८) यसो गर्नुभयो भने तपाईंको ज्ञानको भण्डार बढ्‌नेछ, यहोवाप्रतिको तपाईंको कदर बढ्‌नेछ अनि आफ्ना छोराछोरीलाई सिकाउन अझै सिपालु हुनुहुनेछ।—लूका ६:४०.

७, ८. बाइबलको सही ज्ञानले आमाबाबुको मन छोएको छ भने उनीहरू के गर्न उत्प्रेरित हुनेछन्‌? उदाहरणसहित बताउनुहोस्‌।

७ बाइबलको सही ज्ञानले तपाईंको मन छोएको छ भने परिवारसित ती विषयमा कुराकानी गर्न तपाईंलाई सजिलो लाग्नेछ। सभाहरूको लागि तयारी गर्दा वा पारिवारिक उपासनाको बेलामा मात्र होइन, अरू जुनसुकै बेला पनि बाइबलको सही ज्ञानबारे परिवारसित कुरा गर्नुहोस्‌। यस्ता कुराकानी सुन्‍न छोराछोरीलाई कर गर्नुहुन्‍न बरु दैनिक कुराकानीमा स्वतः आउनु पर्छ अनि उनीहरूलाई अप्ठ्यारो महसुस गराउनुहुन्‍न। अमेरिकाका एक दम्पती आफ्नो छोराछोरीसित कुनै सुन्दर ठाउँमा घुम्न जाँदा वा कुनै सुन्दर जीवजन्तु देख्दा वा कुनै मीठो भोजन खाँदा यहोवाको विषयमा कुराकानी गर्ने गर्छन्‌। तिनीहरू भन्छन्‌, “यहोवाले हाम्रो निम्ति प्रबन्ध गर्नुभएको सबै थोकमा उहाँको माया र चासो कसरी देखिन्छ भनेर छोराछोरीलाई बुझाउँछौं।” आफ्ना दुइटी छोरीसित मिलेर बगैंचा गोडगाड गर्दा दक्षिण अफ्रिकाका एक आमाबाबुले बीउमा कसरी टुसा लाग्छ अनि बोटबिरुवा कसरी हुर्कन्छ, त्यसबारे रोचक कुराहरू आफ्ना छोरीहरूलाई बताउँछन्‌। तिनीहरू भन्छन्‌, “हामी हाम्रा छोरीहरूलाई जीवन अनि यसको अद्‌भुत रचनाको गहिरो आदर गर्न मदत गर्छौं।”

८ अस्ट्रेलियाका एक जना बुबा आफ्नो दस वर्षीय छोरासित सङ्‌ग्रहालय घुम्न गएका थिए। त्यतिखेर तिनले परमेश्‍वर र सृष्टिमाथि आफ्नो छोराको विश्‍वास बलियो बनाउने प्रयास गरे। तिनी यसो भन्छन्‌, “त्यहाँ हामीले अहिले लोप भइसकेका एमोनोइड्‌स र ट्राइलोबाइट्‌सजस्ता समुद्री जीवहरू देख्यौं। ती जीवहरू अहिलेका जीवजन्तु जत्तिकै सुन्दर, जटिल अनि पूर्णरूपमा विकसित थिए। त्यसैले कुनै साधारण जीव क्रमविकास भएर जटिल जीव बन्छ भने ती लोप भइसकेका जीवहरू किन सुरुदेखि नै त्यत्तिको जटिल हुन्थे र? यसले मेरो मनमा गहिरो छाप पाऱ्‍यो र त्यो कुरा मैले छोरालाई पनि बताएँ।”

राम्रा उदाहरणहरू चलाउनुहोस्‌

९. उदाहरणहरू चलाएर सिकाउनु किन प्रभावकारी तरिका हो? एउटी आमाले यसको प्रभावकारिता कसरी देखाइन्‌?

९ येशूले प्रायजसो उदाहरण चलाएर मानिसहरूलाई सिकाउनुहुन्थ्यो। अनि ती उदाहरणले मानिसहरूलाई सोच्न लगाउँथ्यो, उनीहरूको मन छुन्थ्यो र उहाँले सिकाउनुभएका कुराहरू सम्झन मदत गर्थ्यो। (मत्ती १३:३४, ३५) केटाकेटीहरूको कल्पनाशक्‍ति तेज हुन्छ। त्यसैले आमाबाबु हो, आफ्ना छोराछोरीलाई उदाहरणहरू चलाएर सिकाउनुहोस्‌। जापानकी एउटी आमाले त्यसै गरिन्‌। तिनले आफ्ना छोराहरू आठ र दस वर्षको हुँदा पृथ्वीको वायुमण्डल बनाउन यहोवाले कसरी विशेष ध्यान दिनुभयो भनेर बुझाउन एउटा उदाहरण चलाइन्‌। यसको लागि तिनले आफ्ना दुवै छोरालाई दूध, चिनी र कफी दिएर एक-एक कप कफी बनाउन लगाइन्‌। पछि तिनले यसो भनिन्‌, “उनीहरूले निकै ध्यान दिएर बनाए, ‘तिमीहरूले कसरी यत्ति मीठो कफी बनायो’ भनी सोध्दा, ‘तपाईंलाई मीठो लाग्ने गरी ठिक्क मात्रामा दूध, चिनी र कफीको मात्र मिसाएर बनायौं’ भनी उनीहरूले जवाफ दिए। हो, ठीक त्यसरी नै परमेश्‍वरले हामी बाँच्नको लागि वायुमण्डलका ग्याँसहरू ठिक्क मात्रामा मिलाउनुभयो भनी मैले उनीहरूलाई बुझाएँ।” त्यो उदाहरण उनीहरूको उमेर सुहाउँदो थियो। अनि यसरी उदाहरण नदिई बताएको भए उनीहरूले बुझ्ने थिएनन्‌। यसबाट सिकेको पाठ तिनीहरूले कहिल्यै बिर्सेनन्‌ होला!

छोरीलाई यहोवाबारे सिकाउन स्याउको उदाहरण चलाइरहेका बुबा

परमेश्‍वर र सृष्टिमाथि आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन तपाईं आफू वरपरका सामान्य चीजहरू प्रयोग गर्न सक्नुहुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०, ११. (क) परमेश्‍वरमाथि आफ्ना छोराछोरीको विश्‍वास अझै बलियो बनाउन तपाईं कस्तो उदाहरण चलाउन सक्नुहुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) तपाईंले कस्ता उदाहरणहरू प्रभावकारी पाउनुभएको छ?

१० परमेश्‍वरमाथि आफ्ना छोराछोरीको विश्‍वास बढाउन तपाईंले रेसिपीलाई[१] उदाहरणको रूपमा चलाउन सक्नुहुन्छ। तर कसरी? केक वा कुकिज बनाइसकेपछि रेसिपी नहेरी केक बनायौ भने राम्रो केक बन्छ कि बन्दैन भनेर आफ्ना छोराछोरीलाई सोध्नुहोस्‌। त्यसपछि आफ्नो छोरा वा छोरीलाई एउटा स्याउ दिनुहोस्‌। अनि सोध्नुहोस्‌: “स्याउ बोटमा कसरी फल्छ, त्यसको पनि रेसिपी हुन्छ भनेर तिमीलाई थाह छ?” त्यसपछि स्याउलाई दुई टुक्रा पार्नुहोस्‌ अनि उसलाई त्यसको बिउ दिनुहोस्‌। यस बिउमा स्याउको रेसिपी “पहिल्यै लेखिसकेको” हुन्छ अनि त्यो रेसिपी केकको रेसिपीभन्दा धेरै जटिल हुन्छ भनेर बुझाउन सक्नुहुन्छ। त्यसपछि सोध्न सक्नुहुन्छ: “केकको रेसिपी लेख्ने एक जना मानिस हुन्छ भने स्याउको रेसिपी लेख्ने व्यक्‍ति होला कि नहोला?” अलि हुर्किसकेको छोराछोरीलाई बुझाउँदै हुनुहुन्छ भने स्याउको सानो बिरुवा हुर्केर कसरी ठूलो बोट बन्छ, त्यसका लागि चाहिने सबै जानकारी डिएनए-मा लेखिएको हुन्छ भनेर बताउन सक्नुहुन्छ। अनि सँगै मिलेर जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (अङ्‌ग्रेजी)[२] भन्‍ने पुस्तिकाको पृष्ठ १० देखि २० मा भएका उदाहरणहरू हेर्न सक्नुहुन्छ।

११ धेरैजसो आमाबाबु आफ्ना छोराछोरीसित ब्यूँझनुहोस्‌! पत्रिकामा छापिने “सृष्टि या संयोग?” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरू छलफल गर्न रुचाउँछन्‌। अथवा यी लेखहरूमा छापिएका विषयवस्तु आफ्ना स-साना छोराछोरीलाई सिकाउन चलाउँछन्‌। उदाहरणको लागि, डेनमार्कका एक दम्पतीले हवाईजहाजलाई चराहरूसित तुलना गर्दै आफ्ना छोराछोरीहरूलाई यसरी सोधे: “हवाईजहाज हेर्दा चराजस्तै देखिन्छ। तर के हवाईजहाजले चराले जस्तै अण्डा पार्न अनि स-साना हवाईजहाजहरू कोरल्न सक्छ र? अनि हवाईजहाजलाई जमिनमा ओर्लन धावन मार्ग चाहिएजस्तै चराहरूलाई पनि जमिनमा ओर्लन खास बाटो चाहिन्छ र? अर्को कुरा, हवाईजहाजको आवाज र चराले गीत गाएको आवाज एउटै सुनिन्छ र? त्यसैले भन त, को धेरै बुद्धिमान्‌ छ—हवाईजहाज बनाउने मानिस कि चराहरू बनाउनुहुने सृष्टिकर्ता?” सोच्न लगाउने प्रश्‍नहरू सोध्दै यसरी बुझाउनुभयो भने तपाईंको छोराछोरीको “विवेक” अर्थात्‌ सोच्ने क्षमता विकास हुनेछ अनि उनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास बढाउँदै लैजान मदत गर्न सक्नुहुनेछ।—हितो. २:१०-१२.

१२. बाइबलमाथि विश्‍वास बलियो बनाउन आमाबाबुले उदाहरणहरू कसरी प्रभावकारी ढङ्‌गमा चलाउन सक्छन्‌?

१२ प्रभावकारी उदाहरणहरू चलाएर बाइबलको विवरण सही हो भन्‍ने कुरामा छोराछोरीको विश्‍वास बलियो बनाउन सकिन्छ। उदाहरणको लागि, अय्यूब २६:७ विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌) यो शास्त्रपद परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो भनेर तपाईं कसरी बुझाउन सक्नुहुन्छ? एउटा त तपाईं तिनीहरूलाई सरसर्ती प्रमाणहरू दिन सक्नुहुन्छ। तर त्यसो गर्नुको सट्टा छोराछोरीलाई कल्पना गर्न लगाउनुभए कसो होला? तपाईं यसो भन्‍न सक्नुहुन्छ, त्यतिबेलाका मानिसहरूलाई पृथ्वी खुला अन्तरिक्षमा अडिएको छ भनेर विश्‍वास गर्न गाह्रो थियो किनभने अय्यूबको समयमा टेलिस्कोप वा अन्तरिक्षयानहरू थिएन। त्यसपछि तपाईंका छोराछोरीलाई बल वा ढुङ्‌गाजस्ता कुनै गह्रौं वस्तु दिनुहोस्‌। अनि ती चीजहरू कुनै टेवा विना त्यत्तिकै अडिन सक्छ कि सक्दैन तिनीहरूलाई अभिनय गरेर बताउन लगाउनुहोस्‌। त्यसपछि बाइबल धेरै पहिले लेखिएको भए तापनि यसमा भएको जानकारी सही छ किनभने यसको स्रोत यहोवा हुनुहुन्छ भनेर बुझाउनुहोस्‌।—नहे. ९:६.

बाइबलका सिद्धान्तअनुसार चल्नुको महत्त्व बुझाउनुहोस्‌

१३, १४. आमाबाबुले छोराछोरीलाई बाइबलका सिद्धान्तअनुसार चल्नुको महत्त्व कसरी बुझाउन सक्छन्‌?

१३ बाइबलका सिद्धान्तअनुसार चल्नुको महत्त्वबारे आफ्ना छोराछोरीलाई बुझाउनु अति आवश्‍यक छ। (भजन १:१-३ पढ्‌नुहोस्‌) विभिन्‍न तरिकामा यसो गर्न सकिन्छ। उदाहरणको लागि, तपाईंका छोराछोरीलाई कुनै दुर्गम गाउँमा बस्ने एउटा अवस्था कल्पना गर्न लगाउनुहोस्‌। अनि त्यहाँ क-कससित बस्ने भनेर तिनीहरूले रोज्नु पर्नेछ भनी बताउनुहोस्‌। अनि सोध्नुहोस्‌, “यदि सबै जना एकअर्कासित मिलेर बस्ने हो भने प्रत्येक व्यक्‍तिसित कस्ता गुणहरू हुनुपर्छ?” तपाईं आफ्ना छोराछोरीलाई गलाती ५:१९-२३ मा पाइने बुद्धिमानी सल्लाहबारे पनि बताउन सक्नुहुन्छ।

१४ यस उदाहरणले दुई वटा महत्त्वपूर्ण पाठ सिकाउँछ। पहिलो, परमेश्‍वरको स्तरले साँचो शान्ति र एकता बढाउँछ। दोस्रो, यहोवाले अहिले हामीलाई शिक्षा दिनुभएर नयाँ संसारमा जीवन बिताउन तयार पार्दै हुनुहुन्छ। (यशै. ५४:१३; यूह. १७:३) यी बुँदाहरू स्पष्टसित बुझाउन हाम्रा प्रकाशनहरूमा छापिएका कुनै एउटा अनुभव रोज्न सक्नुहुन्छ। प्रहरीधरहरा पत्रिकामा प्रकाशित “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खलाबद्ध लेखबाट कुनै एउटा अनुभव रोज्न सक्नुहुन्छ। अथवा तपाईंको मण्डलीमा यहोवालाई खुसी बनाउन आफ्नो जीवनमा आमूल परिवर्तन गरेका कोही छन्‌ भने तिनलाई आफ्नो घरमा निम्तो दिएर तिनको अनुभव सुन्‍न सक्नुहुन्छ। यस्ता उदाहरणहरूले बाइबलका सिद्धान्तहरूलाई जीवन्त बनाउँछ।—हिब्रू ४:१२.

१५. छोराछोरीलाई सिकाउँदा तपाईंको मुख्य लक्ष्य के हुनुपर्छ?

१५ छोराछोरीलाई सिकाउँदा आफू मात्र एकोहोरो बोलिरहनू हुँदैन भन्‍ने कुरा मनमा राख्नुहोस्‌। आफ्नो कल्पनाशक्‍ति चलाउनुहोस्‌। छोराछोरीको उमेरलाई विचार गर्दै उनीहरूलाई सोच्न लगाउनुहोस्‌। छोराछोरीलाई रमाइलो लाग्ने र उनीहरूको विश्‍वास बलियो हुने तरिकामा सिकाउनुहोस्‌। एक जना बुबाले भने: “पुराना विषयहरूलाई नयाँ तरिकामा प्रस्तुत गर्न कहिल्यै अल्छी नमान्‍नुहोस्‌।”

विश्‍वासमा बलियो हुनुहोस्‌, हरेस नखानुहोस्‌ अनि प्रार्थना गर्न नछोड्‌नुहोस्‌

१६. छोराछोरीलाई सिकाउँदा किन हरेस खानुहुँदैन? उदाहरणसहित बताउनुहोस्‌।

१६ विश्‍वास बलियो बनाउन परमेश्‍वरको पवित्र शक्‍ति चाहिन्छ। (गला. ५:२२, २३) जसरी फलफूल पाक्न समय लाग्छ त्यसरी नै विश्‍वास बढ्‌न पनि समय लाग्छ। त्यसकारण आफ्ना छोराछोरीलाई सिकाउँदा हरेस खानुहुँदैन र मेहनत गरिरहनुपर्छ। जापानमा बस्ने दुई जना छोराछोरीका बुबाले यसो भने, “मेरी श्रीमती र मैले छोराछोरीलाई असाध्यै ध्यान दियौं। सानै छँदादेखि मैले उनीहरूसित सभाको दिनबाहेक हरेक दिन १५ मिनेट अध्ययन गर्थें। यसरी १५ मिनेट समय निकाल्नु हामी सबैको लागि कुनै गाह्रो काम थिएन।” एक जना क्षेत्रीय निरीक्षकले लेखे: “किशोर छँदा मेरो मनमा थुप्रै प्रश्‍न र शङ्‌का उब्जिएका थिए। तर मैले ती प्रश्‍नहरू कहिल्यै सोधिनँ। समय बित्दै जाँदा धेरै जसो प्रश्‍नहरूको जवाफ मैले सभामा, पारिवारिक वा व्यक्‍तिगत अध्ययनको दौडान पाएँ। यसकारण आमाबाबुले छोराछोरीलाई हर बखत सिकाइरहनु महत्त्वपूर्ण छ भनेर बुझें।”

बाइबल पढाइलाई बिचैमा रोकेर छोरालाई चङ्‌गा बनाउन सघाइरहेकी आमा

प्रभावकारी ढङ्‌गमा सिकाउन पहिला तपाईं आफैले परमेश्‍वरको वचन आफ्नो मनमा ठप्प बसालेको हुनुपर्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. आमाबाबुले राम्रो उदाहरण बसाल्नु किन महत्त्वपूर्ण छ? यस सन्दर्भमा एक दम्पतीले आफ्ना छोरीहरूको लागि कस्तो राम्रो उदाहरण बसालेका छन्‌?

१७ तपाईंको बलियो विश्‍वास नै तपाईंका छोराछोरीहरूका लागि राम्रो उदाहरण हो भन्‍ने कुरा मनमा राख्नुहोस्‌। किनभने तपाईं के गर्दै हुनुहुन्छ, छोराछोरीले हेरिरहेका हुन्छन्‌। अनि आफूले देखेको कुराले छोराछोरीलाई पक्कै असर गर्छ। त्यसैले आमाबाबु हो, आफ्नो विश्‍वास बलियो बनाउँदै लैजानुहोस्‌। यहोवा तपाईंको लागि साँच्चै वास्तविक हुनुहुन्छ भनेर तपाईंका छोराछोरीले देखून्‌। बर्मुडाका एक दम्पतीलाई कुनै विषयमा चिन्ताले पिरोल्दा तिनीहरू आफ्ना छोराछोरीसँगै बसेर यहोवाको डोऱ्‍याइको निम्ति प्रार्थना गर्छन्‌। अनि तिनीहरूले छोराछोरीलाई पनि प्रार्थना गर्न प्रोत्साहन दिन्छन्‌। “जेठी छोरीलाई हामी यसो पनि भन्छौं, ‘यहोवामा पूरा भरोसा राख, यहोवाको सेवामा व्यस्त होऊ अनि अचाक्ली चिन्ता नगर।’ त्यही अनुरूप गर्दा यहोवा हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरा तिनले स्पष्टसँग देखेकी छिन्‌। यसो गर्दा परमेश्‍वर र बाइबलमाथि तिनको विश्‍वास धेरै बलियो भएको छ।”

१८. आमाबाबुले कुन महत्त्वपूर्ण कुरा बिर्सनु हुँदैन?

१८ जे होस्‌, छोराछोरीले आफ्नो विश्‍वास आफैले बलियो बनाउनुपर्छ। आमाबाबु हो, रोप्ने र पानी हाल्ने काम गरेर आफ्नो भूमिका पूरा गर्नुहोस्‌। तर हुर्काउनेचाहिं परमेश्‍वर नै हुनुहुन्छ। (१ कोरि. ३:६) त्यसैले परमेश्‍वरको पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌ अनि आफ्नो अमूल्य छोराछोरीलाई सिकाउन कडा परिश्रम गर्नुहोस्‌। यसो गर्नुभयो भने यहोवाले तपाईंलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ।—एफि. ६:४.

^ [१] (अनुच्छेद १०) रेसिपी भनेको खानेकुरा कसरी पकाउने भनेर लेखिएको विधि हो।

^ [२] (अनुच्छेद १०) The Origin of Life—Five Questions Worth Asking

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने