प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मे pp. १७-२१
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाप्रतिको प्रेम
  • बाइबल सत्यप्रतिको प्रेम
  • हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मे pp. १७-२१
प्रथम शताब्दीका ख्रीष्टियनहरू प्रचार गर्दै

आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌

“दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ।”—मत्ती २४:१२.

गीत: ६०, १३५

हामीले के सिक्यौं?

  • हामी कसरी यहोवाप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्छौं?

  • हामी कसरी बाइबल सत्यप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्छौं?

  • हाम्रा दाजुभाइ दिदीबहिनीलाई माया गर्नु किन महत्त्वपूर्ण छ?

१, २. (क) मत्ती २४:१२ मा येशूले भन्‍नुभएको कुरा विशेषगरि कसलाई लागू हुन्थ्यो? (ख) प्रथम शताब्दीका धेरैजसो ख्रीष्टियनले प्रेम देखाउन छोडेनन्‌ भनेर प्रेषितको किताबबाट कसरी थाह पाउन सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

येशूले “यस युगको आखिरी समयको चिन्ह”-बारे बताउनुहुँदा “धेरै जनाको प्रेम सेलाएर जानेछ” पनि भन्‍नुभयो। (मत्ती २४:३, १२) प्रथम शताब्दीका यहूदीहरू आफू परमेश्‍वरको जन भएको दाबी गर्थे। तर तिनीहरूले परमेश्‍वरप्रतिको प्रेम सेलाउन दिए।

२ अर्कोतर्फ, त्यतिबेलाका धेरैजसो ख्रीष्टियनले भने “ख्रीष्टको विषयमा सुसमाचार घोषणा गर्न” अनि परमेश्‍वर, सङ्‌गी ख्रीष्टियन र गैर-ख्रीष्टियनलाई प्रेम देखाउन छोडेनन्‌। (प्रेषि. २:४४-४७; ५:४२) तर येशूका कोही-कोही अनुयायीले भने आफ्नो प्रेम सेलाउन दिए।

३. केही ख्रीष्टियनको प्रेम सेलाउनुको कारण के हुन सक्छ?

३ पुनर्जीवित हुनुभएका येशूले प्रथम शताब्दीका एफिससका ख्रीष्टियनहरूलाई यसो भन्‍नुभयो: “तिमीविरुद्ध मसित यो कुरा छ, कि तिमीसित पहिले जुन प्रेम थियो, अहिले त्यो छैन।” (प्रका. २:४) यसो हुनुको एउटा कारण के हुन सक्छ? ख्रीष्टका यी चेलाहरूलाई संसारको मनोभावले असर गरेको हुन सक्छ। (एफि. २:२, ३) आजका थुप्रै सहरजस्तै प्रथम शताब्दीको एफिसस सहर पनि खराब कुराहरूले भरिएको थियो। त्यो असाध्यै सम्पन्‍न सहरका मानिसहरू ऐसआराम, सुख-विलास अनि आरामदायी जीवन बिताउने कुरालाई एकदमै महत्त्व दिन्थे। तिनीहरू अरूलाई निःस्वार्थ प्रेम देखाउनुभन्दा मोजमज्जा गर्न मस्त थिए। त्यहाँ छाडा आचरण अनि घोर यौन अनैतिकता पनि सामान्य थियो।

४. (क) आज मानिसहरूको प्रेम कसरी सेलाउँदै छ? (ख) हाम्रो प्रेमको जाँच हुन सक्ने तीन वटा क्षेत्र के-के हुन्‌?

४ मानिसहरूको प्रेम सेलाउनेबारे येशूको भविष्यवाणी आज हाम्रो समयमा पनि पूरा हुँदै छ। परमेश्‍वरप्रति मानिसहरूको प्रेम झन्‌झनै सेलाउँदै गइरहेको छ। थुप्रै मानिस संसारमा भइरहेको समस्याको समाधान गर्न परमेश्‍वरको होइन, मानव सङ्‌घ-संस्थाको मुख ताक्छन्‌। त्यसैले यहोवा परमेश्‍वरको उपासना नगर्ने मानिसहरूमाझ प्रेम दिनप्रतिदिन सेलाउँदै गइरहेको छ। एफिससको मण्डलीका ख्रीष्टियनहरूको जस्तै आजका साँचो ख्रीष्टियनहरूको प्रेम पनि सेलाउन सक्छ र तिनीहरू स्वार्थी हुन सक्छन्‌। हाम्रो प्रेम सेलाउन दिन नहुने यी तीन वटा क्षेत्र विचार गरौं: (१) यहोवाप्रतिको प्रेम, (२) बाइबल सत्यप्रतिको प्रेम र (३) हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम।

यहोवाप्रतिको प्रेम

५. हामीले किन परमेश्‍वरलाई प्रेम गर्नै पर्छ?

५ हामीले सबैभन्दा धेरै कसलाई प्रेम गर्नुपर्छ? प्रेम सेलाएर जानेछ भनेर चेतावनी दिनुभन्दा अघि त्यही दिन येशूले यसो भन्‍नुभएको थियो: “ ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो।” (मत्ती २२:३७, ३८) हो, यहोवाप्रतिको गहिरो प्रेमले उहाँका आज्ञाहरू पालन गर्न, सहनशील हुन र खराबीलाई घृणा गर्न मदत गर्छ। (भजन ९७:१० पढ्‌नुहोस्‌) तर सैतान र त्यसको संसारले परमेश्‍वरप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउन खोज्छ।

६. परमेश्‍वरप्रतिको प्रेम सेलाउँदा मानिसहरूको हालत कस्तो भएको छ?

६ प्रेमबारे संसारका मानिसहरूको धारणा टेढोमेढो भएको छ। तिनीहरू सृष्टिकर्तालाई प्रेम गर्नुको साटो “आफैलाई मात्र प्रेम” गर्छन्‌। (२ तिमो. ३:२) सैतानले शासन गरेको यस संसारले “शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक”-लाई बढावा दिन्छ। (१ यूह. २:१६) आफैलाई मात्र खुसी पार्न खोज्नु किन हानिकारक छ भन्‍नेबारे प्रेषित पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए: “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो, . . . शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ परमेश्‍वरसित दुस्मनी राख्नु हो।” (रोमी ८:६, ७) हुन पनि भौतिक कुरा हासिल गर्न वा यौनइच्छा पूरा गर्नमै तल्लीन मानिसहरू अन्ततः निराश भएका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्‍याएका छन्‌।—१ कोरि. ६:१८; १ तिमो. ६:९, १०.

७. ख्रीष्टका अनुयायीहरूलाई कस्ता कुराहरूले यहोवादेखि टाढा लैजान सक्छ?

७ कुनै-कुनै देशमा कट्टर नास्तिक, अज्ञेयवादी (परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर थाह पाउन असम्भव छ भन्‍नेहरू) अनि क्रमविकासवादीहरू परमेश्‍वरप्रतिको प्रेम मात्र होइन, उहाँमाथिको विश्‍वासलाई पनि खतम पार्ने विचारधाराहरूलाई बढावा दिन्छन्‌। तिनीहरूले अशिक्षित वा मूर्ख मानिसले मात्र सृष्टिकर्तामाथि विश्‍वास गर्छ भन्‍ने भान मानिसहरूमा पारेका छन्‌। अनि मानिसहरू वैज्ञानिकहरूको बढ्‌तै मानसम्मान गर्छन्‌, जसले गर्दा सृष्टिकर्ताप्रतिको आस्था घट्‌दै गइरहेको छ। (रोमी १:२५) यदि हामीले यस्ता कुराहरूमा ध्यान दिन थाल्यौं भने यहोवादेखि टाढिन सक्छौं अनि हाम्रो प्रेम सेलाउन सक्छ।—हिब्रू ३:१२.

८. (क) कस्ता कारणहरूले गर्दा यहोवाका जनहरू निराश हुन सक्छन्‌? (ख) भजन १३६ अध्यायमा कस्तो आश्‍वासन पाउँछौं?

८ निराशामा डुबिरह्‍यौं भने पनि हाम्रो विश्‍वास कमजोर हुन सक्छ अनि परमेश्‍वरप्रतिको हाम्रो प्रेम सेलाउन सक्छ। यो दुष्ट संसार सैतानको हातमा भएकोले हामी सबै नै कहिलेकाहीं निराश हुन्छौं। (१ यूह. ५:१९) हुन सक्छ, ढल्कँदो उमेर, बिग्रँदो स्वास्थ्य वा आर्थिक कठिनाइले गर्दा समस्या झेलिरहेका छौं। अथवा कुनै कुरा आफूले सोचे जस्तो गर्न नसकेकोले, आशा गरेको कुरा पूरा नभएकोले वा आफ्नो कमीकमजोरीले गर्दा हामी निराश भएका छौं। तर जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि यहोवाले हामीलाई त्याग्नुभयो भनेर कहिल्यै सोच्नु हुँदैन। बरु यहोवा हामीलाई सधैं माया गर्नुहुन्छ भनेर आश्‍वासन दिने भजन १३६:२३ ( NRV) का शब्दहरूमा मनन गर्नुपर्छ, जहाँ यस्तो लेखिएको छ: “उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो—उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।” हो, यहोवा आफ्ना सेवकहरूलाई सधैं प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ हाम्रो “अन्तरबिन्ती” सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ भनेर ढुक्क हुन सक्छौं।—भज. ११६:१; १३६:२४-२६.

९. परमेश्‍वरप्रतिको प्रेमलाई बलियो बनाइराख्न पावललाई केले मदत गऱ्‍यो?

९ भजनरचयिताले जस्तै पावलले पनि यहोवाले सधैं मदत गर्नुहुन्छ भन्‍ने कुरामा मनन गरे र बल पाए। पावलले यस्तो लेखे: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?” (हिब्रू १३:६) यहोवाले सधैं ख्याल राख्नुहुन्छ भन्‍ने बलियो विश्‍वासले पावललाई विभिन्‍न समस्यासित लड्‌न मदत गऱ्‍यो। जस्तोसुकै गाह्रो अवस्थामा पनि तिनले हरेस खाएनन्‌। आफू झ्यालखानामा छँदा समेत पावलले भाइबहिनीलाई सान्त्वना दिन पत्रहरू लेखे। (एफि. ४:१; फिलि. १:७; फिले. १) एकदमै कठिन अवस्थामा पर्दा पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे। यसो गर्न तिनलाई केले बल दियो? तिनी “सबै सान्त्वनाका परमेश्‍वर”-माथि भर परिरहे, जसले “सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ।” (२ कोरि. १:३, ४) हामी कसरी पावलको अनुकरण गर्न सक्छौं र यहोवाप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्छौं?

एउटी बहिनी प्रार्थना गर्दै

यहोवालाई प्रेम गरेको देखाउनुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. हामी कसरी यहोवाप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्छौं?

१० यहोवाप्रतिको प्रेमलाई बलियो बनाइराख्ने एउटा मुख्य तरिकाबारे पावल आफैले बताए। तिनले सङ्‌गी भाइबहिनीलाई यस्तो लेखे: “निरन्तर प्रार्थना गर।” पछि तिनले यस्तो पनि लेखे: “प्रार्थनामा लागिरहो।” (१ थिस्स. ५:१७; रोमी १२:१२) परमेश्‍वरसित घनिष्ठ हुने सबैभन्दा राम्रो तरिका प्रार्थनामार्फत उहाँसित कुराकानी गर्नु हो। (भज. ८६:३) हामीले समय लगाएर आफ्नो भित्री सोचाइ अनि भावनाहरू यहोवालाई व्यक्‍त गऱ्‍यौं भने “प्रार्थना सुन्‍नुहुने” हाम्रो स्वर्गका बुबासित पक्कै घनिष्ठ हुनेछौं। (भज. ६५:२) साथै यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको महसुस गऱ्‍यौं भने उहाँप्रतिको प्रेम अझै बढ्‌नेछ। अनि “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ” भन्‍ने कुरामा अझ विश्‍वस्त हुनेछौं। (भज. १४५:१८) यहोवाले सधैं मदत गर्नुहुन्छ भन्‍ने विश्‍वासले हामीलाई अहिले अनि भविष्यमा जस्तोसुकै परीक्षाको सामना गर्न मदत गर्नेछ।

बाइबल सत्यप्रतिको प्रेम

११, १२. हामी कसरी बाइबल सत्यप्रतिको प्रेम बढाउन सक्छौं?

११ हामी ख्रीष्टियनहरू सत्यलाई प्रेम गर्छौं र त्यसको मोल गर्छौं। सत्यको एक मात्र स्रोत परमेश्‍वरको वचन हो। आफ्नो बुबालाई प्रार्थना गर्दा येशूले यसो भन्‍नुभयो: “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७) त्यसैले सत्यलाई प्रेम गर्न परमेश्‍वरको वचनको सही ज्ञान लिनुपर्छ। (कल. १:१०) तर सत्यलाई प्रेम गर्न दिमागी ज्ञान हासिल गरेर मात्र पुग्दैन। बाइबल सत्यलाई प्रेम गर्नुको अर्थ बुझ्न भजन ११९ अध्यायका लेखकबाट कस्तो मदत पाउन सक्छौं, विचार गर्नुहोस्‌। (भजन ११९:९७-१०० पढ्‌नुहोस्‌) के हामी हरेक दिन बाइबल पदहरूमा मनन गर्न प्रशस्त समय दिन्छौं? पढेको कुरा जीवनमा कसरी लागू गर्ने भनेर मनन गऱ्‍यौं भने बाइबल सत्यको अझ धेरै मोल गर्नेछौं।

१२ भजनरचयिताले यसो पनि भने: “तपाईंका वचनहरू मेरा स्वादमा कति गुलिया छन्‌। मेरो मुखमा महभन्दा बढी मीठा छन्‌।” (भज. ११९:१०३) परमेश्‍वरको सङ्‌गठनद्वारा तयार पारिएका बाइबलआधारित प्रकाशनहरू स्वादिष्ठ खानेकुराजस्तै हुन्‌। आफूलाई मन पर्ने खानेकुरा हामी समय लगाएर खान्छौं। त्यसैगरि, आध्यात्मिक खानेकुराबाट आनन्द उठाउन पनि हामीले समय लगाउनुपर्छ। समय लगाएर अध्ययन गऱ्‍यौं भने सत्यका “मीठा-मीठा शब्दहरू” सजिलै सम्झन सक्नेछौं र अरूलाई मदत गर्न पनि प्रयोग गर्न सक्नेछौं।—उप. १२:१०.

१३. परमेश्‍वरको वचनलाई प्रेम गर्न यर्मियालाई केले मदत गऱ्‍यो? यसले तिनमा कस्तो प्रभाव पाऱ्‍यो?

१३ भविष्यवक्‍ता यर्मिया परमेश्‍वरको वचनलाई प्रेम गर्थे। परमेश्‍वरको वचनले तिनमा कस्तो प्रभाव पाऱ्‍यो, विचार गर्नुहोस्‌। तिनले यसो भने: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मि. १५:१६) यर्मियाले परमेश्‍वरको अनमोल वचन प्रतीकात्मक अर्थमा खाए र पचाए अर्थात्‌ मनन गरे। यसरी मनन गर्दा परमेश्‍वरको नामले चिनिन पाएको सुअवसरप्रति तिनी अझै कृतज्ञ हुन सके। बाइबल सत्यप्रतिको प्रेमले के हामीलाई पनि परमेश्‍वरको नाम बहन गर्न पाएको र यस अन्तको दिनमा उहाँको राज्यको सुसमाचार सुनाउन पाएको विशेष सुअवसरको कदर गर्न जुरमुऱ्‍याउँछ?

एउटी बहिनी बाइबल पढ्‌दै अनि मनन गर्दै

बाइबल सत्यलाई प्रेम गरेको देखाउनुहोस्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. बाइबल सत्यप्रतिको प्रेम बढाउन के गर्न सक्छौं?

१४ बाइबल र बाइबलमा आधारित प्रकाशनहरू पढ्‌नुको अलावा बाइबल सत्यप्रतिको प्रेम बढाउन के गर्न सक्छौं? नियमित रूपमा सभा जान सक्छौं। बाइबलको कुरा सिक्ने एउटा मुख्य माध्यम प्रहरीधरहरा-को अध्ययन हो। हरेक हप्ता हुने यस सभाबाट पुरापुर फाइदा उठाउन राम्ररी तयारी गर्नुपर्छ। तयारी गर्ने एउटा तरिका लेखमा उल्लेख गरिएका सबै बाइबल पद पढ्‌नु हो। अहिले हामी jw.org वेबसाइट अथवा JW लाइब्रेरी एपबाट विभिन्‍न भाषामा प्रहरीधरहरा डाउनलोड गर्न सक्छौं। कुनै-कुनै इलेक्ट्रोनिक फर्म्याटबाट लेखमा भएका बाइबलका पदहरू तुरुन्तै हेर्न सकिन्छ। जुनसुकै माध्यम प्रयोग गरे तापनि बाइबल पदहरू ध्यान दिएर पढ्‌दा र त्यसमा मनन गर्दा हामी बाइबल सत्यप्रतिको प्रेमलाई बढाउन सक्छौं।—भजन १:२ पढ्‌नुहोस्‌।

हाम्रा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम

१५, १६. (क) यूहन्‍ना १३:३४, ३५ मा येशूले हामीलाई कस्तो आज्ञा दिनुभएको छ? (ख) परमेश्‍वर र बाइबल सत्यप्रतिको प्रेम कसरी भाइबहिनीप्रतिको प्रेमसित सम्बन्धित छ?

१५ आफ्नो मृत्युको अन्तिम रात येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—यूह. १३:३४, ३५.

१६ भाइबहिनीलाई प्रेम गर्नु र यहोवालाई प्रेम गर्नुबीच गहिरो सम्बन्ध छ। हामी परमेश्‍वरलाई प्रेम गर्दैनौं भने भाइबहिनीलाई प्रेम गर्न सक्दैनौं। अनि भाइबहिनीलाई प्रेम गर्दैनौं भने परमेश्‍वरलाई प्रेम गर्न सक्दैनौं। प्रेषित यूहन्‍नाले यसो भने: “जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ यूह. ४:२०) साथै यहोवा र भाइबहिनीप्रतिको प्रेम बाइबल सत्यप्रतिको प्रेमसित सम्बन्धित छ। कसरी? परमेश्‍वर र भाइबहिनीलाई प्रेम गर्नू भन्‍ने बाइबलको आज्ञा पालन गर्न बाइबल सत्यप्रतिको प्रेमले हामीलाई उत्प्रेरित गर्छ।—१ पत्रु. १:२२; १ यूह. ४:२१.

एउटी वृद्ध ख्रीष्टियनको घरमा मर्मत गर्दै एक बहिनी

भाइबहिनीलाई प्रेम गरेको देखाउनुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. भाइबहिनीलाई प्रेम गरेको देखाउने केही तरिका के-के हुन्‌?

१७ पहिलो थिस्सलोनिकी ४:९, १० पढ्‌नुहोस्‌। भाइबहिनीलाई प्रेम गरेको देखाउने केही तरिका के-के हुन्‌? एक जना वृद्ध ख्रीष्टियनलाई मण्डलीका सभाहरूमा आउन-जान मदत चाहिरहेको हुन सक्छ। विधवा बहिनीको घरमा केही मर्मत गर्न मदत चाहिरहेको हुन सक्छ। (याकू. १:२७) युवा होऊन्‌ या वृद्ध, हतोत्साहित वा निराश भएका वा कुनै परीक्षा भोगिरहेका भाइबहिनीलाई हाम्रो माया, प्रोत्साहन र सान्त्वनाको खाँचो पर्छ। (हितो. १२:२५; कल. ४:११) “एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूको” ख्याल राख्दा हामी तिनीहरूलाई साँच्चै प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं।—गला. ६:१०.

१८. भाइबहिनीसित सानोतिनो खटपट पर्दा कसरी सुल्झाउन सक्छौं?

१८ यस दुष्ट युगको “अन्तको दिनमा” मानिसहरू स्वार्थी र लोभी हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (२ तिमो. ३:१, २) हामी ख्रीष्टियनहरूले परमेश्‍वर, बाइबल र भाइबहिनीप्रतिको प्रेमलाई बढाउँदै लैजान कडा मेहनत गर्नै पर्छ। हो, कहिलेकाहीं भाइबहिनीसित सानोतिनो खटपट पर्न सक्छ। तर प्रेमले उत्प्रेरित भएर तुरुन्तै मतभेद सुल्झायौं भने मण्डलीका सबैको हित हुनेछ। (एफि. ४:३२; कल. ३:१४) त्यसैले हाम्रो प्रेमलाई कहिल्यै सेलाउन नदेऔं! बरु यहोवा, उहाँको वचन र भाइबहिनीप्रतिको प्रेमलाई बढाउँदै लैजाऔं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने