हाम्रो अभिलेखालयबाट
“अर्को सम्मेलन कहिले हुन्छ होला है?”
सन् १९३२ नोभेम्बर महिनाको अन्ततिरको कुरा हो। एक हप्ताअगाडि मात्र मेक्सिको सिटीमा पहिलो पटक ट्राफिक लाइटहरू जडान गरिएका थिए। त्यस सहरमा दस लाखभन्दा धेरै मानिस बसोबास गर्थे। तर मानिसहरू ट्राफिक लाइटभन्दा पनि अर्कै कुराले गर्दा उत्साहित थिए। पत्रकारहरू त्यस हप्ता हुन लागेको विशेष कार्यक्रमको प्रतीक्षामा थिए। तिनीहरू रेलवे स्टेसनमा क्यामरा ठिक्क पारेर विशेष अतिथिलाई पर्खिरहेका थिए। उहाँ वाचटावर सोसाइटीका अध्यक्ष जे. एफ. रदरफोर्ड हुनुहुन्थ्यो। स्थानीय साक्षीहरू पनि उहाँलाई न्यानो स्वागत गर्न पर्खिरहेका थिए। भाइ रदरफोर्ड तीन दिने राष्ट्रिय अधिवेशनमा उपस्थित हुनको लागि आउनुभएको थियो।
सुनौलो युग-मा (अङ्ग्रेजी) यस्तो लेखिएको थियो: “यो अधिवेशन मेक्सिकोका यहोवाका साक्षीहरूको इतिहासमा अविस्मरणीय रहनेछ। यसले भाइबहिनीलाई सत्यमा अघि बढिरहन हौसला दिइरहनेछ।” त्यस अधिवेशनमा लगभग १५० जना मात्र उपस्थित भएका थिए। तैपनि त्यो अधिवेशन विशेष थियो, किन?
त्यस अधिवेशनअघि मेक्सिकोमा खासै वृद्धि भइरहेको थिएन। हुन त सन् १९१९ देखि नै ससाना सम्मेलनहरू भइरहन्थे तर त्यसको केही वर्षपछि मण्डलीको सङ्ख्या बिस्तारै घट्दै गयो। सन् १९२९ मा मेक्सिको सिटीमा शाखा कार्यालय स्थापना हुँदा धेरैले राम्रा कुराहरू हुने आशा गरेका थिए। तर विभिन्न समस्या समाधान गर्न बाँकी नै थिए। जस्तै: प्रचारको दौडान व्यापारिक कामकुरा नगर्नुहोस् भनेर एक जना कल्पोर्टरलाई (अहिले अग्रगामी भनिन्छ) सल्लाह दिइयो। तर तिनी रिसाएर सङ्गठन छोडेर गए र आफ्नो छुट्टै बाइबल अध्ययन समूह खडा गरे। ख्रीष्टियनहरूलाई नसुहाउने कामकुरामा भाग लिएकोले शाखा कार्यालयका निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो। त्यहाँका वफादार साक्षीहरूलाई आध्यात्मिक रूपमा बलियो बनाउनु निकै जरुरी थियो।
भ्रमणको दौडान भाइ रदरफोर्डले अधिवेशनमा दुई वटा मन छुने भाषण दिनुभयो। अनि रेडियोमार्फत पाँच वटा जोडदार भाषण प्रस्तुत गर्नुभयो। ती भाषणबाट त्यहाँका साक्षीहरूले निकै प्रोत्साहन पाए। मेक्सिकोका रेडियो स्टेसनहरूमार्फत राज्यको सुसमाचार सुनाइएको यो पहिलो पटक थियो। अधिवेशनपछि शाखा कार्यालयको कामकुरा सँभाल्न नयाँ निरीक्षक नियुक्त गरियो। त्यस भ्रमणले भाइबहिनीहरूमा नयाँ जोस थपिदियो। अनि यहोवाको आशिष् पाएर तिनीहरू जोडतोडले प्रचारकार्यमा लागिरहे।
सन् १९४१ मा मेक्सिको सिटीमा आयोजना गरिएको अधिवेशन
अर्को वर्ष मेक्सिकोमा एउटा होइन, दुइटा अधिवेशन आयोजना गरिए: एउटा भेराक्रुज सहरमा अनि अर्को मेक्सिको सिटीमा। भाइबहिनीको कडा मेहनतले गर्दा राम्रा नतिजाहरू हासिल हुन थालेका थिए। सन् १९३१ मा त्यहाँ ८२ जना मात्र प्रकाशक थिए। त्यसको दस वर्षपछि त्यो सङ्ख्या दस गुणाले बढ्यो। मेक्सिको सिटीमा १९४१ मा भएको ईश्वरतान्त्रिक सम्मेलनमा लगभग १,००० जना उपस्थित भए।
“सडकभरि साक्षीहरू”
सन् १९४३ मा साक्षीहरूले मेक्सिकोको १२ वटा सहरमा स्यान्डविच प्लेकार्डहरू बोकेर “स्वतन्त्र राष्ट्रको” ईश्वरतान्त्रिक सम्मेलनको विज्ञापन गर्न थाले।a एउटा प्लेकार्ड जीउको अगाडि अनि अर्को प्लेकार्डचाहिं पछाडि झुण्ड्याइने भएकोले यसलाई स्यान्डविच प्लेकार्ड भनिन्थ्यो। राज्य सन्देशको विज्ञापन गर्न यहोवाका साक्षीहरूले सन् १९३६ देखि यो तरिका प्रयोग गर्दै आएका थिए।
सन् १९४४ को एउटा पत्रिकामा स्यान्डविच प्लेकार्ड बोकेका भाइहरूको फोटो
स्यान्डविच प्लेकार्डहरू बोकेर प्रचार गर्दा नतिजा निकै राम्रो भयो। यसबारे ला नासियोन (स्पेनिश) पत्रिकामा यस्तो लेखिएको थियो: “पहिलो दिन साक्षीहरूलाई अझ धेरै मानिसहरूलाई सम्मेलनको निम्तो दिन आग्रह गरियो। त्यसको भोलिपल्ट सम्मेलन हुने ठाउँ खचाखच भरियो।” तर यसरी प्रचार गरेको क्याथोलिक चर्चका पादरीहरूलाई मन परेन। तिनीहरूले साक्षीहरूको विरोध गर्ने अभियान नै सुरु गरे। तर भाइबहिनीहरू डरले पछि हटेनन्। तिनीहरूले प्लेकार्ड भिरेर अधिवेशनको विज्ञापन गरिरहे। ला नासियोन-मा यस्तो पनि लेखिएको थियो: “यहोवाका साक्षीहरू स्यान्डविचजस्तो बनेर प्रचार गर्दै हिंडेको पूरै सहरले देखेको थियो।” त्यस पत्रिकामा भाइहरूले स्यान्डविच प्लेकार्ड भिरेर प्रचार गरेको फोटो पनि छापिएको थियो। अनि त्यो फोटोमुनि “सडकभरि साक्षीहरू” भनेर लेखिएको थियो।
“सिमेन्टको भुइँभन्दा न्यानो अनि नरम”
त्यो समयतिर अधिवेशनमा उपस्थित हुनको लागि साक्षीहरूलाई निकै गाह्रो थियो। थुप्रै भाइबहिनी विकट गाउँहरूमा बस्थे। ती गाउँमा न त कुनै रेलमार्ग पुगेको थियो न त कुनै बाटो। एउटा मण्डलीले लेखेअनुसार त्यो गाउँमा पुगेको एउटै मात्र कुरा भनेको टेलिग्राफ लाइन (टेलिफोनभन्दा अघिको सञ्चार माध्यम) थियो। अधिवेशन हुने सहरसम्म पुग्न रेल चढ्नुपर्थ्यो। अनि रेलवे स्टेसनसम्म पुग्न कि त खच्चर चढेर कि त हिंडेर केही दिन यात्रा गर्नुपर्थ्यो।
धेरैजसो साक्षी आर्थिक रूपमा कमजोर भएकोले जेनतेन गरेर अधिवेशन हुने ठाउँसम्म पुग्थे जबकि तिनीहरूसित त्यहाँसम्म जानको लागि पुग्दो पैसा पनि हुँदैनथ्यो। तिनीहरू अधिवेशन हुने ठाउँका भाइबहिनीको घरमा बस्थे। त्यहाँका भाइबहिनी एकदमै उदार थिए। कोही-कोहीचाहिं राज्यभवनहरूमा बास बस्थे। एक पटक लगभग ९० जना भाइबहिनी शाखा कार्यालयमा बसेका थिए। प्रत्येकको लागि २०-२० वटा कार्टुन मिलाएर खाट बनाइएको थियो। तर त्यतिमा पनि तिनीहरू खुसी थिए। वार्षिक पुस्तक-ले बताएअनुसार तिनीहरूको लागि कार्टुनका ती खाट “सिमेन्टको भुइँभन्दा न्यानो अनि नरम थियो।”
आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित एक ठाउँमा भेला हुन पाउँदा ती साक्षीहरू यत्ति खुसी थिए कि आफूले गरेका त्यागहरूको लागि तिनीहरूलाई कुनै पछुतो थिएन। आज मेक्सिकोमा प्रकाशकहरूको सङ्ख्या दस लाख पुगिसकेको छ। त्यतिबेला साक्षीहरूमा जस्तो कृतज्ञ मनोभाव थियो, आज पनि त्यस्तै छ।b सन् १९४९ को शाखा कार्यालयको रिपोर्टमा मेक्सिकोका भाइबहिनीबारे यस्तो लेखिएको थियो: “सम्मेलन सकिसकेपछि पनि तिनीहरू लामो समयसम्म त्यसैबारे कुरा गरिरहन्थे। गाह्रो समयमा पनि तिनीहरू सम्मेलनबारे कुरा गरिरहने भएकोले तिनीहरू आध्यात्मिक रूपमा बलियो भइरहन सके। तिनीहरू अक्सर यस्तो प्रश्न सोधिरहन्थे, ‘अर्को सम्मेलन कहिले हुन्छ होला है?’” त्यतिबेला भाइबहिनीको सम्मेलनप्रतिको उत्साह जस्तो थियो, अहिले पनि त्यस्तै छ।–मध्य अमेरिकाको हाम्रो अभिलेखालयबाट।
a सन् १९४४ को वार्षिक पुस्तक-अनुसार (अङ्ग्रेजी) त्यस सम्मेलनले गर्दा “यहोवाका साक्षीहरू मेक्सिकोभरि चिरपरिचित भए।”
b सन् २०१६ को स्मरणार्थ उत्सवमा २२,६२,६४६ जना उपस्थित भए।