प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. २ pp. ८-९
  • भविष्यवाणी पूरा भएको प्रमाण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवाणी पूरा भएको प्रमाण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विनाश हुनै लागेको सहर
  • सहरको विनाश
  • शाही विजयोत्सव
  • अहिले टाइटसको स्मारक
  • तीतस—“तिमीहरूतर्फका सह-कर्मी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. २ pp. ८-९

भविष्यवाणी पूरा भएको प्रमाण

इटालीको मध्य रोममा एउटा स्मारक छ। यसले संसारभरिका पर्यटकहरूलाई आकर्षित गर्छ। रोमका लोकप्रिय सम्राट्‌ टाइटसको सम्मानमा यो स्मारक बनाइएको थियो।

यस स्मारकलाई आर्च ‘अफ टाइटस’ पनि भनिन्छ। यस स्मारकमा चिरपरिचित ऐतिहासिक घटनालाई चित्रण गर्ने दुइटा ठूला शिल्पकला छन्‌। रोमको यो स्मारक प्रसिद्ध भए पनि यसको र बाइबलको सम्बन्धबारे रोचक तथ्य धेरैलाई थाह छैन। यस स्मारकले बाइबलको भविष्यवाणी सही र भरपर्दो छ भनेर प्रमाण दिन्छ।

विनाश हुनै लागेको सहर

प्रथम शताब्दीमा रोमी साम्राज्य बेलायत र गलदेखि (अहिले फ्रान्स) इजिप्टसम्म फैलिएको थियो। यी सबै प्रान्तमा शान्ति र संवृद्धि छाएको थियो। तर रोमबाट टाढा पर्ने यहूदिया प्रान्त भने रोमीहरूको लागि टाउको दुखाइ बनेको थियो। किनभने यहूदामा शान्ति थिएन।

प्राचीन रोमसम्बन्धी एउटा विश्‍वकोश यसो भन्छ: “रोमको अधीनमा भएका कुनै-कुनै प्रान्तका मानिसहरूले रोमीहरूलाई असाध्यै घृणा गर्थे र रोमीहरूले पनि उनीहरूलाई मन पराउँदैनथे। यहूदिया पनि त्यस्तै थियो। यहूदीहरू तिनीहरूको रीतिथितिको केही वास्ता नगर्ने रोमीहरूदेखि आक्रोशित थिए र रोमीहरू पनि यहूदीहरूको जिद्दी स्वाभावले गर्दा तिनीहरूलाई देखिसहँदैनथे।” थुप्रै यहूदीले एक जना नेता आएर तिनीहरूलाई रोमीहरूको हातबाट छुटाउनेछन्‌ र इस्राएलको सुनौलो युग फर्काउनेछन्‌ भनी आस गरेका थिए। तर इस्वी संवत्‌ ३३ मा येशूले यरूशलेममाथि विनाश आइपर्नेछ भनी भविष्यवाणी गर्नुभयो।

येशूले यसो भन्‍नुभयो: “यस्तो बेला आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिर तीखा-तीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन्‌ र चारैतिरबाट तँलाई पेल्नेछन्‌। तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने केटाकेटीहरूलाई भुइँमा पछार्नेछन्‌ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गा छोड्‌नेछैनन्‌।”—लूका १९:४३, ४४.

येशूको यो कुरा चेलाहरूले बुझेनन्‌। दुई दिनपछि मन्दिरतिर देखाउँदै तिनीहरूमध्ये एक जनाले भने: “गुरुज्यू, हेर्नुहोस्‌ त! कस्ता-कस्ता ढुङ्‌गा अनि कस्ता-कस्ता भवनहरू!” हुन पनि मन्दिरका केही ढुङ्‌गाहरू ११ मिटर लामा, ५ मिटर चौडा र ३ मिटर अग्ला थिए! येशूले यस्तो जवाफ दिनुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढल्नेछन्‌।”—मर्कूस १३:१; लूका २१:६.

येशूले अझै यसो भन्‍नुभयो: “जब यरूशलेमलाई सैनिकहरूले घेरेको तिमीहरूले देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ। अनि यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्‌, सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र बाहिर हुनेहरू त्यसभित्र नपसून्‌।” (लूका २१:२०, २१) के येशूले भन्‍नुभएको कुरा पूरा भयो?

सहरको विनाश

तेत्तीस वर्ष बित्यो, यहूदिया अझै रोमको अधीनमा थियो। यहूदिया र रोमको सम्बन्ध सुध्रिएको थिएन। इस्वी संवत्‌ ६६ मा रोमी अफिसर गेसियस फ्लोरसले मन्दिरको पवित्र ढुकुटीबाट पैसा लुटे। रिसले चुर भएका यहूदीहरूलाई त्यसपछि के चाहियो र! यहूदी लडाकुहरू यरूशलेममा ओइरिए र त्यहाँ भएका रोमी सेनाको हत्या गरे। त्यसपछि तिनीहरूले यरूशलेम रोमबाट स्वतन्त्र भएको घोषणा गरे।

लगभग तीन महिनापछि सेस्टियस ग्यालसको नेतृत्वमा ३० हजार रोमी सिपाहीहरू विद्रोहीहरूलाई नाश गर्न यरूशलेमतर्फ अघि बढे। रोमीहरू तुरुन्तै सहरभित्र पसे र मन्दिरको बाहिरी पर्खाल भत्काउन थाले। तर पछि कारणैविना रोमी सेना फर्के। त्यसैले यहूदी विद्रोहीहरूले खुसी मनाए अनि रोमी सेनालाई खेद्‌न थाले। त्यसै बेला साँचो ख्रीष्टियनहरू येशूले दिनुभएको निर्देशन पालन गर्दै यर्दन नदीपारिका डाँडाहरूतिर भागे।—मत्ती २४:१५, १६.

त्यसको एक वर्षपछि सेनापति भेस्पासियन र तिनका छोरा टाइटसको नेतृत्वमा रोमी सेना यहूदियाविरुद्ध फेरि लड्‌न गए। इस्वी संवत्‌ ६८ मा सम्राट्‌ नेरोको मृत्यु भयो। त्यसैले यहूदीयामाथि आक्रमण गर्न भेस्पासियनले छोरा टाइटसको नेतृत्वमा ६० हजार रोमी सिपाही छोडे र सिंहासन सम्हाल्न तुरुन्तै रोम फर्के।

इस्वी संवत्‌ ७० को जुन महिनामा टाइटसले सिपाहीहरूलाई यहूदियाका गाउँहरूबाट रूख काट्‌न लगाए। तिनले यरूशलेम सहरको चारैतिर तीखातीखा काठहरूको सात किलोमिटर लामो बार लगाए। सेप्टेम्बरसम्ममा त रोमीहरूले यरूशलेम सहर र मन्दिरलाई लुटेर जलाइसकेका थिए। येशूले भविष्यवाणी गर्नुभएझैँ तिनीहरूले एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि यरूशलेम सहरको विनाश गरिसकेका थिए। (लूका १९:४३, ४४) एउटा सरदर अनुमानित तथ्याङ्‌कअनुसार “यरूशलेम सहर र देशको अरू भागमा ५ लाख देखि २५ लाख मानिस मारिए।”

येशूले यरूशलेमको विनाशबारे भविष्यवाणी गर्नुभएको वर्ष इस्वी संवत्‌ ३३ देखि टाइटसको मृत्यु भएको वर्ष इस्वी संवत्‌ ८१ सम्मको समयरेखा

शाही विजयोत्सव

इस्वी संवत्‌ ७१ मा टाइटस इटाली फर्के। रोमका नागरिकहरूले तिनको भव्य स्वागत गरे। सहरका सबै बासिन्दा विजय यात्रामा सहभागी हुँदै भव्य उत्सव मनाए। राजधानी रोममा मनाइएको सबैभन्दा भव्य विजयोत्सवमध्ये यो पनि पर्छ।

रोमी सेनाले लुटेका अकुत धनसम्पत्ति सडकमा प्रदर्शन गरियो। त्यो देखेर रोमीहरू दङ्‌ग परे। लुटेर ल्याइएका जहाजहरू, युद्धको झल्को आउनेगरि गरिएका नाटकीय प्रदर्शनी अनि यरूशलेमको मन्दिरबाट लुटिएका सरसामान हेरेर रोमीहरू रमाए।

इस्वी संवत्‌ ७९ मा भेस्पासियनपछि तिनका छोरा टाइटस रोमका सम्राट्‌ भए। तर दुई वर्षपछि टाइटसको अचानक मृत्यु भयो। त्यसपछि तिनका भाइ डोमिसियन सम्राट्‌ भए। सम्राट्‌ हुनेबित्तिकै तिनले टाइटसको सम्मानमा स्मारक बनाए।

अहिले टाइटसको स्मारक

टाइटसको स्मारक

अहिले रोममा टाइटसको स्मारक

हरेक वर्ष रोमको यस ऐतिहासिक ठाउँमा घुम्न आउने लाखौँ मानिसले टाइटसको स्मारकको खुलेर प्रशंसा गर्छन्‌। यस स्मारकलाई कतिले कलाको उत्कृष्ट नमुना मान्छन्‌, कतिले शाही रोमी शक्‍तिको सम्मानमा बनाइएको स्तम्भ भन्छन्‌। अरू कतिले चाहिँ यरूशलेम र त्यसको मन्दिरको विनाशको सम्झना गराउने शिल्पकला ठान्छन्‌।

होसियार भई बाइबल अध्ययन गर्नेहरूका लागि भने टाइटसको स्मारकले अझ विशेष अर्थ राख्छ। यस स्मारकले बाइबलका भविष्यवाणीहरू शतप्रतिशत सही र भरपर्दा छन्‌ भनेर प्रमाणित गर्छ। साथै ती भविष्यवाणीहरू परमेश्‍वरको प्रेरणा पाएर लेखिएका हुन्‌ भन्‍ने कुराको प्रमाण दिन्छ।—२ पत्रुस १:१९-२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने