यस सेवा सालमा हामी के पूरा गर्ने छौं?
१ जसै सेप्टेम्बर १ तारिखदेखि १९९४ सेवा साल सुरु हुन्छ, व्यक्तिगत र सङ्गठनात्मक रूपमा हामी यहोवाका मानिसहरूले यस नयाँ सेवा सालको दौडान के उपलब्ध गर्न चाहन्छौं, सो आफ्नो मनमा राम्ररी निर्धारित गर्नु उचित हुनेछ।
२ आध्यात्मिक उन्नति गरिरहनु होस्: हामीले सच्चाइलाई भर्खरै मात्र चिनेका हौं भने विश्वासमा बलियो हुन हामी इच्छुक हुनुपर्छ। (हिब्रू ६:१-३) हामी आध्यात्मिक तवरमा बलिया भइसकेका छौं भने चाहिं हामीले नयाँहरूलाई मदत दिनु बाहेक आफ्नै आध्यात्मिकतालाई पनि ध्यान दिनु पर्छ। मसीही जीवनका लागि बाइबलको सबै आवश्यक ज्ञान र अनुभव हामीसित छँदैछ भनी कहिले ठान्नु हुँदैन। के हामी दैनिक पद पढ्ने गर्छौं, ईश्वरतान्त्रिक पाठशालाको कार्यक्रमअनुसार नियमित रूपमा बाइबल पढ्छौं, मण्डली पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययनका लागि के हामी तयारी गर्छौं? कमसे कम यति गर्ने त हामी सबैको लक्ष्य हुनुपर्छ। यो दुष्ट रीतिरिवाजको नाश हुँदा हामी बाँचेर परमेश्वरको नयाँ संसारमा प्रवेश गर्न चाहन्छौं भने हामीले आध्यात्मिक उन्नति गरी नै रहनु पर्छ।—फिलि० ३:१२-१६ सङ्ग तुलना गर्नुहोस्.
३ आध्यात्मिक शुद्धता कायम राख्नु होस्: यहोवाको सामुन्ने सम्पूर्ण रूपमा ग्रहणयोग्य हुनका लागि हामी “शरीर र आत्माका सबै किसिमको अशुद्धपनाहरूबाट” सफा हुनुपर्छ। (२ कोरि० ७:१) र हामी एकपटक सफा भइसकेपछि, यो पुरानो दुष्ट संसारको ‘हिलोमा लडीबडी’ फेरि किन खेल्ने? (२ पत्रुस २:२२ सङ्ग तुलना गर्नुहोस्) आध्यात्मिक तवरमा बलियो र शुद्ध भएर बस्ने दृढ फैसला हामीले गर्नु पर्छ। अनि हामी शैतानको दुष्ट र खराब चालहरूबारे अन्जान हुनेछैनौं। हामी तिनको शिकार हुनेछैनौं। हामी पापमा फसेर यहोवाको अनुग्रहबाट टाढा हटने छैनौं।—२ कोरि० २:११.
४ बुद्धिमतापूर्ण सल्लाह मान्नु होस्: हितोपदेश १५:२२-मा स्पष्टसित भनिएको छ कि ‘परामर्श बिनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।’ तथापि यो कुरा लेख्ने मानिस सुलेमान स्वयंले पछि गएर परमेश्वरको परामर्श मानेनन्। उनले विदेशी पत्नीहरू राखे र तिनीहरूले उनको हृदयलाई अन्य देवताहरू तर्फ ढल्काइ दिए। (१ राजा ११:१-४) यसकारण हामीले पनि व्यक्तिगत रूपमा बुद्धिमतापूर्ण सल्लाह मान्ने गरेनौं भने हामी यहोवाको सेवामा प्रभावशाली अथवा एउटा अनुकरणीय उदाहरण हुन सक्तैनौं। (१ तिमो० ४:१५) बाइबलमा पाइने सल्लाहले हाम्रो हृदयलाई सुरक्षित राख्ने मदत दिनेछ। (हितो० ४:२३) यहोवाले प्रेम गर्नु हुने कुरालाई प्रेम गर्नु, उहाँले घृणा गर्नु हुने कुराको घृणा गर्नु, सधैं उहाँको निर्देशनको खोजी गर्नु र उहाँलाई प्रसन्न तुल्याउने कामहरू नै गरिरहनु हाम्रो निम्ति पक्का बचाव हो।—हितो० ८:१३; यूहन्ना ८:२९; हिब्रू १:९.
५ हामीले यहोवाको उपासना कुनै रीति पुऱ्याउन मात्र गरेका होइनौं। संसारका मसीही भनौदाहरूको जस्तै यो कुनै भक्तिको भेष मात्र होइन। परमेश्वरको वचनको सच्चाइमा आधारित हाम्रो उपासना शक्तिशाली, सक्रिय र जीवित छ।—यूहन्ना ४:२३, २४.
६ परमेश्वरको इच्छा गर्ने हाम्रो संकल्पको दिनदिनै जाँच हुन सक्छ। तर “यस संसारमा भएका [हाम्रा] दाज्यूभाइहरूले पनि” यस्तै प्रकारका जाँचहरूको सामना गरिरहेका छन् र हामीलाई यहोवाले बलियो बनाउनु हुनेछ, सो सम्झेर हामी प्रोत्साहित हुनुपर्छ। (१ पत्रुस ५:९, १०) यसप्रकार हामीले आउँदो १९९४ सेवासालमा आफ्नो सेवकाई सम्पूर्णतया पूरा गर्न सक्ने छौं।—२ तिमो० ४:५.