के तपाईं शास्त्रबाट तर्क गर्नुहुन्छ?
१ लडाइँमा जाने अनुभवी सिपाहीसित उसको सुरक्षाका लागि पूरा हातहतियार हुन्छ। एक जना सिपालु कारिगरले कुनै ठूलो निर्माण कार्यका लागि तयारी गर्दा सबै आवश्यक यन्त्रहरू साथमा लिन्छ। क्षेत्र-सेवकाईमा भाग लिने यहोवाको सेवकको हातमा पनि आफ्नो “तरवार” हुन्छ र मौका पाउनासाथै उनले त्यसलाई निपुणता साथ प्रयोग गर्छन्। (एफि० ६:१७) के तपाईं पनि व्यक्तिगत रूपमा यसो गर्नु हुन्छ? सेवकाईमा भाग लिनु हुँदा तपाईंका श्रोतागणको हृदयलाई पवित्र आत्माले छुन सकोस् भनेर के तपाईं परमेश्वरको वचनलाई नै बोल्न दिनु हुन्छ?—हितो० ८:१, ६.
२ प्रचार कार्यमा भाग लिनु सधैं सजिलो हुँदैन। कुनै कुनै ठाउँहरूमा धेरै जसो मानिसहरू घरमा हुँदैनन् र घरमा छन् भने पनि तिनीहरू अक्सर व्यस्त हुन्छन्। यसले गर्दा बाइबलबाट राम्ररी छलफल गर्ने मौका पाउनु गाह्रो हुन्छ। तथापि, बाइबल हाम्रो मुख्य पाठ्य-पुस्तक हो। अतः यसमा भएको प्रेरित खबरको प्रभाव हाम्रा स्रोतागणमाथि परोस् भनेर हामीले सेवकाईमा यसको अझ बढी प्रयोग कसरी गर्न सक्छौं?
३ मौका पाउनासाथै: घरधनीमा चासो जगाउन हामी हरेक ढोकामा बाइबलको प्रयोग गर्न चाहन्छौं। जुन सुकै प्रकाशन प्रस्तुत गर्दा पनि बाइबल प्रयोग गर्न हामी तयार हुनु पर्छ। घरधनी व्यस्त भएको हुनाकारण बाइबल खोलेर एक-दुई पद पढ्ने समय पुग्दैन भने, के तपाईंले प्रकाशन प्रस्तुत गर्नुअघि शास्त्रको कुनै पद सुनाउन अथवा त्यसलाई आफ्नै शब्दमा भन्न सक्नुहुन्छ कि? ती व्यक्तिमा सुन्ने उत्सुकता जगाउन यति नै यथेष्ट हुन सक्छ।—हिब्रू ४:१२.
४ उदाहरणका लागि, “रोगरहित संसार” भन्ने लेख भएको दिसम्बर ८, १९९३-को अवेक! तपाईं प्रस्तुत गर्नु हुँदैछ भने बाहिरपट्टिको नक्सालाई सङ्केत गरी सक्नु भएपछि यो प्रश्न उठाउनु होस्: “कुनै दिन रोगको अन्त हुनेछ र सबै जनाले सु-स्वास्थ्यको आनन्द उठाउने छन् भनी के तपाईं विश्वास गर्नुहुन्छ?” प्रत्युत्तर जे भए तापनि, तपाईंले सोझै बाइबलबाट यशैया ३३:२४ अथवा प्रकाश २१:४ जस्ता पदहरू पढेर सुनाउन वा तिनमा भएका कुराहरूलाई आफ्नै शब्दमा भन्न सक्नुहुन्छ। यसप्रकार तपाईंले परमेश्वरको वचनलाई बोल्ने मौका दिनु हुन्छ।
५ पुनःभेटहरूमा: पुनःभेटहरू गर्न जानु अघि हामीले तयारी गर्नु पर्छ। तथापि, हामीले तयारी नगरी आएका विषयहरू उठ्न सक्छन्। यस्तो बेलामा रिजनिङ्ग फ्रम द स्क्रिपचर्स खूबै काम लाग्दो हतियार साबित हुन सक्छ। रिजनिङ्ग पुस्तकबाटै हामीले आवश्यक शास्त्रपदहरू पढ्दा अथवा उद्धरण गर्दा मानिसहरूले देख्नेछन् कि हामी वचनको व्यापार गर्नेहरू होइनौं तर परमेश्वरका सेवकहरू हौं।—२ कोरि० २:१७.
६ कुनै खास विषय छलफल नभएको ठाउँमा पुनःभेट गर्न जानु हुँदा सायद तपाईंले रिजनिङ्ग पुस्तक खोलेर “येशू ख्रीष्ट”, “अन्तिम दिनहरू,” अथवा “पुनरुत्थान” जस्तो विषय अन्तर्गत दिएको कुनै उपशीर्षक प्रयोग गर्दै छलफल सुरु गर्न सक्नुहुन्छ। कुनै कुनै शास्त्रपद घरधनीलाई उनको आफ्नै बाइबलबाट पनि पढ्न लाउन सकिन्छ। यसप्रकार उनका लागि पनि बाइबल रुचिकर र अर्थपूर्ण हुन जान्छ र उनी धार्मिक मनोवृत्तिका छन् भने उनका निम्ति पनि यहोवाको पवित्र आत्मा उपलब्ध हुनेछ।
७ सुसमाचार प्रचार गर्ने र दुष्टहरूलाई चेताउनी दिने हाम्रो जिम्मेवारी एउटा गम्भीर जिम्मेवारी हो। यो समाचार यहोवाको हो, हाम्रो होइन। यसकारण तपाईंलाई मदत दिन उहाँको वचन अर्थात् आत्माको तरवारलाई नै मौका दिनु होस्।