“सबै जातिहरूमध्ये घृणित”
१ हालका वर्षहरूमा संसारभरि यहोवाका जनहरूले अनुभव गर्दै आएका अद्भुत आशिषहरूको रिपोर्ट सुनेर हामी सबै जना हर्षले गद्गद् भयौं। मलावीमा २६ वर्षसम्मको क्रूर दमनपछि हाम्रो कामले कानुनी स्वीकृति पाउँदा खुशीको आँसु बगायौं। पूर्वीय युरोपमा ईश्वरहीन साम्यवादको ह्रासपछि हाम्रा हजारन भाइहरू साम्यवादको क्रूर जुवाबाट मुक्त भएको देख्न पाउँदा हामीले चैनको लामो सास फेऱ्यौं। ग्रीसमा हाम्रो उपासनासम्बन्धी स्वतन्त्रतालाई चुनौति दिंदा हामी चिन्ताग्रस्त भएर पर्ख्यौं; तर स्ट्रासवर्ग, फ्रान्स स्थित युरोपको मानव अधिकार सम्बन्धी अदालतबाट महा विजय पाउँदा हामी हर्षले विह्वल भयौं। सोसाइटीका शाखा कार्यालयहरूको चौतर्फी विकासको खबर सुन्दा हामी आनन्दित भएका छौं। उक्त विस्तारले गर्दा सत्यको खोजी गर्नेहरूका लागि भारी मात्रामा साहित्यहरूको प्रकाशन सम्भव भएको छ। युक्रेन, कीभमा ७,४०० जनाले बप्तिस्मा लिएको सुन्न पाउँदा हामी दङ्ग पऱ्यौं। हो, राज्यसम्बन्धी यी प्रभावकारी उन्नतिहरूले हामीलाई आनन्दको नयाँ शिखरहरूमा पुऱ्याएको छ!
२ तर आनन्दित हुने हामीसित धेरै कारणहरू भए तापनि हामी फुरूक्क चाहिं हुनु भएन। एकपछि एक सबै राम्रै खबरहरू सुन्दा अब सुसमाचारप्रति विरोध कम हुँदैछ अथवा संसारभरि यहोवाका जनहरूले स्वीकृति पाउँदै छन् भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं। यसप्रकारको सोचाइ भ्रमात्मक हुन सक्छ। हो, कुनै कुनै देशहरूमा हामीले केही सन्तोषप्रद विजयहरू हासिल गरेका छौं र राज्यसम्बन्धी बाधाहरूलाई कम गर्नमा केही हद्सम्म सफल पनि भएका छौं। तापनि संसार र हामीबीचको मौलिक सम्बन्धमा खास फरक आएको छैन। हामी येशूका अनुयायीहरू “संसारका होइनौं।” यसले गर्दा हामी निश्चय पनि “सबै जातिमध्ये घृणित हुनेछौं।” (यूहन्ना १५:१९; मत्ती २४:९) यो रीतिरिवाज रहुञ्जेलसम्म “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू सबै जना खेदोमा पर्नेछन्” भन्ने मौलिक नियममा कुनै परिवर्तन आउने छैन।—२ तिमोथी ३:१२
३ यस चेताउनीको सत्यतालाई इतिहासका पानाहरूले पुष्टि दिन्छ। मसीही धर्मका प्रवर्त्तक, येशूले शक्तिशाली शासकहरू र तिनका प्रजाहरूका सामु जोडदार साक्षी दिनु भए तापनि उहाँले रोज दुर्व्यवहार सहनु पऱ्यो र हर बखत मारिने खतराको सामना गर्नु भयो। उहाँका प्रेरितहरूले पनि धेरैलाई चेलाहरू बन्ने मदत दिंदै, मसीही युनानी शास्त्र लेख्नमा सहयोग पुऱ्याउँदै, आत्माका अद्भुत वरदानहरू प्रदर्शित गरे तापनि घृणा र दुर्व्यवहार सहनु पऱ्यो। आफ्नो राम्रो चालचलन र छिमेकीलाई देखाएको प्रेमको बावजूद ती मसीहीहरू धेरैको नजरमा एउटा तुच्छ “पन्थ” थिए ‘जसको विरोध जताततै गरिन्थ्यो।’ (प्रेरित २८:२२) यहोवाले विश्वव्यापी मसीही मण्डलीलाई उहाँको इच्छा पूरा गर्नका लागि प्रयोग गर्नु भए तापनि त्यसको विरोध र बदनाम यस दुष्ट रीतिरिवाजको प्रत्येक अङ्गले गर्दै आएको छ। यस विरोधको अन्त हुनेछ भनी आशा राख्ने कुनै कारण छैन।
४ प्रथम शताब्दीमा येशूका चेलाहरूलाई शैतानले अनेक ढङ्गबाट सतायो। घृणास्पद विरोधीहरूले ती चेलाहरूबारे हाकाहाकी झुट्टा कुराहरू बोले। (प्रेरित १४:२) तिनीहरूलाई डरले थरथर पार्न अनेक हिंसात्मक धम्कीहरू दिइयो। (प्रेरित ४:१७, १८) क्रोधित भीडहरूले तिनीहरूको मुख बन्द गर्ने प्रयास गरे। (प्रेरित १९:२९-३४) कुनै ठोस कारणै बिना तिनीहरूलाई झ्यालखानमा हालियो। (प्रेरित १२:४, ५) सताउनेहरूले अक्सर शारीरिक बल समेत प्रयोग गरे। (प्रेरित १४:१९) कहिलेकाहीं त निर्दोषहरूको जानाजानी हत्या गरियो। (प्रेरित ७:५४-६०) यसप्रकारको दुर्व्यवहारको शिकार प्रेरित पावल स्वयं पनि हुन पुगे। (२ कोरि० ११:२३-२७) मौका पाउनासाथै विरोधीहरूले प्रचार कार्यमा बाधा पुऱ्याउँथे र ती विश्वासी कार्यकर्ताहरूलाई दुःख दिन्थे।
५ आज पनि शैतान त्यस्तै प्रकारका चालहरू चलिरहेछ। हामीबारे सरासर झूट कुराहरू गरिएको छ। हामीलाई पथभ्रष्ट पन्थ वा सम्प्रदाय भन्दै हामीबारे गलत धारणा फैलाइन्छ। कुनै कुनै देशहरूमा हाम्रो साहित्यलाई विध्वंसवादी घोषित गर्दै तीमाथि सरकारी प्रतिबन्ध समेत लगाइएको छ। रगतको पवित्रताबारे हाम्रो अडानलाई खुल्ला तरिकाले खिस्सी गर्दै चुनौति समेत दिइयो। सन् १९४०-को दशकमा झण्डा सलामीको कुरालाई लिएर क्रोधित हूलहरूले हाम्रा भाइहरूमाथि हमला गरे, चोट-पटक लगाए, र तिनीहरूको सम्पत्तिको नोक्सान गरी दिए। हाम्रो तटस्थ अडानको कारण हजारौंलाई झ्यालखानमा थुनी दिएको छ। सर्वसत्तावादी देशहरूमा राजविद्रोहको झुट्टा आरोप हाम्रा भाइहरूमाथि लगाइएको छ। फलःस्वरूप सयकडौंलाई झ्यालखानहरू र निरोधन शिविरहरूमा निर्दयतापूर्वक यातना दिइयो र हत्या गरियो। हो, दबाव कम भएको छैन र हुँदैन पनि। हामीलाई कुनै खास कारणै बिना घृणाको पात्र बनाएका छन्।—जेहोवास विटनेसेस्—प्रोक्लेमर्स अफ गड्स किङ्गडम पुस्तक, अध्याय २९ हेर्नुहोस्।
६ भविष्यका लागि हामी के आशा गर्न सक्छौं: संसारका कुनै कुनै भागमा यहोवाका जनहरू कहिलेकाहीं दबावहरूबाट मुक्त हुन सके तापनि स्थितिमा कुनै खास परिवर्तन चाहिं भएको छैन। दियाबलले १९१४-देखिको आफ्नो पतनबारे क्रोधित हुन छाडेको छैन। आफ्नो अल्प समय छ भनी उसलाई थाह छ। जसै महा सङ्कष्टको समय नजिक आउँछ, उसको क्रोध निश्चय पनि झन भड्किदैं जानेछ। शासनारूढ राजा येशू ख्रीष्टको विरोध गर्ने प्रण उसले गरेको छ र ऊ आखिरी दमसम्मै युद्ध लड्नेछ। यस पृथ्वीमा विश्वासपूर्वक “परमेश्वरको आज्ञा पालन गर्ने र येशूको साक्षी दिने” यहोवाका जनहरू माथि मात्र उसले र उसका प्रेतहरूले आफ्नो रिस पोखाउन सक्छन्।—प्रकाश १२:१२, १७.
७ अतः भविष्यतर्फ हेर्दा हामीलाई यथार्थवादी हुनु आवश्यक छ। दियाबलले हार खानेछ अथवा त्यो पछि हट्ने छ भनी सोच्ने कुनै खण्ड नै छैन। त्यसले संसारमा हामीप्रति जुनप्रकारको घृणा फैलाएको छ त्यो कुनै पनि समय र कुनै पनि ठाउँमा भड्किन सक्छ। धेरै देशहरूमा लामो सङ्घर्षपछि मात्र हामीले प्रचारगर्ने अधिकार पायौं। तर यो अधिकार हालको कुनै करुणामय शासक वा अलोकप्रिय कानुनी व्यवस्थाले गर्दा मात्र टिकेको हुन सक्छ। अतः यो अधिकार अचानक लोप पनि हुन सक्छ। अचानक ठूलो उथल-पुथल मच्चिएर मानव अधिकारलाई तहसनहस पार्न सक्छ।
८ केही देशहरूमा हामीले अनुभव गरिरहेको सफलता र स्वतन्त्रता अचानक समाप्त हुन सक्छ र हाम्रा भाइहरू फेरि बितेका दुर्व्यवहारहरूको शिकार हुन सक्छन्। हाम्रा विरोधीहरूले अब हार खाए भन्दै हामी ढुक्क मान्नु हुँदैन। संसारले हामीप्रति घृणा सधैं खुल्लमखुल्ला व्यक्त नगरे तापनि त्यो घृणा कम भएको चाहिं छैन। जसै अन्त नजिक आउँदै जान्छ संसारबाट हुने विरोध घट्नुको सट्टा झन् झन् बढ्दै जानेछ भनी परमेश्वरको वचनले सधैं नै देखाउँछ। अतः हामी “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” भएर जागा रहनु पर्छ। (मत्ती १०:१६) अन्तसम्मै हामीले “उत्कटसाथ कम्मर कस्नु” पर्नेछ र हाम्रो बचावको कुञ्जी धैर्य हो।—यहूदा ३; मत्ती २४:१३.
९ संसारको जुन भागमा हामी बसेका छौं त्यहाँ विरोधीहरूबाट कुनै खास विरोध बिना नै प्रचार-कार्यमा प्रगति भइ रहेको हुन सक्छ। जसले गर्दा सम्भवतः हामी कुनै खास खतराको कारण महसुस गर्दैनौं होला। तापनि सतर्क रहनु चाहिं आवश्यक छ। परिस्थिति एकै क्षणमा बद्लिन सक्छ। कुनै एउटा कुरालाई निहुँ बनाएर विरोधीहरू हाम्रो विरुद्धमा एक्कासी खडा हुन सक्छन्। मौका छोप्न धर्मत्यागीहरू पनि पर्खिरहेका छन्। हाम्रो कामलाई खतरनाक चुनौती ठान्ने क्रोधित पादरीहरूले हाम्रो खुलेआम निन्दा गर्न सक्छन्। राज्य सभा-गृह बनाउने हाम्रो योजना विवादको एउटा छेस्को बनेर छिमेकभरि उथलपुथलको आगो सल्काउन सक्छ। भडकाउने किसिमका वक्तव्यहरू अखबारमा छापिन सक्छन् र यसले गर्दा मानिसहरू बीच हामी बदनाम हुन सक्छौं। स्थानीय प्रमुख व्यक्तिहरूले जानाजानी हाम्रो बारेमा गलत कुराहरू फैलाउन सक्छन् र यसको परिणामस्वरूप मानिसहरूले हाम्रो प्रचारकार्यको विरोध गर्न सक्छन्। आफ्नै घरका प्रियजनहरू पनि हामीसित रिसाएर हामीलाई सताउन सक्छन्। अतः हामीप्रति संसारको दुश्मनी कायम नै छ र त्यो कुनै पनि बेला भड्किन सक्छ भनी बुझेर जागा बस्नु आवश्यक छ।
१० हामीमाथि यसले कस्तो प्रभाव पार्नु पर्छ? यी सबै कुराहरूले भविष्यका लागि हाम्रो सोचाइ र दृष्टिकोणमाथि अवश्य प्रभाव पार्नु पर्छ। तर कसरी? यसले हामीमा भविष्यबारे अनिश्चियको भाव उत्पन्न गर्नु पर्ने हो कि? अथवा हामीले सहनु पर्ने कुराहरू सम्झेर हामी भयभीत हुनु पर्ने हो कि? हामी बस्ने ठाउँका केही मानिसहरूले हाम्रो प्रचार-कार्य मन पराउँदैनन् भन्दैमा हामीले पनि आफ्नो काममा ढिलासुस्ती गर्ने हो कि? हामीलाई कुनै कारणै बिना बदनाम गर्दा हामी मनै मन अशान्त हुनु पर्ने हो कि? अरूहरूको दुर्व्यवहारले यहोवाको सेवाद्वारा पाइने हाम्रो आनन्दलाई खतम पार्नु पर्ने हो कि? यी सबै कुराको परिणामबारे हामी अलिकता अनिश्चित हुने हो कि? कदापि होइन! किन?
११ किनभने हामीले प्रचार गर्ने समाचार हाम्रो होइन, यहोवाको हो। (यर्मिया १:९) “उहाँको नाउँको पुकारा गर। सारा पृथ्वीमा . . . उहाँले महिमित कामहरू गर्नुभएको छ भनी प्रचार होस्” भन्ने आग्रह हामीले पालन गर्नै पर्छ। (यशैया १२:४, ५) उहाँका जनहरूसँग गरिएको दुर्व्यवहार सहने उहाँको एउटा खास कारण छ अर्थात् ‘सारा संसारमा उहाँ आफ्नो नाउँ घोषित गर्न’ चाहनु हुन्छ। (प्रस्थान ९:१६) यहोवाले हुकुम गर्नु भएको काम हामी गरिरहेका छौं र निडरताका साथ बोल्ने साहस हामीलाई उहाँले नै दिनुहुन्छ। (प्रेरित ४:२९-३१) यस पुरानो रीतिरिवाजका अन्तिम दिनहरूमा गरिनु पर्ने सबैभन्दा महत्त्वपूर्ण, लाभप्रद, र अत्यावश्यक काम यही नै हो।
१२ शैतान र यस संसारको खुलेआम विरोध गर्ने साहस हामीले यसै ज्ञानबाट पाउँछौं। (१ पत्रुस ५:८, ९) यहोवा हामीसित हुनुहुन्छ भनेर थाह पाउँदा हामी “बलियो र साहसी” हुन्छौं। हामीलाई सताउनेहरूको सामु डराउने कुनै कारण नै रहँदैन। (व्यवस्था ३१:६; हिब्रू १३:६) विरोधीहरूले हामीलाई धम्काउदा हामी सधैं नै चतुर, मिलनसार र विवेकशील हुने प्रयास गर्नेछौं। तर हाम्रो उपासनालाई कसैले चुनौति दिंदा चाहिं हामीले अवश्य पनि “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा” मान्ने दृढ संकल्प गरेका छौं भनेर स्पष्ट पारिदिनु पर्छ। (प्रेरित ५:२९) आफ्नो बचावका लागि बोल्ने कुनै पनि उपयुक्त अवसर पाएमा हामी सो गर्नेछौं। (१ पत्रुस ३:१५) तथापि हामीलाई जसरी भएपनि खराब साबित गर्न चाहने कट्टर विरोधीहरूसित बहस गर्नमा चाहिं हामी आफ्नो समय खेर फाल्न चाँहदैनौं। तिनीहरूले हाम्रो बदनाम गर्दा वा हामीमाथि झुट्टा आरोप लगाउँदा हामी जङ्गिनु अथवा बदला लिने कोशिश गर्नुको सट्टा तिनीहरूलाई “त्यसै जान दिन्छौं।”—मत्ती १५:१४.
१३ परीक्षाहरूको सामने हामीले धीरज धारण गर्दा यहोवा प्रसन्न हुनुहुन्छ। (१ पत्रुस २:१९) अतः उहाँलाई प्रसन्न पार्नका लागि हामीले के गर्नु पर्छ? घृणा र विरोधको पात्र भएर हामीले कुनै आनन्द बिना यहोवाको सेवा गर्नु पर्ने हो कि? पटक्कै होइन! हाम्रो आज्ञाकारिताको इनाम “रमाहट र शान्ति” हुनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (रोमी १५:१३) येशूले अत्यन्तै दुःख पाउँदा पनि उहाँको “सामने राखिदिएको आनन्द”-को कारण उहाँ आनन्दित नै रहनु भयो। (हिब्रू १२:२) यही कुरा हामीमा पनि लागू हुन्छ। हाम्रो धीरजको इनाम यति ठूलो छ कि कति नै दुःखदायी परीक्षाहरूको सामने पनि हामी “रमाउन र खुशी हुन” उत्प्रेरित हुन्छौं। (मत्ती ५:११, १२) यही आनन्द दुःखकष्टको समयमा पनि यहोवाको राज्यलाई समर्थन गर्दै उहाँको प्रशंसा र जयजयकार गर्ने एउटा कारण बन्छ।
१४ अन्तिम परिणामबारे के कुनै अनिश्चितता छ? हामी सशंकित वा सन्दिग्ध हुने के कुनै कारण छ? छैन। यहोवाको सङ्गठन र शैतानबीचको द्वन्दको परिणाम धेरै अघि नै निश्चित भइ सकेको छ। (१ यूहन्ना २:१५-१७) जति नै घोर अथवा ठूलो विरोध आइ परे तापनि यहोवाले हामीलाई विजयी बनाउनु हुनेछ। (यशैया ५४:१७; रोमी ८:३१, ३७) हामीले हुन सम्मको परीक्षा सामना गर्नु परे तापनि इनाम पाउनबाट हामीलाई कुनै कुराले रोक्न सक्तैन। हाम्रो अन्तर-बिन्ती सुन्नु भएर यहोवाले हामीलाई शान्ति प्रदान गर्नु भएको छ। “केही कुरामा चिन्तित हुने” हाम्रो कारण नै छैन।—फिलिप्पी ४:६, ७.
१५ पहिले प्रचार गर्न नपाइने ठाउँमा अब हाम्रा भाइहरूले प्रचार गर्ने स्वतन्त्रता पाएको अथवा सतावटबाट मुक्त भएको खबरहरू सुन्न पाउँदा हामी यहोवालाई धन्यवाद चढाउँछौं। परिस्थितिहरू बदलिएर असल हृदय भएका हजारौं मानिसहरूले राज्यको समाचार सुन्ने मौका पाउँदा हामी रमाउँछौं। हामीलाई घृणा गर्ने विरोधीहरूसितको हाम्रो सङ्घर्षमा यहोवाले हामीलाई विजयी तुल्याउनु हुँदा हामी कृतज्ञ हुन्छौं। उहाँको साँचो उपासनाको घरलाई महिमित पार्न र सबै जातिका “वाञ्छनीय” (न्यु० व०) तत्वहरूलाई भित्र्याउने हाम्रो कामलाई उहाँले हर आवश्यक ढङ्गमा आशिष दिनु हुनेछ।—हाग्गै २:७; यशैया २:२-४.
१६ साथै हामीलाई यो पनि राम्ररी थाह छ कि हाम्रो शत्रु, शैतान धेरै नै शक्तिशाली छ। त्यसले अन्तसम्मै जोडसित हाम्रो विरोध गर्नेछ। त्यसले हाम्रो विरुद्धमा खुल्लमखुल्ला अथवा धूर्त चाल चल्न सक्छ। बितेका समयहरूमा सधैं शान्ति अनुभव गरिएका ठाउँहरूमा अचानक सतावट शुरु हुन सक्छ। हामीलाई कुनै ठोस कारण बिना दबाउन खोज्ने दुष्ट विरोधीहरूले क्रूर र जबरजस्त प्रयास गर्लान्। तर यस्ताहरूले समयमा थाहा पाउँनेछन् कि तिनीहरू खासमा ‘परमेश्वरकै विरुद्धमा’ झगडा गरिरहेका छन् र उहाँले तिनीहरूको सत्यानाश गर्नु हुनेछ। (प्रेरित ५:३८, ३९; २ थिस्स० १:६-९) तर अहिले चाहिं हामीले जस्तो सुकै कुरा सहनु परे तापनि यहोवाको सेवामा वफादारीका साथ अडिग रहने र राज्यको समाचार प्रचार गर्ने दृढ संकल्प गरौं। ‘जाँच भइसकेपछि हामीले जीवनको मुकुट पाउनेछौं’ भन्ने कुरा जानेको हुनाले आज हामी यस पृथ्वीका सबैभन्दा आनन्दित मानिसहरू हौं।—याकूब १:१२.