घरधनीलाई चाहिने किसिमको साहित्य प्रस्तुत गर्नुहोस्
१ हामी यस महिनामा सकेसम्म यङ्ग पिपल आस्क पुस्तक प्रस्तुत गर्नेछौं। तथापि उपयुक्त देखिएमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक पनि चलाउन सकिन्छ। तर यङ्ग पिपल आस्क उपलब्ध नभएको भाषा मात्र घरधनीलाई आउँछ भने चाहिं १९२ पाना भएको सानो पुस्तक प्रस्तुत गर्न सकिन्छ। यङ्ग पिपल आस्क पुस्तक प्रायः सबैलाई दिन सकिन्छ। यसलाई नातिनातिनी भएका मानिसहरू र किशोरावस्था पुगेका छोराछोरी हुने आमा-बाबुहरूसित छाड्न सकिन्छ। तर यो पुस्तक जवान मानिसहरूलाई पनि दिन मिल्छ किनभने आज जवान मानिसहरूलाई पीडित पार्ने समस्याहरूबारे तिनीहरू स्वयं चिन्तित छन्।
२ सायद यस्तै केही भन्न उपयुक्त हुन सक्छ:
▪“समस्याग्रसित आजको समय सालमा हुर्कनु सजिलो छैन। युवायुवतीहरूले गहकिला फैसलाहरू गर्नु पर्ने थुप्रै नयाँ परिस्थितिहरूको सामना गर्छन्। ‘मद्यपान गर्ने कि नगर्ने? लागू पदार्थ नि? केटाले केटीसित र केटीले केटासित कस्तो व्यवहार गर्नु उचित हो?’ जवान मानिसहरूले यी आधारभूत प्रश्नहरू सोध्दा विरोधाभासपूर्ण तीन थुप्रो जवाफहरूको रास तिनीहरू सामु ओइराइन्छ। यस्तो हुँदा, सरसल्लाहका लागि थुप्रै युवायुवतीहरू कहाँ जान्छन् त? [टिप्पणी गर्ने मौका दिनुहोस्।] क्वेस्चन्स यङ्ग पिपल आस्क—आन्सर्स द्याट वर्क भन्ने यस पुस्तकमा निकै नै मदत पुऱ्याउने किसिमको जानकारी उपलब्ध छ। [विषय सूचि तर्फ ध्यान आकृष्ट गर्नु होस् र विषयहरूको विविधता देखाउनु होस्।] जवान मानिसहरूलाई सोझो र यथार्थ किसिमका जवाफहरू चाहिएको छ र यस पुस्तकमा भएका जवाफहरूलाई बाइबलमा उल्लिखित कुराहरूले पुष्टि दिन्छ।”
३ तपाईंले प्रयोग गर्न सक्नु हुने एउटा अर्को प्रस्तुतीकरण यसप्रकार छ:
▪“आज जवान मानिसहरूमाथि नाना प्रकारका दबावहरू आइ पर्छन्। यी दबावहरूको सफलतापूर्वक सामना गर्नका लागि तिनीहरूलाई मदत चाहिन्छ। र तिनीहरूलाई मदत दिन खोज्दा हामी पनि कुनै व्यावहारिक निर्देशन दिने स्रोत कै खोजीमा हुन्छौं, होइन र? [टिप्पणीका लागि मौका दिनुहोस्।] उदाहरणका लागि, थुप्रै जवान मानिसहरूमाथि सबैभन्दा कडा दबाव त तिनीहरूकै सङ्गीहरू तथा अन्य जवान मानिसहरूबाटै आउँछ। अब यस पुस्तकका ७६ र ७७ पानाहरूमा दिइएका चित्रहरूलाई हेर्नुहोस्। [यी चित्रहरूमनि पाइने उपशीर्षकहरू र पाना ७७-मा छर्के अक्षरमा लेखिएको अनुच्छेदतिर ध्यान आकर्षित गराउनु होस्।] यस अध्यायको बाँकी पानाहरूमा इमान्दार र व्यावहारिक जवाफ पाउनु हुनेछ।”
४ यी समयसालहरू वास्तवमा “कठिन समयहरू” हुन्, खासगरी जवान मानिसहरूका लागि। (२ तिमो. ३:१) यङ्ग पिपल आस्क पुस्तकले साँच्चै नै कुनै पनि जवान मानिसलाई आजका चुनौतीहरूको सफलतापूर्वक सामना गर्ने मदत दिन सक्छ। यसका ३९ अध्यायहरूभरि मनमोहक चित्रहरू छन् र लेखहरू पनि यथार्थ र व्यावहारिक छन्। अतः मौका पाउनासाथै यो सुन्दर प्रकाशनको प्रयोग गर्न नबिर्सनु होस्।
५ तर हाम्रो समाचारको आध्यात्मिक पक्षमा चासो राख्ने अथवा बाइबलसम्बन्धी केही मात्रामा ज्ञान भएको घरधनीसित पनि तपाईंको भेट हुन सक्छ। यस्तो बेलामा चाहिं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउने मौका छोपी हाल्नु होस्। बाइबलका मौलिक धर्म-शिक्षाहरूको व्याख्या गर्ने शास्त्र-पदहरूले यो पुस्तक कसरी भरिभराउ छ, सो घरधनीलाई देखाउनु होस्। साथै, उनीसित यस पुस्तकलाई नियमित तवरमा अध्ययन गर्ने प्रस्ताव त्यति खेरै राख्नु होस्। आफ्नो प्रस्तुतिको सिलसिलामा यूहन्ना १७:३ पढ्नु होस् र मुक्तिका लागि चाहिने सही ज्ञान लिने मदत यस पुस्तकले दिनेछ भन्ने कुरामाथि जोड दिनु होस्। चासो व्यक्त गर्ने सबैलाई नै मार्च २६ तारिखका दिन स्मरणार्थको उपलक्ष्यमा उपस्थित हुन अवश्य निम्त्याउनु होस्।
६ आफूसित हाम्रा १९२ पन्ने बेग्लाबेग्लै विषयका पुस्तकहरू राख्नु पनि फायदाजनक हुन सक्छ। ढोकामा कुरा गर्दागर्दै निस्किने विषयबाट घरधनीको खास अभिरुचि पता लाएर सोही अभिरुचि बमोजिमको प्रकाशन उनको सामु प्रस्तुत गर्न सकिन्छ। उदाहरणका लागि, मृतकहरूको अवस्था, बाइबलको सत्यता, साँचो शान्ति र सुरक्षा अनुभव गर्ने हाम्रो आशा, पारिवारिक जीवन, आनन्द प्राप्त गर्ने मार्ग इत्यादि विषयहरू अक्सर उठ्न सक्छन् र ती प्रत्येक विषयहरूमाथि हामीसित ईश्वरको दयाले राम्रा राम्रा प्रकाशनहरू पनि छन्।
७ अतः महिनाको साहित्य प्रस्तुत गर्दा सकारात्मक मनोवृत्ति राख्नु होस्। तर आफ्नो साथमा विभिन्न प्रकारका प्रकाशनहरू पनि लिएर हिंड्नु होस्। किनभने ‘हर प्रकारका मानिसहरू’-लाई बाइबलको सन्देशतिर आकृष्ट गराउन र सत्यको जीवनदायी पानी पिउन लाउन हामी चाहन्छौं।—१ तिमो. २:४; प्रकाश ७:१७.