ईश्वरीय शिक्षाको जोरदार प्रभाव
१ एक मात्र ईश्वर, हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्वरबाट शिक्षा पाउनु हाम्रो ठूलो सौभाग्य हो! (भजन ५०:१; यशै० ३०:२०ख) सबै जातिहरूबाट भीडका भीड मानिसहरू उहाँबाट शिक्षा पाउन उहाँको शुद्ध उपासनाको पर्वतमा ओइरिरहेका छन्। (मीका ४:२) तर लाखौं अन्य जनहरू चाहिं मानवीय सोचाइ र सांसारिक बुद्धिलाई बढी महत्त्व दिने विद्यालयहरूमा नै भर्ना भइरहेछन्। परन्तु यहोवा र उहाँको लिखित वचनको बेवास्ता गर्ने बुद्धि परमेश्वरको नजरमा मूर्खता हो र त्यसको मार्गमा हिंड्ने सबै जना मूर्ख बन्नेछन्।—भजन १४:१; १ कोरी० १:२५.
२ पोहर सालको अन्तताका हाम्रो जिल्ला सम्मेलनमा हामीले ईश्वरीय शिक्षाको जोरदार प्रभाव एउटा विशेष ढङ्गमा अनुभव गऱ्यौं। सम्पूर्ण कार्यक्रम “ईश्वरीय शिक्षा”-को ध्येयले ओतप्रोत थियो। हामीले सिक्यौं कि परमेश्वरको वचन र उहाँको आत्माले हामीलाई एउटा विश्वव्यापी भ्रातृत्वको बन्धनमा बाँध्छ। हाम्रो व्यक्तित्त्वलाई सुधार्छ। प्रेतहरूको शिक्षाबाट हामीलाई सुरक्षित राख्छ। हामीलाई अझ उन्नत प्रचारक हुने प्रशिक्षण दिन्छ। ईश्वरीय शिक्षाबाट तपाईंले चाहिं व्यक्तिगत रूपमा कसरी लाभ उठाउनु भयो?
३ मसीही जीवनशैलीमाथि प्रभाव: ईश्वरीय शिक्षाले हाम्रो अन्तस्करणमाथि प्रभाव पार्दछ। हुन त अन्तस्करण भन्ने कुरा सबैले नै जन्मजात पाएको हुन्छ। तापनि त्यसले हामीलाई धार्मिकता र यहोवालाई प्रसन्न पार्ने मार्गमा हिंडाउने हो भने चाहिं त्यसलाई पनि प्रशिक्षण दिनु पर्छ। (भजन १९:७, ८; रोमी २:१५) संसारका मानिसहरूले आफ्नो सोचाइलाई परमेश्वरको वचन अनुरूप ढालेका छैनन्। के ठीक, के गलत, तिनीहरूले ठम्याउन सकेका छैनन्। तिनीहरू अन्योलमा छन्। सबैले आफूलाई जे ठीक लाग्छ सोही गर्छन्। परिणामस्वरूप, नैतिकता र जातीयता सम्बन्धी विवादहरू दन्की रहन्छन्। धेरैजसो मानिसहरू जीवनमा आफूलाई जे मन लाग्छ सोही गर्न पाउने सम्पूर्ण स्वतन्त्रता खोज्छन्। तिनीहरू साँचो बुद्धिको एक मात्र स्रोतलाई स्वीकार गर्दैनन्। (भजन १११:१०; यर्मि० ८:९; दानि० २:२१) तर ईश्वरीय शिक्षाले हाम्रोलागि यस्ता विवादहरूको समाधान गरिदिएको छ। परमेश्वरद्वारा प्रशिक्षित भएको हुनाले हामी परमेश्वरको एकताबद्ध घराना भएर बाँचेका छौं। स्वच्छ अन्तस्करणका साथ र सेवकाईमा व्यस्त रहँदै हामी भविष्यबारे निर्धक्क हुन्छौं।
४ ईश्वरीय शिक्षाले हामीलाई “सिद्धान्तको प्रत्येक बतास”-को मुकाबिला गर्ने मदत दिन्छ। (एफि० ४:१४) हामीलाई दर्शनशास्त्रको अध्ययनले मुग्ध पार्दैन। यसप्रकारको अध्ययनले मान्छेलाई शङ्कालु र खोट मात्र कोट्याउने स्वभावको बनाइ दिन्छ। यसले आफूखुसी गर्ने प्रवृत्तिलाई बल दिन्छ। नैतिक पतनतिर लैजान्छ। तसर्थ यहोवाबाट शिक्षा पाएकोमा हामी अति नै खुशी छौं। धेरैले अनुभव गरिरहेको दुःख र मानसिक कष्टबाट हामी उम्कन पाउँछौं। यहोवाका नियमहरू र सम्झौटोहरू हाम्रो पछि-पछि सुनिने एउटा ‘शब्द’ जस्तो हो जसले हामीलाई यसो भन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।”—यशै० ३०:२१.
५ हाम्रा सभाहरू र सेवकाई: हामी हिब्रू १०:२३-२५-लाई परमेश्वरको आदेश सरह मान्छौं। मण्डलीका सभाहरूमा हामीले यहोवाबाट शिक्षा पाउँछौं। अतः के हामीले सभाहरूमा उपस्थित हुने बानी बसालेका छौं? अथवा सभाहरूमा उपस्थित हुने कुरालाई हामी कम महत्त्व दिन्छौं? सभाहरूमा भेला हुनु हाम्रो उपासनको एउटा भाग हो। सो कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन। यो कुनै मन लागेमा गर्ने वा नगर्ने कुरा होइन। हाम्रा लागि यहोवाले तयार गरिदिनु भएको आत्मिक आहारको कुनै पनि अंश छाड्नु मिल्दैन।
६ मोशाले परमेश्वरसङ्ग यसो भन्दै प्रार्थना गरे: “यसकारण हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनहोस् र हामीले बुझ्ने हृदय पाऔं।” (भजन ९०:१२) के हामी पनि यसो भन्दै प्रार्थना गर्छौं? के हामी प्रत्येक दिनको मोल गर्छौं? गर्छौं भने, हामीले पनि “बुझ्ने हृदय” पाउनेछौं। हामीले पनि हाम्रो महान शिक्षक, यहोवा परमेश्वरको महिमाका लागि प्रत्येक दिन अर्थपूर्ण ढङ्गमा बिताउने छौं। सो गर्न हामीलाई ईश्वरीय शिक्षाले मदत दिनेछ।