सही शब्दहरूले झूटा शिक्षाहरूलाई उल्टाइदिन्छ
१ अदनको बगैंचामा हव्वालाई ‘कदापि मर्नेछैनौं’ भनेर पहिलो पटक झूट बोलेदेखि शैतानले मृतकको अवस्थाबारे निकै सन्देह र भ्रम फैलाइरहेको छ। (उत्प. ३:३) मानव मृत्युले शैतानलाई झूटो साबित गरेको भए तापनि झूटो धर्मका शिक्षाहरू मार्फत त्यसले अधिकांश मानवजातिलाई मानिसको कुनै भाग जीवितै रहन्छ भन्ने विश्वास गराएर बहकाएको छ।
२ परमेश्वरको वचन बाइबलबाट सत्य कुरा थाह पाउँदा हामी कति हर्षित हुन्छौं। न्यु वर्ल्ड ट्रान्सलेशन-मा (नयाँ विश्व अनुवाद) हिब्रू र युनानी शब्दहरू एकरूपता साथ प्रयोग गरिएको हुनाले झूटा शिक्षाहरूलाई प्रभावकारी ढंगमा उल्टाउन यसको प्रयोग गर्नसक्छौं। हिब्रू शब्द नेफेस र युनानी शब्द साइके-लाई अंग्रेजीमा अनुवाद गर्दा सधैं सोल शब्द प्रयोग गरिन्छ भने हिब्रू शब्द रूआक र युनानी शब्द न्युमा अनुवाद गर्दा स्पिरिट प्रयोग गरिन्छ।
३ तथापि, झूटो धर्मका शिक्षाहरूको प्रभावले गर्दा स्थानीय भाषाका बाइबलहरूमा अक्सर यस्तो एकरूपता पाइँदैन। स्थानीय भाषाहरूमा यथार्थपूर्वक सत्य सिकाउन हाम्रो ईश्वरतान्त्रिक शब्दावली र हाम्रा प्रकाशनहरूमा अनुवाद गरिएका बाइबलका शब्दहरू एकरूपतासाथ प्रयोग गर्नेतर्फ हामीले काम गरिरहेका छौं।
४ अधिकांश भारतीय भाषाहरू संस्कृत वा द्रविडमा आधारित छन्। यी भाषाहरूमा मूल शब्द आत्मा-ले अदृश्य बल वा शक्तिलाई संकेत गर्छ र अधिकांश स्थानीय भाषाका बाइबलहरूमा पवित्र आत्मा र स्वर्गमा बस्ने आत्मिक व्यक्तिहरू जनाउन आत्मा शब्दसित सम्बन्धित अन्य शब्दहरू प्रयोग गरिएका छन्। यसले रूआक र न्युमा शब्दहरूको सही अर्थ खुलाएको छ। बाइबलमा जीवित प्राणीको जीवन शक्ति बुझाउन पनि यी शब्दहरू चलाएकोले स्पिरिट शब्द अनुवाद गर्दा प्रत्येक ठाउँहरूमा आत्मा शब्दलाई एकरूपतासाथ प्रयोग गर्नु उपयुक्त देखिन्छ।
५ यस परिवर्तनले विशेषगरि तेलेगु र कन्नडा भाषाहरूलाई असर गर्नेछ। किनभने यी भाषाहरूले मानिसको जीवन शक्तिलाई वर्णन गर्न संस्कृत शब्द प्राण-सित सम्बन्धित शब्दहरूको प्रयोग गरिरहेको छ। तर उप्रान्त यी भाषाहरूमा स्पिरिट शब्दलाई एकरूपतासाथ आत्मा भनी अनुवाद गरिनेछ।
६ धेरैजसो स्थानीय बाइबल अनुवादहरूमा नेफेस र साइके शब्दहरूलाई प्राण वा जीव भनी अनुवाद गरिएको छ। प्राण शब्द जीवित प्राणी, मानिस वा जनावर या तिनीहरूले आनन्द उठाउने जीवनसित सम्बन्धित भएकोले यो उचित छ। न्यु वर्ल्ड ट्रान्सलेशन र (नयाँ विश्व अनुवाद) संगठनका प्रकाशनहरूमा प्रयोग गरिएको सोल शब्दलाई नेपाली भाषामा बाइबल विद्यार्थीहरूलाई सिकाउँदा प्राण शब्द एकरूपतासाथ चलाउन सके बेस हुन्छ। बाइबलले प्राण मर्छ भनेकोमा केही बाइबल अनुवादकहरूले प्राणी शब्द प्रयोग गरेर प्राण शब्दको अर्थलाई अस्पष्ट पारिदिएका छन्। तसर्थ, हामीले यहाँ पनि एकरूपता अपनाउनुपर्छ। कृपया तपाईंले प्रयोग गर्नुहुने स्थानीय बाइबल पुस्तक इजिकिएल १८:४ लाई न्यु वर्ल्ड ट्रान्सलेशन-सित (नयाँ विश्व अनुवाद) तुलना गर्नुहोस्।
७ सोल शब्दका लागि गुजराती र मराठीमा हामीले जीव शब्द प्रयोग गरिरहेका छौं भने मल्यालममा देही प्रयोग गर्नेछौं। तर तामिललाई भने विशिष्ट अपवादको रूपमा लिन सकिन्छ। किनभने शब्दकोशहरूले संस्कृतसित सम्बन्धित आत्मा शब्दको व्याख्या अरू भारतीय भाषाहरूमा जस्तै गरे तापनि यो शब्दको अर्थ मानिस पनि हो। तामिल बाइबलमा आत्मा शब्दलाई मानसिक तथा शारीरिक गुनहरूले सम्पन्न जीवित मानिस चिनाउन एकरूपतासाथ चलाएको छ। अनि मानिस तथा स्वर्गदूतको जीवन शक्ति र परमेश्वरको सक्रिय शक्तिलाई संकेत गर्ने रूआक-को ठाउँमा अभि शब्दलाई प्रयोग गरेको छ।
८ अमरताको शिक्षा छलफल गर्दा प्राण वा जीव शब्दहरू प्रयोग गर्न सुरुमा अप्ठ्यारो लाग्नसक्छ। तर ती शब्दहरूको मूल रूपको अर्थ व्याख्या गऱ्यौं र बाइबलबाटै देखायौं भने निष्कपट मानिसहरूले सहजै सत्य के हो बुझ्नेछन्। तसर्थ, झूटा शिक्षाहरूलाई उल्टाउन सही शब्दहरू प्रयोग गरौं र झूटो धर्मको पञ्जाबाट भेडाखाले मानिसहरूलाई स्वतन्त्र तुल्याऔं।—यूह. ८:३२.