सुम्पिएको काम पूरा गर्न सबैको सहयोग चाहिन्छ
१ येशू ख्रीष्टका हरेक चेलाहरूले परमेश्वरको राज्यबारे प्रचारकार्यलाई समर्थन गर्नुका साथै प्रचार गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो भनी बुझ्नुपर्छ। कुनै चेलाले धेरै, कुनैले थोरै मात्रामा परमेश्वरको राज्यको फल फलाउनेछ भनेर येशूलाई थाह थियो। (मत्ती १३:२३) कडा मेहनत गर्ने थुप्रै अग्रगामीहरूले प्रचार गतिविधिमा अत्यधिक भाग लिन्छन्। तैपनि, सकेसम्म धेरै फल फलाएर उत्सुकतासाथ परमेश्वरको महिमा गर्नेहरू सबै प्रशंसाका पात्रहरू हुन्।—यूह. १५:८.
२ मिलीजुली काम गर्दा धेरै नतिजा हात पार्न सकिन्छ: आफ्ना चेलाहरूको संयुक्त प्रयासले आफूले गरेकोभन्दा पनि ठूलो काम गर्नेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (यूह. १४:१२) व्यक्तिगत परिस्थितिले हामीलाई आफूले चाहेजति परमेश्वरको राज्यबारे प्रचार गर्न दिन पनि सक्छ, नदिन पनि सक्छ तर हामीलाई सुम्पिएको काम पूरा गर्न सबैको सहयोग चाहिन्छ। यो त पावलले भनेजस्तै हो: “प्रत्येक भागलाई ठीक नापको कामबमोजिम प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”—एफि. ४:१६.
३ कसै कसैलाई आफूले त्यति धेरै गर्न नसकेको जस्तो लाग्नसक्छ। तथापि, यहोवाको दृष्टिमा महत्त्वपूर्ण कुरा त हाम्रो तनमनको सेवा हो। हामीले उहाँको खातिर गरेको हरेक कुरा मूल्यवान् छ र उहाँ त्यसको मूल्यांकन गर्नुहुन्छ।—लूका २१:१-४ तुलना गर्नुहोस्।
४ यो काममा सहयोग गरिनै रहनुहोस्: हामी सबैले यस विश्वव्यापी कार्यमा आर्थिक सहयोग पुऱ्याउनसक्छौं। कसै कसैले परमेश्वरको राज्यसँग सम्बन्धित काममा सघाएर पनि सहयोग गर्नसक्छन्। हरेकले सभाहरूमा राम्ररी तयार गरेको टिप्पणी दिने अनि ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भाग लिने प्रयास गर्नसक्छ। अरूलाई प्रोत्साहन दिने मौकाको फाइदा उठाएर मण्डलीको आध्यात्मिकतामा बहुमूल्य योगदान पुऱ्याउनसक्छौं। यसो गर्नाले मण्डलीलाई सुम्पिएको काम पूरा गर्न मदत पुग्नेछ।
५ निस्सन्देह, हामीलाई सुम्पिएको काम पूरा गर्न सबैको सहयोग चाहिन्छ। म त केही योगदान पुऱ्याउन सक्दिनँ भन्ने विचार कसैले पनि राख्नु हुँदैन। चाहे हाम्रो प्रयास ठूलो होस् वा सानो, यहोवाको सेवा गर्ने संयुक्त प्रयासले हामी परमेश्वरको साँचो उपासकहरू हौं भनेर चिनिनेछौं। (मला. ३:१८) हामी सबैले यहोवालाई आदर गर्न तथा उहाँलाई चिन्न र उहाँको सेवा गर्न अरूलाई मदत दिनमा अर्थपूर्ण ढंगमा भाग लिनसक्छौं।