हरेक असल कामको लागि आफूलाई राजीखुशीले अर्पण गर्ने
१ एक सांसारिक प्रकाशनले यहोवाका साक्षीहरूलाई संकेत गर्दै यसो भन्यो: “यहोवाका साक्षीहरूजस्तो आफ्नो धर्मको खातिर मेहनत गर्ने मानिसहरू अन्य समूहका सदस्यहरूमा भेटाउन गाह्रै पर्ला।” यहोवाका साक्षीहरू त्यस्तो इच्छुकतासाथ कडा मेहनत किन गर्छन्?
२ एउटा कारण हो, तिनीहरू तत्परताको भावनाले ओतप्रोत छन्। येशूलाई पृथ्वीमा आफ्नो काम सिध्याउने समय सीमित छ भनेर थाह थियो। (यूह. ९:४) परमेश्वरको महिमित पुत्रले आज शत्रुहरूको माझ शासन गरिरहनुहुञ्जेल यहोवाका जनहरूले आफ्नो काम पूरा गर्ने समय सीमित छ भनेर बुझेका छन्। तसर्थ, तिनीहरूले पवित्र सेवाको लागि आफूलाई राजीखुशीले अर्पण गर्छन्। (भज. ११०:१-३) फसल भित्राउन बढी खेतालाहरू चाहिएको हुँदा तिनीहरूका प्रयासहरूमा कुनै ढिलासुस्ती हुनु हुँदैन। (मत्ती ९:३७, ३८) यसर्थ, तिनीहरू येशूको अनुकरण गर्ने प्रयत्न गर्छन् जसले आफ्नो कामप्रति इच्छुकता र लगनशीलताको सिद्ध उदाहरण बसाल्नुभयो।—यूह. ५:१७.
३ यहोवाका साक्षीहरूले यहोवा परमेश्वरलाई पूरा मनतनले सेवा गर्नुको अर्को कारण, तिनीहरूको विश्वव्यापी संगठन अन्य समूहहरूभन्दा भिन्दै छ। सांसारिक धार्मिक संगठनहरूले साधारणतया आफ्ना अनुयायीहरूबाट थोरै समय र प्रयास मात्र माग गर्छन्। तिनीहरूको विश्वासले तिनीहरूको दैनिक जीवन, अरूसितको व्यवहार र जीवनका लक्ष्यहरूमाथि अति थोरै वा नगण्य प्रभाव पार्छ। साँचो विश्वासको शक्तिले प्रदान गर्ने उत्प्रेरणा नभएको हुँदा तिनीहरूले आफ्ना गोठालाहरूलाई ‘मनपर्दा कुराहरू’ भन्न र तिनीहरूको नाउँ मात्रको प्रयास यथेष्ट छ भन्ने आश्वासन दिन ढिपी कस्छन्। (यशै. ३०:१०) तिनीहरूका पादरीहरूले भावशून्यता र आध्यात्मिक आलस्यताका कुराहरू बताउँछन्। यसरी तिनीहरूको ‘कान उत्सुक’ बनाएर खुशी पार्छन्।—२ तिमो. ४:३.
४ यहोवाका जनहरूभन्दा कति भिन्न! हाम्रो उपासनाको सबै पक्षमा प्रयास, मेहनत र काम गर्नुपर्छ। हामी दैनिक जीवनका हरेक कार्यहरूमा आफ्नो विश्वासअनुसार काम गर्छौं। हामीलाई सत्यले निकै आनन्द दिन्छ तर त्यसअनुसार गर्न “निकै संघर्ष” गर्नुपर्छ। (१ थिस्स. २:२, न्युव तुलना गर्नुहोस्।) दैनिक जीवनको चाँजोपाँजो मिलाउँदा मात्र पनि अधिकांश मानिसहरू व्यस्त हुन्छन्। तथापि, हामी यी चिन्ताहरूले गर्दा राज्यसम्बन्धी क्रियाकलापहरूलाई प्राथमिकता दिनदेखि पछि हट्दैनौं।—मत्ती ६:३३.
५ हामीले यहोवाको सेवामा गर्नुपर्ने काम अत्यन्त लाभदायी र जरुरी छ। त्यसैले हामी “समयको अवसर विचार” गरेर अन्य इच्छाहरू पूरा नगरी त्यसबाट समय निकाल्न र त्यसलाई लाभदायी ढंगमा आध्यात्मिक कुराहरूको निम्ति प्रयोग गर्न उत्प्रेरित हुन्छौं। (एफि. ५:१६) हाम्रो ईश्वरीय भक्ति र इच्छुक मनोभावले यहोवालाई खुशी तुल्याउँछ भनेर थाह भएकोले कडा मेहनत गरिरहन सबैभन्दा ठूलो उत्प्रेरणा पाउँछौं। अहिले प्राप्त हुने महान् आशिष्हरू र साथै भावी जीवनको प्रत्याशाले गर्दा राज्यसम्बन्धी कामहरूका लागि “परिश्रम र प्रयत्न” गरिरहन कटिबद्ध हुन्छौं।—१ तिमो. ४:१०.
६ भक्ति र आत्मत्यागको भाव: आज अधिकांश मानिसहरूले भौतिक आवश्यकता तथा इच्छाहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरूलाई आफूले खाने, पिउने वा लाउने कुरामा ध्यान केन्द्रित गर्नु पूर्णतया न्यायोचित लाग्छ। (मत्ती ६:३१) आफ्ना खाँचोहरूको पूर्तिबाट सन्तुष्ट नभई तिनीहरू अहिले यथासम्भव सुखविलासी जीवन प्राप्त गर्ने लक्ष्यले प्रेरित हुन्छन्। साथै ‘धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति थुपारेर आरामीसित बस्न, खान, पिउन र आनन्द गर्न’ चाहन्छन्। (लूका १२:१९) चर्च जाने एक सामान्य व्यक्तिबाट उनको धर्मले अलिकता मात्र व्यक्तिगत प्रयासको माग गर्दा उनी आफ्नो अधिकार हनन भएको ठान्छन्। केही भौतिकवादी लक्ष्यहरू त्याग्ने वा त्यो अलिकता मात्र कम गर्ने वा आफूलाई मन पर्ने सोख छोड्ने विचार अप्रिय ठानिन्छ। उनको आत्मकेन्द्रित सोचाइले गर्दा आत्मत्यागी भाव खेती गर्नु उनलाई काल्पनिक र अव्यवहारिक लाग्छ।
७ तर हामी यसलाई बेग्लै दृष्टिकोणले हेर्छौं। परमेश्वरको वचनले हाम्रो सोचाइलाई उच्च पारेको छ। त्यसकारण हामी मानिसको होइन, परमेश्वरको सोचाइ राख्छौं। (यशै. ५५:८, ९) हाम्रो जीवनका लक्ष्यहरूले भौतिक इच्छाहरूलाई उछिन्छन्। यहोवाको सार्वभौमिकता उच्च पार्नु र उहाँको नाउँ पवित्र गर्नु नै सम्पूर्ण ब्रम्हाण्डमा सबैभन्दा महत्त्वपूर्ण विषयहरू हुन्। यी विषयहरू असाध्यै महत्त्वपूर्ण भएकोले तुलनात्मक हिसाबमा सबै राष्ट्रहरू “उहाँको सामने केही पनि होइनन्।” (यशै. ४०:१७) परमेश्वरको इच्छालाई अवहेलना गरेर जीवन बिताउने हाम्रो जुनसुकै प्रयास मूर्खतापूर्ण ठान्नुपर्छ।—१ कोरि. ३:१९.
८ हामीलाई राज्यसम्बन्धी क्रियाकलापहरूमा भाग लिन केही भौतिक कुराहरू चाहिन्छन् त अन्य केही लाभदायी हुन्छन्। तर हामीहरू यसलाई नै वास्तवमा “उच्च कुराहरू” ठान्दैनौं। (फिलि. १:११) हामी १ तिमोथी ६:८ को मनसायलाई पालन गर्छौं र भौतिक इच्छाहरू प्राप्त गर्ने होडबाजीमा सीमा तोक्छौं। साथै ‘नदेखिने कुरामा’ ध्यान केन्द्रित गर्न बुद्धिमानीपूर्वक प्रयत्न गर्छौं।—२ कोरि. ४:१८.
९ जति बढी परमेश्वरको जस्तो सोचाइ राख्छौं भौतिक कुराहरूबारे हामी उति नै कम चिन्तित हुन्छौं। यहोवाले हाम्रो निम्ति गर्नुभएका कुराहरू र उहाँले भविष्यको निम्ति प्रतिज्ञा गर्नुभएका अद्भुत आशिष्हरूबारे सोच्दा उहाँले माग गर्नुहुने जस्तोसुकै त्याग गर्न तत्पर हुन्छौं। (मर्कू. १०:२९, ३०) हामी आफ्नो अस्तित्वको लागि उहाँप्रति ऋणी छौं। उहाँको दया तथा प्रेम नहुँदो हो त हामी अहिले र भावी जीवनमा आनन्दित हुन सक्दैनथियौं। हामीले उहाँको सेवामा जे जति गर्छौं त्यो त ‘कर्त्तव्य मात्र गरेका’ हुनाले आफूलाई अर्पण गर्न बाध्य महसुस गर्छौं। (लूका १७:१०) हामीले यहोवालाई जुनसुकै कुरा दिनुपर्दा खुशीसाथ दिन्छौं किनभने त्यसो गर्दा ‘प्रशस्तसँग कटनी गर्नेछौं’ भनेर हामीलाई थाह छ।—२ कोरि. ९:६, ७.
१० अहिले इच्छुक कामदारहरू चाहिएको छ: मसीही मण्डली आफ्नो सुरुआतदेखि नै तीव्र क्रियाकलापमा व्यस्त थियो। सा.यु. ७० मा यरूशलेमको विनाश हुनुअघि पूर्णतया साक्षी दिनु परेको थियो। त्यतिबेला येशूका चेलाहरू “वचनको जोशमा” परे। (प्रे. १८:५) द्रुत विस्तारले गर्दा अझ बढी प्रचारकहरू तथा निपुण गोठालाहरूलाई प्रशिक्षण दिन र तिनीहरूलाई काममा लगाउन खाँचो पऱ्यो। सांसारिक अधिकृतहरूसित व्यवहार गर्न अनुभवी पुरुषहरूको साथै भौतिक कुराहरू संकलन तथा बाँडफाँड गर्ने कार्यलाई सुपरिवेक्षण गर्न दक्ष पुरुषहरू चाहिएको थियो। (प्रे. ६:१-६; एफि. ४:११) केहीले प्रतिष्ठित भूमिका निभाए। यद्यपि अधिकांश मानिसहरूले निभाएको महत्त्वपूर्ण भूमिका प्रत्यक्ष थिएन। तर तिनीहरू सबैले आफूलाई सुम्पिएको काम सम्पन्न गर्न पूरा मनतनले एकसाथ ‘प्रयत्न’ गरे।—लूका १३:२४.
११ त्यसपछिका शताब्दीहरूको दौडान विश्वव्यापी तवरले जोडदार क्रियाकलापमा भाग लिन त्यत्तिको खाँचो थिएन। तर सन् १९१४ मा येशूले राज्य शक्ति लिनुहुँदा राज्यसम्बन्धी क्रियाकलाप पुनः जागृत भयो। सुरु सुरुतिर, राज्यसम्बन्धी क्रियाकलापहरूमा भाग लिन यति धेरै कामदारहरू र विश्वभरिका मुलुकहरूबाट लाखौं इच्छुक जनहरूको मदत चाहिएला भनेर थोरै मानिसहरूले मात्र बुझेका होलान्।
१२ अहिले यो संगठन विविध कार्यहरूमा संलग्न छ। त्यसले गर्दा हाम्रो समय र साधन निकै प्रयोग गर्नुपर्ने हुन्छ। राज्यसम्बन्धी क्रियाकलापहरू द्रुत गतिमा अघि बढिरहेका छन्। अहिले आपत्कालीन समय भएको हुँदा सम्पन्न गर्नुपर्ने काम पूरा गर्न प्रयत्नरत हुन तथा आफूसित भएका सबै स्रोतहरू परिचालन गर्न उत्प्रेरित हुन्छौं। दुष्ट रीतिरिवाजको अन्त नजीकै आएको हुँदा भावी दिनहरूमा अझ तीव्र क्रियाकलापको अपेक्षा गर्छौं। जम्मा गर्ने यस अत्यन्त जरुरी काममा यहोवाको प्रत्येक समर्पित सेवकले आफूलाई राजीखुशीले अर्पण गर्नुपर्ने खाँचो छ।
१३ के गर्नुपर्नेछ? हामीले “प्रभुको काममा प्रशस्त” कार्यहरू छन् भनेर सत्यतापूर्वक भन्नसक्छौं। (१ कोरि. १५:५८) धेरै इलाकाहरूमा फसल पाकिसक्यो तर खेतालाहरू थोरै छन्। आफ्नो इलाकामा पूर्णतया साक्षी दिएर मात्र होइन तर आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने चुनौतीलाई सामना गरेर आफ्नो काम पूरा गर्न हामीलाई निमन्त्रणा दिइएको छ।
१४ संसारभरिका साक्षीहरूले अन्य क्रियाकलापहरूमा आफूलाई इच्छुकताका साथ अर्पण गरेको हेर्न पाउनु सराहनीय कुरा हो। यी क्रियाकलापहरूमा उपासना थलोहरूको निर्माण कार्यमा स्वयंसेवा गर्नु, अधिवेशनहरूमा सहयोग पुऱ्याउनु, विपत्ति हुँदा उद्धार सामग्रीहरू बाँड्न सहयोग गर्नुदेखि लिएर नियमित तवरमा स्थानीय राज्य भवन सफा गर्ने कामहरू हुनसक्छन्। राज्य भवन सफा गर्ने सन्दर्भमा हरेक सभापछि त्यसलाई सफा तथा सुव्यवस्थित राख्नुपर्छ। लूका १६:१० मा येशूका शब्दहरूलाई राम्ररी बुझेका छौं भने तुच्छ ठानिने कार्यहरू पनि गर्छौं। त्यहाँ यसो भनिएको छ: “जो थोरै कुरामा विश्वासी हुन्छ, त्यो धेरैमा पनि विश्वासी हुन्छ, औ जो सानो कुरामा अविश्वासी हुन्छ, त्यो धेरैमा पनि अविश्वासी हुन्छ।”
◼ मण्डलीका क्रियाकलापहरूमा सहयोग गर्ने: हरेक मण्डली सम्पूर्ण संगठनको एउटा भागको रूपमा सञ्चालन हुन्छ र यसले “विश्वासी र बुद्धिमान दास[बाट]” निर्देशन प्राप्त गर्छ। (मत्ती २४:४५) तर प्रत्येक मण्डली थुप्रै राज्य प्रकाशकहरू मिलेर बनेको हुन्छ। त्यसका उपलब्धिहरू हरेक साक्षीको इच्छुकता र तिनले कति गर्नसक्छन्, त्यसमा निकै निर्भर हुन्छ। यसले आफ्नो इलाकामा सुसमाचार प्रचार गर्न, नयाँ चेलाहरू बनाउन र त्यसपछि तिनीहरूलाई आध्यात्मिक तवरमा सुदृढ गर्न ध्यान केन्द्रित गर्छ। हामी प्रत्येकले यस कार्यमा योगदान पुऱ्याउनसक्छौं। हामीले व्यक्तिगत अध्ययन, सभाहरूमा अर्थपूर्ण सहभागिता र मण्डलीका खाँचोमा परेकाहरूलाई सहयोग दिनेजस्ता लक्ष्यहरू राख्नसक्छौं। यी क्रियाकलापहरूले हाम्रो इच्छुकता प्रदर्शित गर्ने थुप्रै राम्रा अवसरहरू प्रदान गर्छ।
◼ रेखदेख गर्न अग्रसर हुने: यहोवाले हरेक मण्डलीको सुपरिवेक्षण गर्ने जिम्मेवारी त्यसका नियुक्त प्राचीनहरूलाई सुम्पनुभएको छ। (प्रे. २०:२८) यी पुरुषहरू यस सुअवसरको लागि योग्य साबित भएका छन्। (१ तिमो. ३:१) वास्तवमा मण्डलीको हरेक भाइसित अझ बढी जिम्मेवारीहरू बहन गर्न योग्य हुनसक्ने केही न केही सम्भाव्यता हुन्छ। धेरै भाइहरूले आध्यात्मिक तवरमा प्रगति गरिरहेका छन् र मण्डलीका प्राचीनहरूको डोऱ्याइ तथा मायालु सहयोगमा अघि बढिरहनु खाँचो छ। यी पुरुषहरू बाइबल तथा अन्य प्रकाशनहरूको लगनशील विद्यार्थीहरू हुनुपर्छ। यिनीहरूले आत्मा-अभिषिक्त प्राचीनहरूको अधीनमा बसेर तिनीहरूको विश्वास अनुकरण गर्दै निरीक्षकहरूमा हुनुपर्ने गुनहरू खेती गरेर आफ्नो इच्छुकता देखाउनसक्छन्।—हिब्रू १३:७, १७.
◼ पूर्ण-समय सेवकाई गर्ने: मण्डलीको मुख्य कार्य सुसमाचार प्रचार गर्नु हो। (मत्ती २४:१४) जोशिला व्यक्तिहरूले अग्रगामीहरूको हैसियतमा भर्ती भएर अझ तीव्र प्रयास गर्दा त्यो साँच्चै नै आशिष् साबित हुन्छ! यसो गर्दा प्रायजसो आफ्नो व्यक्तिगत जीवनमा छाँटकाँट गर्नुपर्ने हुन्छ। सेवाको यस विशेष क्षेत्रमा लागिरहन थप छाँटकाँटहरू गर्नुपर्ने हुनसक्छ। केही क्षणिक निराशाले गर्दा एक दुइ वर्षभित्र यस सुअवसरलाई नत्याग्ने जनहरूले पक्कै पनि यहोवाका प्रशस्त आशिष्हरू अनुभव गर्नेछन्। मायालु प्राचीन तथा अन्य परिपक्व व्यक्तिहरूले अग्रगामीहरूलाई वचन तथा कार्यद्वारा प्रोत्साहन दिएर तिनीहरूको सफलतामा योगदान पुऱ्याउनसक्छन्। स्कूलको अध्ययन सकिने बित्तिकै अग्रगामी सेवामा प्रवेश गर्ने जवानहरूले वास्तवमा असल मनोवृत्ति प्रदर्शित गरिरहेका हुन्छन्! आफ्ना सांसारिक दायित्वहरू कम हुने बित्तिकै नियमित अग्रगामी सेवामा भर्ती हुने वयस्कहरूबारे पनि यही भन्न सकिन्छ। यसप्रकार यहोवाले जम्मा गर्ने कार्यलाई तीव्र पार्नुहुँदा त्यसलाई सहयोग पुऱ्याउने समर्पित मसीहीहरूले साँच्चै नै सन्तुष्टि अनुभव गर्छन्।—यशै. ६०:२२.
◼ भेला हुने थलोहरूको निर्माण तथा मर्मत कार्यमा भाग लिने: वास्तवमा भन्ने हो भने सयौं आधुनिक राज्य भवनका साथै थुप्रै अधिवेशन भवनहरू निर्माण भएका छन्। तर चाखलाग्दो कुरा, यसमध्ये अधिकांश कार्य हाम्रा भाइबहिनीहरूले गरेका छन्। तिनीहरूले स्वेच्छापूर्वक आफ्नो समय तथा योग्यताहरू दिएका छन्। (१ इति. २८:२१) हजारौं इच्छुक कामदारहरूले आवश्यकताअनुसार सबै कार्यहरू गरेर ती भवनहरूलाई राम्रो अवस्थामा राख्छन्। (२ इति. ३४:८) यो कार्य पवित्र सेवाको एउटा पक्ष भएको हुँदा आफूलाई राजीखुशीसाथ अर्पण गर्नेहरूले यस सेवा गरेबापत कुनै पारिश्रमिक माग्दैनन्। जस्तो कि तिनीहरूले घर-घर प्रचार गर्दा, मण्डलीमा जनभाषणहरू दिंदा वा सम्मेलन तथा अधिवेशनसित सम्बन्धित कामहरू गर्दा पनि पारिश्रमिक माग्दैनन्। यी स्वयंसेवकहरूले यहोवाको उपासना थलोहरूको योजना तथा निर्माण गर्दा राजीखुशीले आफ्नो सेवा चढाउँछन्। तिनीहरूले कानुनी कागजातहरू बनाउन, लेखा हिसाबहरू राख्न, किनबेच गर्न र आवश्यक सरसामग्रीको हिसाब-किताप गर्न उत्सुकतापूर्वक सहयोग दिन्छन्। यहोवाका यी निष्ठावान् सेवकहरूले आफूले पुऱ्याएको सेवाको लागि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा मुनाफा कमाउन वा भौतिक लाभ गर्न खोज्दैनन्। किनभने तिनीहरूका सबै योग्यता तथा स्रोतहरू यहोवालाई समर्पित छन्। (आवर किंगडम मिनिस्ट्री, मे १९९२, पृष्ठ ४, अनुच्छेद १० हेर्नुहोस्।) यस क्रियाकलापको लागि ‘यहोवालाई पूरा मनतनले’ सेवा चढाउने लगनशील कार्यकर्ताहरू चाहिन्छ।—कल. ३:२३.
१५ उसोभए, यहोवाका जनहरूको इच्छुकतालाई कुन कुराले अनुपम बनाउँछ? अरूलाई दिने भावले। तिनीहरूले उदारचित्तसाथ दिने कुराहरूमा पैसा वा भौतिक चीजबीज मात्र समावेश छैनन्। तिनीहरूले “राजी-खुशीले आफैलाई अर्पण” गर्छन्। (भज. ११०:३) यो यहोवाप्रति हाम्रो समर्पणको सार हो। हामीले विशेष तरिकाद्वारा आशिष् पाउँछौं। हामी ‘बढी आनन्द’ महसुस गर्छौं र ‘प्रशस्तसँग कटनी गर्छौं।’ किनभने हाम्रो कार्यलाई अरूले मूल्यांकन गर्छन्। साथै हामीलाई प्रतिफल दिन्छन्। (प्रे. २०:३५; २ कोरि. ९:६; लूका ६:३८) हामीलाई प्रतिफल दिनुहुने सबैभन्दा महान् व्यक्ति हाम्रो स्वर्गमा हुनुहुने पिता, यहोवा हुनुहुन्छ किनभने उहाँले “खुशीसाथ दिनेलाई . . . प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:७) उहाँले हामीलाई सय गुना बढी प्रतिफल दिनुहुनेछ र ती आशिष्हरू अनन्तसम्म रहिरहनेछन्। (मला. ३:१०; रोमी ६:२३) अतः यहोवाको सेवामा तपाईंको निम्ति सुअवसरहरू उपलब्ध हुँदा के तपाईंले आफूलाई राजीखुशीले अर्पण गर्दै यशैयाले जस्तै “म हाजिर छु। मलाई पठाउनुहोस्” भन्नुहुनेछ?—यशै. ६:८.