सधैं उपस्थित हुनु कत्ति असल!
१ पूर्वी युरोपमा हाम्रा थुप्रै प्रिय भाइहरूलाई वर्षौंसम्म खुलेआम भेला हुन प्रतिबन्ध गरिएको थियो। यसो कल्पना गर्नुहोस् त, प्रतिबन्ध हटेर तिनीहरू स्वतन्त्र भई एकसाथ भेट्न पाउँदा कत्ति रमाए होलान्!
२ एक क्षेत्रीय निरीक्षकले यस्तै एउटा मण्डलीमा भ्रमण गर्दाको अनुभवबारे यसरी लेखे: “मेरो भ्रमणको पहिलो दिन, मंगलबारको साँझ कोठा न्यानो पार्ने यन्त्र बिग्रियो। बाहिरको तापक्रम कठिंग्य्राउने चिसो र भित्र चाहिं पाँच डिग्री सेन्टिग्रेट जति थियो। भाइहरू कोट, गलबन्दी, पन्जा, टोपी र बुट लगाएर बसेका थिए। बाइबल पल्टाउनै गाह्रो परेकोले कसैले पनि शास्त्रपदहरू हेर्नसकेन। म चाहिं मञ्चमा सूट मात्र लगाएर कठांग्रिनुसम्म कठांग्रिएर उभिरहेको थिएँ र बोलेपिच्छे आफ्नो मुखबाट बाफ निक्लेको देख्नसक्थें। तर मलाई प्रभावित पार्ने कुरा त के थियो भने कसैले गुनासो गरेको सुनिनँ। सबै भाइहरूले उपस्थित हुनु पाएकोमा खुसी र आनन्द व्यक्त गरे!” ती भाइहरूले त्यो सभा छुटाउने कुराको त कल्पना समेत गरेका थिएनन्!
३ के हामी पनि त्यस्तै महसुस गर्छौं? के हामी हाम्रा साप्ताहिक सभाहरूमा खुल्लमखुल्ला भेला हुन पाउने अवसरको मूल्यांकन गर्छौं? कि परिस्थितिले दिंदादिंदै पनि सभाहरूलाई हल्का ठान्छौं? नियमित तवरमा सभाहरू धाउनु सजिलो नहोला अनि कहिलेकाहीं जायज कारणहरूले गर्दा उपस्थित हुन नसकौंला। तैपनि, याद राख्नुपर्ने कुरा के हो भने बुढेसकाल, गम्भीर स्वास्थ्य समस्याहरू, अपांगपन, कामको मारामार र अन्य गम्भीर जिम्मेवारीहरूको बावजूद सभाहरूको महत्त्व बुझेर सधैं सभा धाउनेहरू पनि हामीमाझ छन्। हाम्रोनिम्ति कस्ता अनुकरणीय उदाहरण!—लूका २:३७ तुलना गर्नुहोस्।
४ आउनुहोस्, पुस्तक अध्ययनको सानो समूहदेखि ठूलो अधिवेशनसम्मका सबै मसीही जमघटहरूमा उपस्थित भएर साँचो उपासनाको समर्थन गर्ने बानी बसाऔं। यी जमघटहरूमा उपस्थित हुनुलाई किन यति गम्भीरतापूर्वक लिनुपर्ने? किनभने एकसाथ भेला हुनू भन्ने ईश्वरीय आज्ञा छ। तर अरू महत्त्वपूर्ण कारणहरू पनि छन्। हामी सबैले ईश्वरीय निर्देशनबाट लाभ उठाउनु र पवित्र आत्माको मदत लिनु आवश्यक छ। ती कुरा हामी सभाहरूमा पाउँछौं। (मत्ती १८:२०) हामी भाइहरूसित संगत गर्दा एकअर्कामा प्रोत्साहन बाँडेर हौसला पाउँछौं।—हिब्रू १०:२४, २५.
५ येशूको रूप परिवर्तन हुँदा पत्रुसले भने, “गुरुज्यू, हामीलाई यहीं बस्नु असल रहेछ।” (लूका ९:३३) हामीले हाम्रा सबै मसीही सभाहरूबारे यस्तै महसुस गर्नुपर्छ। हो, सधैं उपस्थित हुनु साँच्चै कत्ति असल!