प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. १ pp. ६-८
  • बाइबल—सत्य कुराको भरपर्दो स्रोत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल—सत्य कुराको भरपर्दो स्रोत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ बाइबललाई किन विश्‍वास गर्न सक्नुहुन्छ?
  • बाइबल—परमेश्‍वरले दिनुभएको किताब
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • बाइबल—परमेश्‍वरले दिनुभएको किताब
    बाइबलले हामीलाई के सिकाउँछ?
  • भविष्यवाणीको किताब
    सबैका लागि उपयोगी किताब
  • परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. १ pp. ६-८

बाइबल—सत्य कुराको भरपर्दो स्रोत

इतिहास केलाएर हेर्ने हो भने विभिन्‍न पृष्ठभूमिका मानिसहरूले बाइबललाई सत्य कुराको भरपर्दो स्रोत मानेका छन्‌। आज पनि लाखौँ मानिस बाइबलको शिक्षाअनुसार चल्छन्‌। तर अरूले भने बाइबललाई पुरानो जमानाको अनि काल्पनिक कुराहरूले भरिएको किताब भन्ठान्छन्‌। तपाईँलाई चाहिँ कस्तो लाग्छ? के बाइबलमा लेखिएको कुरा सत्य छ?

तपाईँ बाइबललाई किन विश्‍वास गर्न सक्नुहुन्छ?

बाइबल एउटा भरपर्दो किताब हो भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ? उदाहरणको लागि, तपाईँको एक जना साथीले तपाईँसित सधैँ सत्य कुरा मात्र बोल्छ भने तपाईँ तिनलाई पूरा भरोसा गर्न सक्नुहुन्छ। के बाइबलले पनि सधैँ सत्य कुरा मात्र बताउँछ? केही उदाहरण विचार गरौँ।

इमानदार लेखकहरू

लेखकको हातको चित्र

बाइबलका लेखकहरू इमानदार थिए। तिनीहरूले आफ्नो कमीकमजोरी र गल्तीहरूसमेत स्पष्ट बताएका छन्‌। उदाहरणको लागि, योना नाम गरेका बाइबलका एक जना भविष्यवक्‍ताले आफू अनाज्ञाकारी भएको कुरा उल्लेख गरे। (योना १:१-३) त्यति मात्र होइन आफ्नो गल्तीले गर्दा ईश्‍वरले तिनलाई कसरी सुधार्नुभयो भनेर पनि लेखे तर तिनले आफ्नो सोचाइलाई कसरी सच्चाए भन्‍ने कुराचाहिँ उल्लेख गरेनन्‌। (योना ४:१, ४, १०, ११) बाइबलका लेखकहरूको इमानदारीतालाई विचार गर्ने हो भने तिनीहरू अरूले सत्य थाह पाएको चाहन्थे भनेर बुझ्न सक्छौँ।

उपयोगी सल्लाह

के बाइबलले दिने सल्लाह सधैँ उपयोगी र व्यावहारिक हुन्छ? अवश्‍य हुन्छ। उदाहरणको लागि, राम्रो सम्बन्ध बनाइराख्ने विषयबारे बाइबल यसो भन्छ, “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ति ७:१२) “मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।” (हितोपदेश १५:१) हो, बाइबलमा पाइने सल्लाह पहिले जति उपयोगी थिए, अहिले पनि उत्तिकै उपयोगी छन्‌।

ऐतिहासिक सत्य

साबेल र माटोको चित्र

वर्षौँसम्म गरिएका पुरातात्त्विक उत्खननहरूले बाइबलमा उल्लेख गरिएका थुप्रै व्यक्‍ति, ठाउँ अनि घटना वास्तविक थिए भनेर पुष्टि गर्छ। उदाहरणको लागि, एउटा सानो विवरण विचार गरौँ। नहेम्याह भन्‍ने एक जना व्यक्‍तिको समयमा यरुसलेममा बसोबास गर्ने टायरका मानिसहरूले (टायरमा बस्ने फोनिसियालीहरू) “माछा र विभिन्‍न मालसामान. . . बेचिरहेका थिए” भनेर बाइबल बताउँछ।—नहेम्याह १३:१६.

बाइबलको यस विवरणलाई पुष्टि गर्ने कुनै प्रमाण छ? अवश्‍य छ। पुरातत्त्वविद्‌हरूले इस्राएलमा फोनिसियाली मालसामान फेला पारेका छन्‌ अनि यसले दुई प्राचीन राष्ट्रबीच व्यापारिक सम्बन्ध थियो भनेर प्रमाणित गर्छ। साथै यरुसलेममा भूमध्य सागरमा पाइने माछाका अवशेषहरू भेट्टाइएका छन्‌। ती माछाहरू व्यापारीहरूले निकै टाढाको समुद्री तटबाट ल्याएका थिए भनेर पुरातत्त्वविद्‌हरू मानिलिन्छन्‌। यसरी प्रमाण केलाइसकेपछि एक जना बाइबलविद्‌ यसो भन्छन्‌, “टायरका मानिसहरूले यरुसलेममा माछा बेच्थे भनेर नहेम्याह १३:१६ मा बताइएको कुरा सत्य हुन सक्छ।”

वैज्ञानिक रूपमा सही

कुनै आडविना अन्तरिक्षमा झुन्डिएको पृथ्वीको चित्र

बाइबल विशेषगरि धार्मिक र ऐतिहासिक किताब हो। तर यो वैज्ञानिक रूपमा पनि सही छ। एउटा उदाहरण विचार गरौँ।

लगभग ३,५०० वर्षअघि नै पृथ्वी “कुनै आडविना” झुन्डिरहेको छ भनेर बाइबलमा अय्युब भन्‍ने किताबमा बताइएको थियो। (अय्युब २६:७) अनि यो सत्य विभिन्‍न दन्त्य कथाभन्दा धेरै फरक छ। ती कथाहरूअनुसार पृथ्वी पानीमा तैरिरहेको छ वा पृथ्वीलाई एउटा ठूलो कछुवाले बोकेको छ। अय्युबको किताब लेखिएको करिब १,१०० वर्षपछि पनि मानिसहरू पृथ्वी कुनै आडविना झुन्डिरहन सक्दैन तर त्यसलाई कुनै न कुनै कुराले थामेको हुनुपर्छ भनेर विश्‍वास गर्थे। आजभन्दा ३०० वर्षअघि सन्‌ १६८७ मा आइज्याक न्युटनले गुरुत्वाकर्षणसम्बन्धी नियम पत्ता लगाए। तिनले यही शक्‍तिले गर्दा पृथ्वी आफ्नै अक्षमा अडेको छ भनेर बताए। विज्ञानको क्षेत्रमा भएको यो ठूलो खोज ३,००० वर्षअघि बाइबलमा बताइएको कुरासित ठ्याक्कै मेल खान्छ।

भविष्यवाणीको पूर्ति

बेबिलोनको पर्खाल र खुल्लै छोडिएको मूलढोकाको चित्र

बाइबलमा थुप्रै भविष्यवाणी छन्‌। ती कत्तिको सत्य साबित भएका छन्‌? एउटा उदाहरण विचार गरौँ: बेबिलोनको विनाशबारे यसैयाले गरेको भविष्यवाणी।

भविष्यवाणी: ईसापूर्व आठौँ शताब्दीमा एक जना बाइबलका लेखक यसैयाले बेबिलोन सहर, जुन पछि गएर सबैभन्दा शक्‍तिशाली साम्राज्यको सहर बन्‍ने थियो, उक्‍त सहरबारे भविष्यवाणी गरे। तिनले बेबिलोन सहर पराजित हुनेछ र अन्तमा खण्डहर हुनेछ भनेर बताए। (यसैया १३:१७-२०) यसैयाले बेबिलोन सहरलाई पराजित गर्ने व्यक्‍तिको नामसमेत तोकेर बताए, उनको नाम कोरेस थियो। नदीको पानी ‘सुकाउने’ कोरेसको योजनासमेत भविष्यवाणीमा उल्लेख गरिएको थियो। साथै सहरका मूलढोकाहरू खुल्लै छाडिनेछन्‌ भनेर पनि भविष्यवाणीमा बताइएको थियो।—यसैया ४४:२७–४५:१.

पूर्ति: यसैयाले भविष्यवाणी गरेको लगभग २०० वर्षपछि फारसका राजाले बेबिलोनमाथि आक्रमण गरे। उनी को थिए? कोरेस। बेबिलोन सहर निकै सुरक्षित भएकोले सहरभित्र छिर्न गाह्रो थियो। त्यसैले कोरेसले बेबिलोन सहरभित्र भएर बग्ने यूफ्रेटिस नदीको पानीलाई अर्कैतिर मोड्‌न एउटा नहर खने। यसले गर्दा पानीको सतह घट्यो र कोरेसको सेना नदी तरेर सहरको पर्खालसम्म पुग्न सम्भव भयो। अचम्मको कुरा! बेबिलोनीहरूले नदीतर्फ फर्केको मूलढोकाहरू खुल्लै छाडेका थिए। अनि खुल्लै छाडिएका ढोकाहरूबाट कोरेसको सेना सहरभित्र छिरे अनि बेबिलोन सहरमाथि विजय हासिल गरे।

तर भविष्यवाणीको एउटा अंश भने पूरा हुन बाँकी थियो। त्यो हो, के त्यो सहर खण्डहर भयो? केही शताब्दीसम्म त त्यहाँ मानिसहरूको बसोबास थियो। तर अहिले भने केवल खण्डहर मात्र बाँकी छ। अहिले यो ठाउँ इराकको बगदादनजिकै पर्छ। यसरी बेबिलोनको विषयमा बाइबलमा गरिएको भविष्यवाणी जस्ताको तस्तै पूरा भयो। हो, बाइबलले भविष्यबारे बताएको जानकारी सही र भरपर्दो छ।

सत्य कुराको भरपर्दो स्रोत

यी उदाहरणहरूलाई विचार गर्दा थुप्रै मानिसले बाइबललाई भरपर्दो किताबको रूपमा मात्र नभई “परमेश्‍वरकै वचनको रूपमा” लिएका छन्‌, “जुन साँच्चै हो पनि।” (१ थिस्सलोनिकी २:१३) तर बाइबलमा यस्ता उदाहरणहरू थुप्रै छन्‌।

बाइबलमा कस्ता सत्य कुराहरू छन्‌? के त्यसले तपाईँलाई लाभ पुऱ्‍याउँछ? यस पत्रिकाको बाँकी लेखहरूमा बाइबलका केही महत्त्वपूर्ण सत्यबारे चर्चा गरिनेछ। सबैभन्दा पहिला बाइबलका ग्रन्थकार परमेश्‍वरबारे बाइबलमा कस्तो जानकारी पाइन्छ, थाह लगाऔँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने