‘जोगाएर साँचिराख्नुहोस्’
प्रारम्भिक मसीही मण्डलीमा पूरा गर्नुपर्ने भौतिक आवश्यकताहरू थिए। यी आवश्यकताहरू पूरा गर्न हरेक व्यक्तिलाई आफ्नो औकातअनुसार केही अनुदान ‘जोगाएर साँचिराख्ने’ सुझाउ दिइएको थियो। (१ कोरि. १६:१-३) तिनीहरूको उदारताको परिणामस्वरूप ‘परमेश्वरलाई प्रशस्त मात्रामा धन्यवाद’ दिएर सबै जना आनन्दित भए।—२ कोरि. ९:११, १२.
आज परमेश्वरका जनहरूको विश्वव्यापी कार्य विस्तार हुँदै जाँदा आर्थिक सहायताको झनै बढी खाँचो पर्छ। यो आवश्यकता पूरा गर्न हामीले पनि नियमित तवरमा केही ‘जोगाएर साँचिराख्नु’ उपयुक्त हुनेछ। (२ कोरि. ८:३, ४) गत वर्ष सोसाइटीलाई लगाइएको आर्थिक बन्देजबारे सुनेर धेरै जनाले केही थप रकम ‘जोगाएर साँचिराख्ने’ प्रबन्ध मिलाए। यस्ता प्रयत्नहरूको गहिरो मूल्यांकन गरिन्छ र यसले प्रशस्त मात्रामा यहोवाको आशिष् ल्याउँछ।—मला. ३:१०.
क्षेत्रको लागि वा व्यक्तिगत प्रयोजनको लागि हरेक पटक पत्रिका वा साहित्यहरू लिंदा अनुदानका लागि केही रकम जोगाएर राख्नु राम्रो बानी हो। हामीले उदारचित्त भएर दिंदा प्रकाशनहरू उत्पादन र ढुवानी गर्दा लाग्ने खर्च बेहोर्न मात्र होइन तर अन्य विश्वव्यापी क्रियाकलापहरूका लागि पनि सोसाइटीलाई मदत पुग्छ भन्ने कुरा नबिर्सनुहोस्। यस काममा भाग लिन बच्चाहरूलाई पनि प्रोत्साहन दिन सकिन्छ। बाबुआमाले खर्च गर्न दिएको पैसाबाट थोरै भए तापनि आफैले ‘जोगाएर साँचिराख्नाले’ उनीहरूले असीम आनन्द प्राप्त गर्न सक्छन्।
तथापि, बिर्सन धेरै सजिलो छ। मण्डलीको पैसा लगातार बढिरहे तापनि सोसाइटीलाई पठाउने गरेको रकम भने पहिलेको वर्षको तुलनामा निकै घटेको एउटा मण्डलीका प्राचीनले याद गरे। सोसाइटीको खर्च पूरा गर्न देशभरिका हरेक प्रकाशकले प्रत्येक महिना कति रकम पठाउनुपर्छ भनी तिनीहरूले हिसाबकिताब गरे। यदि बाकसमा सोभन्दा कम रकम भएमा, मण्डलीको कोषबाट झिकेर भए पनि हरेक महिना कम्तीमा पनि तोकिएबमोजिम त्यति रकम विश्वव्यापी कार्यका लागि अनुदानस्वरूप आफ्नो मण्डलीबाट पठाउन भाइहरू सहमत भए।
अर्को मण्डलीले थुप्रै पत्रिकाहरू प्रयोगमा नआईकन, यी बहुमूल्य सम्पत्तिहरू त्यत्तिकै खेर गइरहेको याद गऱ्यो। प्राचीनहरूले डुंगाहरू राखिने स्थानीय घाटमा विशेष पत्रिका क्रियाकलापको प्रबन्ध गरे र अनुदान दिन सर्वसाधरणलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भनेर प्रकाशकहरूलाई प्रशिक्षण दिए। फलस्वरूप, त्यस मण्डलीले उक्त महिना रू. १५,००० भन्दा बढी पठाउन सफल भयो।
के तपाईं र तपाईंको परिवारले ‘जोगाएर साँचिराख्ने’ सम्बन्धमा सोच्नुभएको छ? भौतिक चीजहरू विभिन्न तरिकामा अनुदान दिन सकिन्छ। (नोभेम्बर १, २००१, प्रहरीधरहरा, पृष्ठ २८-९ हेर्नुहोस्।) यसलाई हामी साँचो आनन्द दिने विशेष मौका ठान्छौं।—प्रेरि. २०:३५.