परिचालक निकायबाट पत्र
एक्काइसौं शताब्दीको सुरुका वर्षहरूमा प्रवेश गर्ने क्रममा, विश्वभरि छरिएर रहनुभएका तपाईं, “भाइ-बन्धुहरू[लाई]” केही शब्द लेख्न पाउनु र तपाईंहरूको कडा परिश्रमको लागि प्रशंसा गर्न पाउनु ठूलो आनन्दको कुरा हो। (१ पत्रु. २:१७) झन्डै २,००० वर्षअघि येशूले यस्तो प्रश्न गर्नुभएको थियो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ?” (लूका १८:८) गत सेवा वर्षको दौडान तपाईंहरूले गर्नुभएको जोसिलो क्रियाकलापले येशूको प्रश्नको जोडदार सकारात्मक जवाफ दिन्छ! तपाईंहरूमध्ये कोही-कोही आफ्नो विश्वासको खातिर हेला वा खिसीको पात्र हुनुभएको छ। धेरै ठाउँहरूमा तपाईंहरूले युद्ध, प्राकृतिक प्रकोप, रोग वा भोकमरीको बावजूद धैर्य धारण गरिरहनुभएको छ। (लूका २१:१०, ११) तपाईंहरूको असल कामको कारण येशूले अझै ‘पृथ्वीमा विश्वास पाउनुहुनेछ।’ यसको कारण पक्कै स्वर्गमा रमाहट हुन्छ!
हामीलाई थाह छ धैर्य धारण गर्नु सजिलो छैन। पश्चिम एसियाको एउटा देशमा हाम्रा भाइहरूले भोग्नुपरेको परीक्षालाई विचार गर्नुहोस्। त्यस देशमा यहोवाका साक्षीहरूमाथि हिंसात्मक व्यवहार गर्नु भनेको एकदमै सामान्य कुरा हो। हालसालै, लगभग ७०० जना भेला भएको शान्तिपूर्ण सम्मेलनलाई प्रहरीले बिथोलिदिए। बाटो बन्द गरिदिएको कारण अरू १,३०० जना सम्मेलनमा उपस्थित हुन सकेनन्। केही प्रहरीहरू पनि सम्मिलित नकाबधारी एक हूल सम्मेलन स्थलमा छिरेर धेरै जना प्रतिनिधिहरूलाई कुटपिट गरे र सम्मेलन सञ्चालन गर्न तयार पारिएको ठाउँमा पनि आगो लगाइदिए। अर्को पटक चाहिं, धार्मिक उग्रवादीहरूले हाम्रा भाइहरूलाई किलै-किला ठोकिएको डन्डाले निर्ममतासाथ कुटेका छन्।
यस्ता हमलाहरू देखेर हामीलाई दुःख त लाग्छ तर हामी छक्क भने पर्दैनौं। प्रेरित पावल यस्तो लेख्न प्रेरित भए: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।” (२ तिमो. ३:१२) प्रथम शताब्दीमा मसीहीहरूले मौखिक र शारीरिक दुर्व्यवहार सहे र कोही-कोहीलाई त मारियो पनि। (प्रेरि. ५:४०; १२:२; १६:२२-२४; १९:९) यो कुरा २० औं शताब्दीमा सत्य साबित भयो र निस्सन्देह २१ औं शताब्दीमा पनि यस्तै हुनेछ। तैपनि, यहोवा हामीलाई यसो भन्नुहुन्छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।” (यशै. ५४:१७) कस्तो अद्भुत आश्वासन! तथापि, यहोवाको लागि हामी अत्यन्तै मुल्यवान् भएको कारण उहाँले आफ्नो अगमवक्ता जकरियामार्फत् यसो भन्नुभयो: ‘जसले तिमीहरूलाई छुन्छ त्यसले मेरो आँखाको नानीलाई छुन्छ।’ (जक. २:८) यहोवाका उपासकहरूका शत्रुहरू अन्तमा विजयी हुने छैनन्। शुद्ध उपासना विजयी हुनेछ!
उदाहरणका लागि, माथि उल्लिखित देशमा सन् २००१ सेवा वर्षको दौडान यहोवाका साक्षीहरूले प्रकाशकहरूको संख्यामा लगातार दुई नयाँ शिखर कायम गरे। हो, अरू ठाउँहरूमा जस्तै त्यहाँका भाइहरू पनि कठिन परिस्थितिको बावजूद धैर्य धारण गरिरहेका छन्। यहोवाप्रतिको आफ्नो समर्पण जनाउन गत सेवा वर्षको दौडान विश्वभरिमा हरेक हप्ता ५,०६६ जनाले बप्तिस्मा लिए। अहिले यी नयाँ व्यक्तिहरू पनि हामीसँगसँगै “परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका” हुन कटिबद्ध छन्।—कल. ४:१२.
ग्रीसमा भर्खरै घटेका घटनाहरूलाई पनि विचार गर्नुहोस्। ग्रीक अर्थोडक्स चर्चको वर्षौंको विरोधको बावजूद यहोवाका साक्षीहरूलाई अहिले सरकारले “चिरपरिचित धर्म” भनी मान्यता प्रदान गरेको छ। यस्तो मान्यता दिइएको कागजातमा ग्रीस बेथेल “परमेश्वरप्रति समर्पित पवित्र र शुद्ध थलो” हो भनेर पनि उल्लेख गरिएको छ। गत सेवा वर्षको दौडान क्यानाडा, जर्मनी, जापान, बुल्गेरिया, रूस, रोमानिया र संयुक्त राज्य अमेरिकामा अदालतहरूले हाम्रो उपासनाको पक्षमा कानुनी निर्णयहरू गरेका छन् भनेर तपाईंहरूलाई बताउन पाउँदा पनि हामी खुसी छौं। यी मुलुकहरूमा क्रियाकलापको ढोका खुला राख्नुभएकोमा हामी यहोवालाई मुरी-मुरी धन्यवाद दिन्छौं!
यस आखिरी दिनमा यहोवाले आफ्ना जनहरूलाई मदत गर्नुभएका तरिकाहरू विचार गर्दा, उहाँ नै हामीले प्राप्त गर्न सक्ने सबैभन्दा असल मित्र हुनुहुन्छ भनी हामी भन्न सक्छौं। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, सिकाउनुहुन्छ र सच्याउनुहुन्छ भन्ने कुरा थाह पाउँदा उहाँसँगको हाम्रो सम्बन्धमा हामी रमाउँछौं। हो, विश्वासको परीक्षा भने हामीले भोगिरहनुपर्छ। तर यहोवामाथिको दृढ विश्वासले हामीलाई थाम्नेछ। याकूबले यस्तो लेखे: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ।” (याकू. १:२, ३) यसबाहेक, हाम्रो धैर्यले यहोवाप्रतिको हाम्रो प्रेम प्रदर्शित गर्छ र यसले हामीलाई अझ बढी आनन्द दिन्छ! प्यारा भाइहरू हो, हामी हरेकलाई यहोवाले साथ दिनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। हामी विश्वासी रहिरह्यौं भने पक्कै उहाँले हामीलाई नयाँ संसारमा प्रवेश गर्न मदत गर्नुहुनेछ। उहाँ हामी सफल भएको चाहनुहुन्छ।
त्यसैकारण, हामी तपाईं भाइबहिनीहरू र जवान तथा वृद्धहरू सबैलाई हाम्रोअगाडि राखिएका अद्भुत आशिष्हरूलाई ध्यानमा राख्न सल्लाह दिन्छौं। हाम्रो मनोवृति पनि प्रेरित पावलको जस्तै होस्, जसले यस्तो लेखे: “म ठान्छु, यस वर्त्तमान समयको दुःख हामीलाई पछि प्रकट हुनआउने महिमासँग तुलना हुने योग्यको छैन।” (रोमी ८:१८) कुनै पनि दुःखकष्ट भोग्नुपर्दा यहोवामा भर पर्नुहोस्। धैर्य धारण गर्नुहोस् र कहिल्यै हार नखानुहोस्। यसो गर्नु भयो भने तपाईं कहिल्यै पनि पछुताउनु हुनेछैन। परमेश्वरको वचनले हामीलाई यस्तो आश्वासन दिन्छ: “तर धर्मी चाहिं आफ्नो विश्वासद्वारा जिउँछ।”—हब. २:४.
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय