अटल विश्वासको प्रमाण!
१. व्याकुल पार्ने कस्ता घटनाहरू हुनेछन् भनेर येशूले भविष्यवाणी गर्नुभयो?
१ येशूले आफ्नो उपस्थिति र जगत्को अन्तबारे बताउँदा प्रेरितहरूले टाठो भएर सुने। युद्ध, अनिकाल, भुइँचालो, रोगबिमार आदिले गर्दा मानिसहरू व्याकुल हुनेथिए। येशूले यसो पनि भन्नुभयो: चेलाहरू घृणाको पात्र हुनेथिए, घोर शासनाको लागि सुम्पिनेथिए र मारिनेथिए। यसबाहेक, झूटा अगमवक्ताहरू खडा हुनेथिए र धेरैलाई भ्रममा पार्नेथिए। अनि धेरैको प्रेम सेलाएर जानेथियो।
२. सारा पृथ्वीमा राज्यको सुसमाचार प्रचार गरिनु किन उल्लेखनीय कुरा हो?
२ तर त्यतिनै खेर सारा पृथ्वीमा परमेश्वरको राज्यको सुसमाचार प्रचार पनि गरिनेथियो भनेर येशूले बताउँदा प्रेरितहरूले पक्कै अचम्म मानेको हुनुपर्छ। (मत्ती २४:३-१४) अहिले उक्त भविष्यवाणी उल्लेखनीय ढंगमा पूरा भइरहेको हामीले देखिरहेका छौं। अहिले हामी बाँचिरहेको समय डरलाग्दो भए तापनि यहोवाका साक्षीहरू जोसिलो हुँदै सुसमाचार घोषणा गरिरहेका छन्। संसारको प्रेम सेलाइरहेको बेला हाम्रो प्रेमचाहिं झन्-झनै प्रगाढ भइरहेको छ। हामीलाई “सबै जाति”-ले घृणा गरे तापनि हामी प्रत्येक जातिका मानिसहरूलाई सुसमाचार प्रचार गर्छौं।
३. विश्वव्यापी रिपोर्ट हेर्दा तपाईंलाई कुन कुरा प्रोत्साहनदायी लाग्यो?
३ गत सेवा वर्ष यहोवाका साक्षीहरूले कस्तो प्रगति गरे भनेर विचार गर्नु प्रोत्साहनदायी हुन्छ। पृष्ठ ३ देखि ६ मा हाम्रो विश्वव्यापी रिपोर्टको चार्ट दिइएको छ। चेला बनाउने काममा हामीले बितेको १६ वर्षदेखि लगातार एक अरब घण्टाभन्दा धेरै समय बिताइरहेका छौं! हाम्रो अटल विश्वासको कति राम्रो प्रमाण! गत सेवा वर्ष अग्रगामीहरूको संख्या ५.८ प्रतिशतले, प्रकाशकहरू ३.१ प्रतिशतले अनि बाइबल अध्ययनहरू ४.४ प्रतिशतले बढ्यो। बप्तिस्मा लिनेहरूको संख्यामा भने २०.१ प्रतिशतले वृद्धि भयो। अहिले झन्डै ७० लाख मानिसहरूले वफादार भई यहोवाको सेवा गरिरहेका छन्! मानव इतिहासमा यत्ति धेरै मानिसले यहोवाको सेवा गरेको यो पहिलो पटक हो। पृष्ठ ३ देखि ६ मा भएको चार्ट हेर्दा तपाईंलाई विशेषगरि कुन कुरा प्रोत्साहनदायी लाग्यो?
४. बप्तिस्मा लिन योग्यको हुन एक जना मानिसले कस्तो संघर्ष गर्नुपऱ्यो?
४ रिपोर्टमा दिइएका आँकडा निश्चय पनि निकै गजबको छ। तर ती आँकडापछाडि आफ्नो विश्वासको प्रमाण दिने मानिसहरूको ठूलो हात छ भनेर हामीले बिर्सनुहुँदैन। उदाहरणको लागि बोलिभियामा हुर्केका गीलेर्मोलाई विचार गर्नुहोस्। सन् १९३५ मा जन्मिएका गीलेर्मोले नौ वर्षको उमेरदेखि कोका (दक्षिण अमेरिकामा पाइने बोट, जसबाट कोकेन बनाइन्छ) बगानमा काम गर्थे। कठोर परिश्रमको दुःख भुल्न तिनले कलिलो उमेरदेखि कोकाको पात चपाउन थाले। पछि तिनले चुरोट र रक्सी पिउन थाले। तर यहोवाको इच्छा अनि उद्देश्य सिक्दै, बुझ्दै गएपछि गीलेर्मोले चुरोट पिउन र रक्सीको दुरुपयोग गर्न छोडे। तर सानैदेखि लागेको कोकाको पात चपाउने लत छोड्न भने तिनलाई हम्मेहम्मे पऱ्यो। तैपनि तिनले हरेस खाएनन् र निरन्तर यहोवालाई प्रार्थना गरे। आखिरीमा तिनी यो कुलत छोड्न सफल भए। यसरी कुलत-मुक्त भएर तिनले बप्तिस्मा पनि लिए। तिनी भन्छन्, “अहिले म स्वच्छ अनि आनन्दित महसुस गर्छु।”
५. तपाईंको के इच्छा छ?
५ यहोवा मानिसहरूमा साँच्चै चासो लिनुहुन्छ। उहाँ सबैले पश्चाताप गरून् भन्ने इच्छा गर्नुहुन्छ। (२ पत्रु. ३:९) हामी पनि त्यस्तै इच्छा गर्छौं। त्यसैले निष्कपट मानिसहरूलाई यथासक्य मदत गर्न हामी नछाडौं। त्यसो गऱ्यौं भने हामीले जस्तै तिनीहरूले पनि यहोवालाई चिन्न र माया गर्न सक्नेछन्।