प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs chap. ९ pp. ९४-१०४
  • के यो संसार छिट्टै नाश हुँदै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यो संसार छिट्टै नाश हुँदै छ?
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गमा भएको लडाइँ
  • आखिरी समय
  • आखिरी समयमा मानिसहरूको स्वभाव
  • आखिरी समयमा हुने राम्रा कुराहरू
  • तपाईँले के गर्ने निर्णय गर्नुभयो?
  • “आखिरी दिन[मा]” छौं भनेर हामी कसरी भन्‍न सक्छौं
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • “अन्तको दिन” वा “अन्तको समय”-को चिन्ह के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs chap. ९ pp. ९४-१०४

अध्याय नौ

के यो संसार छिट्टै नाश हुँदै छ?

१. भविष्यबारे कहाँ बताइएको छ?

समाचार हेरेपछि के तपाईँलाई कहिलेकाहीँ यस्तो लाग्छ, ‘यो संसारमा के हुन लागेको होला?’ संसारमा दुःखलाग्दो घटना दिनदिनै बढ्‌दै गएको देखेर धेरैलाई यो संसार विनाशतिर लम्कँदै छ जस्तो लाग्छ। के यो साँचो हो? यो संसारको भविष्य कस्तो छ, के त्यो थाह पाउने कुनै तरिका छ? छ। कुनै पनि मानिसले भोलि के हुनेछ भनेर बताउन सक्दैन तर यहोवा परमेश्‍वरले सक्नुहुन्छ। उहाँले बाइबलमा हाम्रो र यस पृथ्वीको भविष्य बताउनुभएको छ।—यसैया ४६:१०; याकुब ४:१४.

२, ३. येसुका चेलाहरूले उहाँलाई के सोधे र उहाँले तिनीहरूलाई कसरी जवाफ दिनुभयो?

२ बाइबलले यस संसारको विनाशबारे भविष्यवाणी गरेको छ। तर बाइबलले हामी बसिरहेको यो पृथ्वी नै नाश हुनेछ भनेर बताउँदैन। बरु यस पृथ्वीमा भइरहेको खराब अनि दुष्ट कुराहरू नाश हुनेछ भनेर बताउँछ। येसुले परमेश्‍वरको राज्यले यस पृथ्वीमाथि शासन गर्नेछ भनेर सिकाउनुहुँदा उहाँका चेलाहरू परमेश्‍वरको राज्य कहिले आउनेछ भनेर जान्‍न आतुर थिए। (लुका ४:४३) त्यसैले तिनीहरूले येसुलाई सोधे: “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ति २४:३) येसुले कुनै मिति दिनुभएन। बरु यो संसार नाश हुनुअघि के-कस्ता घटनाहरू हुनेछन्‌ भनेर तिनीहरूलाई बताउनुभयो। त्यतिबेला येसुले भन्‍नुभएका घटनाहरू अहिले एक-एक गरी पूरा भइरहेका छन्‌।

३ यस अध्यायमा हामी ती घटनाहरूबारे छलफल गर्नेछौँ। तर त्योभन्दा पहिला, स्वर्गमा भएको एउटा लडाइँबारे बुझौँ। तब मात्र यो पृथ्वीको हालत किन यति नराम्रो भएको भनेर बुझ्न सक्नेछौँ।

स्वर्गमा भएको लडाइँ

४, ५. (क) येसु राजा हुनेबित्तिकै स्वर्गमा के भयो? (ख) प्रकाश १२:१२ अनुसार सैतानलाई स्वर्गबाट फ्याँकिएपछि पृथ्वीमा के हुने थियो?

४ हामीले अध्याय ८ मा येसु इस्वी संवत्‌ १९१४ मा स्वर्गमा राजा हुनुभयो भनेर सिक्यौँ। (दानिएल ७:१३, १४) उहाँ राजा हुनेबित्तिकै स्वर्गमा भएको घटनाबारे प्रकाशको किताबले यसरी बयान गर्छ: “स्वर्गमा लडाइँ भयो: माइकल [अर्थात्‌ येसु] र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित [अर्थात्‌ सैतानसित] अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे।”a सैतान र त्यसका प्रेतहरूले लडाइँ हारे अनि तिनीहरूलाई तल पृथ्वीमा फ्याँकियो। परमेश्‍वरका वफादार स्वर्गदूतहरू यो जितपछि कत्ति खुसी भए होलान्‌! तर पृथ्वीका मानिसहरूका लागि भने त्यो खुसीको कुरा थिएन। किन? किनकि “आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले” सैतान असाध्यै रिसाएको छ।—प्रकाश १२:७, ९, १२.

५ त्यसैले सैतानले मानिसहरूको दुःख बढाउन आफूले सकेजति सबै गरिरहेको छ। परमेश्‍वरले आफूलाई अब छिट्टै पृथ्वीबाट पनि हटाउनुहुनेछ भनी त्यसलाई थाह भएकोले त्यो क्रुद्ध भएको छ। येसुले यो संसारको नाश हुनुअघि के-कस्ता घटनाहरू हुनेछन्‌ भन्‍नुभयो, आउनुहोस्‌ अब बुझौँ।—नोट २४ हेर्नुहोस्‌।

आखिरी समय

६, ७. येसुले युद्ध र भोकमरीबारे गर्नुभएको भविष्यवाणी अहिले कसरी पूरा भइरहेको छ?

६ युद्ध। येसुले भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ति २४:७) इस्वी संवत्‌ १९१४ देखि यता युद्धले गर्दा पहिलेभन्दा कैयौँ गुणा धेरै मानिस मरिसके। इस्वी संवत्‌ १९१४ देखि यता मात्रै युद्धले गर्दा १० करोडभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्‌ भनेर एउटा अनुसन्धानले देखाएको छ। बितेको १,९०० वर्षमा भएको सबै युद्धमा जति जना मानिस मरे, त्योभन्दा ३ गुणा धेरै मानिस गएको १०० वर्षभित्र भएको युद्धमा मरिसके। युद्धले गर्दा लाखौँ मानिसले कत्ति धेरै नोक्सानी बेहोर्नुपरेको छ, हामी कल्पनासमेत गर्न सक्दैनौँ।

आखिरी समयका दृश्‍यहरू: बम विस्फोट, कुपोषित बच्चा, लडाकु विमान, भूकम्पमा परेर च्यापिएको मानिस

७ भोकमरी। येसुले भन्‍नुभयो: ‘अनिकाल हुनेछ।’ (मत्ति २४:७) हुनत अहिले पहिलाभन्दा धेरै उब्जनी हुन्छ तैपनि धेरै मानिस अहिले पनि भोकभोकै सुत्नु परिरहेको छ। किन? किनकि तिनीहरूसित खानेकुरा किन्‍ने पैसा छैन अनि खेती गर्ने जमिन पनि छैन। संसारमा एक अरबभन्दा धेरै मानिसलाई बिहान बेलुकीको छाक टार्न गाह्रो भइरहेको छ। विश्‍व स्वास्थ्य सङ्‌गठनको रिपोर्टअनुसार कुपोषणले गर्दा हरेक वर्ष लाखौँ बालबालिकाले अकालमा ज्यान गुमाउँछन्‌।

८, ९. येसुले भूकम्प र रोगबिमारबारे गर्नुभएको भविष्यवाणी अहिले कसरी पूरा भइरहेको छ?

८ भूकम्प। येसुले यस्तो भविष्यवाणी पनि गर्नुभएको थियो: “ठूलठूला भूकम्प जानेछ।” (लुका २१:११) हरेक वर्ष थुप्रै शक्‍तिशाली भूकम्प जानेछ भनेर विशेषज्ञहरूले अनुमान लगाएका छन्‌। इस्वी संवत्‌ १९०० देखि अहिलेसम्म २० लाखभन्दा धेरै मानिसले भूकम्पमा परेर आफ्नो ज्यान गुमाएका छन्‌। हुनत अहिले भूकम्प जान सक्ने खतरा पहिल्यै पत्ता लगाउन सकिने प्रविधि विकास भइसकेको छ। तैपनि भूकम्पले गर्दा धेरै मानिसले आफ्नो ज्यान गुमाउँछन्‌।

९ रोगबिमार। येसुले “महामारी हुनेछ” भनेर भविष्यवाणी गर्नुभएको थियो। भनाइको मतलब प्राणघातक रोग छिटोछिटो फैलिएर धेरै जनाको ज्यान लिने थियो। (लुका २१:११) अहिले धेरैजसो रोगको उपचार कसरी गर्ने भनेर डाक्टरहरूलाई थाह भइसकेको छ। तैपनि अझै यस्ता रोगहरू छन्‌, जसको उपचारै छैन। एउटा रिपोर्टअनुसार क्षयरोग, औलो, हैजाजस्ता रोगले गर्दा हरेक वर्ष लाखौँ मानिस मर्छन्‌। त्यतिमात्र होइन, डाक्टरहरूले त्यस्ता ३० वटा नयाँ रोग पत्ता लगाएका छन्‌, जसमध्ये केहीको अहिलेसम्म कुनै उपचार छैन।

आखिरी समयमा मानिसहरूको स्वभाव

आखिरी समयका दृश्‍यहरू: बिरामी स्त्री, पैसा र सुखविलासलाई प्रेम गर्ने मानिस, दुःखी परिवार, युद्धमा होमिएका सिपाहीहरू

१०. दोस्रो तिमोथि ३:१-५ मा गरिएको भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

१० बाइबलले “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनेको छ। (२ तिमोथि ३:१-५) आखिरी दिनमा धेरैजसो मानिसको स्वभाव कस्तो हुनेछ भनेर पनि बाइबलमा बताइएको छ। जस्तै:

  • स्वार्थी

  • पैसालाई मात्र प्रेम गर्ने

  • आमाबाबुको आज्ञा पालन नगर्ने

  • विश्‍वासघाती

  • परिवारलाई माया नगर्ने

  • संयम नदेखाउने

  • हिंस्रक र मारपिट गर्ने

  • परमेश्‍वरलाई भन्दा सुखविलासलाई मन पराउने

  • धर्मकर्म गरिटोपल्ने तर परमेश्‍वरले देखाउनुभएको बाटोमा भने नहिँड्‌ने

११. भजन ९२:७ अनुसार परमेश्‍वरले दुष्ट मानिसहरूलाई के गर्नुहुनेछ?

११ जहाँसुकै गए पनि संसारभरि यस्तै मानिसहरू छन्‌ नि, होइन र? तर परमेश्‍वरले चाँडै कदम चाल्नुहुनेछ। उहाँले यो प्रतिज्ञा गर्नुभएको छ: “दुष्टहरू झारझैँ सप्रे पनि र गलत काम गर्नेहरूको फलिफाप भए पनि तिनीहरू सदाको लागि नष्ट हुनेछन्‌।”—भजन ९२:७.

आखिरी समयमा हुने राम्रा कुराहरू

१२, १३. आखिरी समयमा यहोवा परमेश्‍वरले हामीलाई के-कस्ता कुराहरू सिकाउनुभएको छ?

१२ आखिरी समयमा संसारमा दुःखकष्ट धेरै बढ्‌नेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। तर बाइबलले आखिरी समयमा हुने राम्रा कुराहरूबारे पनि भविष्यवाणी गरेको छ।

यहोवाका साक्षीहरू पृथ्वीभरि राज्यको सुसमाचार प्रचार गर्छन्‌

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ति २४:१४

१३ बाइबलको सत्य कुरा अझ राम्ररी बुझ्न सकिनेछ। भविष्यवक्‍ता दानिएलले आखिरी समयबारे भविष्यवाणी गर्दा तिनले “साँचो ज्ञान प्रशस्त हुनेछ” भने। (दानिएल १२:४) यो भविष्यवाणीअनुसारै परमेश्‍वरले आफ्ना भक्‍त जनहरूलाई बाइबलको कुरा पहिलेभन्दा झन्‌ स्पष्टसित बुझ्न मदत गर्नुभएको छ। विशेषगरि इस्वी संवत्‌ १९१४ देखि उहाँले त्यस्तो मदत दिइरहनुभएको छ। उदाहरणको लागि, उहाँले हामीलाई उहाँको नामको अर्थ बुझ्नु किन महत्त्वपूर्ण छ र उहाँले पृथ्वी सृष्टि गर्नुको उद्देश्‍य के थियो, फिरौतीको बलिदान हामीलाई किन आवश्‍यक छ, मानिस मरेपछि कहाँ जान्छ अनि तिनीहरू कहिले फेरि मृत्युबाट ब्युँतनेछन्‌ जस्ता महत्त्वपूर्ण विषय सिकाउनुभएको छ। हाम्रा सबै समस्या कसरी परमेश्‍वरको राज्यले मात्र समाधान गर्न सक्छ भनेर पनि हामीले सिकेका छौँ। हाम्रो जीवनलाई कसरी सुखी बनाउन सकिन्छ र परमेश्‍वरलाई मन पर्ने तरिकामा हामी कसरी जीवन बिताउन सक्छौँ भनेर पनि हामीले सिकेका छौँ। यी सबै कुरा सिकेपछि परमेश्‍वरका सेवकहरू के गर्छन्‌? आखिरी समयमा पूरा भइरहेको अर्को भविष्यवाणीले त्यसको जवाफ दिन्छ।—नोट २१ र २५ हेर्नुहोस्‌।

१४. (क) अहिले कति ठाउँमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार भइरहेको छ? (ख) अहिले कसले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका छन्‌?

१४ विश्‍वभरि प्रचार गरिनेछ। आखिरी समयबारे भविष्यवाणी गर्नुहुँदा येसुले यसो भन्‍नुभएको थियो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ति २४:३, १४) अहिले २३० भन्दा धेरै देशमा अनि ८०० भन्दा धेरै भाषामा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिँदै छ। ‘हरेक राष्ट्र र कुलका’ यहोवाका साक्षीहरूले पृथ्वीका मानिसहरूलाई परमेश्‍वरको राज्य भनेको के हो र यसले मानिसजातिको लागि के गर्नेछ भनेर बुझ्न मदत गरिरहेका छन्‌। (प्रकाश ७:९) तिनीहरूले यो काम गरेबापत कसैसित पैसा लिँदैनन्‌। यहोवाका साक्षीहरूलाई धेरैजसो मानिसहरू घृणा गर्छन्‌ र खेदो गर्छन्‌, तैपनि येसुले भविष्यवाणी गर्नुभएझैँ तिनीहरूलाई राज्यको सुसमाचार प्रचार गर्नदेखि कसैले रोक्न सकेको छैन।—लुका २१:१७.

तपाईँले के गर्ने निर्णय गर्नुभयो?

१५. (क) हामी यो संसारको आखिरी समयमा बाँचिरहेका छौँ भनेर के तपाईँ विश्‍वास गर्नुहुन्छ? विश्‍वास गर्नुहुन्छ भने किन? (ख) यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नेहरूलाई र उहाँको आज्ञा पालन नगर्नेहरूलाई के हुनेछ?

१५ हामी साँच्चै यो संसारको आखिरी समयमा बाँचिरहेका छौँ भनेर विश्‍वास गर्न के तपाईँलाई अझै गाह्रो लाग्छ? आखिरी समयबारे गरिएको बाइबलका थुप्रै भविष्यवाणी अहिले हाम्रै आँखाअगाडि पूरा भइरहेको छ। अहिले संसारभरि चलिरहेको राज्य प्रचारकार्यलाई पनि उहाँले अब छिट्टै बन्द गर्नुहुनेछ। त्यसपछि यो संसारको “अन्त” हुनेछ। (मत्ति २४:१४) अन्त कसरी हुनेछ? आरमागेडोनको युद्ध सुरु भएपछि यो संसारको अन्त हुनेछ। परमेश्‍वरले यस युद्धमा सबै दुष्ट मानिस अनि सबै किसिमका खराब कामलाई हटाउनुहुनेछ। यहोवा परमेश्‍वरले उहाँ र उहाँको छोराको विरोध गर्नेहरूलाई नाश गर्नुहुनेछ। यस कामको लागि उहाँले येसु र शक्‍तिशाली स्वर्गदूतहरूलाई चलाउनुहुनेछ। (२ थिस्सलोनिकी १:६-९) त्यसपछि सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजाने मौका पाउनेछैन। परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको राज्यलाई स्विकार्ने जति सबैले उहाँले प्रतिज्ञा गर्नुभएका सबै राम्रा-राम्रा कुराहरू पूरा भएको आफ्नै आँखाले देख्नेछन्‌।—प्रकाश २०:१-३; २१:३-५.

१६. यो संसारको अन्त नजिकै भएकोले तपाईँले के गर्नुपर्छ?

१६ सैतानले शासन गरिरहेको यो संसार अब छिट्टै नाश हुनेछ। त्यसोभए तपाईँले के गर्नुपर्छ? यहोवा परमेश्‍वर तपाईँले बाइबल अध्ययन गरेर उहाँको विषयमा अनि उहाँको राज्यको विषयमा सकेसम्म धेरै कुरा सिकेको चाहनुहुन्छ। यो संसार नाश हुँदा बच्न चाहनेजति सबैले यो काम गर्नै पर्छ। (युहन्‍ना १७:३) मानिसहरूले बाइबलले दिने ज्ञान पाउन सकून्‌ भनेर यहोवाका साक्षीहरू हरेक हप्ता सभाहरू सञ्चालन गर्छन्‌। तपाईँ पनि यी सभाहरूमा नियमित रूपमा जाने कोसिस गर्नुहोस्‌। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌) आफ्नो आनीबानी, चालचलन परिवर्तन गर्नुपर्ने आवश्‍यकता देख्नुभयो भने परिवर्तन गरिहाल्नुहोस्‌। यसो गर्नुभयो भने यहोवा परमेश्‍वरसितको तपाईँको सम्बन्ध अझ बलियो हुनेछ।—याकुब ४:८.

१७. यस संसारको अन्त हुँदा थुप्रै मानिस किन जिल्ल पर्नेछन्‌?

१७ प्रेषित पावलले धेरैले आसै नगरेको बेला “राती चोर आएजस्तै गरी” दुष्ट मानिसहरूमाथि विनाश आउनेछ भनेर बताए। (१ थिस्सलोनिकी ५:२) हामी यो संसारको आखिरी समयमा बाँचिरहेका छौँ भनेर धेरैले वास्तै गर्नेछैनन्‌ भनेर पनि येसुले भविष्यवाणी गर्नुभएको थियो। उहाँले यसो भन्‍नुभयो: “नुहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति [अर्थात्‌ यो संसारको आखिरी समयमा] पनि त्यस्तै हुनेछ। किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌; मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।”—मत्ति २४:३७-३९.

१८. येसुले हामीलाई कस्तो चेतावनी दिनुभयो?

१८ येसुले “धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझ”-ले नअलमलिन चेतावनी दिनुभयो। उहाँले यो संसारको अन्त अचानक “पासोझैँ आइपर्नेछ” भन्‍नुभयो। उहाँले “पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ” पनि भन्‍नुभयो। त्यसपछि उहाँले यसो भन्‍नुभयो: “त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हर घडी उत्कट बिन्ती चढाउँदै जागा रहो।” (लुका २१:३४-३६) हामीले येसुको यो चेतावनी सुन्‍नु धेरै महत्त्वपूर्ण छ। किनकि सैतानको दुष्ट संसारको विनाश अब धेरै नजिक छ। यहोवा परमेश्‍वर र येसुको आज्ञा पालन गर्ने मानिसहरू मात्र यो पुरानो संसारको अन्त हुँदा बच्नेछन्‌ अनि परमेश्‍वरको राज्यले सुरु गर्ने नयाँ संसारमा सधैँभरि बाँच्नेछन्‌।—युहन्‍ना ३:१६; २ पत्रुस ३:१३.

a माइकल येसु ख्रिष्टको अर्को नाम हो। थप जानकारीको लागि कृपया नोट २३ हेर्नुहोस्‌।

सारांश

एक: यहोवा परमेश्‍वरले हाम्रो भविष्यबारे बताउनुभएको छ

“पछि के हुन्छ, म पहिल्यै बताउँछु अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।”—यसैया ४६:१०

आखिरी समयबारे हामीलाई के थाह छ?

  • दानिएल ७:१३, १४

    इस्वी संवत्‌ १९१४ मा येसु स्वर्गमा राजा हुनुभयो।

  • मत्ति २४:३-१४

    मानिसजातिले असाध्यै कठिन अवस्था सामना गर्नुपर्नेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो।

  • प्रकाश १२:७-९, १२

    येसु राजा हुनुभएको केही समयपछि उहाँले सैतानलाई स्वर्गबाट पृथ्वीमा फ्याँक्नुभयो। आफ्नो “समय थोरै मात्र बाँकी” भएकोले सैतान रिसाएको छ।

दुई: हामी आखिरी समयमा बाँचिरहेका छौँ

“यस युगको आखिरी समयको चिन्ह के हुनेछ?”—मत्ति २४:३

के तपाईँले बाइबलका भविष्यवाणीहरू पूरा भएको देख्नुभएको छ?

  • मत्ति २४:७; लुका २१:११

    पहिलाभन्दा झन्‌ धेरै युद्ध, भोकमरी, भूकम्प र रोगबिमार भइरहेका छन्‌।

  • २ तिमोथि ३:१-५

    प्रेषित पावलले अन्तको दिनका मानिसहरूको स्वभावबारे बताएका थिए।

  • दानिएल १२:४

    परमेश्‍वरले आफ्ना जनहरूलाई बाइबलको कुरा अझ स्पष्टसँग बुझ्न मदत गर्दै हुनुहुन्छ।

  • मत्ति २४:१४

    परमेश्‍वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिँदै छ।

तीन: यहोवा परमेश्‍वरलाई खुसी पार्न अहिल्यै कदम चाल्नुहोस्‌

“यहोवा परमेश्‍वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।”—१ थिस्सलोनिकी ५:२

अन्त एकदमै नजिक भएकोले तपाईँले के गर्नुपर्छ?

  • युहन्‍ना १७:३

    बाइबलबाट सिकेको कुरालाई हल्कासित नलिनुहोस्‌।

  • हिब्रू १०:२४, २५

    यहोवाका साक्षीहरूको सभाहरूमा गएर अझ धेरै कुरा सिक्नुहोस्‌।

  • याकुब ४:८

    जीवनमा आवश्‍यक परिवर्तनहरू गर्नुहोस्‌, जसले गर्दा तपाईँ परमेश्‍वरसित अझ नजिक हुन सक्नुहुन्छ।

  • लुका २१:३४-३६

    अलमल्याउने कुराहरूदेखि जोगिनुहोस्‌ र यहोवा परमेश्‍वरको उपासनामा ध्यान लगाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने