परिचालक निकायको पत्र
परिचालक निकायको पत्र
प्रिय भाइबहिनीहरू,
स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवा प्रेमको उत्कृष्ट नमुना हुनुहुन्छ। त्यसैले बाइबलमा यसो भनिएको छ, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूह. ४:८) यहोवा सर्वशक्तिमान् हुनुहुन्छ तर उहाँको वचनले कहिल्यै पनि “परमेश्वर शक्ति हुनुहुन्छ” भनेर बताउँदैन। उहाँका नियमहरू प्रेममा आधारित छन्। यही गुणले गर्दा हामी उहाँतर्फ खिचिएका छौं नि, होइन र!
खुसीको कुरा यहोवा हामीलाई उहाँको सेवा गर्न कर गर्नुहुन्न। उहाँ तानाशाही हुनुहुन्न। हामीले मनैदेखि प्रेम गरेर सेवा गरेको उहाँ चाहनुहुन्छ। यसो गर्दा हामी उहाँको शासन चाहन्छौं भनेर देखाइरहेका हुन्छौं किनभने उहाँले शासन गर्ने तरिका सही र मायालु छ भनी हामी विश्वास गर्छौं। मानव इतिहासको सुरुदेखि नै यो कुरा प्रस्ट भएको छ।
यहोवाले आदम र हव्वालाई आज्ञा मान्न करकापमा पार्नुभएन। बरु तिनीहरूलाई छनौट गर्ने मौका दिनुभयो। तिनीहरूले यहोवालाई साँच्चै प्रेम गरेका भए र उहाँले तिनीहरूको निम्ति गरिदिनुभएको कुराहरूको मोल गरेका भए सैतानले विद्रोह गर्न उक्साउँदा त्यसको प्रतिरोध गर्ने थिए।
मोशाले पनि इस्राएल राष्ट्रलाई दिएको अन्तिम भाषणमा यसो भने, “हेर, आज मैले तिमीहरूको अगि जीवन र हित, औ मृत्यु र अहित राखेको छु।” (व्यव. ३०:१५) कसरी जीवन बिताउने भनेर मानिसहरूले आफै छनौट गर्न सक्थे। त्यस्तैगरि यहोशूले इस्राएलीहरूलाई यसो भने, “यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने, आजै तिमीहरूले रोज।” जवाफमा इस्राएलीहरूले यहोशूलाई भने, “परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न हामीले नपरोस्।” (यहो. २४:१५, १६) आज हामी पनि यस्तै महसुस गर्छौं। हामी यहोवालाई प्रेम गर्छौं। त्यसैले उहाँलाई ‘त्याग्ने’ कुरा हाम्रो लागि असोचनीय छ।
हामी साँचो ख्रीष्टियनहरूले पनि स्वतन्त्र इच्छामा के-कस्तो कुरा समावेश छ भनेर राम्ररी बुझेका छौं। एल्डरहरूले सल्लाह र अनुशासनसमेत दिन अख्तियार पाएको भए तापनि तिनीहरूले अरूमाथि हैकम चलाउने वा अरूको जीवन र विश्वासको मालिकजस्तो व्यवहार गर्दैनन्। प्रेषित पावलले यस्तो लेखे, “हामी तिमीहरूका विश्वासको मालिक होइनौं, बरु तिमीहरूको आनन्दको निम्ति सहकर्मीहरू हौं, किनकि तिमीहरू आफ्नै विश्वासले गर्दा स्थिर छौ।”—२ कोरि. १:२४.
करकापमा परेर कुनै कुरा गर्नुभन्दा आफैले चाहेर गर्दा अपार सन्तुष्टिको आभास हुन्छ! प्रेमद्वारा उत्प्रेरित भएर असल काम गर्न यहोवा हामीलाई भन्नुहुन्छ। पावलले प्रेरणा पाएर लेखेका शब्दहरूले यस कुराको महत्त्व झल्काउँछ, “घमन्ड गर्न सकूँ भनेर मैले आफ्नो सारा सम्पत्ति अरूलाई खुवाउन दिएँ र आफ्नो ज्यानै दिएँ तर मसित प्रेमचाहिं छैन भने मलाई केही लाभ हुँदैन।”—१ कोरि. १३:३.
लाखौं भाइबहिनीले यहोवालाई मनैदेखि प्रेम गरेर सेवा गरेको देख्दा उहाँ कत्ति आनन्दित हुनुहुनेछ! यसले उहाँको प्रशंसा पनि गर्छ।
यसको जवाफस्वरूप यो संसार र यसका स्वार्थी इच्छाहरूलाई भन्दा यहोवालाई प्रेम गर्ने तपाईं केटाकेटी र किशोरकिशोरीहरू लगायत आफ्ना सबै सेवकहरूलाई यहोवा गहिरो प्रेम गर्नुहुन्छ। हामी पनि तपाईंहरूलाई गहिरो प्रेम गर्छौं भन्ने कुरामा ढुक्क हुनुहोस्।—लूका १२:४२, ४३.
यहोवाप्रतिको प्रेमले गर्दा तपाईं भाइहरू, बहिनीहरू अनि जवानहरूले गत वर्ष सुसमाचार घोषणा गर्न १,७४,८६,९७,४४७ घण्टा बिताउनुभयो। प्रेमले उत्प्रेरित भएर विश्वभरि ७७,८२,३४६ जनाले क्षेत्र सेवामा भाग लिए। पानीको बप्तिस्मा गरेर २,६८,७७७ जनाले यहोवालाई समर्पण गरेको देख्न पाउँदा हामीलाई खुसी लागेको छ। त्यसमध्ये केटाकेटीहरू पनि धेरै थिए। यसको अर्थ हरेक हप्ता लगभग ५,१६८ जनाले बप्तिस्मा गरे। हामी खुसीले गद्गद छौं।
यस अन्तको समयमा परमेश्वरका जनहरूले विभिन्न समस्या, चुनौती, सतावट, रोग बिमारीसित जुझ्नुपर्छ। तपाईंहरूमध्ये कोही-कोहीले वृद्धावस्थाको सामना गर्नुपरेको छ। तर हामी ‘पछि नहट्न’ अथवा ‘हरेस नखान’ कटिबद्ध छौं। हामी तपाईंहरू सबैलाई धेरै माया गर्छौं।—हिब्रू १०:३९; २ कोरि. ४:१६.
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय