जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जनवरी २-८
बाइबलमा पाइने अनमोल धन | यशैया २४-२८
“यहोवा आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ”
ip-1-E पृ. २७२ अनु. ५
यहोवाको हात उच्च पारियो
५ शत्रुहरूका नजरमा यहोवा डरलाग्दो देखिए तापनि उहाँको सेवा गर्न चाहने नम्र अनि सोझा व्यक्तिहरूका लागि भने शरणस्थान हुनुहुन्छ। क्रूर धार्मिक तथा राजनैतिक शासकहरूले साँचो उपासकहरूको निष्ठा तोड्न जस्तो सुकै प्रयास गरे तापनि तिनीहरू विफल हुनेछन्। किनभने यहोवा, मानिसहरूको निम्ति बलियो शरणस्थान हुनुहुन्छ। साथै, यहोवाले आफ्ना विरोधीहरूलाई सजिलैसित चुप लगाउने समय आउनेछ। मानौं त्यतिबेला यहोवाले बल्दो सूर्यलाई बादलले ढाकिदिनुहुनेछ अनि पर्खाल बनेर तुफानलाई रोकिदिनुहुनेछ।—यशैया २५:४,५ पढ्नुहोस्।
ip-1-E पृ. २७३ अनु. ६-७
यहोवाको हात उच्च पारियो
‘सारा मानिसहरूका लागि भोज’
६ यहोवाले आफ्ना सेवकहरूलाई सुरक्षा मात्र दिनु हुन्न। तर मायालु बुबालेजस्तै खुवाउनु हुन्छ मतलब आध्यात्मिक भोजन दिनुहुन्छ। आफ्ना जनहरूलाई सन् १९१९ मा महान्बेबिलोनबाट मुक्त गर्नुभएपछि तिनीहरूको निम्ति उहाँले विजयी भोज आयोजना गर्नुभयो। त्यहाँ पाइने प्रशस्त आध्यात्मिक भोजनबारे यशैयाले यसो लेखे।“सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू—छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।”—यशैया २५:६.
७ यहोवाको “पर्वतमा” यो भोजको प्रबन्ध भइरहेको छ। यो “पर्वत” के हो? यो पर्वत ‘यहोवाको भवन बसालिएको पर्वत’ हो जहाँ “पछिल्ला दिनमा” सबै जातिहरू उहाँको उपासना गर्न ओइरिएर आउनेछन्। अनि यस “पवित्र पर्वत”-मा उहाँका उपासकहरूले कसैको हानि नोक्सानी गर्ने छैनन्। (यशैया २:२; ११:९) यसरी सबैभन्दा उच्च पारिएको ठाउँबाट यहोवा आफ्ना वफादार सेवकहरूलाई प्रशस्त आध्यात्मिक भोजको प्रबन्ध गर्नुहुन्छ। अहिले प्रबन्ध गरिएको प्रशस्त आध्यात्मिक भोजन भविष्यमा परमेश्वरको राज्यले मानिसजातिमाथि शासन गर्दा खानेकुराहरू प्रशस्त मात्रामा उपलब्ध हुनेछ भन्ने कुराको संकेत हो। त्यतिबेला कोही पनि भोको हुने छैनन्। किनभने “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्न हुनेछ”।—भजन ७२:८, १६.
ip-1-E पृ. २७३-२७४ अनु. ८-९
यहोवाको हात उच्च पारियो
८ परमेश्वरले अहिले प्रबन्ध गरिरहनुभएको आध्यात्मिक भोजन स्वीकार्नेहरूको भविष्य उज्ज्वल हुनेछ। कसरी? यशैयाले बताएका कुरामा ध्यान दिनुहोस्। तिनले पाप र मृत्युलाई “पर्दा” र “घुम्टो”-सित तुलना गर्दै यसो भने: “[यहोवाले] यही पर्वतमा सारा मानिसहरूमाथि परेको पर्दा र सारा जातिमाथि परेको घुम्टो हटाइदिनुहुनेछ। उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।—यशैया २५:७, ८क.
९ हो, साँच्चै! पाप र मृत्यु हुने छैन। (प्रकाश २१:३, ४) साथै, यहोवाका सेवकहरूले हजारौं वर्षदेखि सहिरहनु परेको निन्दा र झूटो आरोपको पनि अन्त हुनेछ। “उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्नुभएको छ।” (यशैया २५:८ख) कसरी यस्तो हुनेछ? यहोवाले समस्याको जडको अन्त गर्नुहुनेछ अर्थात् सैतान र त्यसको सन्तानलाई हटाउनुहुनेछ। (प्रकाश २०:१-३) त्यसैले यसमा अचम्म मान्नु पर्दैन, परमेश्वरको सेवकहरूले यसो भन्नेछन्:“हेर, हाम्रा परमेश्वर, हामीले उहाँको बाटो हेऱ्यौं, र उहाँले नै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर, हामीले उहाँको बाटो हेऱ्यौं, उहाँले दिनुभएको मुक्तिमा हामी खुसी हुनेछौं र रमाउनेछौं।”—यशैया २५:९.
जनवरी ९-१५
बाइबलमा पाइने अनमोल धन | यशैया २९-३३
“राजाले न्यायोचित राज्य गर्नेछन्”
ip-1-E पृ. ३३२-३३४ अनु. ७-८
राजा र तिनका भारदारहरू
७ येशूले एउटा भविष्यवाणीमा यस “युगको आखिरी समयको” कष्टकर अवस्थाबारे बताउनुहुँदा यसो भन्नुभयो: “तिमीहरू नआत्तिओ।” (मत्ती २४:३-८) उहाँले किन यसो भन्नुभयो? यसको एउटा कारण, “भारदार” अभिषिक्तजनबाटको होस् अथवा “अरू भेडा”-बाट तिनीहरूले वफादार भई बगालको सुरक्षा गर्छन्। (यूहन्ना १०:१६) तिनीहरूले जातीय युद्ध र नरसंहार हुँदाखेरिको कष्टकर समयमा समेत साहसी भई आफ्ना दाजुभाइ दिदीबहिनीहरूको हेरविचार गर्छन्। आध्यात्मिक अर्थमा भन्ने हो भने निराश भएकाहरूलाई परमेश्वरको वचन बाइबलको शिक्षाद्वारा सान्त्वना दिन्छन्।
८ बितेका ५० वर्षको दौडान “भारदार”-हरू को हुन् भनेर स्पष्ट भएको छ। अरू भेडाका यी “भारादार”-हरूलाई अहिले “राजा” वर्गको रूपमा तालिम दिइरहेको छ। तिनीहरूले महासङ्कष्ट पछि “नयाँ पृथ्वी”-मा प्रशासकको रूपमा सेवा गर्नेछन्। (इजकिएल ४४:२, ३; २ पत्रुस ३:१३) अहिले तिनीहरूले परमेश्वरको राज्य प्रचारकार्यमा नेतृत्व लिंदै बगाललाई आध्यात्मिक डोऱ्याइ अनि स्फूर्ति दिइरहेका छन्। यसरी तिनीहरू परमेश्वरको उपासना गर्नेहरूका लागि “ठूलो चटानको छायाजस्तै” भएका छन्।
ip-1-E पृ. ३३४-३३५ अनु. १०-११
राजा र तिनका भारदारहरू
आँखा, कान, अनि मन लगाएर ध्यान दिने
१० यहोवाले गर्नुभएको प्रबन्धप्रति ठूलो भीडले कस्तो प्रतिक्रिया देखाएका छन्? भविष्यवाणी यसो भन्छ: “तब हेर्नेहरूका आँखा धमिला हुनेछैनन् र सुन्नेहरूका कानले सुन्नेछन्।” (यशैया ३२:३) वर्षौंको दौडान यहोवाले आफ्ना सेवकहरूलाई परिपक्व बनाउन विभिन्न तरिकामा निर्देशन र डोऱ्याइ दिइरहनु भएको छ। विश्वभरि नै यहोवाका साक्षीहरूको मण्डलीमा ईश्वरतान्त्रिक सेवा स्कुल र अन्य सभाहरू सञ्चालन भइरहेका छन्। त्यसैगरि सम्मेलन, राष्ट्रिय र अन्तरराष्ट्रिय अधिवेशनहरूद्वारा “भारदार” वर्गले तालिम पाइरहेका छन्। यसरी तालिम दिइएको कारण अहिले संसारभरिका लाखौं दाजुभाइ दिदीबहिनीबीच एकता छाएको छ। पृथ्वीको जुनसुकै कुनामा रहे तापनि यी गोठालाहरू सत्य कुरा सुन्न र बुझाइमा छाँटकाँट हुँदा आज्ञाकारी भई स्विकार्न तिनीहरूले आफ्नो कान खुला राखेका छन्।—भजन २५:१०.
११ त्यसपछि भविष्यवाणीले यस्तो चेताउनी दिन्छ: “अधीर हृदयले पनि ज्ञान प्राप्त गर्नेछ, र भकभके जिब्रोले स्पष्टसित बोल्नेछ।” (यशैया ३२:४) हामीले सही र गलतको निर्णय गर्नुपर्दा हतारमा निष्कर्ष निकाल्नु हुँदैन। बाइबलले यसो भन्छ: “तैंले कसैलाई झट्टै बोल्न इच्छा गरेको देख्छस् भने त्यसको निम्ति भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।” (हितोपदेश २९:२०; उपदेशक ५:२) सन् १९१९ अघि यहोवाका साक्षीहरू बेबिलोनी शिक्षाबाट प्रभावित थिए। तर त्यस वर्षदेखि यता यहोवाले क्रमिक रूपमा आफ्नो उद्देश्य अझ स्पष्ट पार्दै आउनुभएको छ। साँचो ख्रीष्टियनहरूले आफूले पाएको सत्यलाई अनमोल ठान्छन् र त्यसबारे ढुक्कसँग अरूलाई बताउँछन्।
जनवरी १६-२२
बाइबलमा पाइने अनमोल धन | यशैया ३४-३७
‘हिजकियाहले आफ्नो विश्वासको इनाम पाए’
ip-1-E पृ. ३८६-३८८ अनु. ७-१४
राजाले आफ्नो विश्वासको इनाम पाए
रबशाकेले आफ्नो मामिला पेस गर्छन्
७ यरूशलेमका बासिन्दाहरूलाई आत्मा समर्पण गर्न लगाउन सनहेरीबले रबशाकेलाई (सैनिक उपाधि, व्यक्तिगत नाम होइन) अरू दुई जना उच्च पदाधिकारीको साथमा यरूशलेम पठाउँछन्। (२ राजा १८:१७) हिजकियाहको तीन जना प्रतिनिधिहरू राजदरबारका प्रधान एल्याकीम, मन्त्री शेब्ना र आसापका छोरा सचिव योआह सहरको पर्खाल बाहिरपट्टि तिनीहरूलाई भेट्न जान्छन्।—यशैया ३६:२, ३.
८ युद्ध नलडीकनै यरूशलेमले आत्मा समर्पण गरोस् भन्ने रबशाके चाहन्थे। तिनी हिब्रू भाषामा ठूलो स्वरमा यसो भन्दै कराउँछन्: “तँ के आशामा भरोसा गर्दछस्?. . . अब तँ कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी भएको छस्?” (यशैया ३६:४, ५) अनि रबशाकेले अश्शूरीहरूसामु यहूदीहरू निस्सहाय छन् भनी धम्क्याउँछन्। यहूदीहरू मदतको लागि कोमाथि भर पर्न सक्थे? “भाँचिएको निंगालो” अर्थात् मिश्रमाथि? (यशैया ३६:६) कुनै समय विश्वशक्ति राष्ट्रको रूपमा खडा मिश्र देश अहिले भाँचिएको निंगालोजस्तै भएको छ। किनभने इथियोपियाले मिश्र देशलाई पराजित गरेको छ। अनि मिश्रका शासक फिरऊन तिर्हा मिश्री नभई एक इथियोपियाली हुन्। साथै मिश्र देश अब अश्शूरीहरूको हातबाट पराजित हुनै लागेको छ। (२ राजा १९:८, ९) आफूलाई बचाउन नसकेको मिश्रले यहूदालाई कसरी बचाउन सक्थ्यो र?
९ यहोवा यहूदीहरूदेखि खुसी हुनुहुन्न त्यसैले उहाँले तिनीहरूलाई अश्शूरीहरूको हातबाट बचाउनुहुने छैन भनी रबशाके तर्क गर्छन्। रबशाके यसो भन्छन्: “तर तैंले मलाई ‘हामी आफ्नो परमेश्वरमाथि भरोसा राख्तछौ’ भनी भन्छस् भने, के उहाँ उही हुनुहुन्न, जसका अल्गा-अल्गा ठाउँहरू र जसका वेदीहरू हिजकियाहले हटाएका छन्?” (यशैया ३६:७) यहूदीहरूले आफ्नो देशबाट अल्गा ठाउँहरू र वेदीहरू हटाएर यहोवालाई इन्कार गरेका थिएनन्। बरु उहाँतर्फ फर्केका थिए।
१० रबशाकेले यहूदी सेनाहरूलाई असाध्यै तुच्छ ठान्छन्। तिनी घमन्डले फुल्दै यहूदीहरूलाई यस्तो चुनौती दिन्छन्: “म तँलाई दुई हजार घोडा दिनेछु। हेरौं, तीमाथि तँ सवार चढाउन सक्छस् कि सक्दैनस्।” (यशैया ३६:८) तर यहूदीहरूसित तालिम प्राप्त घोडसवार थोरै होस् वा धेरै त्यसले केही फरक पार्छ र? पार्दैन। किनभने तिनीहरूको उद्धार शक्तिशाली सेनाको हातमा थिएन। हितोपदेश २१:३१-मा यस्तो लेखिएको छ: “युद्धको दिनको लागि घोडा तयार पार्न सकिन्छ, तर विजय त परमप्रभुबाट नै हुन्छ।” यहोवाले अश्शूरीहरूलाई आशिष् दिइरहनुभएको छ भनेर रबशाकेले दाबी गर्छन्। त्यसैले तिनीहरू यहूदीहरूको इलाका भित्रैसम्म आउन सकेको भनी तर्क गर्छन्।—यशैया ३६:९, १०.
११ रबशाकेले भनेका नकारात्मक कुराहरूले सहरको पर्खालमा उभिरहेका मानिसहरूलाई कस्तो असर पार्ला भनेर हिजकियाहका प्रतिनिधिहरू चिन्ता गर्छन्। त्यसैले ती यहूदी प्रतिनिधिहरूले यसरी अनुरोध गरे: “बिन्ती छ, तपाईंका दासहरूसित अरामी भाषामा बोल्नुहोस्, किनकि हामी त्यो भाषा बुझ्छौं। पर्खालमा भएका मानिसहरूका कानमा पुग्ने गरी यहूदी भाषामा हामीसित नबोल्नुहोस्।” (यशैया ३६:११) तर तिनले मानेनन् किनभने यहूदीहरू डराएर आत्मा समर्पण गरोस् भनी तिनी चाहन्थे। यहूदीहरू डराएमा अश्शूरीहरूले युद्ध नलडीकनै यरूशलेमलाई हराउन सक्थे। (यशैया ३६:१२) त्यसैले फेरि तिनीहरूले “यहूदी भाषामा” बोले। तिनले यरूशलेमका बासिन्दालाई यसो भनेर चेताउनी दिए: “हिजकियाहले तिमीहरूलाई धोका नदेओस्, किनकि त्यसले तिमीहरूलाई छुटाउन सक्नेछैन।” यसरी चेताउनी दिएपछि रबशाकेले तिनीहरूलाई अश्शूरीहरूको हातमा आफूलाई सुम्पेमा सुख पाइनेछ भनी लोभ देखाए। तिनले यसो भने: “तिमीहरू मसित मिलाप गर, र मकहाँ निस्केर आऊ, र हरेकले आफ्नो-आफ्नो दाखको फलबाट र हरेकले आफ्नो-आफ्नो नेभाराको फलबाट खाऔंला, र आफ्नो-आफ्नो पानीको कुण्डबाट पानी पिऔंला, जबसम्म म आएर तिमीहरूकै जस्तो अन्न र दाखमद्य औ रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ।’—यशैया ३६:१३-१७.
१२ अश्शूरीहरूको आक्रमणले गर्दा यहूदीहरूले बाली छर्न पाएनन्। त्यसैले यो वर्ष तिनीहरूले अन्न कटनी गर्न पाउनेछैनन्। यस्तो अवस्थामा दाखको रसिलो फल खान पाउने अनि चिसो पानी पिउन पाउने कुरा सुन्दा पर्खालमा बसिरहेका यहूदीहरूको मुख पक्कै रसाए होलान्। तर यी सबै कुरा रबशाकेले यहूदीहरूको मनोबल घटाउन भनिरहेका थिए। तर कुरा त्यतिकैमा टुङ्गिंदैन।
१३ तिनले वचन प्रहार गर्दै अझै यसो भन्छन्: ‘यहोवाले हामीलाई बचाउनुहुनेछ’ भनी हिजकियाहले भन्लान् तर ‘तिनको कुरामा भरोसा नगर्।’ साथै सामरीहरूको देवताले दस गोत्रे राज्यलाई अश्शूरीहरूको हातबाट बचाउन नसकेको कुरा पनि सम्झना गराउँछन्। अरू देशका देवी-देवताको खिल्ली उडाउँदै यस्तो प्रश्न सोध्छन्: “हमात र अर्पदका देवताहरू कहाँ गए? सपर्वैमका देवताहरू कहाँ गए? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाएका छन्? यी देशहरूका देवताहरूमध्ये कसले आफ्नो देश मेरो हातबाट बचाउन सकेको छ?”—यशैया ३६:१८-२०.
१४ धर्मत्यागी सामरिया र हिजकियाहले शासन गरेको यरूशलेमबीचको भिन्नता झूटा देवताका उपासक रबशाकेलाई के थाह! सामरियाको ती झूटा देवतासित दस गोत्रे राज्यलाई बचाउन सक्ने शक्ति थिएन। (२ राजा १७:७, १७, १८) तर हिजकियाह राजाको शासन अन्तर्गत यरूशलेमले झूटा देवीदेवतालाई त्यागेर यहोवाको उपासना गर्न थालेका थिए। तर यो कुरा तीन जना यहूदी प्रतिनिधिहरूले रबशाकेलाई बुझाउने कोसिस गरेनन्। “तिनीहरू चूप लागिबसे, र तिनलाई एउटै कुराको पनि जवाफ दिएनन्। किनकि तिनलाई केही जवाफ नदिनू भन्ने राजाको हुकूम थियो।” (यशैया ३६:२१) एल्याकीम, शेब्ना र योआह हिजकियाहकहाँ फर्कन्छन् अनि रबशाकेले भनेका कुराहरू सबै सुनाउँछन्।—यशैया ३६:२२
ip-1-E पृ. ३८९-३९१ अनु. १५-१७
राजाले आफ्नो विश्वासको इनाम पाए
हिजकियाहले निर्णय गर्छन्
१५ राजा हिजकियाहले एउटा गम्भीर निर्णय गर्नुपरेको छ। यरूशलेम अश्शूरीहरूसामु झुक्ने? कि मिश्रसँग मिल्ने? वा डटेर त्यसको सामना गर्ने? तिनी ठूलो सङ्कटमा पर्छन्। तिनले यहोवाको डोऱ्याइ खोज्न एल्याकिम, शेब्ना र पूजारीहरूमध्येका बूढा प्रधानहरूलाई भविष्यवक्ता यशैयाकहाँ पठाएर आफूचाहिं यहोवाको मन्दिरमा जान्छन्। (यशैया ३७:१, २) राजाको दूत भाङ्रा लगाएर भविष्यवक्ता यशैयाकहाँ गएर यसो भन्छन्: “आजको दिन दुःख, गाली खाने र अपमानको दिन छ . . . सायद परमप्रभु तपाईंका परमेश्वरले युद्धका सेनापतिको कुरा सुन्नुहुनेछ, जसलाई त्यसका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन् र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको त्यस वचनको कारण उहाँले उनलाई हप्काउनुहुनेछ।” (यशैया ३७:३-५) हो, अश्शुरीहरूले जीवित परमेश्वरसित जोरी खोजिरहेका थिए। के यहोवा परमेश्वर तिनीहरूले गरेको निन्दा सुनेर चुपचाप बस्नुहुने थियो? यहोवाले यहुदीहरूलाई यशैयामार्फत यसरी ढुक्क बनाउनुभयो: “तैंले सुनेको अश्शूरका राजाका सेवकहरूले मलाई निन्दा गरेका कुरादेखि तँ नडरा। हेर्, म त्यसभित्र एउटा यस्तो आत्मा हालिदिनेछु कि त्यो एउटा हल्ला सुनेर आफ्नो देशमा फर्केर जानेछ। औ म त्यसलाई त्यसकै देशमा तरवारले मार्न लाउनेछु।”—यशैया ३७:६, ७.
१६ त्यही बेला राजा सनहेरीबले लिब्नाको लडाइँमा मदत गर्न रबशाकेलाई बोलाउँछन्। सनहेरीबले यरूशलेमसित पछि लडाइँ गर्ने विचार गर्छन्। (यशैया ३७:८) रबशाके फर्केपनि राजा हिजकियामाथि परेको दबाब अझै हटेको छैन। यरूशलेमका बासिन्दाले आत्मसमर्पण गरेन भने के हुनेछ भनेर धम्क्याउँदै सनहेरीबले यस्तो चिठी पठाए: “सारा देशलाई बिलकुलै नाश पारेर अश्शूरका राजाले के गरेका छन् सो ता तैंले सुनेकै छस्। औ के तैंलेचाहिं छुटकारा पाउँछस् र? के मेरा पुर्खाहरूले नाश पारेका जातिहरूका देवताहरूले तिनीहरूलाई बचाए? हमातका राजा, अर्पादका राजा सपर्वैम का राजा, हेना र इब्बाका राजाहरू कहाँ गए?” (यशैया ३७:९-१३) अश्शुरीहरू यहूदीहरूले तिनीहरूसित जोरी खोज्नु भनेको विनाश निम्त्याउनु हो भनिरहेका थिए।
१७ सबैलाई असर गर्ने गम्भीर निर्णय गर्नुपर्ने भएकोले हिजकियाह निकै चिन्तित हुन्छन्। त्यसैले तिनी सनहेरीबले पठाएको चिठी खोलेर यहोवाको मन्दिरमा राख्छन्। (यशैया ३७:१४) अनि अश्शुरीहरूको धम्कीमाथि कान फर्काउनुहोस् भनेर यहोवालाई व्यग्र प्रार्थना गर्छन्। तिनले यसो भनेर आफ्नो प्रार्थना टुङ्ग्याए: “अब हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई उनका हातबाट छुटाउनुहोस् र पृथ्वीका सारा राज्यहरूले थाह पाऊन् कि तपाईं मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ।” (यशैया ३७:१५-२०) हिजकियाह आफ्नो उद्धारमा नभई अश्शूरीहरूले यरूशलेमलाई हरायो भने त्यसले यहोवाको नाममा दाग लाग्ला कि भनेर चिन्ता गर्दै थिए भनेर यसबाट प्रस्ट हुन्छ।
ip-1-E पृ. ३९१-३९४ अनु. १८-२२
राजाले आफ्नो विश्वासको इनाम पाए
१८ यहोवाले यशैयामार्फत हिजकियाहको प्रार्थनाको जवाफ दिनुहुन्छ। यरूशलेमले अश्शुरीसामू आत्मसमर्पण गर्नुपर्दैन बरु डटेर सामना गर्नुपर्छ भनेर प्रोत्साहन दिनहुन्छ। यशैयाले सनहेरीबसँग बोलेझैं गरी निर्धक्क भई यहोवाको सन्देश अश्शूरीहरूलाई सुनाउँछन्:“सियोनकी कन्ये-छोरीले तँलाई तुच्छ ठानेकी छ र तँलाई खिसी गरेर हाँसेकी छ—यरूशलेमकी छोरीले तेरो पछि शिर हल्लाएकी छ।” (यशैया ३७:२१, २२) यहोवाले अझै यसो भन्नुहुन्छ: ‘इस्राएलका पवित्र परमप्रभुको निन्दा गर्ने तँ को होस्? मलाई थाह छ, तैंले के गरेको छस्। तँ ठूला-ठूला सपना बुन्छस्, ठूला-ठूला कुरा गर्छस्। तैंले तेरो सेनाको बलमा थुप्रै देशमाथि जित हासिल गरेको छस् तर यसको अर्थ तँलाई कसैले पनि हराउन सक्दैन भन्ने होइन। तेरो योजनालाई म फेल गराउँछु। म तँलाई हार चखाउनेछु। तैंले अरूसित जस्तो व्यवहार गरिस् म तँसित त्यस्तै व्यवहार गर्नेछु। तेरो नाकमा नत्थ लगाएर तँलाई तँ आएकै बाटोतिर फर्काउनेछु।’—यशैया ३७:२३-२९.
“तँलाई सङ्केत दिन्छु”
१९ यशैयाले गरेको भविष्यवाणी पूरा हुन्छ भनेर विश्वस्त हुन सक्ने हिजकियाहसित के आधार थियो? यहोवाले यसो भन्नुभयो: “तेरो निम्ति चिन्ह यही हुनेछ, यो सालचाहिं आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, दोस्रो सालचाहिं त्यहीबाट उम्रेको, तेस्रो साल तिमीहरू छर, कटनी गर, दाखबारी लगाऊ र तिनका फल खाऊ।” (यशैया ३७:३०) यहोवाले फन्दामा परेका यहूदीहरूलाई खानाको प्रबन्ध गर्नुहुने थियो। अश्शुरीहरूले घेरिराखेकोले बाली लगाउन नसके पनि पहिलो वर्ष कटनी गर्दा झरेका बीउबाट उम्रेको अन्न खाना पाउने थिए। त्यस पछिको वर्ष सातौं वर्ष पर्ने भएकोले तिनीहरूले जमिन बाँझै छोड्नु पर्ने थियो। (प्रस्थान २३:११) तिनीहरूले यहोवाको कुरामा भरोसा गरेमा जमिनले प्रशस्त अन्न उब्जनी दिनेछ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। अनि त्यसपछिको वर्ष चाहिं तिनीहरूले खेतीपाती गरेर पहिले जस्तै आनन्दले जीवन बिताउन पाउने थिए।
२० यहोवाले आफ्ना जनहरूलाई सजिलै उखेल्न नसकिने बिरुवासँग तुलना गर्नुहुन्छ: “यहूदाका कुलबाट बचेकाहरूले . . . तलतिर जरा हाल्नेछ, र माथितिर फल लाग्नेछ।” (यशैया ३७:३१, ३२) हो, यहोवामा भरोसा राख्नेहरू कुनै कुरादेखि डराउनुपर्दैन। यहोवामा भरोसा राख्नेहरू र तिनीहरूका सन्तानहरू देशमा सधैंभरि स्थिर रहनेछन्।
२१ अश्शूरीहरूले यरूशलेमलाई धम्क्याएको विषयमा के भन्न सकिन्छ? यहोवाले यस्तो जवाफ दिनुहुन्छ: “त्यो शहरमा आउनेछैन। त्यसले त्यहाँ एउटै काँड हान्नेछैन। त्यो त्यसको सामने ढाल लिएर आउनेछैन। त्यसको विरुद्धमा कुनै गढी बनाउनेछैन। जुन बाटो भएर त्यो आयो, त्यही बाटो भएर त्यो फर्कनेछ, र त्यो यस शहरमा आउनेछैन” (यशैया ३७:३३, ३४) हो, अश्शूरीहरूले यरूशलेमसित कुनै युद्ध लड्ने थिएन। अझ रोचक कुरा के भने युद्ध नलडीकनै हार्ने त यहूदीहरू नभई अश्शूरीहरू पो हुने थिए।
२२ यहोवाले आफ्नो वचन पूरा गर्नुभयो। उहाँले एक जना स्वर्गदूत पठाएर सनहेरीबको एक लाख पचासी हजार कुशल योद्धालाई मार्नुभयो। यो घटना लिब्नामा भएजस्तो देखिन्छ। सनहेरीब बिहान उठेर हेर्दा प्रधान सेनापति, सेना प्रमुख अनि सबै वीर योद्धाहरू मरेका देख्छन्। त्यसपछि लज्जित हुँदै तिनी निनवे फर्कन्छन्। ठूलो हार बेहोर्नु परे तापनि घमन्डी हुँदै झूटो देवता निस्रोकको उपासना गर्न छोड्दैनन्। केही वर्षपछि तिनी निस्रोकको मन्दिरमा उपासना गरिरहेको बेला तिनकै दुई छोराले हत्या गरिदिन्छन्। यस पटक पनि शक्तिहीन निस्रोकले आफ्नो उपासकलाई बचाउन सकेनन्।—यशैया ३७:३५-३८.
बहुमूल्य रत्न खोजौं
w०८-E ५/१५ पृ. २६ अनु. ४
“परमेश्वरको डर राख्दै पूर्णतया पवित्र” रहिरहौं
‘त्यहाँ पवित्र बाटो हुनेछ’
यहोवाले बेबिलोनी निर्वासनमा परेका आफ्ना जनहरू मातृभूमिमा फर्कनेछन् भनेर भविष्यवाणी गर्नुभयो। पुनर्स्थापना सम्बन्धी भविष्यवाणीमा यस्तो ग्यारेन्टी दिइएको थियो: “त्यहाँ एउटा मूल बाटो हुनेछ, औ त्योचाहिं पवित्र बाटो भनिनेछ।” (यशै. ३५:८क) यस भविष्यवाणीअनुसार यहोवाले यहूदीहरूलाई घर फर्कन बाटो खोलिदिनुहुनेथियो। साथै उहाँले तिनीहरूलाई यात्राभरि सुरक्षा गर्नुहुनेथियो।
w०८ ५/१५-E पृ. २७ अनु. १
“परमेश्वरको डर राख्दै पूर्णतया पवित्र” रहिरहौं
“कोही अशुद्ध जन त्यसबाट भएर जान पाउनेछैन”
ईसापूर्व ५३७ मा मातृभूमि फर्किने यहूदीहरूले एउटा महत्त्वपूर्ण आवश्यकता पूरा गर्नुपर्थ्यो। “पवित्र बाटो”-मा हिंड्न चाहिने योग्यताबारे यशैया ३५:८ख मा यस्तो लेखिएको छ: “कोही अशुद्ध जन त्यसबाट भएर जान पाउनेछैन। तर उहाँ तिनीहरूसँग हुनुहुनेछ, बाटो हिंड्नेहरू मूर्ख भएतापनि भूलमा पर्नेछैनन्।” यरूशलेम फर्कनुको मुख्य उद्देश्य शुद्ध उपासना पुनर्स्थापित गर्नुथियो। त्यसैले तिनीहरूले स्वार्थी मनोवृत्ति, पवित्र कुराको अनादर गर्ने बानी त्याग्नुपर्थ्यो र आध्यात्मिक तवरमा शुद्ध हुनुपर्थ्यो। मातृभूमिमा फर्किने यहूदीहरूले यहोवाको उच्च नैतिक स्तर कायम राख्नुपर्थ्यो। [६क] आज पनि परमेश्वरको अनुमोदन पाउन चाहनेहरूले उहाँको स्तर पालन गर्नुपर्छ। हो, तिनीहरूले “परमेश्वरको डर राख्दै पूर्णतया पवित्र” रहनुपर्छ। (२ कोरि. ७:१) त्यसोभए हामीले कस्ता अशुद्ध कुराहरू त्याग्नुपर्छ?
जनवरी २३-२९
बाइबलमा पाइने अनमोल धन | यशैया ३८-४२
‘यहोवाले दुर्बलहरूलाई बल दिनुहुन्छ’
ip-1-E पृ. ४०९-४१० अनु. २३-२५
“मेरो प्रजा तँलाई सान्त्वना”
“यी कसले बनाएका हुन्?”
२३ निर्वासनमा परेका यहूदीहरू ढुक्क हुन सक्ने अर्को पनि कारण छ। तिनीहरूलाई छुटकारा दिनुहुने परमेश्वर शक्तिशाली र सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ। तिनीहरूले उहाँको शक्तिमा भरोसा गर्न सकोस् भनेर सृष्टिमा ध्यान खिच्दै यहोवाले यस्तो प्रश्न सोध्नुहुन्छ: “म को समान छु? तिमीहरू मलाई कोसित तुलना गर्छौ? पवित्र परमप्रभु भन्नुहुन्छ। तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्? उहाँले नै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२५, २६.
२४ इस्राएलका पवित्र परमेश्वरले उहाँ कस्तो हुनुहुन्छ भनेर स्पष्ट पार्नुहुन्छ। कुनै पनि कुरा उहाँ बराबर हुन सक्दैन भन्ने कुरा बुझाउन उहाँले आकाशका ताराहरूलाई हेर भन्नुहुन्छ। सेनाहरू सेनापतिको आज्ञाअनुसार चलेझैं ताराहरू पनि यहोवाको डोऱ्याइ बमोजिम चल्छन्। यदि उहाँले सबै ताराहरूलाई एकै ठाउँमा जम्मा गर्नुभयो भने ‘तीमध्ये एउटै पनि हराउनेछैन।’ ताराहरू असङ्ख्य भए पनि उहाँले प्रत्येक तारालाई नाउँ लिंदै बोलाउनुहुन्छ। यसको मतलब उहाँले हरेक तारालाई नाम या उपाधि दिनुभएको छ। आज्ञाकारी सेनाहरूझैं ताराहरू पनि व्यवस्थित रूपमा यहोवाले तोक्नुभएको ठाउँमा रहन्छन्। किनभने तिनीहरूलाई आज्ञा दिने परमेश्वर ‘शक्तिशाली’ र “सामार्थ्यमा बलियो” हुनुहुन्छ। त्यसैले निर्वासनमा परेका यहूदीहरूले उहाँमाथि भरोसा गर्नुपर्ने थुप्रै कारण थियो। असङ्ख्य ताराहरूलाई आज्ञा दिनसक्ने शक्ति भएको सृष्टिकर्तासित आफ्ना जनहरूलाई मदत गर्न सक्ने शक्ति पनि छ।
२५ यशैया ४० अध्यायको २६ पदमा यस्तो लेखिएको छ: “तिमीहरूका आँखा माथि उठाएर हेर।” उहाँको यो निम्तोलाई कसैले इन्कार गर्न सक्दैन। आधुनिक समयको खगोलविदहरूले विभिन्न यन्त्रहरूको सहायताले यशैयाको समयमा देख्न नसकेका अझ कैयौं तारापुञ्जहरू पत्ता लगाएका छन्। खगोलविदहरूको अनुमान अनुसार हामीले हेर्दा देखिने आकाशमा मात्र एक खरब २५ अरब तारापुञ्जहरू छन्। एउटा अनुमान अनुसार एउटा आकाश गंगामा मात्र एक खरबभन्दा धेरै ताराहरू छन्! यस्तो कुरालाई विचार गर्दा सृष्टिकर्ताप्रति हाम्रो मनमा श्रद्धा जाग्छ नि हैन र? साथै उहाँको प्रतिज्ञामा विश्वास गर्न उत्प्रेरित हुन्छौं।
ip-1-E पृ. ४१३ अनु. २७
“मेरो प्रजा तँलाई सान्त्वना”
२७ आफ्नो मातृभूमिदेखि धेरै टाढा बेबिलोनको निर्वासनमा परेका यहूदीहरूको भावनाबारे व्याख्या गर्दै यशैयाले यहोवाको वचन लेख्छन्। तिनीहरूमध्ये कोही-कोहीले तिनीहरूको “बाटो” अर्थात् दुःख यहोवाले देख्नु भएको छैन वा उहाँलाई थाह छैन भन्ने विचार राख्छन्। तिनीहरूले भोगिरहेको अन्यायप्रति यहोवालाई कुनै वास्ता छैन जस्तो तिनीहरूलाई लाग्छ। यहोवा आफ्ना जनहरूलाई उद्धार गर्न सक्नुहुन्छ अनि इच्छुक पनि हुनुहुन्छ भन्ने कुरा तिनीहरूले अहिले सम्म अनुभव नगरेको भए तापनि आफ्नो पुर्खाहरूको अनुभवबाट सिक्नुपर्ने थियो। किनभने यहोवा अनन्तको परमेश्वर, सारा पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। अहिले पनि यहोवासँग सृष्टि गर्नुहुँदा प्रयोग गर्नुभएको अथाह शक्ति छ, त्यसैले टाढा बेबिलोनमा भएका आफ्ना जनहरूलाई मदत गर्न उहाँले त्यो शक्ति प्रयोग गर्न सक्नुहुन्छ। उहाँ शक्तिशाली परमेश्वर हुनुभएकोले थाक्नुहुन्न साथै आफ्ना सेवकहरूलाई कहिल्यै निराश पार्नुहुन्न। तिनीहरूले यहोवाको हरेक काम बुझ्न सक्छ भनेर आशा गर्न मिल्दैन। किनभने उहाँको अन्तर्दृष्टि, समझ र सोच्ने क्षमता हाम्रो कल्पना बाहिरको कुरा हो।
ip-1-E पृ. ४१३-४१५ अनु. २९-३१
“मेरो प्रजा तँलाई सान्त्वना”
२९ यहोवाले दुर्बलहरूलाई बल दिन्छु भन्नुभयो। त्यसो भन्नुहुँदा सायद उहाँले यहूदीहरू निर्वासनबाट मातृभूमि फर्किने बेलाको कठिन यात्राबारे सोचिरहनुभएको हुन सक्छ। थकित भएको बेला मदतको लागि यहोवामा भर पर्नेहरूलाई उहाँ मदत गर्नुहुन्छ। किनभने आफूमाथि भर पर्नेहरूलाई मदत गर्ने उहाँको गुण नै हो। जवान अवस्थाका मानिस समेत थाक्न सक्छन्। तर यहोवाले उहाँमा भरोसा गर्नेहरूलाई बल दिन्छु भनी प्रतिज्ञा गर्नहुन्छ। यो कुरा बुझाउन यहोवाले घण्टौंसम्म आकाशमा उडिरहन सक्ने चीलको उदाहरण दिनुहुन्छ। त्यसैले निर्वासित यहूदीहरू निराश हुनुपर्ने कुनै कारण थिएन।
३० अहिले दुष्ट संसारको अन्तिम दिनमा बाँचिरहेका ख्रीष्टियनहरूले यशैया ४० अध्यायको अन्तिम पदहरूमा लेखिएका शब्दहरूबाट ठूलो सान्त्वना पाउन सक्छन्। अहिले हामी तीन थुप्रो दबाब अनि समस्याहरूले गर्दा निराश हुन्छौं। तर हामीले भोग्नुपरेको सबै अन्याय अनि दुःखकष्ट यहोवाको नजरबाट लुकेको छैन भनी थाह पाउँदा हामीलाई ठूलो सान्त्वना मिल्छ। यहोवा सम्पूर्ण कुराहरूको सृष्टिकर्ता हुनुभएकोले ‘उहाँसित ज्ञानको भण्डार छ’ त्यसैले सारा अन्यायको अन्त उहाँले आफ्नै समयमा अनि आफ्नै तरिकाले गर्नुहुनेछ। (भजन १४७:५, ६) त्यतिन्जेल हामी उहाँको शक्तिमा भर पर्न सक्छौं। हो, यहोवा असीमित शक्तिको स्रोत हुनुहुन्छ। त्यसैले आफ्ना सेवकहरू परीक्षामा पर्दा “असाधारण शक्ति” दिन सक्नुहुन्छ।—२ कोरिन्थी ४:७.
३१ ईसापूर्व छैटौं शताब्दीमा बेबिलोनको कैदमा परेका यहूदीहरूबारे एकछिन विचार गर्नुहोस्। सयौं किलोमिटर टाढा आफ्नो प्यारो यरूशलेम सहर अनि मन्दिर उजाड अवस्थामा थियो। यशैयाको भविष्यवाणीले तिनीहरूलाई फेरि आफ्नो मातृभूमिमा फर्कन पाउने आशाको ज्योति प्रदान गऱ्यो। नभन्दै ईसापूर्व ५३७ मा यहोवाले तिनीहरूलाई आफ्नो मातृभूमिमा फर्कन दिनुभएर आफ्नो वचन पूरा गर्नुभयो। हामी यहोवामाथि पूर्ण भरोसा राख्न सक्छौं। परमेश्वरको राज्यबारे यशैयाको किताबमा उल्लेख गरिएका भविष्यवाणीहरू पूरा हुनेछ। हो, यो सारा मानवजातिको लागि ज्योति! अनि साँच्चै एउटा सुसमाचार हो।
जनवरी ३०–फेब्रुअरी ५
बाइबलमा पाइने अनमोल धन | यशैया ४३-४६
“यहोवाले गर्नुभएको सबै भविष्यवाणी पूरा हुन्छ”
ip-2-E पृ. ७१-७२ अनु. २२-२३
साँचो परमेश्वरले छुटकाराको भविष्यवाणी गर्नुहुन्छ
२२ आफूले भनेको कुरा पूरा हुन्छ भनेर ढुक्क नभएकोले मानिसहरू कहिल्यै तोकेरै भविष्यवाणी गर्दैनन्। तर यहोवाले यरूशलेम सहर र त्यसको मन्दिर पुनः निर्माण गर्न बेबिलोनको निर्वासनबाट छुटकारा दिने व्यक्ति कोरेस हुनेछ भनेर नामै तोकेर भविष्यवाणी गर्नुहुन्छ। तिनी फारस देशको महान् कोरेस भनेर पनि चिनिन्छ। साथै बेबिलोन सहरको अत्यन्त बलियो सुरक्षा प्रणालीको बाबजुद तिनी कसरी सहरभित्र प्रवेश गर्नेछ त्यसबारे यहोवाले विस्तृत भविष्यवाणी गर्नुहुन्छ। बेबिलोन सहरलाई ठूला-ठूला पर्खाल अनि सहरभित्र अनि त्यसको चारैतिर बग्ने नदीले सुरक्षा दिइनेथियो। तर कोरेसले तिनीहरूको मुख्य सुरक्षा प्रणाली यूफ्रेटिस नदीलाई अर्कैतिर मोडिदिने थिए। पुरातन समयका इतिहासकार हेरोडोटस र जिनोफोन्ले बताएअनुसार कोरेसले बेबिलोन सहर भित्र बग्ने नदी मुहानबाट अन्तै मोडिदिए। अनि बिस्तारै नदी सुक्दै गएपछि सेनाहरू सजिलैसित नदी पार गरेर सहरभित्र घुसे। त्यसैले एक अर्थमा बेबिलोनलाई सुरक्षा दिइरहेको यूफ्रेटिस नदी सुकेझैं भयो।
२३ कोरेसले परमेश्वरको जनहरूलाई छुटकारा दिनेछ, यहूदीहरूले यरूशलेम सहर र मन्दिर पुनः निर्माण गर्नेछ भनी परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे हामी के भन्न सक्छौं? कोरेसले गरेको शाही घोषणा बाइबलमा यसरी लिपिबद्ध गरिएको छ: “फारसका राजा कोरेस यसो भन्दछ: “परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा भवन बनाउन आज्ञा गर्नुभएको छ। अहिले तिनीहरूका बीचमा हुने उहाँको प्रजाको हरेक मानिसलाई म यो भन्दछु, ‘परमेश्वर त्यससँग रहून्। त्यो मानिस यहूदाको यरूशलेमका उक्लेर जाओस्, र यरूशलेम सहरमा हुनुहुने परमेश्वरको भवन त्यसले फेरि निर्माण गरोस्।” (एज्रा १:२, ३) यशैयामार्फत यहोवाले गर्नुभएको भविष्यवाणी हुबहु पूरा हुन्छ।
ip-2-E पृ. ७७-७८ अनु. ४-६
यहोवा परमेश्वर—‘न्यायी र उद्धारक’ हुनुहुन्छ
४ यशैयाको समयमा कोरेस जन्मेकै थिएन। तैपनि यहोवाले त्यतिबेला तिनी भएजस्तै गरी कुरा गर्नुहुन्छ। (रोमी ४:१७) तिनलाई ‘अभिषेक गरिएको’ व्यक्ति भनिएको छ। यहोवाले कोरेसलाई एउटा खास जिम्मेवारी पूरा गर्न पहिले नै नियुक्त गर्नुभएकोले तिनलाई यसो भन्नु उपयुक्त छ। परमेश्वरको मदत पाएर तिनले राष्ट्रहरूलाई पराजित गर्नेछन्, साथै तिनी विरुद्ध लड्न सक्ने छैनन्। भविष्यवाणी गरिएअनुसार नै बेबिलोन सहरको मूल ढोका खुला अवस्थामा छोडिने थियो। त्यसकारण एक अर्थमा बेबिलोनको ढोकाको कुनै अर्थ नै हुने थिएन। यहोवाले सारा बाधा अड्चनहरू हटाएर कोरेसको निम्ति बाटो तयार पार्नुहुने थियो। यसरी कोरेसको सेनाले बेबिलोनलाई पराजित गरेर तिनीहरूले भण्डारमा लुकाएर राखेको “धन” कब्जा गर्ने थिए। यशैयाले गरेको यो भविष्यवाणी के साँच्चै पूरा हुनेथियो?
५ यशैयाले भविष्यवाणी गरेअनुसार नै लगभग २०० वर्षपछि ईसापूर्व ५३९ मा कोरेस बेबिलोन सहरलाई आक्रमण गर्न पर्खाल बाहिर आए। (यर्मिया ५१:११, १२) तर अचम्मको कुरा बेबिलोनीहरूलाई त्यसको कुनै चिन्तै थिएन। बेबिलोन सहरलाई कसैले पनि आक्रमण गर्न सक्दैन भनी तिनीहरू ढुक्क थिए। किनभने सहरलाई चारैतिरबाट अग्ला-अग्ला पर्खालले घेरिएकोले, पर्खाल बाहिर यूफ्रेटिस नदी बग्ने भएकोले सुरक्षित देखिन्थ्यो। लगभग एक शताब्दीसम्म कुनै पनि शत्रुले बेबिलोनलाई आक्रमण गर्न सकेका थिएनन्। अझ बेलसजर राजा त सहरको सुरक्षाप्रति यति ढुक्क थिए कि तिनले दरबारमा ठूलो भोज समेत दिए। (दानियल ५:१) तर त्यही रात अर्थात् अक्टोबर ५/६ तारिखको रात कोरेसको सेना भने आक्रमण गर्न बाहिर तम्तयार थिए।
६ कोरेसले चलाखीपूर्ण ढङ्गमा बेबिलोन सहरमा बग्ने यूफ्रेटिस नदीको पानी सहरको दक्षिण दिशातिर मोडिदिए। नदी बिस्तारै सुक्दै गयो। अनि कोरेसको सेनाहरू सजिलैसित बेबिलोन सहरभित्र प्रवेश गर्न सके। (यशैया ४४:२७; यर्मिया ५०:३८) भविष्यवाणी गरेअनुसार नै बेबिलोन सहरको मूल ढोका खुल्ला अवस्थामा छोडिएको थियो। कोरेसका सेनाहरू सहर भित्र ओइरिए अनि दरबार कब्जा गरेर बेलसजर राजाको हत्या गरे। (दानियल ५:३०) एकै रातमा बेबिलोनको पतन हुन्छ! यसरी भविष्यवाणीको एक-एक शब्द पूरा भयो।
ip-2-E पृ. ७९-८० अनु. ८-१०
यहोवा परमेश्वर—‘न्यायी र उद्धारक’ हुनुहुन्छ
यहोवाले कोरेसलाई किन मदत गर्नुहुन्छ?
८ बेबिलोनमाथि कोरेसले कसरी जित हासिल गर्छ भनेर बताउनुभए पछि किन तिनलाई नै छान्नुभयो यहोवाले कारण बताउनुहुन्छ। यहोवाले तिनलाई यसो भन्नुभयो: “तँलाई तेरो नाउँ काढेर बोलाएको छु। मनै इस्राएलका परमेश्वर हुँ।” (यशैया ४५:३ख) बाइबलको इतिहास अनुसार चौथो विश्व शक्ति राष्ट्रको शासक कोरेसले सार्वभौम शासक यहोवाको मदतले नै जित हासिल गर्न सकिएको हो भनी स्विकार्छन्। हो, कोरेसले तिनलाई बोलाउने अर्थात् जिम्मेवारी दिने इस्राएलीहरूको परमेश्वर यहोवा हुनुहुन्छ भनेर स्वीकार्नै पर्छ। कोरेसले आफूले हासिल गरेको विजयीको स्रोत यहोवा हुनुहुन्छ भनेर स्वीकारेको कुरा बाइबलमा पनि उल्लेख गरिएको छ।—एज्रा १:२, ३.
९ बेबिलोनमाथि जित हासिल गर्न यहोवाले कोरेसलाई नै चलाउनुको दोस्रो कारणबारे यहोवा यसो भन्नुहुन्छ: “मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढेर बोलाएको हुँ। तैंले मलाई नचिनेको भए तापनि मैले तँलाई कुल नाउँ दिएको छु।” (यशैया ४५:४) कोरेसले बेबिलोनमाथि विजयी हासिल गरेको कुरा साँच्चै विश्व नै हल्लाउने कुरा थियो। यसले इतिहासमा गहिरो छाप छोड्यो। किनभने एउटा विश्व शक्ति पूरै अन्त भएर त्यसको ठाउँमा अर्को नयाँ विश्व शक्ति खडा भयो। यी सबै कुरा बेबिलोनको कैदमा परेका ‘तुच्छ’ जस्तो देखिने केही हजार यहूदीहरू अर्थात् याकूबका सन्तानलाई बचाउन गर्नुभएको हो। यी सबै घटना देख्ने वरिपरिका राष्ट्रका मानिसहरू तीन छक परे होलान्। तर यहोवाको नजरमा ती यहूदीहरू साधारण वा तुच्छ थिएनन्। तिनीहरू यहोवाको “दास” थिए। तिनीहरू ‘चुनिएका’ जाति थिए। कोरेसले यहोवालाई चिनेका थिएनन्। तैपनि यहोवाले उहाँका जनलाई कैदी बनाउनेहरूलाई दण्ड दिन तिनलाई चलाउनुभयो। चुनिएका आफ्ना जनहरू सधैंभरि विदेशी भूमिमा रहोस् भन्ने यहोवाको इच्छा थिएन।
१० बेबिलोनलाई परास्त गर्न कोरेसलाई चलाउनुको अझै महत्त्वपूर्ण तेस्रो कारणबारे यहोवाले यसो भन्नुभयो: “म परमप्रभु हुँ, औ मबाहेक अरू कोही छैन। म सिवाय अरू कोही परमेश्वर छैन। तैंले मलाई नचिनेको भए तापनि म तँलाई तयार पार्नेछु, र पूर्वदेखि लिएर पश्चिमसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र म सिवाय अरू कोही छैन।” (यशैया ४५:५, ६) हो, बेबिलोनको पतनले यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ अनि उहाँ उपासनाको योग्य हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ। यहोवाले आफ्ना जनहरूलाई दिनुभएको छुटकाराले गर्दा पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्मका मानिसहरूले यहोवा साँचो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्नेछन्।—मलाकी १:११.
बहुमूल्य रत्न खोजौं
ip-2-E पृ. ६० अनु. २४
“तिमीहरू मेरा साक्षी हौ!”
२४ यहोवाले इस्राएलीहरूलाई तिनीहरूले पश्चात्ताप गरेकै कारण मात्र नभई आफ्नो नामको खातिर दया देखाउनुभएको हो। हो, तिनीहरूको उद्धारमा यहोवाको नाम मुछिएको छ। यदि उहाँले तिनीहरूलाई सदाको लागि निर्वासनमा रहन दिनुभएमा मानिसहरूले उहाँको नामको निन्दा गर्न सक्ने थिए। (भजन ७९:९; इजकिएल २०:८-१०) अहिले पनि यहोवाले मानिसहरूलाई दया देखाउनुको मुख्य कारण उहाँको नाम पवित्र पार्नु र उहाँको सार्वभौमिकता उच्च पार्नु नै हो। तर यहोवाले अनुशासन दिनुहुँदा स्वीकार्ने अनि सत्यअनुसार उहाँको उपासना गर्नेहरूलाई उहाँ धेरै माया गर्नुहुन्छ। तिनीहरू अभिषिक्त ख्रीष्टियनहरू हुन् वा अरू भेडाका, यहोवा सबैलाई माया गर्नुहुन्छ। अनि येशू ख्रीष्टको बलिदानको आधारमा तिनीहरूको पापको क्षमा गर्नुहुन्छ।—यूहन्ना ३:१६; ४:२३, २४.