प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr18 अगस्त पृ. १-४
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
  • उपशीर्षकहरू
  • अगस्त ६-१२
  • बहुमूल्य रत्न खोजौँ
  • अगस्त १३-१९
  • बहुमूल्य रत्न खोजौँ
  • अगस्त २०-२६
  • बहुमूल्य रत्न खोजौँ
  • अगस्त २७–सेप्टेम्बर २
  • बहुमूल्य रत्न खोजौँ
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
mwbr18 अगस्त पृ. १-४

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

अगस्त ६-१२

बाइबलमा पाइने अनमोल धन | लूका १७-१८

“कृतज्ञता देखाउनुहोस्‌”

nwtsty-E लूका १७:१२, १४ को अध्ययन नोट

दस जना कुष्ठरोगी: बाइबलकालीन समयमा कुष्ठरोगीहरू एकै ठाउँमा भेला हुन्थे वा एउटै समूहमा बस्थे। यसले गर्दा तिनीहरू एकअर्कालाई मदत गर्न सक्थे। (२रा ७:३-५) परमेश्‍वरले दिनुभएको व्यवस्थाअनुसार कुष्ठरोगीहरू अरू मानिसहरूको बस्तीभन्दा टाढै बस्नुपर्थ्यो। साथै, अरूलाई सचेत गराउन तिनीहरूले “अशुद्ध, अशुद्ध!” भनेर कराउनुपर्थ्यो। (लेवी १३:४५, ४६) व्यवस्थामा दिइएको नियम पालन गर्दै कुष्ठरोगीहरू येशूबाट टाढै उभिए।

पुजारीहरूलाई देखाओ: पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्ट पनि मोशाको व्यवस्थाको अधीनमा हुनुहुन्थ्यो र हारूनवंशी पुजारीहरूको प्रबन्धलाई स्विकार्नुपर्छ भनेर उहाँलाई थाह थियो। त्यसैले उहाँले आफूले निको पारेका कुष्ठरोगीहरूलाई पुजारीकहाँ जान निर्देशन दिनुभयो। (मत्ती ८:४; मर्कू १:४४) मोशाको व्यवस्थाअनुसार पुजारीले कुष्ठरोगीको रोग निको भयो कि भएन भनेर जाँच गर्नुपर्थ्यो। अनि निको भएका कुष्ठरोगीले भेटी वा उपहारस्वरूप मन्दिरमा दुईवटा जिउँदो शुद्ध पक्षी, देवदारको काठ, सिन्दूरे रङ्‌गको धागो र हिसप पनि लैजानुपर्थ्यो।—लेवी १४:२-३२.

w०८-E ८/१ पृ. १४-१५ अनु. ८-९

किन कृतज्ञता देखाउनुपर्छ?

येशूप्रति कृतज्ञता व्यक्‍त गर्न नौ जना कुष्ठरोगी फर्केनन्‌। येशूले यस कुरालाई कसरी लिनुभयो? बाँकी विवरण भन्छ: “यो देखेर येशूले भन्‍नुभयो: ‘शुद्ध हुने त दस जना थिए नि, होइन र? त्यसोभए, बाँकी नौ जना खै त? परमेश्‍वरको महिमा गर्न फर्किआउनेमा यो विदेशीबाहेक अरू कोही भएन?’”—लूका १७:१७, १८.

हुनत बाँकी नौ जना कुष्ठरोगीहरू दुष्ट थिएनन्‌। केही समयअघि, तिनीहरूले सबैको अगाडि येशूमाथि विश्‍वास गरेको कुरा प्रकट गरेका थिए र राजीखुसीले उहाँको निर्देशन पालन गरेका थिए, जसमा यरूशलेमसम्म गएर पुजारीहरूलाई देखाउनु समावेश थियो। हुनत येशूले दयालु भई निको पारिदिनुभएकोमा तिनीहरूले निकै कृतज्ञ महसुस गरेको हुनुपर्छ तापनि तिनीहरू उहाँलाई कृतज्ञता देखाउनदेखि चुके। तिनीहरूको यस्तो व्यवहारले गर्दा ख्रीष्ट निराश हुनुभयो। हामीबारे चाहिँ के भन्‍न सकिन्छ? कसैले हामीसित राम्रो व्यवहार गर्दा के हामी तुरुन्तै धन्यवाद दिन्छौँ अनि सकिन्छ भने नोट लेखेर कृतज्ञता देखाउँछौँ?

बहुमूल्य रत्न खोजौँ

nwtsty-E लूका १७:१० को अध्ययन नोट

निकम्मा: शाब्दिक, “कामै नलाग्ने; बेकारको।” येशूको दृष्टान्तले बुझाउन खोजेको कुरा दासहरूले अर्थात्‌ उहाँका चेलाहरूले आफूलाई कामै नलाग्ने वा बेकारको सम्झनुपर्छ भन्‍ने होइन। प्रसङ्‌ग विचार गर्ने हो भने “निकम्मा” शब्दले दासहरूले नम्र भई आफूलाई उचित दृष्टिकोणले हेर्नुपर्छ र आफू विशेष श्रेय वा प्रशंसा पाउन योग्य छैनँ भनी सोच्नुपर्छ भन्‍ने कुरा बुझाउँछ। केही शास्त्रविद्‌हरूले बताएअनुसार यो शब्द यस पदमा अतिशयोक्‍तिको रूपमा प्रयोग गरिएको छ अनि यसको अर्थ “हामी अरूको विशेष प्रशंसा पाउन अयोग्य मामुली दास मात्र हौँ” भन्‍ने हुन्छ।

nwtsty-E लूका १८:८ को अध्ययन नोट

यस्तो विश्‍वास: वा “यस्तो किसिमको विश्‍वास।” यस पदमा “विश्‍वास” शब्दको अगाडि प्रयोग गरिएको “यस्तो” अर्थ दिने ग्रीक शब्दबाट के स्पष्ट हुन्छ भने येशू यहाँ साधारणतया देखाइने विश्‍वासबारे कुरा गरिरहनुभएको थिएन। बरु दृष्टान्तको विधवाले देखाएको जस्तो खास किसिमको विश्‍वासबारे कुरा गर्दै हुनुहुन्थ्यो। (लूका १८:१-८) यसमा प्रार्थनाको शक्‍तिमा विश्‍वास गर्नु अनि परमेश्‍वरले आफ्ना चुनिएका जनहरूलाई न्याय अवश्‍य दिलाउनुहुनेछ भन्‍ने कुरामा विश्‍वास गर्नु समावेश छ। विश्‍वासबारे यस्तो प्रश्‍न सोधिसकेपछि येशूले त्यसको जवाफ दिनुभएन, किनकि चेलाहरूले आफ्नो विश्‍वास कस्तो छ भनी सोचून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। येशूले त्यसबेला प्रार्थना र विश्‍वासबारे दृष्टान्त बताउनु उपयुक्‍त थियो किनभने उहाँले भर्खरै मात्र चेलाहरूले पछि सामना गर्नुपर्ने परीक्षाहरूबारे बताउनुभएको थियो।—लूका १७:२२-३७.

अगस्त १३-१९

बाइबलमा पाइने अनमोल धन | लूका १९-२०

“दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्‌”

jy-E पृ. २३२ अनु. २-४

येशूले बताउनुभएको दस टुक्रा चाँदीको दृष्टान्त

उहाँले भन्‍नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।” (लूका १९:१२) यस्तो यात्रा गर्न समय लाग्ने थियो। स्पष्ट छ, “कुलीन घरानाको एक जना मानिस” येशू ख्रीष्ट हुनुहुन्छ, जो “परदेश” अर्थात्‌ स्वर्ग जानुहुन्छ अनि त्यहाँ उहाँको बुबाले उहाँलाई राज्याधिकार दिनुहुन्छ।

दृष्टान्तका ‘कुलीन घरानाका मानिस’-ले परदेश जानुअघि आफ्ना दस जना दासलाई बोलाएर चाँदीको दस-दस टुक्रा दिन्छ र यसो भन्छ: “म नफर्केसम्म यसबाट व्यापार गर।” (लूका १९:१३) चाँदीका टुक्राहरू अत्यन्तै बहुमूल्य हुन्थे। खेती-किसानी गर्ने एक जना कामदारलाई एक टुक्रा चाँदी कमाउन १०० दिन जति लाग्थ्यो।

आफूहरू दृष्टान्तको दस जना दासजस्तै हौँ भनेर येशूका चेलाहरूले बुझेका हुन सक्छन्‌। किनभने यसअघि येशूले तिनीहरूलाई खेतालासित तुलना गरिसक्नुभएको थियो। (मत्ती ९:३५-३८) चेलाहरूले साँच्चैको अन्‍नबाली कटनी गर्नुपर्छ भनेर येशूले बताउनुभएको थिएन। बरु येशूले बताउनुभएको कटनी-कार्यमा परमेश्‍वरको राज्यमा पस्न लायकका थप चेलाहरू जम्मा गर्नु समावेश थियो। परमेश्‍वरको राज्यका थप उत्तराधिकारीहरू जम्मा गर्ने काममा चेलाहरूले आफूसित भएका कुराहरू प्रयोग गर्ने थिए।

jy-E पृ. २३२ अनु. ७

येशूले बताउनुभएको दस टुक्रा चाँदीको दृष्टान्त

थप चेला जम्मा गर्न आफूसित भएका कुराहरूको पूर्ण सदुपयोग गर्ने दासहरू आफै हौँ भनेर के येशूका चेलाहरूले बुझेका थिए? यदि त्यसो हो भने येशू आफूहरूदेखि खुसी हुनुहुनेछ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन सक्ने थिए। अनि आफ्नो मेहनतको लागि उहाँले इनाम दिनुहुनेछ भन्‍ने कुरामा पनि तिनीहरूले भरोसा गर्न सक्थे। हुनत येशूका सबै चेलाको परिस्थिति एउटै हुने थिएन, सबैले एउटै मौका पाउने थिएनन्‌ अनि तिनीहरूको क्षमता पनि फरक-फरक हुने थियो। तर येशू, जसले “राज्याधिकार” हासिल गर्नुहुने थियो, उहाँले चेला बनाउने काममा तिनीहरू प्रत्येकले गरेको कडा मेहनत याद गर्नुहुने थियो अनि तिनीहरूलाई आशिष्‌ दिनुहुने थियो।—मत्ती २८:१९, २०.

jy-E पृ. २३३ अनु. १

येशूले बताउनुभएको दस टुक्रा चाँदीको दृष्टान्त

आफ्नो मालिकको राज्यको सम्पत्ति बढाउन केही गर्न नसकेकोले त्यस दासले आफूसित भएको चाँदीको टुक्रा पनि गुमायो। प्रेषितहरू येशूले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्नुहुने समयको प्रतीक्षामा थिए। त्यसैले अन्तिम दासबारे येशूले बताउनुभएको कुराबाट तिनीहरूले आफूले कडा मेहनत नगरेको खण्डमा परमेश्‍वरको राज्यमा पस्न पाइने छैन भन्‍ने कुरा बुझेको हुनुपर्छ।

बहुमूल्य रत्न खोजौँ

nwtsty-E लूका १९:४३ को अध्ययन नोट

तीखा-तीखा काठहरू गाडेर: वा “तीखा-तीखा काठहरूको बारले घेरेर।” यहाँ प्रयोग गरिएको ग्रीक शब्द खाराक्स ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा यही पदमा मात्र प्रयोग गरिएको छ। यस शब्दको अर्थ “कुनै ठाउँ घेर्नको लागि प्रयोग गरिने चुच्चा-चुच्चा काठहरू; खम्बा” भन्‍ने हुन्छ। साथै यसले “सेनाहरूले खम्बाहरू प्रयोग गरेर बनाउने बार; छेकबार”-लाई पनि बुझाउँछ। इस्वी संवत्‌ ७० मा टाइटसको नेतृत्वमा आएको रोमी सेनाले यरूशलेमको वरिपरि घेराबन्दी गर्न पर्खाल वा बार खडा गर्दा येशूले यस पदमा भन्‍नुभएका शब्दहरू पूरा भयो। टाइटसले यसरी घेराबन्दी गर्नुको तीन वटा उद्देश्‍य थियो। पहिलो, यहूदीहरूलाई भाग्न नदिनु, दोस्रो, यहूदीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्नु अनि तेस्रो, यहूदीहरूसँग रोमीहरूको अधीनमा बस्नुबाहेक अरू कुनै विकल्प नरहनेगरि यरूशलेममा खानाको अभाव पारिदिनु। यरूशलेमलाई त्यसरी घेरा हाल्न रोमी सिपाहीहरूले सहरबाहिरको जङ्‌गलका रूखहरूबाट काठ ल्याए।

nwtsty-E लूका २०:३८ को अध्ययन नोट

उहाँको नजरमा तिनीहरू सबै जीवित छन्‌: वा “उहाँको लागि तिनीहरू सबै जीवित छन्‌।” परमेश्‍वरबाट तर्केर गएकाहरू जीवित भए पनि उहाँको नजरमा मरेतुल्य छन्‌ भनी बाइबल बताउँछ। (एफि २:१; १ति ५:६) त्यसैगरि, यहोवाको अनुमोदन पाएका सेवकहरू मरे तापनि उहाँको नजरमा जीवित छन्‌ किनकि तिनीहरूलाई पुनर्जीवित गर्ने उहाँको उद्देश्‍य अवश्‍य पूरा हुनेछ।—रोमी ४:१६, १७.

अगस्त २०-२६

बाइबलमा पाइने अनमोल धन | लूका २१-२२

बहुमूल्य रत्न खोजौँ

nwtsty-E लूका २१:३३ को अध्ययन नोट

आकाश र पृथ्वी बितेर जानेछन्‌: बाइबलका अरू पदहरूमा आकाश र पृथ्वी सधैँभरि रहिरहनेछन्‌ भनेर बताइएको छ। (उत्प ९:१६; भज १०४:५; उप १:४) त्यसैले येशू यहाँ अतिशयोक्‍ति चलाउँदै हुनुहुन्थ्यो भन्‍न सक्छौँ, मतलब यदि असम्भव कुरा हुन आयो र आकाश अनि पृथ्वी साँच्चै बितेर गए भने पनि येशूको वचन अवश्‍य पूरा हुनेथियो। (मत्ती ५:१८ तुलना गर्नुहोस्‌) तर यहाँ चलाइएको आकाश र पृथ्वीले लाक्षणिक आकाश र पृथ्वीलाई पनि बुझाएको हुन सक्छ, जसलाई प्रका २१:१ मा “पहिलेको आकाश र पहिलेको पृथ्वी” भनिएको छ।

मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌: वा “मेरा वचनहरू अवश्‍य बितेर जानेछैनन्‌।” ग्रीक भाषामा यहाँ “जानेछैनन्‌” क्रियाको अगाडि “कुनै पनि हालतमा” भन्‍ने अर्थ लाग्ने शब्द दुई पटक प्रयोग गरिएको छ। यसले कुनै पनि कुरालाई दृढ भई नकार्नुलाई बुझाउँछ। यसबाट के स्पष्ट हुन्छ भने येशूले भन्‍नुभएका कुराहरू पूरा नहुने सवालै उठ्‌दैन।

अगस्त २७–सेप्टेम्बर २

बाइबलमा पाइने अनमोल धन | लूका २३-२४

“अरूलाई क्षमा दिन तयार हुनुहोस्‌”

cl-E पृ. २९७ अनु. १६

“ख्रीष्टको प्रेम जानोस्‌”

१६ येशूले अर्को महत्त्वपूर्ण तरिकामा पनि आफ्नो बुबा यहोवाको प्रेम झल्काउनुभयो—उहाँ अरूलाई “क्षमा दिन तयार” हुनुहुन्थ्यो। (भज ८६:५, NW) यातनाको खम्बामा टाँगिएको अवस्थामा समेत येशूले आफू क्षमा दिन तयार भएको कुरा देखाउनुभयो। लज्जास्पद मृत्यु भोग्दै गर्दा अनि हात-खुट्टामा किला ठोकिएको अवस्थामा येशूले यहोवालाई कस्तो बिन्ती चढाउनुभयो? के उहाँले आफूलाई मृत्युदण्ड दिनेहरूलाई सजाय दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुभयो? अहँ! येशूको जीवनको अन्ततिरका शब्दहरू यी थिए: “हे बुबा, यिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दैछन्‌, त्यो तिनीहरू जान्दैनन्‌।”—लूका २३:३४.

g-E २/०८ पृ.११ अनु. ५-६

के परमेश्‍वर गम्भीर पापहरू क्षमा गर्नुहुन्छ?

यहोवा कसैले गरेको पापमा मात्र ध्यान दिनुहुन्‍न। बरु पाप गर्ने व्यक्‍तिको मनोवृत्ति पनि याद गर्नुहुन्छ। (यशैया १:१६-१९) येशूसितै यातनाको खम्बामा टाँगिएका दुई जना अपराधीलाई विचार गर्नुहोस्‌। तिनीहरू दुवैले गम्भीर पाप गरेका थिए भन्‍न सक्छौँ किनकि तिनीहरूमध्ये एक जनाले यसो भन्दै आफ्ना पाप स्विकारे: “हामीले जे गऱ्‍यौँ, त्यसकै पूरा फल भोगिरहेका छौँ। तर यस मानिसले [येशू] त यस्तो सजाय पाउन लायकको केही गरेको छैन।” त्यस अपराधीले भनेको कुराबाट तिनलाई येशूबारे केही कुरा थाह थियो भन्‍ने कुरा देखिन्छ। त्यही ज्ञानले तिनको मनोवृत्तिमा राम्रो परिवर्तन ल्याएको हुन सक्छ। यो कुरा तिनले त्यसपछि येशूलाई गरेको यस्तो आग्रहबाट थाह पाउन सक्छौँ: “तपाईँ राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।” तिनले मनैदेखि त्यस्तो आग्रह गर्दा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले तिनलाई यसो भन्‍नुभयो: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४१-४३.

यो कुरा विचार गर्नुहोस्‌: मानिसको रूपमा बिताएको अन्तिम पलहरूमा येशूले मृत्युदण्ड पाउन लायकको अपराध गरेको छु भनी स्विकार्ने मानिसमाथि कृपा देखाउनुभयो। कत्ति प्रोत्साहनदायी कुरा! यसबाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ भने येशू ख्रीष्ट अनि उहाँको बुबा यहोवा, दुवै जनाले साँचो पश्‍चात्ताप गर्ने व्यक्‍तिहरूलाई कृपा देखाउनुहुनेछ, चाहे तिनीहरूले विगतमा जस्तोसुकै पाप गरेका किन नहोऊन्‌।—रोमी ४:७.

cl-E पृ. २९७-२९८ अनु. १७-१८

“ख्रीष्टको प्रेम जानोस्‌”

१७ येशू क्षमाशील हुनुहुन्छ भन्‍ने कुराको अर्को मन छुने उदाहरण उहाँले प्रेषित पत्रुससित गर्नुभएको व्यवहार हो। पत्रुस येशूलाई असाध्यै प्रेम गर्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रात, नीसान १४ मा तिनले येशूलाई यसो भने: “म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।” तर त्यसको केही घण्टापछि नै पत्रुसले येशूलाई चिन्‍नदेखि तीन पटक इन्कार गरे! पत्रुसले तेस्रो पटक येशूलाई इन्कार गरेपछि के भयो भन्‍नेबारे बाइबल यसो भन्छ: “तब प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो।” आफूले कत्ति गम्भीर गल्ती गरेछु भनेर महसुस गरेपछि तिनी “बाहिर निस्केर धुरुधुरु रोए।” पछि त्यसै दिन येशू मर्नुहुँदा सायद प्रेषित पत्रुसको मनमा यस्तो प्रश्‍न आएको हुनुपर्छ, ‘के मेरा प्रभुले मलाई क्षमा दिनुभयो?’—लूका २२:३३, ६१, ६२.

१८ त्यसको जवाफ पाउन पत्रुसले धेरै समय पर्खनुपरेन। नीसान १६ को बिहान येशू पुनर्जीवित हुनुभयो अनि त्यही दिन पत्रुसकहाँ पनि देखा पर्नुभयो। (लूका २४:३४; १ कोरिन्थी १५:४-८) आफूलाई पटक-पटक इन्कार गर्ने ती प्रेषितप्रति येशूले किन यस्तो विशेष चासो देखाउनुभयो? सायद येशू पश्‍चात्तापी पत्रुसलाई आफू अझै पनि तिनलाई प्रेम गर्छु अनि अमूल्य ठान्छु भन्‍ने कुरामा आश्‍वस्त पार्न चाहनुहुन्थ्यो। तर येशूले पत्रुसलाई आश्‍वस्त पार्न अर्को काम पनि गर्नुभयो।

बहुमूल्य रत्न खोजौँ

लूका २३:३१ को अध्ययन नोट

रूख हरियो भएको बेला . . . सुकेपछि: येशूले यहाँ यहूदी राष्ट्रबारे कुरा गरिरहनुभएको हुन सक्छ। यहूदी राष्ट्र सुक्नै लागेको तर अझै अलि-अलि हरियो भएको रूखजस्तै थियो, किनभने त्यतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो अनि उहाँमाथि विश्‍वास गर्ने यहूदीहरू पनि थिए। तर चाँडै येशू मारिनु हुनेथियो अनि विश्‍वासी यहूदीहरूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरिने थियो र तिनीहरू आध्यात्मिक इस्राएलको भाग हुनेथिए। (रोमी २:२८, २९; गला ६:१६) त्यसपछि, साँच्चैको इस्राएल राष्ट्र सुकेको रूखजस्तै हुनेथियो, अर्थात्‌ आध्यात्मिक अर्थमा उनीहरूको मृत्यु हुनेथियो।—मत्ती २१:४३.

nwtsty-E मिडिया

कुर्कुच्चोमा गाडिएको किल्ला

यो फोटोमा मानिसको कुर्कुच्चोलाई ११.५ सेन्टिमिटर लामो किल्लाले छेडिएको देखाइएको छ। यो कुर्कुच्चो एउटा प्रतिकृति (नक्कल कृति) मात्र हो। यसको सक्कल कृति १९६८ मा उत्तरी यरूशलेममा उत्खनन गर्दा भेट्टाइएको थियो। अनि यो रोमी साम्राज्यको शासन चलिरहेको समयतिरको हो भनेर पत्ता लाग्यो। मानिसलाई मृत्युदण्ड दिन खम्बामा किल्ला ठोकेर झुन्ड्याइन्थ्यो भनेर यस्ता पुरातात्त्विक प्रमाणहरूले पुष्टि गर्छ। रोमी सेनाहरूले येशू ख्रीष्टलाई यातनाको खम्बामा टाँग्न यस्तै किल्ला प्रयोग गरेका हुन सक्छन्‌। यो कुर्कुच्चो लास कुहिसकेपछि बाँकी रहेका हड्डीहरू राखिने अस्थि बाकसमा भेट्टाइएको थियो। खम्बामा मृत्युदण्ड दिइएको व्यक्‍तिलाई पछि चिहानमा गाड्‌न दिइन्थ्यो भन्‍ने कुराको प्रमाण यसले दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने