जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
फेब्रुअरी ४-१०
प्रचार गर्ने सीप तिखारौँ
w०६-E ६/१ पृ. १२-१३
उचित दृष्टिकोण राख्नुहोस्
सन्तुष्टि पाउन चाहन्छौँ भने हामीले आफ्नो र अरूको सीमितताप्रति उचित दृष्टिकोण राख्नै पर्छ। रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले यो कुरा औँल्याए: “सबैले पाप गरेका छन् अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्।” (रोमी ३:२३) यहोवा परमेश्वरको गौरवका थुप्रै पक्षहरू हाम्रो समझबाहिर छन्। उदाहरणको लागि, उत्पत्ति १:३१ मा बताइएको यो कुरालाई विचार गर्नुहोस्: “त्यसपछि परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो, ती असाध्यै राम्रा थिए।” आफूले गरेका कामहरूलाई फर्केर हेर्दा यहोवा हरेकचोटि यसो भन्न सक्नुहुन्छ: ‘ती असाध्यै राम्रा छन्।’ तर कुनै पनि मानिसले आफ्नो हरेक कामको सन्दर्भमा त्यसो भन्न सक्दैन। त्यसैले सन्तुष्टि प्राप्त गर्नको लागि चाल्नुपर्ने पहिलो कदम आफ्नो सीमिततालाई स्विकार्नु हो। तर त्यति गरेर मात्र पुग्दैन। हामीले यस सन्दर्भमा यहोवाको दृष्टिकोण बुझ्नु र स्विकार्नु पनि आवश्यक छ।
रोमी ३:९ मा “पाप” भनेर अनुवाद गरिएको ग्रीक शब्दको मूल अर्थ “निसाना चुक्नु” भन्ने हुन्छ। मानिलिनुहोस्, एक जना मानिस बाणले निसानामा हान्ने प्रतियोगितामा भाग लिँदै छन्। इनाम जित्ने तिनको ठूलो धोको छ। तिनीसित तीन वटा बाण छ। तिनी पहिलो बाण हान्छन् र त्यो निसानाभन्दा लगभग एक मिटर परतिर लाग्छ। तिनी दोस्रो पटक अझै राम्ररी निसानालाई ताकेर बाण हान्छन्, तैपनि एक फुटको [३० सेन्टिमिटर] दूरीले तिनको निसाना चुक्छ। त्यसपछि तिनी पूरा ध्यान लगाएर तेस्रो बाण हान्छन् र यसपटक भने त्यो बाण निसानाभन्दा एक इन्च [दुई सेन्टिमिटर] परतिर लाग्छ। हुनत तिनले अन्तिम पटक हानेको बाण निसानाको छेवैमा परेको थियो, तैपनि तिनको निसाना चुकेकै हो।
हामी सबै निसाना चुकेको त्यस व्यक्तिजस्तै छौँ। कहिलेकाहीँ निकै ठूलो दूरीले हाम्रो ‘निसाना चुक्छ।’ कहिलेकाहीँ भने हामी निसानाको छेवैमा पुग्छौँ, तैपनि हामी चुक्छौँ। निकै कोसिस गरे तापनि असफल भएकोले हामी निराश हुन्छौँ। अब फेरि बाण हान्ने त्यस व्यक्तिको उदाहरणलाई विचार गरौँ।
इनाम जित्ने सपना चकनाचुर भएकोले ती व्यक्ति खिन्न हुँदै आफ्नो बाटो लाग्न थाल्छन्। त्यति नै बेला त्यस प्रतियोगिताका आयोजकले तिनलाई बोलाउँछन् र यसो भन्दै इनाम दिन्छन्: “म तपाईँलाई यो इनाम दिन चाहन्छु किनकि म तपाईँदेखि खुसी छु। तपाईँले कति मेहनत गर्नुभयो, त्यो मैले देखेँ।” तब ती व्यक्तिको खुसीको सीमै रहँदैन!
त्यसैगरि, परमेश्वरबाट त्रुटिरहित अनन्त जीवनको “वरदान” पाउने हरेक मानिसको पनि खुसीको सीमै रहनेछैन। (रोमी ६:२३) त्यसपछि ती मानिसहरूले गर्ने हरेक काम सफल हुनेछ, तिनीहरूको निसाना कहिल्यै चुक्नेछैन। तिनीहरू पूर्ण रूपमा सन्तुष्ट हुनेछन्। त्यो समय नआउन्जेल यदि हामीले यस्तो दृष्टिकोण राख्यौँ भने हामी आफूसित अनि अरूसित पनि खुसी हुन सक्नेछौँ।
फेब्रुअरी २५–मार्च ३
बाइबलमा पाइने अनमोल धन | रोमी ९-११
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. १२६० अनु. २
जोसिलो, जोस
गलत किसिमको जोस। कुनै व्यक्तिले निष्कपट हृदयले कुनै कुराको लागि जोस देखाइरहेका हुन सक्छन्, तैपनि तिनको जोस गलत हुन सक्छ र त्यसले परमेश्वरलाई अप्रसन्न तुल्याउन सक्छ। प्रथम शताब्दीका थुप्रै यहुदीहरूको सन्दर्भमा पनि त्यो कुरा लागू भएको थियो। मोसाको व्यवस्थाको अधीनमा रहेर आफूले गरेका कामहरूद्वारा धर्मी ठहरिन सकिन्छ भनेर तिनीहरूले भन्ठानेका थिए। तर तिनीहरूसित सही ज्ञान नभएकोले तिनीहरूले देखाएको जोस गलत किसिमको थियो भनेर पावलले बताए। त्यसैले तिनीहरू साँचो अर्थमा अर्थात् परमेश्वरको नजरमा धर्मी ठहरिन सकेनन्। धर्मी ठहरिन र मोसाको व्यवस्थाद्वारा दोषी नठहरिनको लागि तिनीहरूले आफ्नो गल्ती स्विकार्नुपर्थ्यो र ख्रिष्टमार्फत परमेश्वरकहाँ आउनुपर्थ्यो। (रोमी १०:१-१०) टार्ससका सावल पनि त्यस्तै थिए। तिनले यहुदी धर्मको निम्ति यत्ति जोस देखाएका थिए कि तिनी ‘परमेश्वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थे अनि ध्वंस पार्थे।’ तिनी मोसाको व्यवस्थामा बताइएको एक-एक कुरा पालन गरेर ‘आफूलाई निर्दोष साबित गरेका मानिस’ थिए। (गला १:१३, १४; फिलि ३:६) तर यहुदी धर्मको लागि तिनले देखाएको जोस गलत किसिमको थियो। तर तिनको हृदय भने निष्कपट थियो। त्यसैले यहोवा परमेश्वरले तिनलाई ख्रिष्टमार्फत असीम अनुग्रह देखाउनुभयो र साँचो उपासनातर्फ डोऱ्याउनुभयो।—१ति १:१२, १३.