जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
जुलाई ३-९
बाइबलमा पाइने अनमोल धन | एज्रा ४-६
बहुमूल्य रत्न
w९३-E ६/१५ पृ. ३२ अनु. ३-५
के तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ?
ईसापूर्व चौथो शताब्दीमा फारसी राज्यपाल मजेयसको शासनकालमा बनाइएको एउटा सिक्कामा तिनलाई “महानदीपारि” अर्थात् यूफ्रेटिस नदीपारिको इलाकाका राज्यपाल भनी चिनाइएको छ।
तर “महानदीपारि” भन्ने अभिव्यक्ति चलाइनु किन रोचक छ? किनभने बाइबलमा पनि हामी त्यही अभिव्यक्ति प्रयोग गरिएको पाउँछौँ। एज्रा ५:६–६:१३ मा फारसी राजा दारा र तत्तनै नाम गरेका राज्यपालबीच पत्रमार्फत कुराकानी भएको पाउँछौँ, जसमा यरुसलेम मन्दिरको पुनर्निर्माणबारे उल्लेख गरिएको छ। एज्रा परमेश्वरको व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु थिए। त्यसैले तिनले लेखेका कुरा सही अनि भरपर्दा छन् भनेर हामी आशा गर्न सक्छौँ। एज्रा ५:६ र ६:१३ हेऱ्यौँ भने त्यहाँ तत्तनैलाई “महानदीपारिको इलाकाका राज्यपाल” भनिएको छ।
एज्राले यसबारे त्यो सिक्का बनाइनुभन्दा लगभग १०० वर्षअघि ईसापूर्व ४६० तिर लेखिसकेका थिए। कसै-कसैलाई पुरातन समयका ती अख्तियारवालालाई चिनाउन प्रयोग गरिएको अभिव्यक्ति खासै महत्त्वपूर्ण जानकारी होइन जस्तो लाग्न सक्छ। तर बाइबल लेखकहरूले लेखेका यी स-साना जानकारीहरूमा पनि भर पर्न सकिन्छ भने के तिनीहरूले लेखेका अरू कुराहरूमा भर पर्न सकिँदैन र?
जुलाई १०-१६
बाइबलमा पाइने अनमोल धन | एज्रा ७-८
“एज्राको आचरणबाट यहोवाको महिमा भयो”
si-E पृ. ७५ अनु. ५
बाइबलको १३औँ किताब—१ इतिहास
५ यो सही र भरपर्दो जानकारी लेख्न एज्राभन्दा निपुण व्यक्ति अरू कोही थिएन। “एज्राले यहोवा परमेश्वरको व्यवस्था अध्ययन गर्न, त्यसअनुसार चल्न अनि इस्राएलीहरूलाई उहाँका नीतिनियम र ऐनकानुन सिकाउन आफ्नो हृदय तयार पारेका थिए।” (एज्रा ७:१०) यहोवाले पवित्र शक्तिद्वारा एज्रालाई मदत गर्नुभयो। फारसी विश्व शासकले पनि एज्राले परमेश्वरको बुद्धि पाएको कुरा मानिलिए र तिनलाई यहुदाको पूरै इलाकामाथि अधिकार दिए। (एज्रा ७:१२-२६) एज्राले परमेश्वरबाट अनि राजाबाट अख्तियार पाएका थिए। त्यसैले एज्राले त्यतिबेला उपलब्ध सबैभन्दा भरपर्दा कागजातहरूबाट आफ्नो विवरण तयार पार्न सके।
it-1-E पृ. ११५८ अनु. ४
नम्रता
यहोवा भरपर्दो डोऱ्याइ दिनुहुन्छ। यहोवासामु आफूलाई नम्र तुल्याउने व्यक्तिले उहाँको डोऱ्याइ पाउन सक्छ। एज्राले पुजारीहरू, मन्दिरका सेवकहरू अनि स्त्री र केटाकेटीबाहेक १,५०० भन्दा धेरै पुरुषलाई बेबिलोनबाट यरुसलेमसम्म ल्याउने गहन जिम्मेवारी पाएका थिए। तिनीहरूसित प्रशस्त मात्रामा सुन र चाँदी थियो, जुन यरुसलेमको मन्दिरलाई सजाउन प्रयोग गरिने थियो। त्यसैले यात्रामा तिनीहरूलाई सुरक्षाको आवश्यकता थियो तर एज्राले फारसका राजासित सुरक्षाको माग गरेनन् किनभने तिनी मानिसमा भर पर्न चाहँदैनथिए। अनि तिनले राजालाई पहिल्यै यसो भनेका थिए, “हाम्रा परमेश्वर उहाँको खोजी गर्ने सबैको साथमा रहनुहुन्छ।” मानिसहरूले आफूलाई परमेश्वरसामु नम्र तुल्याऊन् भनेर तिनले सबैलाई उपवास बस्ने निर्देशन दिए। मानिसहरूले परमेश्वरसित सुरक्षाको लागि बिन्ती गरे र उहाँले तिनीहरूको बिन्ती सुन्नुभयो। उहाँले तिनीहरूलाई शत्रुहरू र बाटोमा ढुकेर बसेका लुटेराहरूको हातबाट जोगाउनुभयो। यसरी तिनीहरूले सकुशल यात्रा पूरा गर्न सके।—एज्रा ८:१-१४, २१-३२.
जुलाई १७-२३
बाइबलमा पाइने अनमोल धन | एज्रा ९-१०
“अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू”
w०९-E १०/१ पृ. १० अनु. ६
यहोवा हामीबाट के चाहनुहुन्छ?
मनैदेखि आज्ञाकारी भयौँ भने हामीले आशिष् पाउनेछौँ। मोसाले यस्तो लेखे: “मैले आज तिमीहरूलाई दिएका यहोवाका आज्ञाहरू . . . पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरूकै भलाइ हुनेछ।” (व्यवस्था १०:१३) हो, यहोवाका हरेक आज्ञा, उहाँले हामीबाट चाहनुभएका सबै कुरा हाम्रै भलाइका लागि हुन्। हामी किन त्यसो भन्न सक्छौँ? किनकि बाइबल भन्छ, “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ युहन्ना ४:८) उहाँले हाम्रो भलाइ हुने आज्ञाहरू मात्र दिनुभएको छ। (यसैया ४८:१७) यहोवाले आज्ञा गर्नुभएका कुराहरू पालन गऱ्यौँ भने हामी अहिले चिन्ता-फिक्रीबाट मुक्त हुन सक्छौँ र भविष्यमा परमेश्वरको राज्यमा अनगिन्ती आशिष् पाउनेछौँ।
अगस्त २१-२७
बाइबलमा पाइने अनमोल धन | नहेम्याह १०-११
“तिनीहरूले यहोवाको लागि त्यागहरू गरे”
w८६-E २/१५ पृ. २६
साँचो उपासनाको विजय
आफ्नो पैतृक-सम्पत्ति छोडेर यरुसलेममा बसाइँ सर्दा थप खर्च बेहोर्नुपर्ने अनि केही असुविधा भोग्नुपर्ने हुन सक्थ्यो। साथै त्यस सहरमा बस्दा विभिन्न खतराहरूसित पनि जुझ्नुपर्ने हुन सक्थ्यो। त्यसैले राजीखुसीले यरुसलेममा सर्न तयार भएकाहरूको अरू इस्राएलीहरूले प्रशंसा गरे र परमेश्वरले तिनीहरूलाई आशिष् देऊन् भनेर कामना गरे।
अगस्त २८–सेप्टेम्बर ३
बाइबलमा पाइने अनमोल धन | नहेम्याह १२-१३
“साथीहरू छान्दा यहोवाप्रति वफादार हुनुहोस्”
it-1-E पृ. ९५ अनु. ५
अम्मोनीहरू
तोबियालाई मन्दिरबाट निष्कासन गरेपछि अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्वरको सभाको भाग हुन पाउने छैनन् भन्ने निषेधाज्ञा पढेर सुनाइयो र त्यो लागू गरियो। त्यो निषेधाज्ञा हामी व्यवस्था २३:३-६ मा पाउँछौँ। (नहे १३:१-३) अम्मोनीहरू र मोआबीहरूले इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा मदत गर्न इन्कार गरेकोले लगभग १,००० वर्षअघि त्यो निषेधाज्ञा दिइएको थियो। यसकारण इस्राएल राष्ट्रमा अरूले पाउने अधिकार र सुविधाहरू तिनीहरूले पाउने थिएनन्। तर यसको मतलब अम्मोनीहरू र मोआबीहरू इस्राएलीहरूसँग सर-सङ्गत वा बसोबास गर्न पाउने थिएनन् र फलस्वरूप परमेश्वरको आशिष् पाउन योग्य हुने थिएनन् भन्ने होइन। किनभने दाउदका एक प्रमुख योद्धा जिलेक अम्मोनी थिए र रुथ मोआबी स्त्री थिइन्।—रुथ १:४, १६-१८; २स २३:३७.
बहुमूल्य रत्न
it-2-E पृ. ४५२ अनु. ९
सङ्गीत
मन्दिरमा गीत गाउने कामलाई निकै महत्त्वपूर्ण ठानिन्थ्यो। गायकहरूबारे उल्लेख गरिएका शास्त्रपदहरू हेऱ्यौँ अनि तिनीहरूले तनमनले सेवा गर्न सकून् भनेर लेवीहरूले गर्ने “अरू कामबाट छुट” पाएको कुरा विचार गऱ्यौँ भने तिनीहरूको सेवा कत्ति महत्त्वपूर्ण थियो भनेर बुझ्न सक्छौँ। (१इ ९:३३) बेबिलोनबाट फर्केकाहरूमध्ये पनि तिनीहरूको बेग्लै सूची बनाइएकोले तिनीहरू लेवीहरूको एउटा विशेष समूहको रूपमा चिनिन्थे भन्ने कुरा प्रस्ट हुन्छ। (एज्रा २:४०, ४१) यहाँसम्म कि फारसी राजा आर्टजारसेजले अरू केही विशेष समूहहरू सँगै तिनीहरूलाई पनि ‘कर, तिरो र महसुलबाट’ छुट दिएका थिए। (एज्रा ७:२४) पछि “गायकहरूको लागि हरेक दिन आवश्यक कुराहरूको प्रबन्ध मिलाइयोस् भनेर एउटा राजकीय उर्दी जारी” गरियो। हुनत यो उर्दी राजा आर्टजारसेजले निकालेका हुन् भनिन्छ तर सम्भवतः आर्टजारसेजले दिएको अख्तियार चलाउँदै यो उर्दी एज्राले निकालेका थिए। (नहे ११:२३; एज्रा ७:१८-२६) त्यसैले गायकहरू लेवीहरू नै भए तापनि बाइबलमा तिनीहरूलाई विशेष समूहको रूपमा उल्लेख गर्दै “गायकहरू र लेवीहरू” भनिनुको कारण स्पष्टसित बुझ्न सक्छौँ।—नहे ७:१; १३:१०.