प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जनवरी pp. २६-३१
  • “समयको पूर्ण सदुपयोग” गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “समयको पूर्ण सदुपयोग” गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धिमानी छनौट गर्नुहोस्‌; महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिनुहोस्‌
  • यहोवासित बिताउने समयको पूर्ण सदुपयोग गर्नुहोस्‌
  • यहोवासित समय बिताउँदा हाम्रै फाइदा हुन्छ
  • आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जनवरी pp. २६-३१

अध्ययन लेख ५

“समयको पूर्ण सदुपयोग” गर्नुहोस्‌

“कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।”—एफि. ५:१५, १६.

गीत ८ यहोवा हाम्रो शरण

परिचयa

१. हामी कसरी यहोवासित समय बिताउन सक्छौँ?

हामीलाई आफूले माया गर्ने व्यक्‍तिहरूसित समय बिताउन पाउँदा धेरै खुसी लाग्छ। जस्तै: विवाहित दम्पतीहरू साँझको समयमा दुई जना सँगै समय बिताउन पाउँदा रमाइलो मान्छन्‌। त्यसैगरि जवानहरू आफ्ना साथीहरूसित समय बिताउन पाउँदा रमाउँछन्‌। यसबाहेक हामी सबैलाई सङ्‌गी उपासकहरूसित समय बिताउन पाउँदा खुसी लाग्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी यहोवासित समय बिताउन पाउँदा रमाउँछौँ। हामी कसरी उहाँसित समय बिताउन सक्छौँ? प्रार्थना गरेर, उहाँको वचन पढेर अनि उहाँको उद्देश्‍य र मनमोहक गुणहरूबारे मनन गरेर। यहोवासित हामीले बिताउने समय हाम्रो लागि साँच्चै अनमोल छ!—भज. १३९:१७.

२. यहोवासित समय बिताउन किन सधैँ सजिलो नहुन सक्छ?

२ हुनत हामीलाई यहोवासित समय बिताउन रमाइलो लाग्छ तर त्यसो गर्न सधैँ सजिलो हुँदैन। हामी व्यस्त छौँ। त्यसैले आध्यात्मिक गतिविधिको लागि समय निकाल्न गाह्रो हुन सक्छ। जस्तै: जागिर, पारिवारिक जिम्मेवारी वा गर्नै पर्ने अन्य कामहरूले गर्दा हामीलाई प्रार्थना, अध्ययन र मननको लागि समय नै छैन जस्तो महसुस हुन सक्छ।

३. हाम्रो समय केले खाइदिन सक्छ?

३ हाम्रो समय खाने अर्को कुरा पनि छ। हामी होसियार भएनौँ भने त्यस्ता गतिविधिहरूमा धेरै समय बिताउन पुग्छौँ, जुन आफैमा नराम्रो त छैन तर त्यसले यहोवासित बिताउने समय खाइदिन सक्छ। उदाहरणको लागि, हामी मनोरञ्जनलाई लिन सक्छौँ। बेलाबेलामा रमाइला गतिविधिहरूमा भाग लिनु राम्रो कुरा हो। हामीले रोजेको मनोरञ्जन हानिकारक छैन होला तर त्यसमा धेरै समय बिताउँछौँ भने आध्यात्मिक गतिविधिको लागि थोरै समय मात्र बाँकी रहन सक्छ। त्यसैले हामीले मनोरञ्जनलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा बनाउनु हुँदैन।—हितो. २५:२७; १ तिमो. ४:८.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

४ यस लेखमा हामीले महत्त्वपूर्ण कुराहरूलाई किन प्राथमिकता दिनुपर्छ भनेर छलफल गर्नेछौँ। यहोवासित बिताउने समयको हामी कसरी पूर्ण सदुपयोग गर्न सक्छौँ र यसो गर्दा हामीलाई कस्तो फाइदा हुन्छ भनेर पनि बुझ्नेछौँ।

बुद्धिमानी छनौट गर्नुहोस्‌; महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिनुहोस्‌

५. एफिसी ५:१५-१७ मा पाइने सल्लाहले जवानहरूलाई सबैभन्दा राम्रो जीवन रोज्न कसरी मदत गर्छ?

५ सबैभन्दा राम्रो जीवन रोज्नुहोस्‌। प्रायजसो जवानहरू के गऱ्‍यो भने भविष्य उज्ज्वल होला भनेर सोच्ने गर्छन्‌। एकातर्फ, स्कुलका शिक्षकहरू र बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूले तिनीहरूलाई पछि राम्रो जागिर पाउन र नाम-दाम कमाउन उच्च शिक्षा लिन प्रोत्साहन दिन्छन्‌। तर यसको लागि धेरै समय खर्च गर्नुपर्ने हुन्छ। अर्कोतर्फ, यहोवाको सेवा गर्ने आमाबुबा र मण्डलीका साथीभाइले तिनीहरूलाई यहोवाको सेवामा लाग्न प्रोत्साहन दिन्छन्‌। यस्तो अवस्थामा यहोवालाई प्रेम गर्ने जवानहरूले कसरी सही छनौट गर्न सक्छन्‌? तिनीहरूले एफिसी ५:१५-१७ पढेर त्यसमा मनन गर्न सक्छन्‌। (पढ्‌नुहोस्‌।) त्यसपछि आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: ‘“यहोवा परमेश्‍वरको इच्छा” के हो? मैले कस्तो निर्णय गर्दा उहाँ खुसी हुनुहुन्छ? मैले कस्तो निर्णय गरेँ भने मेरो समयको पूर्ण सदुपयोग हुन्छ?’ जवानहरू हो, यो कुरा पनि मनमा राख्नुहोस्‌: “हामी खराब समयमा बाँचिरहेका छौँ” र सैतानले शासन गरिरहेको यस संसारको चाँडै अन्त हुनेछ। त्यसैले यहोवालाई खुसी बनाउने तरिकामा जीवन बिताउनु बुद्धिमानी हो।

६. मरियमले कस्तो छनौट गरिन्‌ र त्यो किन बुद्धिमानी छनौट थियो?

६ महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिनुहोस्‌। त्यसो गर्न सधैँ सजिलो हुँदैन। कहिलेकाहीँ हामीले दुइटामध्ये एउटा कुरा रोज्नुपर्ने हुन्छ। हुनत ती दुवै कुरा गलत नहोला तर समयको सदुपयोग गर्न एउटा मात्र रोज्नुपर्ने हुन्छ। येसु मार्था र मरियमको घरमा जानुभएको विवरण विचार गरौँ। मार्था येसुलाई अतिथि-सत्कार गर्न पाउँदा निकै खुसी थिइन्‌। त्यसैले तिनी थरीथरीको परिकार बनाउन व्यस्त भइन्‌। तर मरियमले भने येसुको छेवैमा बसेर उहाँको कुरा सुन्‍ने छनौट गरिन्‌। हुनत मार्थाको मनसाय गलत थिएन तर मरियमले ‘असल भाग रोजिन्‌।’ (लुका १०:३८-४२) येसुलाई घरमा बोलाउँदा के खुवाएका थियौँ भनेर पछि मरियमले बिर्सिन्‌ होला तर उहाँबाट सिकेको कुरा भने कहिल्यै बिर्सिनन्‌। तिनले येसुसित बिताएको त्यो छोटो समयको निकै मोल गरिन्‌। हामी पनि यहोवासित बिताउने समयको मोल गर्छौँ। त्यसोभए यस्तो समयको हामी कसरी पूर्ण सदुपयोग गर्न सक्छौँ?

यहोवासित बिताउने समयको पूर्ण सदुपयोग गर्नुहोस्‌

७. प्रार्थना, अध्ययन र मनन गर्नु किन महत्त्वपूर्ण छ?

७ प्रार्थना, अध्ययन र मनन उपासनाको भाग हो भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌। प्रार्थना गर्दा हामीलाई असाध्यै माया गर्नुहुने स्वर्गका बुबासित कुराकानी गरिरहेका हुन्छौँ। (भज. ५:७) अध्ययन गर्दा हामीले बाइबलबाट बुद्धिका स्रोत ‘यहोवाको ज्ञान’ लिइरहेका हुन्छौँ। (हितो. २:१-५) मनन गर्दा हामीले यहोवाका मनमोहक गुणहरूबारे अनि हामी र सम्पूर्ण सृष्टिको लागि उहाँको उद्देश्‍य के हो भन्‍नेबारे विचार गरिरहेका हुन्छौँ। आफ्नो समयको सदुपयोग गर्ने योभन्दा राम्रो तरिका अरू कुनै होला र? तर हामी आफूसित भएको सीमित समयको कसरी पूर्ण सदुपयोग गर्न सक्छौँ?

एक भाइ व्यक्‍तिगत अध्ययन गरिरहेको बेला खाँदै र टिभी हेर्दै छन्‌। छोरा पनि नजिकै खेलिरहेको छ।

व्यक्‍तिगत अध्ययनको लागि शान्त ठाउँ खोज्नुभए कसो होला? (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८. येसुले निर्जनभूमिमा कसरी समय बिताउनुभयो र यसबाट हामी के सिक्न सक्छौँ?

८ सम्भव छ भने शान्त ठाउँ रोज्नुहोस्‌। येसुको उदाहरण विचार गरौँ। पृथ्वीमा आफ्नो सेवा थाल्नुअघि उहाँले ४० दिन निर्जनभूमिमा बिताउनुभयो। (लुका ४:१, २) त्यो ठाउँ शान्त भएकोले बुबालाई प्रार्थना गर्न अनि उहाँको लागि यहोवाको इच्छामा गहिरिएर मनन गर्न सक्नुभयो। यसले उहाँलाई भविष्यमा आइपर्ने परीक्षाहरूको लागि तयार बनायो। येसुको उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामी ठूलो परिवारमा बस्छौँ भने शान्त ठाउँ भेट्टाउन सधैँ सजिलो नहुन सक्छ। त्यसैले घरबाहिर कुनै उपयुक्‍त ठाउँ खोज्न सक्छौँ। फ्रान्समा बस्ने जुलीको अनुभव विचार गरौँ। तिनी र तिनको श्रीमान्‌ एउटा सानो कोठामा बस्छन्‌। त्यसैले कुनै बाधाअवरोधविना प्रार्थनामा यहोवासित समय बिताउन तिनलाई त्यत्ति सजिलो छैन। तिनी भन्छिन्‌: “म हरेक दिन पार्कमा जान्छु। त्यहाँ होहल्ला र भीडभाड नहुने भएकोले यहोवासित कुराकानी गर्न र मनन गर्न सक्छु।”

९. व्यस्त भए तापनि येसुले यहोवासितको सम्बन्धको मोल गरेको कसरी देखाउनुभयो?

९ येसु निकै व्यस्त हुनुहुन्थ्यो। उहाँ पृथ्वीमा हुनुहुँदा भीडका भीड मानिसहरू उहाँको कुरा सुन्‍न उहाँको पछिपछि लाग्थे। त्यसैले येसुसित आफ्नो लागि समय नै हुँदैनथ्यो। एकचोटिको कुरा हो, उहाँलाई भेट्‌न “पूरै सहर घरको ढोकामै जम्मा भएको थियो।” त्यस्तो अवस्थामा पनि येसुले यहोवासितको सम्बन्ध बलियो बनाइराख्न कसरी समय निकाल्नुभयो? उहाँ आफ्नो बुबासित समय बिताउन बिहान झिसमिसेमै उठेर “सुनसान ठाउँमा जानुभयो।”—मर्कु. १:३२-३५.

१०-११. मत्ति २६:४०, ४१ अनुसार येसुले चेलाहरूलाई कस्तो महत्त्वपूर्ण सल्लाह दिनुभयो तर के भयो?

१० पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येसुले मनन र प्रार्थना गर्न एउटा शान्त ठाउँ खोज्नुभयो। त्यो गेत्समनीको बगैँचा थियो। (मत्ति २६:३६) त्यस मौकामा येसुले आफ्ना चेलाहरूलाई प्रार्थनासम्बन्धी एउटा महत्त्वपूर्ण सल्लाह दिनुभयो।

११ त्यतिबेला के भयो, विचार गरौँ। उहाँहरू गेत्समनीको बगैँचामा पुग्नुहुँदा रात निकै छिप्पिसकेको थियो। उहाँले प्रेषितहरूलाई “जागा रहो” भन्‍नुभयो र अलि पर गएर प्रार्थना गर्न थाल्नुभयो। (मत्ति २६:३७-३९) तर प्रार्थना गरेर फर्कँदा उहाँले चेलाहरू निदाइरहेको भेट्टाउनुभयो। त्यसैले उहाँले फेरि तिनीहरूलाई “जागा रहो र प्रार्थना गरिरहो” भन्‍नुभयो। (मत्ति २६:४०, ४१ पढ्‌नुहोस्‌।) येसुलाई तिनीहरू अत्यन्तै विचलित र थकित भएका छन्‌ भन्‍ने कुरा थाह थियो। उहाँले तिनीहरूको अवस्था बुझ्नुभयो र ‘शरीर कमजोर छ’ भन्‍नुभयो। त्यसपछि पनि येसु दुई चोटि प्रार्थना गर्न जानुभयो तर दुवै चोटि फर्कँदा चेलाहरू प्रार्थना गर्नुको साटो निदाइरहेका थिए।—मत्ति २६:४२-४५.

एक बहिनी प्रार्थना गर्दागर्दै निदाउँछिन्‌।

थाकेर लखतरान नभएको बेला प्रार्थना गर्नुभए कसो होला? (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. असाध्यै थकान वा तनावले गर्दा कहिलेकाहीँ प्रार्थना गर्न गाह्रो हुँदा हामी के गर्न सक्छौँ?

१२ सही समय रोज्नुहोस्‌। कहिलेकाहीँ हामी निकै तनावमा वा थकित भएकोले प्रार्थना गर्न गाह्रो हुन सक्छ। तपाईँले पनि त्यस्तै महसुस गर्नुभएको छ भने चिन्ता नगर्नुहोस्‌। त्यस्तो हुँदा तपाईँ के गर्न सक्नुहुन्छ? कोही-कोही राती थाकेर लखतरान भइसकेपछि प्रार्थना गर्नुभन्दा साँझपखतिर प्रार्थना गर्छन्‌। अरू कतिपयले भने सीधा बसेर वा घुँडा टेकेर प्रार्थना गर्दा एकाग्र हुन सकेको महसुस गरेका छन्‌। तर चिन्ता वा निराशाले गर्दा प्रार्थना गर्नै सक्नुभएको छैन भने नि? तपाईँलाई कस्तो महसुस भइरहेको छ भनेर यहोवालाई बताउनुहोस्‌। यहोवा हाम्रो कृपालु बुबा हुनुभएकोले उहाँले पक्कै पनि तपाईँका भावनाहरू बुझ्नुहुनेछ।—भज. १३९:४.

एक भाइ सभाको दौडान मेसेजको रिप्लाइ दिँदै छन्‌।

सभाको दौडान मेसेज र इमेलले तपाईँको ध्यान खलबल्याइरहेको छ कि? (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)

१३. इलेक्ट्रोनिक डिभाइसहरूले कसरी हाम्रो ध्यान खलबल्याउन सक्छ?

१३ अध्ययन गर्दा ध्यान खलबल्याउने कुराहरू पन्छाउनुहोस्‌। यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न प्रार्थनाले मात्र होइन, बाइबलको अध्ययन र मण्डलीका सभाहरूले पनि हामीलाई मदत गर्छ। त्यसोभए अध्ययन र सभाबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौँ? आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘अध्ययनको दौडान र सभामा मेरो ध्यान खलबल्याउने केही कुराहरू छन्‌ कि? मोबाइल र अन्य इलेक्ट्रोनिक डिभाइसमा आउने कल, इमेल वा मेसेजले मेरो ध्यान खलबल्याउँछ कि?’ अहिले संसारमा करोडौँ मानिसले यस्ता साधनहरू प्रयोग गर्छन्‌। केही अनुसन्धानकर्ताले बताएअनुसार नजिकै फोन छ भने हाम्रो ध्यान सजिलै खलबलिन सक्छ। मनोविज्ञानसम्बन्धी एक प्राध्यापक यसो भन्छन्‌: “त्यसले गर्दा तपाईँ आफ्नो काममा ध्यान दिन सक्नुहुन्‍न। तपाईँको मन अन्तै डुल्न थाल्छ।” सम्मेलन र अधिवेशनअघि अक्सर हामीलाई आफ्ना इलेक्ट्रोनिक डिभाइसहरू अरूको ध्यान भङ्‌ग नहुने सेटिङमा राख्न प्रोत्साहन दिइन्छ। हामी एक्लै हुँदा पनि आफ्नो ध्यान नखलबलियोस्‌ र यहोवासित बिताउने समयको पूर्ण सदुपयोग होस्‌ भनेर त्यसै गर्न सक्छौँ कि?

१४. फिलिप्पी ४:६, ७ अनुसार यहोवाले हामीलाई महत्त्वपूर्ण कुरामा ध्यान दिन कसरी मदत गर्नुहुन्छ?

१४ महत्त्वपूर्ण कुरामा ध्यान दिन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। सभा वा अध्ययनको बेला तपाईँको ध्यान अन्तै डुलिरहेको याद गर्नुभयो भने यहोवासित मदत माग्नुहोस्‌। तपाईँ कुनै कुराले गर्दा चिन्तित वा निराश हुनुहुन्छ भने आफूलाई चिन्तित बनाउने कुराहरूलाई पन्छाएर आध्यात्मिक कुराहरूमा ध्यान दिन पक्कै सजिलो छैन। तर यसो गर्नु असाध्यै महत्त्वपूर्ण छ। यहोवाको शान्तिको लागि प्रार्थना गर्नुहोस्‌, जसले तपाईँको हृदयको मात्र होइन, तपाईँको “सोच्ने क्षमताको” पनि रक्षा गर्नेछ।—फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

यहोवासित समय बिताउँदा हाम्रै फाइदा हुन्छ

१५. यहोवासित समय बिताउँदा हामीलाई हुने एउटा फाइदा के हो?

१५ यहोवासित कुरा गर्न, उहाँको कुरा सुन्‍न र उहाँबारे मनन गर्न समय निकाल्नुभयो भने तपाईँको हित हुन्छ। कसरी? पहिलो, तपाईँले सही निर्णय गर्न सक्नुहुनेछ। बाइबल यसो भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।” (हितो. १३:२०) यहोवा बुद्धिको स्रोत हुनुहुन्छ। उहाँसित समय बिताउनुभयो भने तपाईँ पनि बुद्धिमान्‌ हुन सक्नुहुन्छ। साथै यहोवालाई कसरी खुसी बनाउने र उहाँको चित्त दुख्ने निर्णयहरू गर्नदेखि कसरी जोगिने भनेर अझ राम्ररी बुझ्नुहुनेछ।

१६. यहोवासित समय बिताउँदा हामी कसरी अझ राम्रो शिक्षक बन्‍न सक्नेछौँ?

१६ दोस्रो, तपाईँ अझ राम्रो शिक्षक बन्‍नुहुनेछ। कसैलाई बाइबल अध्ययन गराउँदै छौँ भने हाम्रो एउटा महत्त्वपूर्ण लक्ष्य भनेको विद्यार्थीलाई यहोवासित नजिक हुन मदत गर्नु हो। हामी यहोवासित जति धेरै कुराकानी गर्छौँ, उहाँप्रतिको हाम्रो प्रेम त्यति नै बढ्‌नेछ अनि विद्यार्थीलाई पनि उहाँलाई प्रेम गर्न मदत दिन सक्नेछौँ। यस विषयमा हामी येसुको उदाहरण विचार गर्न सक्छौँ। येसुले चेलाहरूलाई आफ्नो बुबाबारे बताउनुहुँदा उहाँलाई एक जना मायालु र हाम्रो ख्याल गर्नुहुने परमेश्‍वरको रूपमा चिनाउनुभयो। यसले गर्दा उहाँका चेलाहरू पनि यहोवालाई प्रेम गर्न जुरमुरिए।—युह. १७:२५, २६.

१७. प्रार्थना र अध्ययनले विश्‍वास बलियो बनाउन कसरी मदत गर्छ?

१७ तेस्रो, तपाईँको विश्‍वास अझ बलियो हुनेछ। तपाईँले परमेश्‍वरको डोऱ्‍याइ, सान्त्वना र मदतको लागि उहाँलाई प्रार्थना गर्दा के हुन्छ? यहोवाले प्रत्येक चोटि प्रार्थनाको जवाफ दिनुहुँदा तपाईँको विश्‍वास अझ बलियो हुन्छ। (१ युह. ५:१५) हामीलाई विश्‍वास बलियो बनाउन मदत दिने अर्को कुरा के हो? व्यक्‍तिगत अध्ययन। परमेश्‍वरको वचनको “सन्देश सुनेपछि विश्‍वास पलाउँछ।” (रोमी १०:१७) तर विश्‍वास बलियो बनाउन हामीले बाइबलको ज्ञान लिएर मात्र पुग्दैन। हामीले के पनि गर्नुपर्छ?

१८. हामीले किन मनन गर्नुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

१८ आफूले सिकिरहेका कुराहरूमा हामीले मनन गर्नुपर्छ। भजन अध्याय ७७ का लेखकको अनुभव विचार गरौँ। यहोवाले तिनलाई र सङ्‌गी इस्राएलीहरूलाई त्याग्नुभएको छ भन्‍ने सोचेर ती भजनरचयिता निराश भएका थिए। यस्ता भावनाहरूले गर्दा तिनी रातभरि निदाउन समेत सक्दैनथे। (पद २-८) तिनले के गरे? तिनले यहोवालाई यसो भने: “तपाईँका सबै काममा म मनन गर्नेछु, त्यसलाई गहिरिएर विचार गरिरहनेछु।” (पद १२) हुनत ती भजनरचयितालाई यहोवाले विगतमा आफ्ना मानिसहरूको लागि के-कस्ता कामहरू गर्नुभएको थियो भन्‍ने कुरा राम्ररी थाह थियो। तैपनि तिनले यस्तो सोचे: “के परमेश्‍वरले अनुग्रह देखाउन बिर्सिनुभयो? के उहाँले आफ्नो रिसले गर्दा कृपा देखाउन छोड्‌नुभयो?” (पद ९) ती भजनरचयिताले यहोवाका कामहरूमा मनन गरे अनि यहोवाले विगतमा आफ्ना सेवकहरूलाई देखाउनुभएको कृपा र अनुकम्पाबारे पनि विचार गरे। (पद ११) यसो गर्दा यहोवा आफ्ना मानिसहरूलाई त्याग्नुहुन्‍न भन्‍ने कुरामा तिनी पक्का हुन सके। (पद १५) यहोवाले आफ्ना मानिसहरूको लागि र तपाईँको लागि के-कस्ता कामहरू गर्नुभएको छ भन्‍ने कुरामा मनन गर्नुभयो भने तपाईँको विश्‍वास पनि अझ बलियो हुनेछ।

१९. यहोवासित समय बिताउँदा हामीलाई अर्को कस्तो फाइदा हुन्छ?

१९ चौथो र सबैभन्दा ठूलो फाइदा भनेको यहोवाप्रतिको तपाईँको प्रेम अझ बढ्‌नेछ। अरू कुनै पनि गुणले भन्दा प्रेमले तपाईँलाई यहोवाप्रति आज्ञाकारी हुन, उहाँको लागि त्यागहरू गर्न र परीक्षाहरू सहन उत्प्रेरित गर्छ। (मत्ति २२:३७-३९; १ कोरि. १३:४, ७; १ युह. ५:३) यहोवासितको घनिष्ठ र आत्मीय सम्बन्धभन्दा बहुमूल्य कुरा अरू केही पनि छैन।—भज. ६३:१-८.

२०. यहोवासित बिताउने समयको तपाईँ कसरी पूर्ण सदुपयोग गर्न चाहनुहुन्छ?

२० प्रार्थना, अध्ययन र मनन हाम्रो उपासनाको भाग हो भनेर सधैँ मनमा राख्नुहोस्‌। येसुले जस्तै यहोवासित समय बिताउन शान्त ठाउँ खोज्नुहोस्‌। ध्यान भङ्‌ग गर्ने कुराहरूलाई पन्छाउनुहोस्‌। आध्यात्मिक गतिविधिहरूमा भाग लिँदा त्यसमा ध्यान दिन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। अहिले आफ्नो समयको पूर्ण सदुपयोग गर्नुभयो भने यहोवाले तपाईँलाई प्रशस्त इनाम दिनुहुनेछ र नयाँ संसारमा सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुनेछ।—मर्कु. ४:२४.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • येसुले यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्न के गर्नुभयो?

  • हामी कसरी समयको पूर्ण सदुपयोग गर्न सक्छौँ?

  • यहोवासित समय बिताउँदा हामीलाई कस्ता फाइदाहरू हुन्छन्‌?

गीत २८ यहोवाको मित्र बनौँ

a यहोवा हाम्रो घनिष्ठ साथी हुनुहुन्छ। हामी यहोवासितको मित्रताको मोल गर्छौँ र उहाँलाई अझ राम्रोसित चिन्‍न चाहन्छौँ। जसरी कुनै व्यक्‍तिलाई चिन्‍न समय लाग्छ, त्यसरी नै यहोवासित घनिष्ठ मित्रता गाँस्न पनि समय लाग्छ। हामी सबै जना व्यस्त छौँ। त्यसोभए स्वर्गमा बस्नुहुने बुबासित नजिक हुन हामी कसरी समय निकाल्न सक्छौँ र यसो गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने