प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 जून pp. २०-२५
  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको डरले हाम्रो रक्षा गर्छ
  • मूर्खताको बाटोमा नहिँड्‌नुहोस्‌
  • “साँचो बुद्धि”-ले दिएको निम्तो स्विकार्नुहोस्‌
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • साँचो परमेश्‍वरको भय राख्नुका परिणामहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ‘बुद्धिद्वारै हामी दीर्घायु हुनेछौं’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 जून pp. २०-२५

अध्ययन लेख २८

यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ

“सोझो बाटोमा हिँड्‌ने मानिसले यहोवाको डर मान्छ।”—हितो. १४:२.

गीत १२२ स्थिर र अटल बस!

परिचयa

१-२. लुतले जस्तै आज ख्रिष्टियनहरूले कस्तो समस्याको सामना गर्दै छन्‌?

संसारका मानिसहरूको नैतिक आचरण देख्दा हामी धर्मी लुतले जस्तै महसुस गर्छौँ। तिनी “कुकर्मीहरूको निर्लज्ज आचरण देखेर असाध्यै चिन्तित भएका थिए।” यहोवा खराब आचरणलाई घृणा गर्नुहुन्छ भनेर लुतलाई थाह थियो। (२ पत्रु. २:७, ८) यहोवाप्रतिको प्रेम र डरले गर्दा लुत त्यतिबेलाको खस्कँदो नैतिक स्तरबाट अलग रहन सके। आज हामी पनि यहोवाको नैतिक स्तरलाई पटक्कै आदर नगर्ने मानिसहरूको बीचमा बाँचिरहेका छौँ। यसको बाबजुद यहोवाप्रतिको प्रेम र डरलाई कायम राख्यौँ भने हामी नैतिक रूपमा स्वच्छ रहिरहन सक्नेछौँ।—हितो. १४:२.

२ यसो गर्न यहोवा हामीलाई हितोपदेशको किताबमार्फत मायालु प्रोत्साहन दिनुहुन्छ। यसमा पाइने बुद्धिमानी सल्लाहबाट पुरुष, स्त्री, जवान र वृद्ध सबै ख्रिष्टियनले लाभ उठाउन सक्छन्‌।

परमेश्‍वरको डरले हाम्रो रक्षा गर्छ

तस्बिरहरूको सँगालो: १. खाजा खाने बेला एक महिला सहकर्मीले एक भाइलाई कफी दिँदै छिन्‌। २. काम सकेपछि सोही सहकर्मीले ती भाइलाई सँगै बाहिर जान भन्दै छिन्‌।

काम गर्ने ठाउँमा यहोवालाई प्रेम नगर्नेहरूलाई घनिष्ठ साथी बनाउनदेखि र उहाँलाई दुःखी तुल्याउने कामकुरामा भाग लिने निम्तो स्विकार्नदेखि हामी होसियार हुनुपर्छ (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. हितोपदेश १७:३ अनुसार हामीले आफ्नो हृदय सुरक्षित राख्नुपर्ने एउटा कारण के हो? (तस्बिर पनि हेर्नुहोस्‌।)

३ हामीले आफ्नो प्रतीकात्मक हृदयलाई सुरक्षित राख्नुपर्ने मुख्य कारण हो, यहोवा हाम्रो हृदय जाँच्नुहुन्छ। यसको अर्थ उहाँ हामीलाई मानिसहरूले भन्दा राम्ररी चिन्‍नुहुन्छ; हामी वास्तवमा कस्तो मानिस हौँ भनेर जान्‍नुहुन्छ। (हितोपदेश १७:३ पढ्‌नुहोस्‌।) यदि हामीले आफ्नो मनमस्तिष्कमा अनन्त जीवन दिने बुद्धिका कुराहरू भऱ्‍यौँ भने उहाँले हामीलाई प्रेम गर्नुहुनेछ। (युह. ४:१४) यसो गऱ्‍यौँ भने सैतान र दुष्ट मानिसहरूको पतित नैतिक स्तर र झूटहरूले हाम्रो मनमस्तिष्कमा कुनै ठाउँ पाउनेछैन। (१ युह. ५:१८, १९) हामी यहोवाको जत्ति नजिक हुन्छौँ, त्यत्ति नै उहाँप्रतिको प्रेम र आदर पनि बढ्‌नेछ। किनभने हामी आफ्नो बुबाको चित्त दुखाउन चाहँदैनौँ, यहाँसम्म कि उहाँविरुद्ध पाप गर्ने कुरा सोच्न समेत सक्दैनौँ। गलत काम गर्ने प्रलोभनमा पर्दा हामी आफैलाई यस्तो सोध्न सक्छौँ: ‘मलाई यत्ति धेरै प्रेम गर्नुहुने परमेश्‍वरको म कसरी जानाजानी चित्त दुखाउन सक्छु र?’—१ युह. ४:९, १०.

४. यहोवाको डरले एक बहिनीलाई गलत काम गर्नदेखि कसरी जोगायो?

४ क्रोएसियाकी एक बहिनी मार्टा अवैध यौनसम्बन्ध राख्ने प्रलोभनमा परेकी थिइन्‌। तिनी यस्तो लेख्छिन्‌: “मैले राम्रोसँग सोच्नै सकिनँ र गलत काम गर्ने इच्छालाई दबाउन धेरै गाह्रो भयो। तर यहोवाको डरले मलाई जोगायो।”b परमेश्‍वरप्रतिको डरले मार्टालाई कसरी मदत गऱ्‍यो? तिनले गलत निर्णय गर्दा कस्ता नतिजाहरू भोग्नुपर्छ भन्‍नेबारे सोचिन्‌। हामी पनि त्यसै गर्न सक्छौँ। हाम्रो गलत कामले यहोवालाई दुःखी तुल्याउँछ र हामीले सधैँभरि उहाँको उपासना गर्ने मौका गुमाउँछौँ। योभन्दा खराब नतिजा अरू के हुन सक्छ र!—उत्प. ६:५, ६.

५. लियोको अनुभवबाट तपाईँले के सिक्नुभयो?

५ यहोवाको डर मान्यौँ भने हामी खराब काम गर्नेहरूलाई साथी बनाउनेछैनौँ। कङ्‌गोका लियोको उदाहरण विचार गरौँ। बप्तिस्मा गरेको चार वर्षपछि तिनी खराब सङ्‌गतमा फसे। आफूले कुनै खराब काम नगरेसम्म यहोवाविरुद्ध पाप गरिरहेको हुँदैन भनेर तिनी सोच्थे। तर केही समय नबित्दै तिनी खराब साथीहरूको सङ्‌गतमा परेर बेसरी रक्सी पिउन थाले र अवैध यौनसम्बन्ध राखे। पछि तिनले ख्रिष्टियन आमाबुबाले सिकाएको कुरा र आफूले गुमाएको आनन्दबारे सोच्न थालेँ। नतिजा कस्तो भयो? तिनको होस फर्कियो। एल्डरहरूको मदत पाएपछि तिनी यहोवाकहाँ फर्के। आज तिनी एल्डर र विशेष अग्रगामीको रूपमा आनन्दित भई सेवा गर्दै छन्‌।

६. हामी कुन दुई स्त्रीबारे छलफल गर्नेछौँ?

६ अब हामी हितोपदेश अध्याय ९ छलफल गरौँ, जहाँ दुई स्त्रीबारे बताइएको छ। एक जनाले बुद्धिलाई बुझाउँछ भने अर्कोले मूर्खतालाई बुझाउँछ। (रोमी ५:१४; गलाती ४:२४ तुलना गर्नुहोस्‌।) यो अध्याय छलफल गर्दा यो कुरा मनमा राखौँ: सैतानको संसार अवैध यौनसम्बन्ध र अश्‍लील कुराहरूमा लिप्त छ। (एफि. ४:१९) त्यसैले हामीले परमेश्‍वरको डर मानिरहनु र खराब कामबाट अलग रहिरहनु महत्त्वपूर्ण छ। (हितो. १६:६) यस अध्यायबाट पुरुष, स्त्री सबैले लाभ उठाउन सक्छन्‌। यस अध्यायका दुवै स्त्रीले “अनुभवहीन” मानिसहरूलाई आफूकहाँ आउन निम्तो दिइरहेका छन्‌। मानौँ, तिनीहरूले यसो भनिरहेका छन्‌: ‘मेरो घरमा खाना खान आउनुहोस्‌।’ (हितो. ९:१, ५, ६, १३, १६, १७) तर तिनीहरूले कसको निम्तो स्विकारेको हो, त्यसको आधारमा नतिजा भने फरक हुने थियो।

मूर्खताको बाटोमा नहिँड्‌नुहोस्‌

ढोकामा उभिरहेकी एक वेश्‍या एक जना पुरुषलाई आफूकहाँ बोलाउँदै छे।

“मूर्ख आइमाई”-को निम्तो स्विकार्ने व्यक्‍तिहरूले दुःखद नतिजा भोग्न सक्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. हितोपदेश ९:१३-१८ अनुसार मूर्ख आइमाईको निम्तो स्विकार्नेहरूलाई के हुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

७ “मूर्ख आइमाई”-ले दिएको निम्तोबारे विचार गरौँ। (हितोपदेश ९:१३-१८ पढ्‌नुहोस्‌।) ऊ केही अप्ठ्यारो नमानी अनुभवहीन मानिसहरूलाई आफ्नो घरमा आउन र सँगै भोज खान निम्तो दिन्छे। उसको निम्तो स्विकार्नेहरूलाई के हुन्छ? तिनीहरू ‘मृत्युको मुखमा धकेलिन्छन्‌।’ हितोपदेशको अघिल्ला अध्यायहरूमा पनि यस्तै प्रतीकात्मक शब्दहरू चलाइएका छन्‌। त्यहाँ “छाडा आइमाई” र “चरित्रहीन आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ। साथै “त्यसको घरमा जानेहरू मृत्युको मुखमा धकेलिन्छन्‌” भनेर बताइएको छ। (हितो. २:११-१९) हितोपदेश ५:३-१० मा अर्को “छाडा आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ, जसको “खुट्टा मृत्युको बाटोतिर लाग्छ।”

८. हामीले कस्तो छनौट गर्नुपर्ने हुन सक्छ?

८ “मूर्ख आइमाई”-को कुरा सुन्‍नेहरूले एउटा छनौट गर्नुपर्छ: उसको निम्तो स्विकार्ने कि नस्विकार्ने? आज हामी पनि त्यस्तै किसिमको छनौट गर्नुपर्ने अवस्थामा पर्न सक्छौँ। अवैध यौनसम्बन्ध राख्ने प्रलोभन आइपर्दा वा सञ्चार माध्यम र इन्टरनेटमा अचानक अश्‍लील दृश्‍य देख्दा हामी के गर्छौँ?

९-१०. अवैध यौनसम्बन्धदेखि अलग रहनुपर्ने केही कारण के-के हुन्‌?

९ हामीसित अवैध यौनसम्बन्धदेखि अलग रहनुपर्ने ठोस कारणहरू छन्‌। “मूर्ख आइमाई” यसो भन्छे: “चोरेको पानी मीठो हुन्छ।” “चोरेको पानी” के हो? बाइबलमा विवाहित दम्पतीबीच हुने यौनसम्बन्धलाई मुहानको स्वच्छ पानीसँग तुलना गरिएको छ। (हितो. ५:१५-१८) कानुनी रूपमा विवाह गरेको पतिपत्नीले यौनसम्बन्धको आनन्द उठाउन सक्छन्‌। तर “चोरेको पानी”-को सन्दर्भमा भने कुरा फरक छ। त्यस्तो पानीले अवैध यौनसम्बन्धलाई बुझाउन सक्छ। चोरले कसैले नदेख्नेगरि चोरेजस्तै यस्तो सम्बन्ध राख्नेहरूले आफ्नो कुकर्म अरूबाट लुकाउन खोज्छन्‌। आफ्नो कुर्कम कसैले थाह पाउन सक्दैन जस्तो लागेकोले तिनीहरूलाई “चोरेको पानी” मीठो लाग्न सक्छ। तर वास्तवमा तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन्‌ किनकि यहोवा सबै कुरा देख्नुहुन्छ। उहाँको अनुमोदन गुमाउनुजस्तो तीतो अनुभव अरू कुनै हुन सक्दैन। यो कुनै हालतमा “मीठो” अनुभव हुन सक्दैन। (१ कोरि. ६:९, १०) तर अवैध यौनसम्बन्धका अरू खतराहरू पनि छन्‌।

१० अवैध यौनसम्बन्ध राख्ने व्यक्‍तिले लज्जित र बेकार महसुस गर्न सक्छ, नचाहँदा नचाहँदै गर्भवती हुन सक्छ र परिवार टुक्रिन सक्छ। स्पष्ट छ, मूर्ख आइमाईको “घर”-मा खाना खाने निम्तोलाई तिरस्कार गर्नु बुद्धिमानी कुरा हो। अवैध यौनसम्बन्ध राख्नेहरू आध्यात्मिक रूपमा मात्र नभई विभिन्‍न यौनजन्य रोग लागेर अकालमै मर्न सक्छन्‌। (हितो. ७:२३, २६) अध्याय ९ को पद १८ यसो भन्छ: “उसका पाहुनाहरू चिहानको गहिराइमा पुगिसकेका छन्‌।” तर थुप्रै मानिस किन यस्तो निम्तो स्विकार्छन्‌?—हितो. ९:१३-१८.

११. अश्‍लील सामग्री हेर्नु किन हानिकारक हुन्छ?

११ हामी जोगिनुपर्ने एउटा पासो अश्‍लील सामग्री हो। कसै-कसैलाई यसले कुनै हानि पुऱ्‍याउँदैन जस्तो लाग्छ। तर यो हानिकारक, पतित र लत बस्ने खालको हुन्छ। अश्‍लील दृश्‍य दिमागमा एक चोटि बसेपछि त्यसलाई हटाउन धेरै गाह्रो हुन्छ। त्यसले कुइच्छाहरूलाई मार्दैन बरु झनै दन्काउँछ। (कल. ३:५; याकु. १:१४, १५) अश्‍लील सामग्री हेर्नेहरू अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुग्न सक्छन्‌।

१२. यौनइच्छा जगाउन सक्ने कुराहरू हेर्नदेखि होसियार भएको हामी कसरी देखाउन सक्छौँ?

१२ आफ्नो डिभाइसमा कुनै अश्‍लील दृश्‍य देखा पर्दा हामीले के गर्नुपर्छ? हामीले तुरुन्तै आफ्नो आँखा फर्काउनुपर्छ। यहोवासितको सम्बन्ध हामीसित भएको सबैभन्दा बहुमूल्य कुरा हो भनेर सम्झन्छौँ भने हामीले त्यस्तो कदम चाल्न सक्नेछौँ। कुनै-कुनै तस्बिर अश्‍लील नभए तापनि त्यसले यौनइच्छा जगाउन सक्छ। हामीले किन त्यस्ता कुराहरूलाई तिरस्कार गर्नुपर्छ? किनकि मनमनै व्यभिचार गर्नतर्फ धकेल्न सक्ने ससानो कुरादेखि पनि हामी अलग्गै रहन चाहन्छौँ। (मत्ति ५:२८, २९) थाइल्याण्डका डेभिड भन्‍ने एल्डर यसो भन्छन्‌: “म आफैलाई यस्तो प्रश्‍न सोध्छु, ‘कुनै तस्बिर अश्‍लील नभए पनि मैले त्यो हेरिरहेँ भने के यहोवालाई त्यो मन पर्छ?’ यसरी सोच्दा मैले बुद्धिमानी कदम चाल्न सकेको छु।”

१३. बुद्धिमानी कदम चाल्न हामीलाई केले मदत गर्न सक्छ?

१३ हामी यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डराउँछौँ भने बुद्धिमानी कदम चाल्न मदत पाउनेछौँ। परमेश्‍वरको “डर मान्‍नु बुद्धिको सुरुवात हो।” (हितो. ९:१०) यसबारे हितोपदेश अध्याय ९ का सुरुका पदहरूमा बताइएको छ, जहाँ मूल भाषामा “साँचो बुद्धि”-लाई एक स्त्रीसित तुलना गरिएको छ।—हितो. ९:१, फुटनोट।

“साँचो बुद्धि”-ले दिएको निम्तो स्विकार्नुहोस्‌

१४. हितोपदेश ९:१-६ मा कस्तो निम्तोबारे बताइएको छ?

१४ हितोपदेश ९:१-६ पढ्‌नुहोस्‌। यी पदहरूमा हाम्रा सृष्टिकर्ता र सबै बुद्धिका स्रोत यहोवाले दिनुभएको एउटा निम्तोबारे बताइएको छ। (हितो. २:६; रोमी १६:२७) अनि सात वटा खम्बा गाडेर ठड्याइएको ठूलो घर उदाहरणको रूपमा चलाइएको छ। यस उदाहरणबाट यहोवा उदार हुनुहुन्छ र उहाँको बुद्धि आफ्नो जीवनमा लागू गर्नेहरूलाई उहाँ स्विकार्नुहुन्छ भनेर बुझ्न सक्छौँ।

१५. यहोवा हामीलाई के गर्न निम्तो दिनुहुन्छ?

१५ यहोवा उदार प्रबन्धकर्ता हुनुहुन्छ र आफ्ना जनहरूलाई प्रशस्त मात्रामा दिनुहुन्छ। उहाँका यी गुणहरू हितोपदेश अध्याय ९ मा स्त्रीको रूपमा चित्रण गरिएको “साँचो बुद्धि”-मा झल्किन्छ। यस विवरणमा बताइएकी प्रतीकात्मक स्त्रीले मासु पकाएर तयार पारेकी छिन्‌, मसलादार मद्य बनाएकी छिन्‌ र टेबुलमा खानेकुरा पस्केकी छिन्‌। (हितो. ९:२) यसबाहेक पद ४ र ५ अनुसार “[साँचो बुद्धिले] मूर्खहरूलाई यसो भन्छ: ‘आओ! मसँगै खाओ!’” हामीले किन साँचो बुद्धिको निम्तो स्विकारेर तिनले पस्केको खानेकुरा खानुपर्छ? यहोवा आफ्नो छोराछोरी बुद्धिमान्‌ र सुरक्षित भएको चाहनुहुन्छ। हामीले जीवनमा दुःख भोगेर पाठ सिकेको उहाँ चाहनुहुन्‍न। त्यसैले “सोझो मानिसको लागि उहाँ व्यावहारिक ज्ञानको स्रोत हुनुहुन्छ।” (हितो. २:७, फुटनोट) हामी यहोवाको डर मान्छौँ भने उहाँलाई खुसी पार्न, उहाँको बुद्धिमानी सल्लाह सुन्‍न अनि ती पालन गर्न उत्प्रेरित हुन्छौँ।—याकु. १:२५.

१६. परमेश्‍वरको डरले एलेनलाई बुद्धिमानी निर्णय गर्न कसरी मदत गऱ्‍यो र नतिजा कस्तो भयो?

१६ एलेन भाइलाई परमेश्‍वरको डरले कसरी बुद्धिमानी निर्णय गर्न मदत गऱ्‍यो, विचार गरौँ। तिनी एल्डर हुन्‌ र स्कुलमा शिक्षकको काम गर्छन्‌। तिनी भन्छन्‌: “मसँगै काम गर्ने थुप्रै शिक्षक अश्‍लील फिल्महरू पनि यौनशिक्षाकै भाग हो भन्थे।” तर एलेन तिनीहरूको लहलहैमा लागेनन्‌। तिनी भन्छन्‌: “परमेश्‍वरको डरले गर्दा मैले त्यस्ता फिल्महरू हेर्न ठाडै इन्कार गरेँ। मैले तिनीहरूलाई त्यस्ता फिल्महरू नहेर्नुको कारण पनि बताएँ।” हो, तिनले “समझशक्‍तिको बाटोमा अघि बढ” भन्‍ने “साँचो बुद्धि”-को सल्लाह पालन गरे। (हितो. ९:६) एलेनको दृढ अडान देखेर तिनका केही सहकर्मी अहिले बाइबल अध्ययन गर्दै छन्‌ र सभाहरूमा पनि आउँदै छन्‌।

प्राचीन इस्राएलकी एक स्त्रीले एउटा दम्पतीलाई स्वस्थवर्धक र मीठो-मीठो खानेकुरा खान आफ्नो घरमा निम्तो दिँदै छिन्‌।

“साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूले अनन्त जीवन पाउनेछन्‌ (अनुच्छेद १७-१८ हेर्नुहोस्‌)

१७-१८. “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूले अहिले कस्ता आशिष्‌हरू पाइरहेका छन्‌ र भविष्यमा कस्तो आशिष्‌ पाउनेछन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१७ यहोवाले हामीलाई दुई प्रतीकात्मक स्त्रीको उदाहरणमार्फत आफ्नो भविष्य कसरी सुखी बनाउन सक्छौँ भनेर सिकाउनुभएको छ। बकबक गर्ने “मूर्ख आइमाई”-को निम्तो स्विकार्नेहरू अवैध यौनसम्बन्ध राखेर आनन्दित हुन खोज्छन्‌। तर क्षणिक आनन्द पाउन खोज्दा यसले भविष्यमा कस्तो असर पार्छ भन्‍ने कुरालाई तिनीहरूले बेवास्ता गरिरहेका हुन्छन्‌। यस्तो कामले तिनीहरूलाई “चिहानको गहिराइमा” पुऱ्‍याउँछ।—हितो. ९:१३, १७, १८.

१८ “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूको भविष्य भने फरक हुनेछ। तिनका पाहुनाहरूले अहिले राम्ररी तयार पारिएको स्वस्थवर्धक आध्यात्मिक भोजन खाँदै छन्‌। (यसै. ६५:१३) यहोवा भविष्यवक्‍ता यसैयामार्फत यसो भन्‍नुहुन्छ: “मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ। अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।” (यसै. ५५:१, २) हामी यहोवाले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्न सिक्दै छौँ। (भज. ९७:१०) अनि अरूलाई पनि “साँचो बुद्धि”-बाट आनन्द उठाउन निम्तो दिँदै छौँ र यस्तो निम्तो दिन पाउँदा हामी खुसी छौँ। एक अर्थमा हामी पनि ती दासीहरूजस्तै हौँ, जसले “सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ: ‘जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।’” साँचो बुद्धिको निम्तो स्विकार्दा हामीले अहिले मात्र होइन, भविष्यमा पनि आशिष्‌ पाउनेछौँ। ‘समझशक्‍तिको बाटोमा अघि बढ्‌दा’ हामी “दीर्घायु” हुनेछौँ।—हितो. ९:३, ४, ६.

१९. उपदेशक १२:१३, १४ अनुसार हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ? (“परमेश्‍वरको डर मान्दा हुने लाभहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१९ उपदेशक १२:१३, १४ पढ्‌नुहोस्‌। परमेश्‍वरको डरले हामीलाई यस अन्तको दिनमा आफ्नो हृदय सुरक्षित राखिराख्न, नैतिक तवरमा स्वच्छ रहिरहन र यहोवासित नजिक भइरहन मदत गर्छ। साथै परमेश्‍वरको डरले गर्दा हामी धेरैभन्दा धेरै मानिसलाई “साँचो बुद्धि” भेट्टाउन र त्यसबाट लाभ उठाउनको लागि निम्तो दिन उत्प्रेरित हुन्छौँ।

परमेश्‍वरको डर मान्दा हुने लाभहरू

  • यसले यहोवासित घनिष्ठ बनाउँछ।—भज. २५:१४; हिब्रू ५:७.

  • यसले उहाँको आज्ञा पालन गर्नुलाई ‘ज्यादै रमाइलो’ मान्‍न मदत गर्छ।—भज. ११२:१.

  • यसले नम्र र बुद्धिमान्‌ बनाउनुका साथै खराब कुरालाई घृणा गर्न मदत गर्छ।—अय्यु. २८:२८; हितो. ८:१३.

  • यसले सही काम गर्न साहस दिन्छ।—प्रस्थ. १:१५-१७, २१.

  • यसले दयालु र भरोसायोग्य हुन उत्प्रेरित गर्छ।—नहे. ५:१५; ७:२.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • यहोवाको डरले हाम्रो हृदयलाई कसरी सुरक्षित राख्न सक्छ?

  • हामी कसरी “मूर्ख आइमाई” र त्यसको निम्तो स्विकार्दा आइपर्ने नतिजाहरूदेखि जोगिन सक्छौँ?

  • “साँचो बुद्धि”-को निम्तो स्विकार्दा कस्ता आशिष्‌हरू पाउन सक्छौँ?

गीत १२७ म कस्तो मानिस बनूँ?

a हामी ख्रिष्टियनहरू परमेश्‍वरप्रतिको डर विकास गर्न चाहन्छौँ। यस्तो डरले हाम्रो हृदयको रक्षा गर्छ अनि हामीलाई अवैध यौनसम्बन्ध र अश्‍लील कुरादेखि जोगाउँछ। यस लेखमा हितोपदेश अध्याय ९ छलफल गर्नेछौँ, जसमा बुद्धि र मूर्खताबीचको भिन्‍नता बुझाउन दुई प्रतीकात्मक स्त्रीबारे बताइएको छ। यस अध्यायमा पाइने सल्लाहबाट हामी अहिले अनि भविष्यमा लाभ उठाउन सक्छौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने