प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 डिसेम्बर pp. १४-१७
  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको स्तर
  • कहिले, कति र किन
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 डिसेम्बर pp. १४-१७
तीन जना भाइ रेस्टुरेन्टमा खाँदै छन्‌। एक भाइ पानी पिउँदै छन्‌ भने दुई जना बियर पिउँदै छन्‌। वेटरले बियरको अर्डर लिँदै छिन्‌। पानी पिउने भाइले विनम्रतासाथ बियर चाहिँदैन भन्छन्‌ तर अर्को भाइले अझै बियर अर्डर गर्छन्‌।

रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌

यहोवाले दिनुभएका थुप्रै उपहारको तपाईँ पक्कै मोल गर्नुहुन्छ। तीमध्ये एउटा छनौट गर्ने स्वतन्त्रता हो। यसले तपाईँलाई अन्य उपहारहरू कसरी प्रयोग गर्ने भनेर छनौट गर्न मदत गर्छ। बाइबलअनुसार मद्य पनि परमेश्‍वरले दिनुभएको उपहार हो। यसबारे बाइबल यसो भन्छ: “भोजनले मानिसलाई आनन्दित तुल्याउँछ र मद्यले जीवनमा खुसीयाली ल्याउँछ।” (उप. १०:१९; भज. १०४:१५) केही मानिस रक्सी पिउने बानीले गर्दा समस्यामा परेको तपाईँले देख्नुभएको छ होला। संसारभरि रक्सीबारे मानिसहरूको फरक-फरक धारणा पाइन्छ। त्यसोभए ख्रिष्टियनहरूले यस सन्दर्भमा कसरी बुद्धिमानी निर्णय गर्न सक्छन्‌?

हामी जुनसुकै ठाउँ वा संस्कृतिका होऔँ, हामीले रक्सीबारे परमेश्‍वरको जस्तै सोचाइ राख्नुपर्छ। यसो गर्दा हाम्रै भलाइ हुन्छ।

सायद तपाईँले थुप्रै मानिसले धेरै पटक र बेसरी रक्सी पिएको याद गर्नुभएको छ होला। कोही-कोही आनन्दको लागि रक्सी पिउँछन्‌। अरू कतिपय भने आफ्नो दुःख भुल्न पिउँछन्‌। अनि कुनै-कुनै ठाउँमा अत्यधिक मात्रामा पिउनुलाई पुरुषार्थ ठानिन्छ।

तर ख्रिष्टियनहरूले मायालु सृष्टिकर्ताबाट बुद्धिमानी डोऱ्‍याइ पाएका छन्‌। जस्तै: बेसरी पिउँदा हुने खराब नतिजाहरूबारे उहाँले हामीलाई सजग गराउनुभएको छ। हितोपदेश २३:२९-३५ मा रक्सीले मात्तिएको मानिसबारे र त्यसले गर्दा निम्तिन सक्ने केही समस्याबारे बताइएको छ।a युरोपका एक एल्डर ड्यानिएल ख्रिष्टियन बन्‍नुअघिको आफ्नो जीवनबारे सम्झँदै यसो भन्छन्‌: “म धेरै रक्सी पिउँथेँ। त्यतिबेला मैले थुप्रै गलत निर्णय गरेँ अनि धेरै दुःख पाएँ। ती दिनहरू सम्झँदा मलाई अहिले पनि पछुतो लाग्छ।”

छनौट गर्ने स्वतन्त्रता प्रयोग गर्दै ख्रिष्टियनहरू कसरी बेसरी रक्सी पिउँदा आइपर्न सक्ने समस्याहरूदेखि जोगिन सक्छन्‌? त्यसको लागि तिनीहरूले रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुपर्छ र त्यसैअनुसार निर्णय गर्नुपर्छ।

आउनुहोस्‌, अब हामी रक्सीबारे बाइबल के भन्छ र केही मानिस किन रक्सी पिउँछन्‌, विचार गरौँ।

बाइबलको स्तर

बाइबलमा ठिक्क मात्रामा रक्सी पिउनुलाई निषेध गरिएको छैन। बरु दाखमद्यले खुसी बनाउँछ भनेर बताइएको छ। बाइबलमा यस्तो लेखिएको पाउँछौँ: “रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य पिऊ।” (उप. ९:७) येसुले कुनै-कुनै अवसरमा दाखमद्य पिउनुभयो अनि अरू वफादार सेवकहरूले पनि दाखमद्य पिए।—मत्ति २६:२७-२९; लुका ७:३४; १ तिमो. ५:२३.

तर बाइबलमा ठिक्क मात्रामा रक्सी पिउनु र मात्तिनेगरि पिउनुबीच स्पष्ट भिन्‍नता छुट्ट्याइएको छ। बाइबलमा यसो भनिएको छ: “मद्य पिएर नमात्तिओ।” (एफि. ५:१८) अनि यसो पनि भनिएको छ: “पियक्कडहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (१ कोरि. ६:१०) हो, बेसरी र मात्तिनेगरि पिउनु परमेश्‍वरको निम्ति कदापि स्वीकार्य छैन। रक्सीप्रति हामीले परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुपर्छ, आफू वरपरका मानिसहरूको जस्तो होइन।

कोही-कोही ‘मैले जत्ति रक्सी खाए पनि मलाई लाग्दैन’ भन्छन्‌। तर यस्तो सोचाइ निकै खतरनाक हुन्छ। “धेरै मद्यपान गर्ने” पुरुषले (वा स्त्रीले) गम्भीर गल्ती गर्न सक्छन्‌ र तिनको यहोवासितको सम्बन्ध पनि बिग्रन सक्छ भनेर बाइबलमा बताइएको छ। (ति. २:३; हितो. २०:१) येसुले ‘धेरै पिउनेहरू’ नयाँ संसारमा पस्न पाउनेछैनन्‌ भनेर समेत चेतावनी दिनुभयो। (लुका २१:३४-३६) त्यसोभए रक्सी पिउँदा आइपर्न सक्ने समस्याहरूबाट ख्रिष्टियनहरू कसरी जोगिन सक्छन्‌?

कहिले, कति र किन

पिउने सन्दर्भमा आफ्नो संस्कृतिका मानिसहरूले जस्तै निर्णय गर्नु खतरनाक हुन्छ। ख्रिष्टियनहरू खाने र पिउने सन्दर्भमा बुद्धिमानी निर्णय गरेर यहोवालाई प्रसन्‍न तुल्याउँछन्‌। बाइबलमा हामीलाई यसो भनिएको छ: “चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरि. १०:३१) आउनुहोस्‌, अब हामी केही प्रश्‍न र बाइबल सिद्धान्तहरू विचार गरौँ।

के म साथीहरूले मलाई मन पराऊन्‌ भनेर रक्सी पिउँछु? प्रस्थान २३:२ मा यसो भनिएको छ: ‘मानिसहरूको लहलहैमा नलाग्नू।’ यहाँ यहोवाले इस्राएलीहरूलाई उहाँलाई प्रेम नगर्ने मानिसहरूको लहलहैमा नलाग्न चेतावनी दिइरहनुभएको थियो। यो सल्लाह आज ख्रिष्टियनहरूलाई पनि लागू हुन्छ। रक्सी पिउने सन्दर्भमा आफ्ना साथीहरूको जस्तै सोचाइ राख्यौँ र तिनीहरूले जस्तै निर्णय गऱ्‍यौँ भने हामी बिस्तारै यहोवाका स्तरहरू उल्लङ्‌घन गर्ने हदसम्म पुग्न सक्छौँ र उहाँसितको सम्बन्ध बिग्रन सक्छ।—रोमी १२:२.

के म अरूको अगाडि बलियो देखिन रक्सी पिउँछु? केही संस्कृतिमा धेरै पटक र बेसरी पिउनु सामान्य र स्वीकार्य ठानिन्छ। (१ पत्रु. ४:३) तर १ कोरिन्थी १६:१३ मा भनिएको कुरा याद गर्नुहोस्‌: “जागा रहो, विश्‍वासमा स्थिर भएर बस, साहसी होओ, पराक्रमी हुँदै जाओ।” के रक्सीले मानिसलाई पराक्रमी हुँदै जान मदत गर्छ? अहँ, गर्दैन! रक्सीले मानिसको राम्ररी सोच्ने र सही निर्णय गर्ने क्षमतालाई कमजोर बनाउँछ। त्यसैले धेरै रक्सी पिउनु शक्‍तिको होइन, कमजोरीको चिन्ह हो। यसैया २८:७ मा बताइएझैँ रक्सी खाएर बहकिने मानिस लर्खराउँछन्‌ र सही न्याय गर्न सक्दैनन्‌।

साँचो बलमा जागा रहनु र विश्‍वासमा स्थिर भएर बस्नु समावेश छ अनि यस्तो बल यहोवाबाट आउँछ। (भज. १८:३२) आध्यात्मिकतालाई खतरामा पार्न सक्ने कुराहरूदेखि सतर्क रहेर अनि ती खतराहरूदेखि जोगिन ठोस कदम चालेर हामी त्यस्तो बल देखाउन सक्छौँ। पृथ्वीमा हुनुहुँदा येसुले त्यस्तो बल देखाउनुभयो। उहाँ जे सही छ, त्यही गर्न कटिबद्ध र साहसी हुनुभएकोले मानिसहरू उहाँको आदर गर्थे।

के म समस्याहरूदेखि भाग्न रक्सी पिउँछु? एक जना भजनरचयिताले यस्तो लेखे: ‘जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँ [यहोवाले] मलाई सान्त्वना र दिलासा दिनुभयो।’ (भज. ९४:१९) समस्याहरूको पहाडले तपाईँलाई थिचेको छ भने मदतको लागि रक्सीमा होइन, यहोवामा भर पर्नुहोस्‌। यसो गर्ने एउटा प्रभावकारी तरिका भनेको बारम्बार उहाँलाई प्रार्थना गर्नु हो। साथै थुप्रै भाइबहिनीले मण्डलीको परिपक्व साथीसित व्यावहारिक सल्लाह माग्नु पनि मदतकारी पाएका छन्‌। वास्तवमा समस्याहरूको सामना गर्न रक्सी पिउँदा त्यसले सही काम गर्ने सङ्‌कल्पलाई कमजोर बनाउँछ। (होसे ४:११) अगाडि उल्लेख गरिएका ड्यानिएलले यसो भने: “मलाई चिन्ता र दोषी भावनाले सताउँथ्यो। त्यसदेखि भाग्न रक्सी पिउँथेँ। तर समस्याहरू कम हुनुको सट्टा झनै बढ्यो। म आफ्नै नजरमा गिरेँ र मेरा साथीहरू पनि मदेखि टाढिए।” ड्यानिएललाई केले मदत गऱ्‍यो? तिनले यसो भने: “मैले रक्सीलाई होइन, यहोवालाई आफ्नो सहारा बनाउनुपर्छ भनेर बुझेँ। यसले गर्दा मैले समस्याहरूको सामना गर्न र ती पार लगाउन सकेँ।” वास्तवमा हाम्रो अवस्था जत्ति नै आशाविहीन देखिए पनि यहोवा हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ।—फिलि. ४:६, ७; १ पत्रु. ५:७.

एक बहिनी रक्सीको बोतल हेर्दै सोचिरहेकी छिन्‌।

तपाईँ कहिलेकाहीँ रक्सी पिउनुहुन्छ भने यी तीन प्रश्‍न विचार गर्नुहोस्‌: ‘के मेरो परिवार वा मिल्ने साथीले मेरो पिउने बानीबारे चिन्ता व्यक्‍त गरेका छन्‌?’ यदि तपाईँको जवाफ ‘छन्‌’ आउँछ भने त्यो रक्सी पिउने बानी बस्न थालेको सङ्‌केत हुन सक्छ, जुन कुरा तपाईँलाई याद नहुन सक्छ। ‘के मैले पहिलाभन्दा धेरै पिउन थालेको छु?’ यदि तपाईँ ‘छु’ भन्‍नुहुन्छ भने तपाईँलाई रक्सी पिउने लत लाग्न थालेको हुन सक्छ। ‘के मलाई केही दिन वा त्योभन्दा लामो समय रक्सी नखाई बस्न गाह्रो हुन्छ?’ यदि तपाईँ ‘हुन्छ’ भन्‍नुहुन्छ भने तपाईँलाई रक्सी पिउने लत लागिसकेको हुन सक्छ। यस्तो कुलत छोड्‌न तपाईँले विशेषज्ञको मदत लिनुपर्ने हुन सक्छ।

केही ख्रिष्टियनले रक्सी पिउनुका खतराहरूबारे सोचेर कुनै पनि प्रकारको रक्सी पिउँदै नपिउने निर्णय गरेका छन्‌। अरू कतिपय भने रक्सीको स्वाद नै मन नपरेकोले पिउँदैनन्‌। यदि तपाईँको कुनै साथीले रक्सी नपिउने निर्णय गरेका छन्‌ भने तिनको खिल्ली नउडाउनुहोस्‌ बरु तिनको निर्णयको कदर गर्नुहोस्‌।

कति रक्सी पिउने अनि कति पटक पिउने भनेर सीमा तोक्नु बुद्धिमानी हुन सक्छ। जस्तै: हप्ताको एक चोटि वा खाना खाने बेला ठिक्क मात्रामा पिउने। कतिपयले भने कस्तो प्रकारको रक्सी पिउने भनेर निर्णय गरेका छन्‌। जस्तै: वाइन वा बियर ठिक्क मात्रामा पिउने तर कडा खालको रक्सी पिउँदै नपिउने, यहाँसम्म कि कक्टेलसमेत नपिउने। यसरी कसैले स्पष्ट सीमा तोकेका छन्‌ भने तिनलाई त्यसैअनुसार गर्न सजिलो हुनेछ। अनि परिपक्व ख्रिष्टियनले यस्तो निर्णय गरेका छन्‌ र त्यहीअनुसार चल्ने सङ्‌कल्प गरेका छन्‌ भने तिनले अप्ठ्यारो मान्‍नुपर्दैन।

रक्सी पिउने कि नपिउने भनेर निर्णय गर्दा अरूप्रति विचारशील पनि हुनुपर्छ। रोमी १४:२१ यसो भन्छ: “तिमीले मासु खाँदा, मद्य पिउँदा वा अरू केही गर्दा तिम्रो भाइलाई ठक्कर पुग्छ भने त्यसो नगर्नु नै बेस हो।” यो सल्लाह तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ? अरूलाई प्रेम देखाएर। यदि कुनै जमघटमा तपाईँले रक्सी पिउँदा कसैलाई ठेस लाग्छ भने तिनीप्रतिको प्रेमले तपाईँलाई रक्सी नपिउन उत्प्रेरित गर्नेछ। यसरी अरूको भावनाको ख्याल राखेको देखाउँदा तपाईँले आफ्नो होइन, अरूको फाइदा खोजिरहनुभएको हुनेछ।—१ कोरि. १०:२४.

साथै सरकारले रक्सी पिउने सन्दर्भमा कुनै नियम बनाएको हुन सक्छ। जस्तै: निश्‍चित उमेर नपुगेका व्यक्‍तिले रक्सी पिउन नपाउने; रक्सी खाएर सवारीसाधन वा कुनै मेसिन चलाउन नपाउने।—रोमी १३:१-५.

यहोवाले दिनुभएको छनौट गर्ने स्वतन्त्रता प्रयोग गरेर हामी थुप्रै उपहारको आनन्द उठाउन सक्छौँ। हामी यो स्वतन्त्रता प्रयोग गरेर के खाने र के पिउने भनेर पनि निर्णय गर्न सक्छौँ। यहोवालाई खुसी पार्ने निर्णयहरू गरेर यस स्वतन्त्रताको मोल गरेको देखाऔँ!

a अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रअनुसार एक चोटि मात्र बेसरी रक्सी पिउँदा पनि विभिन्‍न खतरा निम्तिन सक्छ। जस्तै: हत्या, आत्महत्या, यौन दुर्व्यवहार, रोमान्टिक सम्बन्ध गाँसेका जोडीहरूबीचको हिंसा, जोखिमपूर्ण यौन व्यवहार र गर्भ तुहिनु।

अरूको निर्णय

सबै ख्रिष्टियनले एउटै निर्णय गर्छन्‌ भन्‍ने छैन। कसै-कसैले उपयुक्‍त छ भने ठिक्क मात्रामा रक्सी पिउने निर्णय गर्छन्‌। अरूले भने रक्सी नपिउने निर्णय गर्छन्‌। यस लेखमा पनि बताइएझैँ रक्सी पिउने सन्दर्भमा कसै-कसैले सीमा तोक्छन्‌। रक्सी पिउने सन्दर्भमा आफूले गरेको निर्णयबारे अरूलाई स्पष्टीकरण दिइरहनु आवश्‍यक छैन। अर्कोतर्फ, अरूले पनि तपाईँले जस्तै निर्णय गरून्‌ भनेर कर गर्नु हुँदैन। अनि कसैले हामीले भन्दा फरक निर्णय गर्छन्‌ र त्यो बाइबल सिद्धान्तविपरीत छैन भने हामीले तिनको निर्णयको कदर गर्नुपर्छ। (रोमी १४:१-६) सबै ख्रिष्टियनले आपसमा शान्ति र एकता कायम गर्ने कोसिस गर्नुपर्छ भनेर सधैँ मनमा राखौँ।—रोमी १४:१९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने