Imagination World/stock.adobe.com
ईश्वरको सन्देश—शरणार्थीहरूको लागि आशा!
हरेक वर्ष लाखौँ मानिसहरू आफू बसिरहेको ठाउँ छोडेर भाग्न बाध्य हुन्छन्। के तपाईँ पनि यस्तै पीडादायी अवस्था भोग्दै हुनुहुन्छ? त्यसो हो भने तपाईँ एक्लैले यो परिस्थितिको सामना गर्नुपर्दैन। ईश्वरले तपाईँलाई मदत गर्नुहुनेछ। उहाँले तपाईँलाई सुन्दर भविष्यको आशा दिनुभएको छ र यस आशाबारे तपाईँ पवित्र शास्त्रबाट सिक्न सक्नुहुनेछ।
“शरणार्थी र विस्थापित मानिसहरूलाई आकस्मिक मदतले मात्र पुग्दैन। तिनीहरूलाई ... भविष्यको आशा पनि चाहिन्छ” भनेर युरोपेली सङ्घका एक उच्च पदाधिकारीa क्रिस्टोस स्टिलियनिडेस बताउँछन्।b आशाले भविष्यप्रति सकारात्मक हुँदै जीवन बिताउन मदत गर्छ। साथै शरणार्थीहरूलाई सान्त्वना पनि चाहिन्छ, जसले तिनीहरूलाई भावनात्मक पीडा कम गर्न मदत गर्छ।
“आफ्नो परिवारलाई छोडेर देशबाट भाग्नुपर्दा मैले एकदमै खोक्रो महसुस गरेँ। मलाई डर, निराशा र चिन्ताले निकै सतायो।”—इम्मानुएल, हाइटी.
के तपाईँले पनि इम्मानुएलले जस्तै महसुस गर्नुभएको छ? तपाईँ आफ्नो ठाउँ छोडेर भाग्नुपरेको छ भने तपाईँलाई पक्कै सान्त्वना र आशाको खाँचो छ। तपाईँलाई ईश्वरको वचन अर्थात् बाइबलले कसरी मदत गर्छ?
ईश्वरको वचनले दिने सान्त्वना
बाइबल भन्छ: “यहोवाc ... विदेशीहरूलाई ... माया गर्नुहुन्छ।”—व्यवस्था १०:१७, १८.
यसको अर्थ तपाईँ एक्लो हुनुहुन्न। बाइबलका लेखक यहोवा परमेश्वर तपाईँको अवस्था बुझ्नुहुन्छ, तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ।
बाइबल भन्छ: “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्।”—भजन १४५:१८.
यसको अर्थ तपाईँले प्रार्थना गर्दा उहाँले सुन्नुहुन्छ। उहाँ तपाईँलाई मनोशान्ति दिनुहुन्छ। साथै बाइबलबाट अहिलेको अवस्थाको सामना गर्न चाहिने बुद्धि पनि दिनुहुन्छ।
बाइबल भन्छ: “सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।… सर्वशक्तिमान् परमेश्वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्न।”—अय्युब ३४:१०, १२.
यसको अर्थ तपाईँले भोग्नुभएको दुःखकष्टको कारण ईश्वर हुनुहुन्न। तपाईँको जीवन कष्टकर हुनुको कारण परमेश्वरले सजाए दिनुभएकोले वा तपाईँको परीक्षा लिनुभएकोले होइन।
ईश्वरको वचनले दिने आशा
ईश्वरले भविष्यमा हाम्रो लागि के गर्नुहुनेछ भनेर बाइबल बताउँछ। आफ्नो ठाउँ छोडेर भाग्न बाध्य भएकाहरूलाई भविष्यको यस आशाले कसरी मदत गरिरहेको छ, विचार गरौँ।
बाइबल भन्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.
यसको अर्थ हामीले दुःखकष्टबाट छुटकारा पाउनेछौँ। अहिले हामीलाई निराश बनाउने सबै समस्याहरू हटाउने प्रतिज्ञा ईश्वरले गर्नुभएको छ।
“हामीले भोगिरहेको अन्याय र दुष्टता ईश्वरले चाँडै हटाउनुहुनेछ। मलाई यस आशाले सबै दुःखकष्टको अन्त हुने त्यस समयमा ध्यान केन्द्रित मदत गरेको छ।”—कार्ला, एल साल्भाडोर.
बाइबल भन्छ: “पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्; ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।”—यसैया ६५:१७.
यसको अर्थ हामीले विगतमा भोगेका पीडाहरू सम्झेर निराश हुनुपर्ने छैन। तपाईँले विगतमा भोग्नुपरेका कुराहरूले गर्दा भएका भावनात्मक पीडा र त्यसको असरले तपाईँलाई कहिल्यै निराश बनाउनेछैन किनभने ईश्वरले त्यसलाई सदाको लागि हटाउनुहुनेछ।
“हामीले भोग्नुपरेको दुःख र गुमाउनुपरेका कुराहरूले गर्दा भएको पीडा हाम्रो सम्झनामा समेत आउनेछैन भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। यस्तो आशाले अहिले भोगिरहेका चुनौतीहरूको सामना गर्न मलाई मदत गरेको छ किनभने छिटै राम्रो समय आउनेछ भनेर मलाई थाह छ।”—नतालिया, युक्रेन.
बाइबल भन्छ: “ती राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, … त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।”—दानिएल २:४४.
यसको अर्थ स्वर्गमा भएको सर्वोत्कृष्ट सरकारले पृथ्वीमाथि शासन गर्नेछ। ईश्वरले चाँडै सबै मानव सरकारहरूलाई हटाउनुहुनेछ र स्वर्गमा भएको उहाँको सरकारले पूरै पृथ्वीमाथि शासन गर्नेछ। यस सरकारले सारा पृथ्वीमा साँचो शान्ति र सुरक्षा ल्याउनेछ, सबैले न्याय पाउनेछन् र गरिबी हुनेछैन।—मिका ४:३, ४.
“यहोवाको राज्यले अब छिट्टै अन्याय, अत्याचार, पूर्वाग्रह र जातीय भेदभावको अन्त गरिदिनेछ। यो कुरा थाह पाएकोले मैले निकै बल पाएको छु।”—मुस्तफा, मध्यपूर्व.
बाइबलले दिने आशाको सन्देशबाट सान्त्वना पाउनुहोस्।
ईश्वरको वचनले दिने बुद्धिमानी सल्लाह
बाइबलका व्यवहारिक सल्लाहहरू लागू गर्दा तपाईँले अहिले भोगिरहनुभएको चुनौतीहरूको सामना गर्न मदत पाउन सक्नुहुन्छ। तपाईँले भौतिक चिजबिजलगायत सबै कुरा छोड्नुपरेको र नयाँ परिस्थितिको सामना गर्नुपरेकोले चिन्तित हुनुहुन्छ भने यस्तो चिन्ताको सामना गर्न बाइबलमा पाइने सल्लाहहरूले तपाईँलाई मदत गर्नेछ। यी बाइबल सिद्धान्तहरूले शरणार्थीको रूपमा जीवन बिताइरहेकाहरूलाई कसरी मदत गरेको छ, याद गर्नुहोस्।
बाइबल भन्छ: “मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”—लुका १२:१५.
यस बुद्धिमानी सल्लाहले कसरी मदत गर्छ? तपाईँले अचानक सबै कुरा गमाउनुपरेकोले आत्तिनुभएको वा खिन्न महसुस गर्नुभएको हुन सक्छ। हुनत तपाईँले थुप्रै कुरा गुमाउनुपऱ्यो होला तर तपाईँको जीवन तीभन्दा कता हो कता बहुमूल्य छ। यो कुरा विचार गर्नुभयो भने तपाईँ निराश हुनबाट जोगिनुहुनेछ।
“भौतिक कुराभन्दा जीवन धेरै महत्त्वपूर्ण छ। कुनै-कुनै अवस्थामा धनसम्पत्ति वा पैसाले हामीलाई चाहिएको मदत दिन सक्दैन।”—नतालिया, युक्रेन.
बाइबल भन्छ: “उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध।”—उपदेशक ७:१०.
यस बुद्धिमानी सल्लाहले कसरी मदत गर्छ? तपाईँको हालैको अवस्था निकै चुनौतीपूर्ण होला। तर यसलाई पहिलाको अवस्थासित तुलना गरिरहनुभयो भने तपाईँ झन् निराश हुनुहुनेछ।
“आफ्नो हालैको परिस्थिति स्विकार्दा म सकारात्मक हुन सकेको छु।”—एली, रुवान्डा.
बाइबल भन्छ: “खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”—१ तिमोथि ६:८.
यस बुद्धिमानी सल्लाहले कसरी मदत गर्छ? आफ्ना आधारभूत आवश्यकताहरू पूरा भएपछि त्यसमै सन्तुष्ट हुने प्रयास गर्नुहोस्। यसरी सन्तुष्ट हुने बानी बसाल्दा तपाईँको तनाव कम हुनेछ र आफ्नो भावनालाई सन्तुलनमा राख्न सक्नुहुन्छ।
“बाइबलले मलाई आफूले गुमाएको कुरामा ध्यान दिनुको सट्टा परिस्थितिलाई फरक दृष्टिकोणले हेर्न मदत गरेको छ। म र मेरी श्रीमतीको ज्यान जोगियो र अहिले हामी सुरक्षित ठाउँमा बस्न पाएका छौँ। यो कुरामा हामी धेरै खुसी छौँ।”—इभान, युक्रेन.
बाइबल भन्छ: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.
यस बुद्धिमानी सल्लाहले कसरी मदत गर्छ? तपाईँ दयालु र धीरजी हुने प्रयास गरिरहनुभयो भने अरूसित सजिलै घुलमिल हुन सक्नुहुनेछ। नतिजास्वरूप स्थानीय मानिसहरूले तपाईँप्रति पूर्वाग्रह राख्नुको सट्टा त्यही समाजका मानिसहरूलाई जस्तै व्यवहार गर्नेछन्।
“प्रेम, आदर र दयालु व्यवहार सबैलाई मन पर्छ। यसो गर्दा त्यहाँका स्थानीय व्यक्तिहरूसित राम्रो सम्बन्ध विकास गर्न सकिन्छ।”—एन्जेलो, श्रीलंका.
बाइबल भन्छ: “आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर। तब परमेश्वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ... तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.
यस बुद्धिमानी सल्लाहले कसरी मदत गर्छ? आफ्नो भावना, डर, चिन्ता र आवश्यकताबारे ईश्वरलाई प्रार्थना गर्नुहोस्। यसो गर्दा तपाईँ चिन्तामा डुब्नबाट जोगिनुहुनेछ र तपाईँको मन हलुका हुनेछ।
“समस्याहरू आउनेबित्तिकै म ईश्वरलाई प्रार्थना गर्छु र उहाँले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ। बाइबलबाट सिकेका कुराले मलाई साँचो मनोशान्ति दिएको छ।”—योल, दक्षिण सुडान.
“बाइबलको सल्लाह लागू गर्दा मैले मनोशान्ति पाएकी छु र यसले मलाई अहिलेको कठिन परिस्थितिको सामना गर्न मदत गरेको छ।”—भ्यालेन्टिना, युक्रेन.
“हामीलाई उत्तम जीवन दिने यहोवाको प्रतिज्ञाबारे थाह पाउँदा मैले निकै बल पाएको छु।”—इम्मानुएल, हाइटी
के तपाईँ सान्त्वना र आशा दिने बाइबलको प्रतिज्ञाबारे थप कुरा बुझ्न चाहनुहुन्छ? तपाईँ किन यस प्रतिज्ञामा भरोसा गर्न सक्नुहुन्छ? यी प्रश्नहरूको जवाफ पाउन यहोवाका साक्षीहरूलाई तपाईँकहाँ भेट्न आउन अनुरोध गर्नुहोस्। यसको लागि कुनै शुल्क लाग्दैन। तिनीहरू तपाईँलाई मदत गर्न पाउँदा खुसी हुनेछन्।
a संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीअनुसार शरणार्थीहरू र आश्रय खोजिरहेकाहरूमा आफ्नै देशभित्र विस्थापित भएका वा अर्को देशमा भाग्न बाध्य भएका, जसलाई कानुनी रूपमा शरणार्थी मानिँदैन, तिनीहरू पनि समावेश छन्।
b युरोपियन युनियन कमिस्नर फर ह्युम्यानिटेरिएन एड एण्ड क्राइसिस मेनेजमेन्ट।
c ईश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।