येसुबाट सिक्नुहोस्
संसारभरि शान्ति छाउनेछ
सबैजना शान्ति छाएको संसारमा बाँच्न चाहन्छन्। इतिहास हेर्ने हो भने, हजारौँ वर्षदेखि थुप्रै शासकहरूले युद्ध हटाएर शान्ति ल्याउन निकै प्रयास गरेका छन्। तिनीहरूको यस्तो प्रयासले केही समयको लागि शान्ति छाए तापनि फेरि अशान्ति मच्चिने गरेको छ। त्यसोभए के संसारभरि शान्ति छाउन सम्भव छ? छ! यसको लागि येसुले के गर्नुहुनेछ र उहाँले के सिकाउनुभएको थियो, विचार गरौँ।
येसुले के गर्नुहुनेछ?
येसुले संसारभरि शान्ति ल्याउन अब छिट्टै के गर्नुहुनेछ भनी बाइबलमा बताइएको छ।
“तिनलाई . . . शान्तिका राजकुमार भन्ने नाम दिइनेछ। तिनको शासन सबैतिर फैलँदै जानेछ र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।” (यसैया ९:६, ७) परमेश्वरको राज्यको राजाको रुपमा येसुले संसारभरि शान्ति स्थापना गर्नुहुनेछ र त्यो सधैँभरि रहनेछ।
“मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्, . . . असहायहरूको पनि तिनले उद्धार गर्नेछन्।” (भजन ७२:१२-१४) येसुले कसैको पक्षपात नगरी न्याय गर्नुहुनेछ अनि युद्ध, हिंसा र दुःखकष्टको अन्त गर्नुहुनेछ।
“एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।” (यसैया २:४) येसुको शासनमा सबै मानिसहरूले युद्ध गर्न छोडेर शान्ति कायम गर्न सिक्नेछन्।
येसुले कसरी यस्तो शान्तिमय संसार ल्याउनुहुनेछ र यसले तपाईँको लागि कस्तो अर्थ लाग्छ भनेर बुझ्न परमेश्वरको राज्य के हो? भन्ने छोटो भिडियो हेर्नुहोस्।
येसुले के सिकाउनुभयो?
आज पनि येसुको शिक्षाले लाखौँ मानिसहरूलाई शान्तिमय जीवन बिताउन मदत गरेको छ। येसुले एउटा प्रख्यात उपदेशमा (डाँडाको उपदेश) दैनिक जीवनमा शान्ति कायम गर्नेबारे थुप्रै कुराहरू सिकाउनुभएको थियो। केही उदाहरण विचार गरौँ।
“आनन्दित हुन् ती मानिसहरू, जसले शान्ति कायम गर्छन्।” (मत्ति ५:९) येसुले आफ्ना चेलाहरूलाई झै-झगडा नगर्न मात्र होइन, शान्ति कायम गर्न पनि प्रोत्साहन दिनुभयो।
“पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।” (मत्ति ५:२३, २४) येसुले आफ्नो कुरा सुनिरहेकाहरूलाई मतभेत तुरुन्तै सुल्झाउन सल्लाह दिनुभयो। उहाँले परमेश्वरसित राम्रो सम्बन्ध बनाउनको लागि अरूसित शान्ति कायम गर्नु अत्यावश्यक छ भनी सिकाउनुभयो।
“अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्।” (मत्ति ७:१) येसुले अरूसित कठोर नहुन र अरूको आलोचना नगर्न सल्लाह दिनुभयो किनकि त्यस्ता कुराहरूले मतभेद निम्ताउँछ। बरु उहाँले आफ्ना चेलाहरूलाई अरूको गल्ती कोट्ट्याउनुको साटो “क्षमा दिइरहो” भनेर सिकाउनुभयो।—लुका ६:३७.
संसारभरिका थुप्रै मानिसहरू येसुले सिकाउनुभएको शिक्षाअनुसारै चलिरहेका छन्। हिंसा र विभाजन मच्चिरहेको ठाउँमा भएकाहरूले समेत कुनै रिसराग नराखी मतभेद सुल्झाउन, क्षमा दिन र आफूसित नराम्रो व्यवहार गर्नेहरूलाई समेत प्रेम देखाउन सिकिरहेका छन्।
येसुको शिक्षाले केहीलाई शान्ति पाउन कसरी मदत गरेको छ भनेर थाह पाउन “युद्ध र हिंसाको बाबजुद शान्ति पाउन सम्भव छ!” भन्ने लेख हेर्नुहोस्।