सृष्टि या संयोग?
शरीरका विभिन्न प्रणालीलाई नियन्त्रण गर्ने हर्मोनको क्षमता
शरीरले राम्ररी काम गर्नको लागि रगतमा क्याल्सियमजस्ता इलेक्ट्रोलाइटहरू ठीक मात्रामा हुनुपर्छ। तर दैनिक खानपानअनुसार तपाईँको शरीरमा इलेक्ट्रोलाइटहरूको मात्रा घटबढ हुन सक्छ। तपाईँको शरीरले इलेक्ट्रोलाइटलाई ठीक मात्रामा राख्न के गर्छ?
स्वस्थ शरीरले इलेक्ट्रोलाइटहरूलाई ठीक मात्रामा राख्न हर्मोनहरू उत्पादन गर्ने, जम्मा गर्ने अनि रगतमा पठाउने काम गर्छ। हर्मोन भनेको रासायनिक पदार्थ हो, जसले शरीरका विभिन्न प्रणालीलाई राम्ररी सञ्चालन गर्न मदत गर्छ। थोरै हर्मोनले पनि तपाईँको शरीरमा ठूलो प्रभाव पार्न सक्छ। इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार रगतमा हर्मोन पठाउनु भनेको “अन्धाधुन्ध हुने कुरा होइन बरु यो जटिल र ठोस प्रकिया हो।”
उदाहरणको लागि, घाँटीमा हुने प्याराथाइरोइड ग्रन्थीले रगतमा क्याल्सियम थोरै मात्र घटे पनि पत्ता लगाइहाल्छ। सामान्यतया यी ग्रन्थीहरू चार वटा हुन्छन् अनि प्रत्येक ग्रन्थी चामलको गेडाजत्रो मात्र हुन्छ।
यी ग्रन्थीहरूले क्याल्सियमको मात्रामा कमी भएको थाह पाउनेबित्तिकै हर्मोन उत्पादन गर्छन्। कहिलेकाहीँ त केही सेकन्डभित्रै हर्मोन उत्पादन गर्छन्। त्यस हर्मोनले हड्डीमा जम्मा भएको क्याल्सियम रगतमा पठाउन सङ्केत दिन्छ। अनि त्यसले रगतबाट क्याल्सियम छान्नदेखि रोक्न मिर्गौलाहरूलाई निर्देशन पनि दिन्छ। साथै त्यसले खानेकुराबाट पाइने क्याल्सियम अझ बढी मात्रामा सोस्न सानो आन्द्रालाई सङ्केत दिन्छ।
तर यदि रगतमा क्याल्सियमको मात्रा बढी भयो भने थाइरोइड भन्ने अर्को ग्रन्थीले भिन्नै प्रकारको हर्मोन रगतमा पठाउँछ। त्यो हर्मोनले हड्डीलाई अझ धेरै मात्रामा क्याल्सियम जम्मा गर्न सङ्केत दिन्छ र मिर्गौलाहरूलाई चाहिनेभन्दा बढी क्याल्सियम फाल्न लगाउँछ।
यी हर्मोनहरू मानव शरीरमा हुने सयभन्दा बढी हर्मोनहरूमध्ये दुई वटा मात्र हुन्, जसले शरीरभित्रका विभिन्न प्रणालीलाई राम्ररी सञ्चालन गर्न मदत गर्छ।
तपाईँलाई कस्तो लाग्छ? शरीरका विभिन्न प्रणालीलाई सञ्चालन गर्ने हर्मोनको क्षमता क्रमविकासको उपज हो या सृष्टि?