ग्रह-नक्षत्रहरूमा तपाईंको लागि के लेखिएको छ?
ब्राजिलका ब्यूँझनुहोस्! (अवेक!) सम्वाददाताबाट
“ग्रह नक्षत्रअनुसार आउँदो जुलाई महिनामा पृथ्वी मङ्गल ग्रहसित ठोक्किनेछ भन्ने कुरा के तपाईंले सुन्नुभयो?” मानिसको भविष्य ग्रह-नक्षत्रहरूसित सम्बन्धित छ भन्ने विश्वासलाई कोल पोर्टरको उक्त लयबद्ध गीतले राम्ररी प्रष्ट्याएको छ।a तर आकाशीय पिण्डहरू र यस पृथ्वीमा मानव जीवनबीच के वास्तवमा कुनै सम्बन्ध छ? यदि छ भने, त्यसले मानवजातिलाई कसरी असर गरेको छ? छैन भने, ग्रह-नक्षत्रहरूले कुन उद्देश्य पूर्ति गर्छ?
हालसालै घटेका नाटकीय घटनाहरूलाई ध्यान दिंदा धेरै मानिसहरू भविष्यप्रति इच्छुक हुनु कुनै छक्कलाग्दो कुरा होइन—बर्लिन पर्खालको पतन हुनु र पहिलेको सोभियत संघ द्रूत गतिमा टुक्रिनु, राजनैतिक नेताहरूमा आत्म-विश्वासको कमी, अफ्रिका अनि यूरोपमा विद्यमान जातीय घृणा, भारत अनि आयरलैण्डमा धार्मिक शत्रुता, धेरै राष्ट्रहरूलाई असर गर्ने तीव्र गतिमा भइरहेको मुद्रास्फिति अनि जवानहरूको विद्रोह। युनिभर्सिटी अफ ह्याम्वर्गको रिपोर्टअनुसार दोस्रो विश्व-युद्ध अन्त भएदेखि यता सन् १९९२ सबैभन्दा युद्धरत वर्ष साबित भयो। उक्त वर्ष बेग्लाबेग्लै देशहरूमा ५२ वटा शस्त्रीय विवादहरू भए। अतः शान्तिप्रिय मानिसहरूले यो प्रश्न गर्नु स्वाभाविक छ: ‘स्थायित्व, शान्ति र सुरक्षाको लागि हामी कहाँ हेर्न सक्छौं?’
भविष्यको अनिश्चितताले गर्दा भावी बताउने बेग्लाबेग्लै तरिकाहरू अचानक लोकप्रिय भएका छन्। ज्योतिष शास्त्र शायद सबैभन्दा बढी परिचित छ। खगोल विज्ञानभन्दा ज्योतिषशास्त्र बेग्लै छ, कारण ज्योतिषशास्त्र भनेको “ग्रह तथा नक्षत्रको गति, स्थितिअनुसार मानव कामकुराहरूमा पार्ने कथित प्रभावसम्बन्धी विद्या” हो। आज, भविष्यबारे सुइँको पाउन लाखौं मानिसहरू आफ्नो राशिफल नपढी बस्नै सक्दैनन्।b
भावी बताउन सक्छु भनी ज्योतिषीहरूले दाबी गर्ने अन्य क्षेत्रहरूमा वैवाहिक समस्याका परिणामहरू, स्वास्थ्य समस्याहरू, राजनैतिक नेताहरूको उत्थान तथा पतन, नयाँ व्यापार सुरु गर्न सर्वोत्तम दिन र चिट्ठा जित्ने सङ्ख्या छान्ने जस्ता कुराहरू समावेश छन्।
आफ्नो पति, संयुक्त राज्यका तत्कालीन राष्ट्रपतिले भाषणहरू कहिले दिनुपर्ने र उनको हवाईजहाज कहिले उड्नु पर्ने र कहिले अवतरण गर्नु पर्नेजस्ता विषयहरूमा न्यान्सी रेगनले ज्योतिषी, जोन क्विग्लीलाई सधैं सोध्ने गर्थिन् भनेर रोइटर्सले रिपोर्ट गऱ्यो। “पोप जुलियस दोस्रोले [१५०३-१३] आफ्नो राज्याभिषेकको दिन तय गर्न र पल तेस्रोले [१५३४-४९] पोपको अध्यक्षतामा हुने पादरीहरूको सभाको उपयुक्त समय तोक्न ज्योतिषीलाई सोध्थे” भनी न्यु क्याथोलिक इन्साइक्लोपीडिया ले प्रकाश पाऱ्यो। सट्टाबजारमा लगानीकर्त्ताहरूलाई सुझाव दिन ज्योतिष शास्त्र प्रयोग गर्ने स्वीस व्यापारिक उद्योगका निर्देशक, आल्फ्रेड हक अत्युत्तम परिणामहरूको ग्यारेन्टी दिन्छन्। यसमा जोड दिंदै तिनी अझ यसो भन्छन्: “त्यो त ग्रह-नक्षत्रहरूमा पहिले नै लेखिसकेको हुन्छ।”
स्पष्ट छ, मानिसहरूको जीवनलाई ग्रह-नक्षत्रहरूले असर गर्छ जस्तो धेरैलाई लाग्छ। ज्योतिष शास्त्रको सुरुआत कसरी भयो? पुरातन पुस्तक, बाइबलले ज्योतिष शास्त्र र ज्योतिषीहरूबारे के भन्छ? (g94 7/8)
[फुटनोटहरू]
a “आकाशमा हुने चिह्नहरूका साथै प्राकृतिक प्रकोपहरूले सम्राट र उनका सरकारका कामकर्तुतहरूलाई देखाउँछ भन्ने विश्वास . . . पुरातन चीनमा थियो।”—दी इन्टरनेशनल इन्साइक्लोपीडिया अफ एस्ट्रोनोमी.
b राशि भनेको ज्योतिषशास्त्रअनुसार “(मानिस जन्मेको समयको) ग्रह-नक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्धबारे लेखिएको कुण्डली आदि समेत भएको कागज हो” र एक जना व्यक्तिको भविष्यमा हुने घटनाहरू बताउन ज्योतिषीहरू यसको प्रयोग गर्छन्।