प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. १८-१९
  • के ज्योतिषविद्याले तपाईंको भविष्य बताउन सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ज्योतिषविद्याले तपाईंको भविष्य बताउन सक्छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्योतिषविद्या भनेको के हो?
  • असफलताको लामो इतिहास
  • बाइबलको शिक्षासित मेल खाँदैन
  • के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला?
    ब्यूँझनुहोस्‌!—२०००
  • ग्रह-नक्षत्रहरूमा तपाईंको लागि के लेखिएको छ?
    ब्यूँझनुहोस्‌!—१९९४
  • ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • नक्षत्र र मानिस—ती दुईबीच के कुनै सम्बन्ध छ?
    ब्यूँझनुहोस्‌!—१९९४
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. १८-१९

बाइबलको दृष्टिकोण

के ज्योतिषविद्याले तपाईंको भविष्य बताउन सक्छ?

तपाईं आफ्नो जीवनस्तर उकास्न अनि मायाप्रिती र धनको खोजीमा कसरी सफल हुन सक्नुहुन्छ? धेरैले यस प्रश्‍नको जवाफ ज्योतिषविद्यामा खोज्छन्‌। करोडौं मानिसहरूले आफ्नो सफलताको आशा गर्दै दिनहुँ अखबारमा आफ्नो राशिफल हेर्छन्‌। भनिन्छ, विश्‍वनेताहरूले समेत राशिफल हेरेर निर्णय गर्छन्‌।

के ज्योतिषविद्यामा भरोसा गर्न सकिन्छ? ज्योतिषीहरूले कुन आधारमा पूर्वानुमानहरू गर्छन्‌? के मसीहीहरूले ग्रह-नक्षत्रहरू हेरेर आफ्नो जीवन बिताउनु उचित हो?

ज्योतिषविद्या भनेको के हो?

द वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार ज्योतिषविद्या भनेको “ग्रह-नक्षत्रहरूको गति, स्थिति हेरेर मानिसको व्यक्‍तित्व वा भविष्य बताउन सकिन्छ भन्‍ने विश्‍वास हो।” मानिस जन्मँदा ग्रह-नक्षत्रहरूको निश्‍चित स्थान र राशिले उसको जीवन पद्धतिलाई असर गर्न सक्छ भनी ज्योतिषीहरू विश्‍वास गर्छन्‌।a कुनै निश्‍चित समयमा यी ग्रह-नक्षत्रहरूको स्थानलाई राशि भनिन्छ।

परापूर्व कालदेखि नै मानिसहरूले ज्योतिषविद्यामा विश्‍वास गर्दै आएका छन्‌। लगभग ४,००० वर्षअघि बेबिलोनीहरूले सूर्य, चन्द्र र पृथ्वीबाट देखिने पाँचवटा ग्रहको स्थानको आधारमा भविष्य बताउन थाले। यी ग्रह-नक्षत्रहरूको शक्‍तिले मानिसको व्यवहारमा असर गर्छ भन्‍ने ज्योतिषीहरूको दाबी थियो। पछि तिनीहरूले आफ्ना अनुमानहरूमा राशि पनि प्रयोग गर्न थाले।

असफलताको लामो इतिहास

बाइबलले बेबिलोन र ज्योतिषविद्याबीचको सम्बन्धलाई प्रकाश पारेको छ अनि बेबिलोनी ज्योतिषीहरूबारे केही पटक उल्लेख पनि गरेको छ। (दानियल ४:७; ५:७, ११) अगमवक्‍ता दानियलको समयमा कल्दीहरूको देशमा (बेबिलोनिया) ज्योतिषविद्या अत्यन्तै व्याप्त भएको हुँदा “कल्दीहरू” र ज्योतिषीहरू भन्‍ने शब्द एकअर्काको पर्यायवाचीको रूपमा प्रयोग गरिन्थ्यो।

बेबिलोनमाथि ज्योतिषविद्याको प्रभाव मात्र होइन, बेबिलोनको पतनबारे ज्योतिषीहरूले पूर्वानुमान गर्न नसकेको कुरा पनि दानियलले देखे। (दानियल २:२७) अगमवक्‍ता यशैयाले दुई शताब्दीअघि कस्तो सही भविष्यवाणी गरेका थिए, ध्यान दिनुहोस्‌। व्यङ्‌ग गर्दै यशैयाले यस्तो लेखे: “अब ज्योतिषीहरू, ग्रह हेर्नेहरू, हरेक औंसीका भविष्य बताउनेहरू खडा होऊन्‌, र तँमाथि आइपर्ने कुराहरू तँलाई बताऊन्‌। . . . तिनीहरू आफैलाई बचाउनसक्‍तैनन्‌।”—यशैया ४७:१३, १४.

कुरा स्पष्ट छ, बेबिलोनका ज्योतिषीहरूले आफ्नो सहरको पतन हुनुभन्दा एकछिन अघिसम्म पनि त्यसबारे केही पनि बताउन सकेनन्‌। परमेश्‍वरले ल्याउनुहुने प्रतिकूल न्यायबारे राजा बेलसजरको दरबारका भित्तामा लेखिंदा ज्योतिषीहरूले ती रहस्यमय अक्षरहरूको अर्थ खोल्न सकेनन्‌।—दानियल ५:७, ८.

आज पनि ज्योतिषीहरू कुनै उल्लेखनीय घटनाहरूबारे पूर्वानुमान गर्न सफल साबित भएका छैनन्‌। ज्योतिषीहरूले किटेरै गरेका ३,००० भन्दा बढी पूर्वानुमानहरू केलाउँदा १० प्रतिशत मात्र साँचो साबित भएको वैज्ञानिक अनुसन्धाताहरू आर. कल्भर र फिलिप इयानाले बताए। बरु, कुनै पनि विषयवस्तुबारे विस्तृत विश्‍लेषण गर्न सक्ने व्यक्‍तिको पूर्वानुमान भरपर्दो हुन सक्छ।

बाइबलको शिक्षासित मेल खाँदैन

ज्योतिषविद्याले भविष्यबारे सही कुरा बताउन नसकेकाले मात्र हिब्रू अगमवक्‍ताहरूले ज्योतिषविद्यालाई इन्कार गरेका होइनन्‌। परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाले जोखाना हेर्ने विरुद्ध इस्राएलीहरूलाई सुस्पष्ट चेतावनी दिएको थियो। व्यवस्थामा यसो भनिएको थियो: “भावी बताउने, जोखाना हेर्ने, . . . व्यक्‍ति परमप्रभुको अगि घृणित हो।”—व्यवस्था १८:१०, १२.

यस पदमा ज्योतिषविद्या भनेरै उल्लेख नगरिए तापनि यो निषेधित थियो भन्‍ने कुरा स्पष्ट छ। इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार ज्योतिविद्या भनेको “एक प्रकारको भावी बताउने काम हो जसअनुसार निश्‍चित स्थान भएका ताराहरू, सूर्य, चन्द्र र अन्य ग्रहहरू हेरेर त्यसको आधारमा पृथ्वीमा हुने र मानव घटनाहरूको पूर्वानुमान गरिन्छ।” सबै प्रकारको भावी बताउने विद्या, चाहे त्यो ताराहरू वा अन्य वस्तुहरूको आधारमा होस्‌, यसले परमेश्‍वरको निर्देशन उल्लङ्‌घन गर्छ। किन? यसको ठोस कारण छ।

हाम्रो सफलता वा असफलताको श्रेय ग्रह-नक्षत्रहरूलाई दिनुको सट्टा बाइबल स्पष्टसित यसो भन्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) आफ्नो कामको लागि परमेश्‍वरले हामी प्रत्येकलाई जिम्मेवार ठहराउनुहुन्छ किनभने हामी असल र खराब छुट्याउन सक्ने स्वतन्त्र प्राणीहरू हौं। (व्यवस्था ३०:१९, २०; रोमी १४:१२) हुन त हो, आफ्नो नियन्त्रण बाहिरका कुराहरूले गर्दा दुर्घटना हुन सक्छ वा हामी बिरामी हुन सक्छौं। तर त्यस्ता दुःखहरू हाम्रो राशिले गर्दा होइन तर “समय र अवसरले” गर्दा हो भनी बाइबल बताउँछ।—उपदेशक ९:११.

मानव सम्बन्धहरूको सन्दर्भमा बाइबलले हामीलाई अनुकम्पा, दया, नम्रता, विनय, धीरज र प्रेमजस्ता गुणहरू धारण गर्न आग्रह गर्छ। (कलस्सी ३:१२-१४) चिरकालीन मित्रता गाँस्न अनि वैवाहिक बन्धनलाई बलियो बनाउन यी गुणहरू अत्यन्तै महत्त्वपूर्ण छन्‌। वैवाहिक जोडी रोज्नको लागि “ज्योतिषविद्यामा आधारित जोडी” भरपर्दो हुँदैन। मनोवैज्ञानिक बर्नाड सिल्भरमानले लगभग ३,५०० दम्पतीको जन्मकुण्डली विश्‍लेषण गरे र त्यसमध्ये १७ प्रतिशतको सम्बन्ध विच्छेद भइसकेको थियो। ‘ज्योतिषविद्यामा आधारित जोडीमा’ पनि सम्बन्ध विच्छेद दर कम भएको पाइएन।

ज्योतिषविद्या भरपर्दो छैन र यसले सही डोऱ्‍याइ पनि दिंदैन भन्‍ने कुरा स्पष्ट छ। आफूले गल्ती गर्दा आफूलाई नभई ग्रह-नक्षत्रहरूलाई दोष दिइन्छ। सबैभन्दा प्रमुख कारण त, परमेश्‍वरको वचनले यसको स्पष्टसित निन्दा गरेको छ। (g05 8/8)

[फुटनोट]

a ज्योतिषीहरूले प्रयोग गर्ने राशि १२ वटा नक्षत्र हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने