बाइबलको दृष्टिकोण
तपाईंको मतसित यसले मेल खानुपर्छ?
“आफूलाई जे साँचो लाग्छ, मान्छेले त्यही विश्वास गर्न रुचाउँछ।” —फ्रान्सिस बेकन, १५६१-१६२६, अंग्रेजी निबन्धकार तथा राजनीतिज्ञ।
धार्मिक सिद्धान्तहरूको सन्दर्भमा धेरै मानिसहरू आफूमाथि स्वर्गमा कोही शक्तिशाली हुनुहुन्छ भनी इमानदारीसित विश्वास गर्छन् र संगी मानवलाई प्रेम गर्छ भने, उसले अझ जेसुकै विश्वास गरे तापनि, त्यसले केही फरक पार्दैन भनेर सोच्ने गर्छन्। कतिपयले धार्मिक पन्थहरूबीच भएको मतभेदलाई देख्नसक्छन्। ती पन्थहरूले परमेश्वर, उहाँको उद्देश्य र उहाँलाई कसरी उपासना गर्ने भन्ने बिषयमा आ-आफ्नै राय प्रकट गर्छन्। अन्तमा तिनीहरू यो निष्कर्षमा पुग्छन्, एउटै मान्छेले विभिन्न ढाँचाका लुगाहरू लगाएजस्तै ईश्वरप्रति पनि विभिन्न विचारधारा राखिन्छ। उहाँलाई मान्ने विभिन्न लुगारूपी धर्महरूको बाहिरी रूप मात्र फरक हुन्। विभिन्न मतहरूलाई लिएर यस्ता विवाद खडा गर्ने मानिसले साँचो मसीही धर्मको मर्मलाई सम्पूर्ण रूपले गुमाउँछ भनेर मानिसहरूले सोच्नसक्छन्।
धार्मिक शिक्षाहरूका सबै तर्कवितर्कहरू उचित हुँदैनन् भनेर शास्त्रपदले बताउँछ। उदाहरणको लागि, परमेश्वरद्वारा प्रेरित हुँदै तिमोथीलाई लेखेको पत्रमा प्रेरित पावलले ती मान्छेहरूबारे उल्लेख गरेका छन्, जसले “कचिंगल” उत्पन्न गर्छन्। पावलले तिनीहरूलाई “सवाल र वाद-विवाद गर्ने रोग लागेको” भनी वर्णन गरे। (१ तिमोथी ६:४, ५) तिनले तिमोथीलाई सल्लाह दिए, “यिनीहरूबाट झगड़ा उत्पन्न हुन्छ भनी जानेर मूर्ख र बेसमझका सवाल-जवाफहरूलाई इन्कार गर।” अनि मण्डलीहरूलाई चाहिं “वेफायदाका कुरामा झगड़ा नगरून्” भनी सिकाउनू भनेर बताए। (२ तिमोथी २:१४, २३) हाम्रो समयका अधिकांश धार्मिक तर्कवितर्कहरूको निम्ति यो विवरण सुहाँउदो छ र यो व्यर्थको समय बर्बादी मात्र हो भनी प्रमाणित भएको छ।
के यसको अर्थ धार्मिक मतहरूका जम्मै तर्कवितर्कहरू निरर्थक हुन्? विचारणीय कुरा के हो भने, कुनै कुनै लुगाहरू जीउमा नमिल्ने हुँदैमा भएभरको जम्मै लुगाहरू काम नलाग्ने ठानी हामी फ्याँक्दैनौं। फ्याक्छौं र? सोहीप्रकार कतिपय सैद्धान्तिक प्रश्नहरू विचारणीय भएनन् भन्दैमा धार्मिक मतहरूको सम्पूर्ण विषयलाई व्यर्थको ठानी किन पन्छाउनु? सिद्धान्तहरूको छलफल गर्नु अत्यावश्यक विषय हो भनी पावलले मानि लिएको कुरा माथि उल्लिखित प्रसंगले देखाउँछ। तर झूटो शिक्षाले विश्वासबाट टाढा पुऱ्याउँछ भन्दै तिनले दोहराइ-दोहराइ चेताउनी दिए। अनि “विभिन्न सिद्धान्तहरू नसिकाउनू भनेर आज्ञा देऊ” भनी तिमोथीलाई सल्लाह दिए। (१ तिमोथी १:३-७; ४:१; ६:३-५; २ तिमोथी २:१४-१८, २३-२६; ४:३ ४) निस्सन्देह, प्रथम शताब्दीका मसीहीहरूको विश्वास महत्त्वपूर्ण नभएको भए तिनले यसरी जोडदार सुझाव दिने थिएनन्।
यसो हो भने, तिनले सैद्धान्तिक विषयहरूमा प्रश्न नगर्नू भनी किन सल्लाह दिए? किनभने पावलको समयमा केही मानिसहरू विश्वास नष्ट गर्ने आफ्नै सिद्धान्त निकालिरहेका थिए। तिनले त्यस्ता मानिसहरूलाई “बुद्धि बिग्रेका भई, सत्यबाट अलग भएका” भनी वर्णन गरे। (१ तिमोथी ६:५) ती भ्रष्ट मानिसहरूले खड़ा गरेका प्रश्नहरूबारे मात्र पावलले तिमोथीलाई धार्मिक मतहरूको वादविवादहरूमा नलाग्नू भनेर सुझाव दिएका थिए।
धार्मिक मतहरूले आचरणमा असर गर्छ?
यद्यपि, आफ्नो धार्मिक मतले व्यक्तिगत गुनहरू र आचरणमा परिवर्तन ल्याएर आफू कस्तो प्रकारको व्यक्ति हुने हो, त्यसमा असर गर्छ भन्ने कुरामा कतिले शंका गर्नसक्छन्। तिनीहरूको दृष्टिकोणअनुसार मत र आचरण सम्बन्धरहित दुइ बेग्लाबेग्लै विषयहरू हुनसक्छन्। जस्तै, ज्याकेट र स्ल्याक्स। जसलाई लाउनेले आफ्नो चाहअनुसार अरू लुगाहरूसित मिलाएर लाउनसक्छन्। तथापि, बाइबलको दृष्टिकोणमा मत र आचरण शुटजस्तो हो, जसलाई बेढंगी देखिने गरी लाउन सकिंदैन।
हामी के विश्वास गर्छौं र कस्तो प्रकारका व्यक्तिहरू हुन्छौं भन्ने कुराहरूबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्यलाई बाइबलले प्रष्ट्याउँछ। आचरणलाई असर गर्ने गलत मत भएकाहरूको एउटा उदाहरण यीशूको समयका आत्मधर्मी फरिसीहरू थिए। (मत्ती २३:१-३३; लूका १८:९-१४) साथै कलस्सी ३:१० ले यस्तो नसिहत दिन्छ: “औ नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भएका छौ।” यहाँ ध्यान दिनुहोस्, ईश्वरभक्त जीवन बिताउने शक्ति परमेश्वरको सही ज्ञानसित जोडिएको तथ्यलाई यी दुवै पदहरूले पुष्टि गर्छ।
मसीही युनानी शास्त्रमा २० ठाउँमा उद्धृत गरिएको युनानी शब्द “सही ज्ञान”-को अर्थ यथार्थ, सही वा पूर्ण ज्ञान हो। यसै शब्दलाई युनानी विद्वान नेथनाएल कलवर्वेल यसरी परिभाषित गर्छन्: “पहिला जानेको कुरासित अझ राम्ररी परिचित हुनु र अघि टाढाबाट देखेको वस्तुलाई यथार्थ रूपले नियाल्नु।” जसरी बहुमूल्य रत्नको गुन र मूल्य निर्धारण गर्न एक सुनारले त्यसलाई राम्ररी जाँच्दछ, त्यसरी नै आफूले सेवा गर्दै गरेको परमेश्वरको यथार्थ, सही र पूर्ण ज्ञान लिनको निम्ति एक मसीहीले पनि परमेश्वरको वचनमा गहिरो ध्यान दिनु पर्दछ। सो गर्नुमा परमेश्वरको व्यक्तित्व, उहाँका उद्देश्यहरू र उहाँको स्तर अर्थात् “पक्का कुराहरूको नमूना” जान्ने कुराहरू बिथोलित छन्। ‘स्वर्गमा हामीभन्दा शक्तिशाली कोही हुनुहुन्छ’ भन्ने विश्वासभन्दा यो धेरै भिन्न छ।—२ तिमोथी १:१३.
एक व्यक्तिले परमेश्वरलाई टाढाबाट मात्र चिन्दा हुने परिणामको एउटा उदाहरण रोमीहरूलाई लेखेको प्रेरित पत्रको प्रथम अध्यायमा वर्णन गरिएको छ। त्यहाँ ती मानिसहरूबारे भनिएको छ जसले “परमेश्वरलाई चिनेर पनि . . . परमेश्वरलाई चिन्ने इच्छा” गरेनन्। तिनीहरूको यस्तो गलत मतहरूको परिणामबारे प्रेरित पावलले यसरी लेखे: “यसरी अनुचित काम गरून् भनेर परमेश्वरले तिनीहरूलाई बेकम्मा मनका तुल्याएर छोड़िदिनुभयो। सबै अधार्मिकता, दुष्टता, लोभ, द्वेषले भरिएका डाह, हत्या, झगड़ा, छल, ईर्ष्याले पूर्ण भएका, अर्काका चर्चा गर्नेहरू, कुरा काट्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अपमान गर्नेहरू, घमण्डीहरू, अभिमानीहरू, दुष्ट कुरा अजमाउनेहरू, आमा-बाबुलाई नमान्नेहरू, बेसमझकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक स्नेहरहितहरू, निर्दयीहरू।”—रोमी १:२१, २८-३१.
निस्सन्देह, ती मानिसहरूले ग्रहण गरेका मतहरूले मसीही जीवनमा प्रत्यक्ष असर पार्थ्यो। त्यस्तैप्रकारले आज पनि विश्वास र मत सिउनीबिना बुनेको लुगाजस्तो हो। जसलाई पृथक् गर्न सकिंदैन। यसर्थ, परमेश्वरको अनुग्रह प्राप्त गर्न चाहने जम्मैले आफ्नो धार्मिक मतलाई प्रमाणित सत्य र सम्पूर्ण रूपले परमेश्वरको वचनमा आधारित बनाउनु आवश्यक छ। किनभने “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ [परमेश्वर] गर्नुहुन्छ।”—१ तिमोथी २:४.
[पृष्ठ २५-मा भएको चित्र]
फरिसीको आत्मधर्मी मनोवृत्तिले तिनको मतलाई प्रकट गऱ्यो