प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ९/१५ pp. २९-३१
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलद्वारा छानिएका
  • तिमोथीले राज्य गतिविधिलाई विस्तार गरे
  • तिमोथीको व्यक्‍तित्वबारे एक झलक
  • आफूलाई तयार पार्नुहोस्‌
  • पावल र तिमोथि
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • अरूलाई मदत गर्ने केटो
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • सत्यलाई ठीकसँग प्रयोग गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ९/१५ pp. २९-३१

तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”

मसीही प्रेरित पावलले तिमोथीलाई सहयात्रीको रूपमा छान्दा तिनी कलिलै उमेरका थिए। यसरी तिनीहरूको झन्डै १५ वर्ष लामो आपसी सम्बन्ध सुरु भयो। तिनीहरू दुईबीच यस्तो बलियो सम्बन्ध विकास भयो कि पावलले तिमोथीलाई “तिनी प्रभुमा मेरा प्यारा र विश्‍वासी छोरा हुन्‌” र “विश्‍वासमा मेरो सच्चा छोरा” भने।—१ कोरिन्थी ४:१७; १ तिमोथी १:२.

तिमोथीको व्यक्‍तित्वमा त्यस्तो के कुरा थियो जसले गर्दा पावलले तिनलाई असाध्यै माया गरे? तिमोथी कसरी एक बहुमूल्य सँगी हुन पुगे? अनि तिमोथीका गतिविधिहरूबारे प्रेरित रेकर्डबाट हामी के सिक्नसक्छौं?

पावलद्वारा छानिएका

सा.यु. ५० मा पावलले आफ्नो दोस्रो मिसनरी यात्राको दौडान लिस्त्रामा (अहिले तुर्की) जवान चेला तिमोथीलाई भेटेका थिए। उन्‍नाइस वर्ष नाघेका वा भर्खर २० वर्ष छोएका तिमोथीको लिस्त्रा र आइकोनियमका मसीहीहरूले तारिफ गरे। (प्रेरित १६:१-३) तिनको काम नाउँअनुसारकै थियो जसको अर्थ हो, “परमेश्‍वरको आदर गर्ने व्यक्‍ति।” शैशवकालदेखि तिनलाई बज्यै लोइस र आमा युनिसले पवित्र धर्मशास्त्र सिकाएका थिए। (२ तिमोथी १:५; ३:१४, १५) हुनसक्छ, तिनीहरूले केही वर्षअघि पावल त्यस शहरमा पहिलो भ्रमण गर्न आउँदा मसीही धर्म अंगालेका थिए। पवित्र आत्माको परिचालनद्वारा तिमोथीको भविष्य कस्तो हुनेछ भनेर भविष्यवाणीले संकेत गरेको थियो। (१ तिमोथी १:१८) यही निर्देशनअनुरूप पावल तथा मण्डलीका प्राचीनहरूले यस जवानमाथि हात राखे र तिनलाई विशेष सेवाको निम्ति तथा प्रेरितको मिसनरी कार्यमा सहयात्रीको रूपमा छनौट गरिए।—१ तिमोथी ४:१४; २ तिमोथी १:६.

तिनको बुबा बेग्लै धर्म मान्‍ने ग्रीक भएको कारण तिनको खतना गरिएको थिएन। त्यो एउटा मसीही आवश्‍यकता पटक्कै थिएन। तथापि, तिनीहरूले भ्रमण गर्ने यहूदीहरूलाई ठेस नपुऱ्‍याउन तिमोथी त्यस पीडादायी खतना गर्न राजी भए।—प्रेरित १६:३.

के त्यसअघि तिमोथीलाई यहूदी भनिदैनथ्यो त? रब्बीहरूको चलनअनुसार “अन्तरविवाहबाट जन्मेको बच्चाको थर बुबाको नभई आमाको हुन्थ्यो।” अतः “यहूदी स्त्रीले जन्माएको बच्चा यहूदी नै हुन्छ” भनी केही शास्त्रविद्‌हरूले तर्क गरे। यद्यपि, लेखक शा कोहेनले “रब्बीहरूको त्यस्तो नियम सा.यु. प्रथम शताब्दीमा लागू थियो वा थिएन” र एसिया माइनरका यहूदीहरूले मानि लिएका थिए कि थिएनन्‌ भन्‍ने प्रश्‍न खडा गरे। ऐतिहासिक प्रमाणहरू जाँच गरेपछि तिनले निष्कर्षमा अन्यजातिले इस्राएली स्त्रीलाई विवाह गरेपछि “यसबाट जन्मेको बच्चालाई इस्राएलीहरूको माझमा बसिरहेका छन्‌ भने मात्र इस्राएली ठानिन्थ्यो। आमाको माइती देशमा बसोबास गऱ्‍यो भने मात्र आमाकै वंशअनुसार होइन्थ्यो। इस्राएली स्त्री आफ्नो पतिसित रहन इस्राएल छाडेर जानेबित्तिकै बच्चा पनि अन्यजाति हुन्थ्यो।” तिमोथीको वंश छ्यासमिस भएको कारण प्रचारकार्यमा फाइदै भएको हुनुपर्छ। तिनलाई यहूदी वा अन्यजातिहरूको समस्या बुझ्न केही मुश्‍किल हुने थिएन र सायद तिनीहरूबीचको मतभेद कम गर्नसक्थे।

पावलको लिस्त्रा भ्रमणले तिमोथीको जीवनमा नयाँ मोड लियो। पवित्र आत्माको निर्देशन पछ्याउने इच्छुक र मसीही प्राचीनहरूलाई नम्रतासाथ सघाउने यस जवानले निकै आशिष्‌ तथा सेवाका सुअवसरहरू पाए। त्यतिबेला तिमोथीलाई थाह थियो कि थिएन तर पछि पावलको निर्देशनमा तिनलाई महत्त्वपूर्ण ईश्‍वरतान्त्रिक काममा चलाइने थियो र यसै कामको सन्दर्भमा तिनी त्यस साम्राज्यको राजधानी रोमसम्म पुगे।

तिमोथीले राज्य गतिविधिलाई विस्तार गरे

तिमोथीको गतिविधिबारे हामीसित आंशिक रेकर्ड मात्र छ तर राज्य गतिविधिलाई विस्तार गर्न तिनले निकै यात्रा गरे। सा.यु. ५० मा पावल र सिलाससित गरेको पहिलो यात्रामा तिमोथी एसिया माइनर र युरोप पुगे। त्यहाँ तिनले फिलिप्पी, थिस्सलोनिकी र बिरियामा प्रचार अभियानमा भाग लिए। विरोधको कारण पावल एथेन्स जानुपर्दा तिमोथी र सिलास बिरियामा भर्खर स्थापना भएको चेलाहरूको समूहलाई देखभाल गर्न त्यहीं बसे। (प्रेरित १६:६-१७:१४) पछि पावलले थिस्सलोनिकीको नयाँ मण्डलीलाई सुदृढ पार्न तिमोथीलाई पठाए। त्यहाँ भएको प्रगतिको समाचार पछि तिमोथीले पावललाई कोरिन्थमा भेट्‌दा सुनाए।—प्रेरित १८:५; १ थिस्सलोनिकी ३:१-७.

तिमोथी कोरिन्थमा कति बसे, धर्मशास्त्रमा बताइएको छैन। (२ कोरिन्थी १:१९) तथापि, सा.यु. ५५ तिर पावलले तिनलाई फेरि त्यहाँ पठाउने विचार गरे किनभने तिनले त्यहाँको खल्लो लाग्दा समाचारहरू सुनिरहेका थिए। (१ कोरिन्थी ४:१७; १६:१०) पछि तिमोथीलाई इरास्तससित एफिससबाट म्यासिडोनिया पठाइयो। अनि पावलले रोमीहरूलाई कोरिन्थबाट लेख्दा तिमोथी फेरि तिनीसँगै थिए।—प्रेरित १९:२२; रोमी १६:२१.

पावल यरूशलेम जाँदा तिमोथी र अरूहरू पनि प्रेरित पावलसित त्रोआससम्म गए। तिमोथी त्यहाँबाट यरूशलेम गए कि गएनन्‌, त्यो थाह छैन। तर पावलले रोमको झ्यालखानाबाट सा.यु. ६०-६१ तिर लेखेका तीन वटा पत्रको परिचयमा तिनको नाउँ उल्लेख गरिएको छ।a (प्रेरित २०:४; फिलिप्पी १:१; कलस्सी १:१; फिलेमोन १) पावलले तिमोथीलाई रोमबाट फिलिप्पीमा पठाउने विचार गरिरहेका थिए। (फिलिप्पी २:१९) अनि पावल झ्यालखानाबाट निस्केपछि तिमोथी तिनकै निर्देशनमा एफिससमै बसे।—१ तिमोथी १:३.

प्रथम शताब्दीमा यात्रा गर्नु सजिलो र सुविधाजनक नभएकोले मण्डलीहरूको खातिर अनेकन्‌ यात्राहरू गर्न इच्छुक तिमोथी साँच्चै सराहनीय छन्‌। (अगस्त १५, १९९६ प्रहरीधरहरा-को पृष्ठ २९, पेटी हेर्नुहोस्‌।) तिनले थाल्न लागेको एउटा यात्राबारे विचार गर्नुहोस्‌ र यसले तिमोथीबारे के बताउँछ, हेर्नुहोस्‌।

तिमोथीको व्यक्‍तित्वबारे एक झलक

झ्यालखानामा परेका प्रेरित पावलले फिलिप्पीमा सतावटमा परेका मसीहीहरूलाई लेख्दा तिमोथी पनि रोममा सँगै थिए। तिनले यसो भने: “अब म तिमीहरूकहाँ चाँड़ै तिमोथीलाई पठाउन प्रभुमा आशा गर्दछु, र तिमीहरूको अवस्था थाह पाएर म पनि आनन्दित होऊँ। किनभने साँचो मनले तिमीहरूका कल्याण सोच्ने मजस्तै मन भएको मानिस अरू कोही छैन, किनभने सबै जना येशू ख्रीष्टको ता होइन, तर आफ्नै स्वार्थ खोज्दछन्‌। तर यो प्रमाणित भएको तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरीनै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।”—फिलिप्पी १:१, १३, २८-३०; २:१९-२२.

आफ्ना सँगी विश्‍वासीहरूको तिमोथीले ख्याल राख्थे भनेर ती शब्दहरूले प्रकाश पार्छ। रोमदेखि फिलिप्पीसम्म जहाजमा नभई पैदल यात्रा गर्न ४० दिन लाग्थ्यो र यस यात्राको दौडान एड्रिया समुद्र पनि अलिकता पार गर्नुपर्थ्यो अनि फेरि रोम फर्कन अर्को ४० दिन नै लाग्थ्यो। आफ्ना भाइ बहिनीहरूको निम्ति तिमोथी ती सबै गर्न तयार थिए।

तिमोथीले धेरै यात्रा गरे तापनि कहिलेकाहीं तिनको स्वास्थ्य राम्रो हुँदैनथ्यो। प्राप्त जानकारीअनुसार तिनको पेटको समस्या थियो र “घरिघरि बिरामी” पर्थे। (१ तिमोथी ५:२३) तैपनि तिनी सुसमाचारको खातिर मरिमेट्‌थे। त्यसैले त पावलको तिनीसित घनिष्ठ सम्बन्ध थियो!

प्रेरित पावलको डोऱ्‍याइ तथा तिनीहरूले सँगै धेरै समय बिताएकाले तिमोथीमा पावलको व्यक्‍तित्व झल्किन थाल्यो। अतः पावलले तिनलाई यसो भन्‍न सके: “तिमी ता मेरो शिक्षा, चालचलन, अभिप्राय, विश्‍वास, सहनशीलता, प्रेम, धीरज, खेदो, कष्ट-भोगमा पछि लाग्यौ। कस्ता कस्ता कुराहरू एन्टिओक, आइकोनियम र लिस्त्रामा मलाई पर्नआएको थियो। कस्ता कस्ता खेदो मैले सहें, र ती सबैबाट प्रभुले मलाई छुटकारा दिनुभयो।” तिमोथीले पावलसँगसँगै दुःखका आँसुहरू झारे, पावलले तिनको निम्ति प्रार्थना गर्थे र राज्य गतिविधिलाई बढावा दिन सँगसँगै खटिए।—२ तिमोथी १:३, ४; ३:१०, ११.

“कोही मानिसले तिम्रो जवानीलाई हेला गर्न नपाओस्‌” भनी पावलले तिमोथीलाई सल्लाह दिए। यसबाट तिमोथी अलि लज्जालु र आफ्नो अधिकार चलाउन हिचकिचाउँथे भन्‍ने संकेत पाउँछौं। (१ तिमोथी ४:१२; १ कोरिन्थी १६:१०, ११) तैपनि तिनी आत्मविश्‍वासी भएको हुँदा पावलले तिनलाई महत्त्वपूर्ण कामहरूका निम्ति निर्धक्क भई विभिन्‍न ठाउँमा पठाउँथे। (१ थिस्सलोनिकी ३:१, २) एफिससको मण्डलीमा बलियो ईश्‍वरतान्त्रिक सुपरिवेक्षणको खाँचो देखेपछि पावलले तिमोथीलाई त्यहाँ बस्न आग्रह गर्दै यसो भने: “कुनै कुनै मानिसलाई विभिन्‍न सिद्धान्तहरू सिकाउन नदिनू।” (१ तिमोथी १:३) तिमोथीका थुप्रै जिम्मेवारीहरू भए तापनि तिनी विनीत थिए। अनि तिनी लज्जालु भए तापनि साहसी थिए। उदाहरणका लागि, विश्‍वासको निम्ति परीक्षामा परेका पावललाई मदत गर्न तिनी रोम गए। वास्तवमा, तिमोथी आफै पनि विश्‍वासको खातिर केही वर्ष झ्यालखानामा परेका थिए।—हिब्रू १३:२३.

निस्सन्देह, तिमोथीले पावलबाट थुप्रै कुरा सिके। प्रेरित पावलले आफ्ना सँगी विश्‍वासीको आदर गर्थे भन्‍ने प्रमाण मसीही युनानी धर्मशास्त्रमा तिनले लेखेका दुई ईश्‍वरीय प्रेरित पत्रहरूबाट पाउँछौं। सा.यु. ६५ तिर पावलले आफू शहीद हुने सम्भावना देखेपछि फेरि एक चोटि तिमोथीलाई बोलाए। (२ तिमोथी ४:६, ९) प्रेरित पावललाई मारिनुअघि तिमोथीले भेट्‌न पाए कि पाएनन्‌, त्यसबारे धर्नशास्त्रले खुलाएको छैन।

आफूलाई तयार पार्नुहोस्‌

तिमोथीको असल उदाहरणबाट धेरै कुराहरू सिक्न सकिन्छ। पावलसित संगत गरेर तिनले धेरै फाइदा उठाए, एक लज्जालु केटा निरीक्षक बने। जवान मसीही पुरुष तथा स्त्रीहरूले पनि आज त्यस्तै संगतिबाट फाइदा उठाउनसक्छन्‌। अनि तिनीहरूले यहोवाको सेवा नै आफ्नो पेसा बनाए भने तिनीहरूले पर्याप्त असल काम गर्न पाउनेछन्‌। (१ कोरिन्थी १५:५८) तिनीहरू आफू जन्मेको इलाकाको मण्डलीमै अग्रगामी वा पूर्ण-समय प्रचारक हुनसक्छन्‌ वा राज्य उद्‌घोषकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नसक्छन्‌। विदेशी मुलुकमा मिसनरी सेवा वा वाच टावर सोसाइटीको मुख्यालय वा शाखा कार्यालयमा सेवा गर्नसक्छन्‌। अनि निस्सन्देह सबै मसीहीहरूले यहोवाको सेवा तनमनले गरेर तिमोथीको जस्तै मनोभाव देखाउनसक्छन्‌।

के तपाईं आध्यात्मिक तवरमा प्रगति गरेर यहोवाको संगठनमा उहाँले उचित ठान्‍नुहुने जुनै पनि काम गर्न तयार हुनुहुन्छ? हुनुहुन्छ भने तिमोथीले जस्तै गर्नुहोस्‌। सम्भव भएसम्म आफूलाई तयार पार्नुहोस्‌। भविष्यमा तपाईंले कस्ता सेवाका सुअवसरहरू पाउनुहुनेछ कसलाई के थाह?

[फुटनोट]

a  पावलका अन्य चार पत्रमा पनि तिमोथीको नाउँ उल्लेख गरिएको छ।—रोमी १६:२१; २ कोरिन्थी १:१; १ थिस्सलोनिकी १:१; २ थिस्सलोनिकी १:१.

[पृष्ठ ३१-मा भएको चित्र]

“साँचो मनले तिमीहरूका कल्याण सोच्ने . . . मन भएको मानिस अरू कोही छैन”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने