प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ७/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राम्ररी पढ्‌ने र लेख्ने केटाकेटीहरू
  • बाइबलसित खेलवाड
  • मत्स्य व्यवसाय कष्टमा
  • चराको गुँडबाट बनाएको सुरुवाको बढ्‌दो दाम
  • क्षयरोगसितको भिडन्तमा पराजित
  • प्रशंसाले तनाउलाई रोक्‍तछ
  • समय-पूर्व हुने वृद्धपनलाई रोक्नु
  • अंग छेड्‌नु स्वास्थ्यका लागि हानिकारक
  • गिरफ्तारीको बढ्‌दो दर
  • विश्‍वविद्यालयहरू सकंटमा
  • अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
  • “मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍व-स्वास्थ्य परिस्थिति—बढ्‌दो असमानता
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ७/८ पृ. २८-२९

विश्‍वदर्शन

राम्ररी पढ्‌ने र लेख्ने केटाकेटीहरू

क्यानाडाको समाचारपत्र ग्लोब एण्ड मेल-अनुसार “पुस्तक पढेर सुनाउँदा केटाकेटीहरूको लेख्ने दक्षता बढ्‌छ।” विरलै वा कहिल्यै अरूले पुस्तक पढेर नसुनाएका विद्यार्थीहरूले भन्दा हुर्कंदै जाँदा कथा सुन्‍ने विद्यार्थीहरूले परीक्षामा राम्रो अंक ल्याएको कुरा क्यानाडा, ओन्टेरियोको शिक्षा मन्त्रालयद्वारा हालै लिइएको एउटा जाँचबाट देखियो। ग्लोब समाचारपत्रले अझै भन्छ: “राम्ररी पढ्‌ने विद्यार्थीहरूले राम्ररी लेख्न सके अनि विद्यालयमा बाहेक अरू समयमा पढ्‌नेहरूले राम्ररी पढ्‌न र लेख्न सके।” ओन्टेरियो शिक्षक संघका अध्यक्षअनुसार “जुन विद्यार्थीहरूले १४ वर्षको उमेरसम्म पनि पढ्‌ने बानी बसाल्दैनन्‌ वा कसैले तिनीहरूलाई पढेर सुनाएन भने त्यसपछि पढ्‌ने बानी बसाल्न नसक्ने” तथ्य उक्‍त जाँचले प्रकट गऱ्‍यो।

बाइबलसित खेलवाड

अक्सफर्ड युनिभर्सिटी प्रेसले अभूतपूर्व परिवर्तन गरेर बाइबलको नयाँ संस्करण तयार गरेको छ। कुनै जातिलाई ठेस नपुऱ्‍याउने चेष्टा गर्दै यो बाइबल अनुवाद गर्दा तथाकथित लिंगभेद, जातीय भेदभाव अथवा यहूदी विरोधी तत्त्व हटाइएको छ। उदाहरणको निम्ति, यो नयाँ अनुवादले परमेश्‍वरलाई “मातापिता” भनी सम्बोधन गर्छ। येशू अब “मानिसको पुत्र” नभएर “मानव” भएको छ। यहूदीहरूले येशूलाई मारेको प्रसंग यो अनुवादमा कतै उल्लेख गरिएको छैन। यहाँसम्म कि, द सन्डे टाइम्स-अनुसार देब्रे हातले काम गर्ने बानी परेका मानिसहरूप्रति तथाकथित पक्षपात नदेखियोस्‌ भनेर परमेश्‍वरको “दाहिने हात”-लाई समेत अब “शक्‍तिशाली हात” भनेर अनुवाद गरिएको छ।

मत्स्य व्यवसाय कष्टमा

माछा मार्ने क्षेत्र र अधिकारको निम्ति विभिन्‍न राष्ट्रहरूबीचको झगड़ाले गर्दा विश्‍वव्यापी माछा पक्रने धन्धा उच्चतम बिन्दुमा पुगेको छ र वास्तवमा अहिले पृथ्वीका धेरै भागहरूमा सो कार्य ह्रास भएर जाँदैछ भनी वर्ल्डवाच इन्‌स्टिच्युटद्वारा दिएको विज्ञप्तिले चेताउनी दिन्छ। पर्यावरण प्रदूषणले गर्दा विश्‍वभरि सामुद्रिक जीवहरू रित्तिंदै गएको हो भन्‍ने कुरालाई मानि लिंदै उपरोक्‍त विज्ञप्तिले माछा पक्रने उद्योगहरूले ज्यादै माछा मारेको हुनाले आटलान्टिक महासागर, प्रशान्त महासागर, कृष्ण सागर र भूमध्य सागरहरूमा माछा घट्‌दै गएको हो भनी बताउँछ। द आझान्स फ्रान्स प्रेस समाचार सेवा बताउँछ, वर्ल्डवाच इन्‌स्टिच्युटको विज्ञप्तिअनुसार कुनै कुनै क्षेत्रमा माछा पक्रने कार्य ३० प्रतिशतभन्दा बढी ह्रास भएको छ र वर्तमान सामुद्रिक सम्पदाहरू यसरी अव्यवस्थित ढंगले प्रयोग भएमा लाखौं मछुवाहरू चाँडै नै बेकारीपनको शिकार हुनेछन्‌।

चराको गुँडबाट बनाएको सुरुवाको बढ्‌दो दाम

हङकङ तथा अन्य एसियाली शहरहरूका भोजनालयहरूमा चराको गुँड लोकप्रिय भोजन भएको छ। प्रायः यी गुँडहरूबाट सुरुवा बनाइन्छ। इन्टरनेशनल हेरल्ड ट्रिब्युन-अनुसार धेरै चिनियाँहरू पकाएको गुँडहरूलाई स्वादिष्ट र स्वस्थवर्धक टनिक सम्झन्छन्‌। संरक्षण दलहरूको अनुमानअनुसार हङकङले मात्र सन्‌ १९९२ मा गौंथली जातको एक प्रकारको चराको १ करोड़ ७० लाख गुँडहरू सिध्याए। तथापि, ज्यादा मात्रामा गुँडहरू बटुल्ने काम भएको हुनाले यसको थोक बिक्री दाम बढेर प्रतिकिलो ५०० अमेरिकी डलरसम्म पुगेको छ र त्यसमाथि गुणस्तरीय छ भने त्यसको दाम आठ गुना बढी हुनसक्छ। तर गुँडको मोलभन्दा चर्को मोल त ती गुँड बनाउने चराले चुकाउनु परेको छ। गुँडहरू बटुल्दा अण्डा र बचेराहरू नष्ट हुन्छन्‌। फलस्वरूप, गौंथली जातका केही प्रकारका चराहरूको संख्यामा ह्रास आएको छ भने त्यही जातका अन्य प्रकारका चराहरू लोप हुने अवस्थामा छन्‌।

क्षयरोगसितको भिडन्तमा पराजित

पेरिस, ला पिटिये सालपेट्रेयर अस्पतालको जीवाणु-विषाणु विज्ञान विभागका प्रमुख, प्राध्यापक जाक ग्रोसेको भनाइअनुसार, रोग विरुद्ध युद्धमा क्षयरोग उन्मूलन “विश्‍वस्तरमा असफल भएको छ।” क्षयरोगका बिरामीहरूलाई उपचार नगरे रोगीहरूको मृत्युदर लगभग ५० प्रतिशत हुन्छ। संसारमा क्षयरोगले पीडित रोगीहरूमध्ये आधाले कुनै निदान र उपचार पाउँदैनन्‌। यसो भए तापनि यो रोगको जीवाणु नाशक औषधीहरू प्रशस्त पाइने विकसित मुलुकहरूमा वास्तविक खतरा लुकेको छ। क्षयरोग लाग्ने मानिसहरूमध्ये आधा जतिले मात्र पूर्णतया निको नभएसम्म औषधी खान्छन्‌। “बाँकी आधाले या त उपचारै गराउँदैनन्‌ अथवा गराइहाले पनि असाध्यै अनियमित तवरले औषधी खान्छन्‌। फलतः धेरै संख्यामा मानिसहरू यो रोग लागेर मर्छन्‌ (उपचार गर्नेहरूको २५ प्रतिशत) वा जीवाणु नाशक औषधीहरूले असर गर्नै नसक्ने किसिमको ट्युबर्कल ब्यासिलस नामक किटाणुहरूको वंश उत्पन्‍न गराउँछन्‌।”

प्रशंसाले तनाउलाई रोक्‍तछ

प्रत्येक वर्ष हृदयघातले गर्दा जर्मनीमा २,००,००० व्यक्‍तिहरूको मृत्यु हुन्छ। यसको कारण? “तनाउ” नै यसको कारण हो भनी सुट्‌डच जाइटुङ समाचारपत्रले बताउँछ। किनभने जर्मनीमा काम गर्नुको अर्थ “चौबीसै घण्टा काममा लाग्नु र निरन्तर तनाउग्रस्त हुनु हो।” काम गर्ने ठाउँमा उब्जेको तनाउको परिणामस्वरूप, बिरामी परी अधिक संख्यामा मानिसहरू काममा गयल हुन्छन्‌। यसले शारीरिक र भावनात्मक रूपमा थकित पनि गराउनसक्छ। पचास प्रतिशत परिचारिकाहरू तनाउका लक्षणहरूले पीडित हुन्छन्‌ भने “मानसिक तनाउले” गर्दा एक तिहाइ शिक्षकहरूले चाँडै अवकाश लिन्छन्‌। कार्यक्षेत्रहरूमा हुने तनाउलाई कसरी कम गर्न सकिन्छ भनेर स्वास्थ्य बीमा निगमहरू अध्ययनरत छन्‌। थुप्रै मझौला कारखानाहरूमा लिइएको सर्वेक्षणले तनाउको एउटा सम्भाव्य कारणलाई यसरी औंल्याएको छ: सर्वेक्षण लिंदा ४४ प्रतिशत कर्मचारीहरूले आफूले गरेको काममा कहिल्यै प्रशंसा नपाएको कुरा बताए।

समय-पूर्व हुने वृद्धपनलाई रोक्नु

साऊ पाउलु युनिभर्सिटीका वृद्धावस्थासम्बन्धी विशेषज्ञ, वीलसीन जाकोब सोध्छन्‌: “मानिसहरू आफ्ना केटाकेटीहरूका लागि घरलाई अनुकूल बनाउँछन्‌ भने वृद्ध व्यक्‍तिहरूका निम्ति त्यस्तो प्रबन्ध किन नगर्ने?” तिनी के सल्लाह दिन्छन्‌ भने, सुरक्षित घरहरूको अतिरिक्‍त आफ्नो मांशपेशीहरूलाई सशक्‍त पारेर स्वास्थ्य कायम राख्न वृद्धहरूले व्यायाम गर्नुपर्छ। यसो गर्दा वृद्ध मानिसहरू लड्‌नसक्ने खतरा कम हुन्छ। दीर्घ जीवनको सबैभन्दा ठूलो शत्रु के हुन्‌? साऊ पाउलु युनिभर्सिटीकै प्लास्टिक शल्य-चिकित्सक रोजर्यो ईजार नेभिसअनुसार ती शत्रुहरू हुन्‌, “सुस्त जीवनशैली, असन्तुलित आहार (विशेषतः, ज्यादा बोसो भएको खानेकुरा), धूम्रपान, अत्यधिक मद्यपान, तनाउ र निद्रा नलाग्नु।” अधिक तनाउले हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ भनी जर्नल डा टार्डे बयान गर्छ। “विभिन्‍न रोगहरू र वृद्धापनसित कमजोर रोग प्रतिरोध प्रणालीको निकै घनिष्ठ सम्बन्ध छ।” डा. नेभिस अझ दाबा गर्छन्‌: “चाँडो वृद्ध हुनुको मुख्य कारण जीवनदेखि वाक्क महसुस गर्नु हो।”

अंग छेड्‌नु स्वास्थ्यका लागि हानिकारक

क्यानाडा, क्यालगरी स्वास्थ्य सेवाको पर्यावरणसम्बन्धी निर्देशक जान पेल्टन भन्छन्‌: “मानिसहरू पहिले छेड्‌दै नछेड्‌ने अंगहरू अब छेड्‌दैछन्‌।” यी अंगहरूमा आँखीभौं, ओठ, जिब्रो र नाभि सम्मिलित छन्‌ भनेर द भेन्काउभर सन्‌ पत्रिका बयान गर्छ। यो बढ्‌दो फेशनले एड्‌स र हेपाटाइटिस बि अनि सि हुने आशंका रहेकोले यसलाई नियंत्रण गर्ने निर्देशन दिन एल्बर्टा स्वास्थ्य संस्थानका पर्यावरण स्वास्थ्य सेवाहरू प्रेरित भए। “अन्तमा यी नयाँ नियमहरूले शरीर डाम्ने, व्याक्सिङ गर्ने र विद्युतीय उपकरणहरूद्वारा शरीरका रौंहरू उखेल्ने, शरीरमा बुट्टा भर्ने तथा प्रकाश, ध्वनि, गन्धजस्ता सबै संवेदनदेखि केही समय वञ्चित गर्ने जस्ता सम्पूर्ण अनियन्त्रित व्यक्‍तिगत सेवाहरूलाई समाविष्ट गर्नेछ।” यी नियमहरूको मसौदालाई जनस्वास्थ्य अधिकारीहरू तथा उद्योगले पुनः निरीक्षण गर्नेछ भनी उक्‍त प्रतिवेदनले बताउँछ। कान छेड्‌ने उपकरण प्रयोग गरेर अंग छेड्‌ने एक व्यक्‍ति यसरी स्वीकार्छन्‌: “संक्रमण भएर मानिसहरू अस्पताल गएको हामीले देखेका छौं। वास्तवमा, यो जोखिम खेल हो।”

गिरफ्तारीको बढ्‌दो दर

विश्‍वव्यापी तवरमा जति अपराध मच्चिन्छ त्यति नै गिरफ्तारीको दर बढ्‌दछ। रूसमा १,००,००० मानिसहरूमध्ये ५५८ जना गिरफ्तार हुन्छन्‌। दोस्रो स्थान अमेरिकाले ओगटेको छ जहाँ १,००,००० मध्ये ५१९ मानिसहरू गिरफ्तार हुने गर्छन्‌। त्यसपछि क्रमशः आउँछ, दक्षिण अफ्रिका ३६८, सिंगापुर २२९ र क्यानाडा ११६। सोभियत संघको विघटनपछि हत्या र अरू अपराधहरू अधिक मात्रामा बढेका छन्‌। फलतः पहिले सबैभन्दा धेरै अपराध हुने देश अमेरिकालाई उछिनेर यहाँ गिरफ्तारीको दर वृद्धि भएको छ। किन धेरै युरोपेली राष्ट्रहरूमा हुने गिरफ्तारी दर अमेरिकामा भन्दा ६ गुना कम छ? यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार “एउटा कारण त, सम्पूर्ण राष्ट्रहरूमा हुने हरप्रकारका अपराधहरूको दर थपघट भए तापनि अमेरिका, रूस र दक्षिण अफ्रिकामा चाहिं हिंसा अति व्यापक छ। तर कारण जेसुकै होस्‌, यो भिन्‍नता सधैंभरि रहनेछैन।”

विश्‍वविद्यालयहरू सकंटमा

जोहनेसवर्गको विकन्डस्टार बयान गर्छ: “अफ्रिकाका वास्ता नगरिएका विश्‍वविद्यालयहरू बन्द हुने स्थितिमा छन्‌।” धनराशीको कमीले गर्दा त्यहाँ कम कम्प्यूटरहरू छन्‌ र कुनै कुनै बेला टेलिफोन लाइनसमेत काटिन्छन्‌। पाँच हजार विद्यार्थीहरूका लागि बनाइएको एउटा विश्‍वविद्यालयमा अहिले ३५,००० विद्यार्थीहरू भर्ना भएका छन्‌। युगान्डामा पहिला खुबै नाउँ चलेको एउटा विश्‍वविद्यालयमा प्राध्यापकहरूको पद आधा जति रित्तै छ। यस क्याम्पसमा प्राध्यापकहरूको मासिक तलब १९ अमेरिकी डलर मात्र छ। यहाँ प्राध्यापक र विद्यार्थीहरूले हडताल गरेको कारण विश्‍वविद्यालयहरू महिनौंदेखि चलेका छैनन्‌। केन्याको प्राध्यापकले यसरी टिप्पणी गरे: “अफ्रिकामा भइरहेको शैक्षिक स्वयं-संहार खराब झन्‌ खराब हुँदै जाँदैछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने